बतास समूहलाई धर्मशाला भाडामा दिने निर्णय खारेज

बतास समूहलाई धर्मशाला भाडामा दिने निर्णय खारेज

कोषको मङ्गलवार बसेको सञ्चालक परिषद्को बैठकले धर्मशाला भाडामा दिएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन अनुमोदन गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको कोषका कोषाध्यक्ष नारायण सुबेदीले उकेरालाई जानकारी दिए।

'हामीले बनाएको प्रतिवेदनलाई बैठकले अनुमोदन गर्यो' उनले भने'त्यस अनुसार आनन्द होटेललाई धर्मशाला भाडामा दिने अघिल्लो पदाधिकारीको निर्णय खारेज भएको छ।'

२०७५ मङ्सिर २७ मा बतास समूहको आनन्द होटेललाई भारत सरकारको सहयोगमा बनेको धर्मशाला भाडामा दिने सहमति भए पनि सोबारे सञ्चालक परिषद्बाट निर्‌णय नभएको भन्दै बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको हो।

बैठकले समयावधिभित्र बहाल नबुझाएको, धर्मशालाको मर्मबिपरीत विभिन्न कार्यालयहरू सञ्चालन गर्न दिएको, धर्मशालाको बेडको सङ्ख्या र दररेट फरक फरक पारेको, कोषको स्वीकृतबेगर धर्मशालाको भौतिक संरचना बनाएको, फेरबदल गरी होटेल आनन्द प्रालिले सम्झौता विपरीत काम गरेकाले पशुपति क्षेत्र विकास कोष ऐनको दफा १७(१०) तथा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ लगायत प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गर्ने निर्णय समेत गरेको छ।

पशुपति धर्मशाला भाडामा कोष पदाधिकारीको बदमासी: अर्कोलाई भाडामा दिनेदेखि अनुकुल पुनर्निर्माणको अधिकारसम्म बतासलाई (सम्झौता-पत्र सहित)

होटेल आनन्दले सम्झौताका सर्तहरू उल्लङ्घन गरेको भन्दै बैठकले आनन्द प्रालिलाई कानुन बमोजिम कारबाहीका लागि सदस्य सचिव मिलनकुमार थापा, सञ्चालक परिषद् सदस्य देवीप्रसाद बराल र सहसचिव डा. टोकराज पाण्डे रहेको तीन सदस्यीय समिति गठन गरेको छ।

बैठकले ठेक्का सम्झौता गर्दा  अख्तियारको दुरुपयोग गरी कामकारबाही गरेको भन्दै बोलपत्रको प्रारम्भदेखि सम्झौता सम्पन्न गर्ने प्रक्रियासम्म संलग्न पदाधिकारी, कर्मचारी एवं ठेकेदारलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय समेत गरेको छ।

होटेल आनन्दसँग सम्झौता गर्दा कोषको सदस्य सचिव प्रदीप ढकाल थिए भने हालका सदस्य सचिव मिलनकुमार थापा कोषाध्यक्ष थिए।

११ माघ, २०७८, २०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।