श्रीमती स्वास्थ्यकर्मी। एउटा स्वास्थ्य चौकीमा काम गर्छिन्। उनलाई केही दिन अघि कोरोना सङ्क्रमण भयो।
उकेरा मन्थन
शनिबार राति मलाई पनि शरीर दुख्ने, खोकी लाग्ने, घाँटी खस खसाउने जस्ता समस्या भयो। दुखाइले राति निन्द्रा लागेन। श्रीमती सङ्क्रमित भएकाले मलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको अनुमान लगाएँ।
धेरै गाह्रो भई नहालेकाले राति अस्पताल गइनँ। सहन सक्ने नै भएकाले आइतबार बिहान पनि हतार गरिनँ।
यसो बिचार गरेँ, कोरोना नै भएको रहेछ भने त अरूलाई सर्न सक्छ। स्वास्थ्य जाँच गर्न सकभर टाढा जानु हुँदैन।
नजिकमा कहाँ जाने त? नजिकै तारकेश्वर नगरपालिकामा सहरी स्वास्थ्य केन्द्र छ। यो स्वास्थ्य केन्द्र वडा नम्बर ४ लोलाङमा पर्छ।
त्यही स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणका लागि जाने निष्कर्षमा पुगेँ। स्वास्थ्य केन्द्र पुग्न बिहान दस बजेसम्म कुर्नै पर्यो। कुरेँ। खानपान गरेँ।
त्यसपछि बिहान करिब साढे दस बज्दा घरबाट मास्क लगाएर निस्केँ। करिब पाँच मिनेटमा लोलाङ स्थित सहरी स्वास्थ्य केन्द्र पुगेँ। आइतबार स्वास्थ्य केन्द्र सुनसान थियो। यसो हेरेँ,स्वास्थ्य केन्द्रमा दुई जना महिला स्वास्थ्यकर्मी/कर्मचारी बसिरहेको देखेँ।
परैबाट उनीहरूलाई नमस्कार गरेँ। आफूलाई कोरोनाको शङ्का लागेकाले छेउमा गइनँ। स्वास्थ्य केन्द्रको गेट छेउबाटै सोधेँ, मलाई कोरोना भएको हो कि भन्ने शङ्का लागेको छ। परीक्षण गरिदिनु होस्।
तर, मोबाइल खेलाइरहेका उनीहरूले मलाई परामर्श दिनुभन्दा मोबाइलमा नै ध्यान दिइरहेका थिए। एक जना करिब ३० वर्षकी देखिने स्वास्थ्यकर्मीले जवाफ दिइन्,भोलि आउनुहोस्।
मैले पनि उनलाई हाँस्दै जवाफ फर्काएँ,भोलिको कुरा भोलि नै गरौँला।
ती स्वास्थ्यकर्मीले के हुन्छ? कसो हुन्छ? भनेर स्वास्थ्य अवस्थाको विषयमा केही पनि सोधिनन्। कुनै वास्तै गरिनन्।
मैले त्यहाँ स्वास्थ्य परीक्षण नहुने बुझेँ। त्यसपछि धेरै बोलिरहन उचित लागेन। मलाई अब तनाव भयो। कहाँ जाने त? स्वास्थ्य केन्द्रको गेट बाहिर निस्केँ।
फर्केर घर आएँ। परीक्षण गराउन त जानै छ। जान त जाने तर कहाँ र कसरी जाने? आइतबार बिजोर नम्बर भएका सवारी साधन चल्ने पालो थियो।आफ्नो स्कुटरको नम्बर जोर छ।
जे भए पनि स्कुटरमा नै जाने निर्णय गरेँ। स्कुटर स्टार्ट गरेर अलि टाढा तारकेश्वर नगरपालिकाको वडा नम्बर २ मा रहेको काभ्रेस्थली स्वास्थ्य चौकी तिर हुइँकिएँ।
बाटोमा जाँदा कसैसँग नजिक परिएला कि! प्रहरीले पो स्कुटर समाइदिने हो कि! भन्दै डराउँदै काभ्रेस्थली स्वास्थ्य चौकी पुगेँ, जहाँ खोप लगाउनेको लामो लाइन थियो।
त्यहाँ एन्टिजेन परीक्षण भयो। पोजेटिभ आयो। अब कोरोना सङ्क्रमण भएकोमा म करिब ढुक्क भएँ। त्यसपछि झन् कोही व्यक्तिको नजिक नपर्ने प्रयास गर्दै स्कुटरमा घर फर्केँ।
बाटोमा फर्कँदै गर्दा सोचेँ, एउटा स्वास्थ्य चौकीमा भिडभाड छ। अर्कोमा मोबाइल खेलाएर बसेका छन् कर्मचारी । अवस्था कोरोना भाइरस सङ्क्रमणको महामारीको छ।
स्वास्थ्य चौकी जनतालाई प्राथमिक उपचार तथा स्वास्थ्य जाँच गर्न खुलेका हुन् कि? कर्मचारीको समय कटाउने ठाउँ हो। स्वास्थ्य केन्द्रमा उपचार नै हुँदैन भने स्वास्थ्य चौकी किन चाहियो?
०००
घर फर्केर वडा नम्बर ४ को लोलाङस्थित सहरी स्वास्थ्य केन्द्र आइतबार किन सुनसान रहेछ भनेर बुझ्ने प्रयास गरेँ।
आफूले स्वास्थ्य परीक्षण गर्न नपाउनुको कारण थाहा पाउन तारकेश्वर नगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष नरेन्द्रदास श्रेष्ठसँग बुझ्दा उनले सो स्वास्थ्य केन्द्रमा कोरोना परीक्षण गर्ने एन्टिजेन किट भने भएको जानकारी दिए। वडाध्यक्षले जानकारी दिएअनुसार प्रत्येक बुधबार त्यहाँ एन्टिजेन परीक्षण हुने रहेछ।
सो स्वास्थ्य केन्द्रमा भएका तीन जना कर्मचारीमध्ये दुई जना कोरोना सङ्क्रमित भएको जानकारी पाएँ। वडाध्यक्षले भने अनुसार स्वास्थ्य केन्द्रमा दुई जना देखिएका कर्मचारी मध्ये एक जना कार्यालय सहयोगी हुनुपर्छ। तर मेरो दृश्यमा दुवै जना महिला स्वास्थ्यकर्मी हुन्।
त्यसरी आकस्मिक रूपमा पुगेका व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुपर्ने उनले बताए। स्वास्थ्य परीक्षण गर्न नपाउनुको कारणबारे बुझ्दा वडाध्यक्ष श्रेष्ठको भनाइ छ,‘इमर्जेन्सीमा त्यसो त भन्नु नपर्ने हो।’
तर, त्यस्तै भयो।
श्रीमती स्वास्थ्यकर्मी भएकाले उनीसँगको परामर्शमा मैले सिटामोल खाएँ। स्वास्थ्य अलि असहज भएको छ।
जनतालाई सुविधा दिनकै लागि स्वास्थ्य केन्द्र खुलेका हुन्। नसक्नेले कहाँ जाने उपचार गर्न? यस्तो महामारीको अवस्थामा सङ्क्रमित व्यक्ति शारीरिक तथा मानसिक रूपमा समेत कमजोर हुन्छ। जुन मैले भोगिरहेको छु।
सरकारसँग मेरो प्रश्न छ,के स्वास्थ्य चौकीमा औषधि–उपचार नपाइने नै हो त?
(वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा. खनालसँग उकेराकर्मी उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित।)
२०७८ माघ ११ गते ८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।