अभिनेत्री अदितिको सोसल मिडिया हट तर करिअर कोल्ड

अभिनेत्री अदितिको सोसल मिडिया हट तर करिअर कोल्ड

काठमाडौँ : भारतको मुम्बईमा मोडलिङमा स्थापित हुन सङ्घर्ष गर्दागर्दै भुवन केसीको नजरमा परेपछि अदिति बुढाथोकीले भुवन पुत्र अनमोल केसीसँगै चलचित्र 'कृ' मार्फत नेपाली चलचित्रमा डेब्यु गरिन्।

पहिलो फिल्म त्यो पनि युवामाझ क्रेज बनिसकेका अभिनेताको जोडी। उनी त्यो बेलामा निकै उत्साहित देखिएकी थिइन्। चर्चा राम्रै भएको थियो उनको। तर जब फिल्म रिलिज भयो सोचेजस्तो नतिजा आएन।

पहिलो फिल्मपछि तत्काल दोस्रो फिल्म गर्ने मुड चलेन उनको। बाँकी सङ्घर्ष पुरा गर्न उनी मुम्बई नै फर्किइन् र मोडलिङमा भाग्य अजमाउन सक्रिय भइन्। उता पनि उनको करिअरले त्यति गति लिन सकेन।

यही बिच उनलाई दोस्रो नेपाली फिल्मको अफर आयो 'बाबरी'। नेपाल र सिक्किममा छायाङ्कन गरिने फिल्मको छायाङ्कन सक्दै धौ-धौँ बनायो कोरोनाले।

पहिलो चरणको कोरोना लहर अगाडि नै छायाङ्कन जाने भन्दाभन्दै कोरोना फैलियो। दोस्रो लहर अगाडि छायाङ्कन सुरु भयो। बिचमा रोकियो। यो बिचमा उनी पनि सङ्क्रमित भइन्।

नेपाल र सिक्किममा हुने छायाङ्कन सकियो। फेरि तेस्रो लहर आयो। चलचित्र कहिले रिलिज हुने पत्तो छैन।

'बाबरी'मा अदितिसँगै धिरज मगर र धिरज टोट्लानीको अभिनय छ। धिरज टोट्लानी नेपाली मुलकी भारतीय कलाकार तृप्तिका छोरा हुन्।

केही भारतीय म्युजिक भिडियोमा अभिनय गरे पनि उनी भारतमा अझैँ मासमा नोटिस हुन सकेको देखिँदैन। सुस्त गति नै देखिन्छ उनको अभिनय यात्रा भारत अनि नेपालमा पनि।

पहिलो चलचित्र आशा गरे अनुसार सफल नभएको अनि दोस्रो चलचित्र रिलिजै नभएको अवस्थामा कतै दर्शकले बिर्सिएलान् कि भन्नेमा भने उनी सचेत छिन्।

दर्शकले नबिर्सिउन् भनेर उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। विशेष गरी इन्स्टाग्राममा उनी तस्बिरहरू सार्वजनिक गरिरहन्छिन्। प्राय हट पोजका उनका तस्बिरहरूले दर्शकलाई त सम्झाइरहला तर चिसिएको करिअरलाई तताउने हो हैन त्यो बाबरीको सफलताले नै निर्णय गर्न सक्छ।

१० माघ, २०७८, १५:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।