हलिउडका अनौठा पाँच फिल्म, कहिले हुन्छ प्रदर्शन ?

हलिउडका अनौठा पाँच फिल्म, कहिले हुन्छ प्रदर्शन ?

काठमाडौं : कोरोना महामारीले फिल्म क्षेत्रलाई संसारभर नै गाँजेको छ। कोभिड-१९ को तेस्रो लहर चलिरहँदा बल्लतल्ल खुलेका हलहरु पनि बन्द भइरहेका छन्।

अहिलेको जटिल अवस्थामा संसारभर फिल्म बन्ने क्रममा केही कमी आए पनि ठप्पै भने भएको छैन। 

सन् २०२२ का लागि तयार पारिएका दर्जनौं फिल्महरुमध्ये हलिउडका बहुप्रतिक्षित पाँच फिल्मबारे यहाँ चर्चा गरिएको छ।
 
द ब्याटम्यान
धेरैको प्रतीक्षामा रहेको फिल्म 'द ब्याटम्यान' मार्च ४ मा विश्वभर प्रदर्शन हुँदैछ।

वर्षौंदेखि हलिउडमा बडो गज्जबको वार चलिरहेको छ। मार्वल भर्सेस डिसी। झण्डै तिन महिनाअघि डिसीले निकै लामो भर्चुअल कार्यक्रम गर्दै आधा रातमा द ब्याटम्यानको ट्रेलर सार्वजनिक गरेर धेरैको निन्द्रा गायब गरेको थियो। 

सुपर हिरोजका कथा भन्ने द ब्याटम्यान फिल्म पनि अन्य फिल्म जस्तै कोमिक्स किताबका पात्रहरु हुन्। 

टर्निङ रेड
'टर्निङ रेड' डिज्नीले बनाएको पिक्सर कार्टुन हो। जसमा एक सानी केटीले हुर्काइको समयमा भोगेका पीडाको कथा छ। यो पिक्सरको महिला निर्देशित पहिलो फिल्म पनि हो।

फिल्ममा एसियन मुल चीनकी १३ वर्षीया केटीको क्यानडामा हुर्कँदाको अवस्था देखाइएको छ। यो फिल्म विश्वव्यापी रुपमा मार्च ११ मा प्रदर्शनमा आउनेछ।

द नर्थम्यान
'द नर्थम्यान' हलिउड एक्सन फिल्म हो। अप्रिल २२ मा विश्वभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा साइकोलोजिकल थ्रिलर, जादु लगायतका विषय समेटिएको छ।

सानै छँदा काकाले बाबुलाई आँखै अगाडि मारेपछि बदला लिने कथामा फिल्म बनेको छ। द विच र द लाइटहाउस जस्ता जबरजस्त फिल्म बनाइसकेका निर्देशकको फिल्म भएकाले पनि द नर्थम्यान प्रतिक्षित फिल्म हो।

स्पाइडर म्यानः अक्रोस द स्पाइडर भर्स (पार्ट वान)
नेपालका हलहरुमा हालै तहल्का मच्चाएको फिल्म स्पाइडर म्यानः नो वे होमकै अवधारणमा बनेको फिल्म हो 'स्पाइडर म्यानः अक्रोस द स्पाइडर भर्स (पार्ट वान)'। यसमा स्पाइडर म्यानलाई भने फरक खालका पोप आर्ट, भिज्वल स्टाइल देख्न सकिन्छ। 

चार वर्षअघि आएको स्पाइडर म्यान इन टु द स्पाइडर भर्स जहाँ टुङ्गिएको थियो, फिल्म त्यहीँबाट अघि बढ्ने फ्यानको अनुमान छ। तर निर्माण टोलीले भने त्यस्तो नभएको बताएको छ।

विश्वभर अक्टोबर ७ मा प्रदर्शनको तयारी रहेको फिल्म पहिलो एपिसोड नै २ पार्टमा आउनेछ। 

अवतार २
सन् २०२२ डिसेम्बर १६ मा प्रदर्शन हुँदैछ अवतार २। साइन्स फिक्सनमा आधारित फिल्म अवतार धेरै कमाइ गर्ने फिल्मको सूचीमा परेपछि यसको दोस्रो भागको माग झनै बढेको थियो। फ्यानहरुको माग बमोजिम फिल्म अवतार २ प्रदर्शन हुँदैछ।

१३ वर्षदेखि प्रतीक्षामा रहेको फिल्म कस्तो बन्ने हो भन्ने पनि धेरैमा कौतुहल छ। यो फिल्मको पाँच सिजन लेखिसकिएको खबर समेत बाहिरिएको छ।

१० माघ, २०७८, १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।