औषधि लिमिटेडले सिटामोल उत्पादन थाल्यो, दस दिनभित्र ३० लाख ट्याब्लेट बजार पुर्‍याउने तयारी

औषधि लिमिटेडले सिटामोल उत्पादन थाल्यो, दस दिनभित्र ३० लाख ट्याब्लेट बजार पुर्‍याउने तयारी
तस्बिर : उपेन्द्र खड्का

काठमाडौं : आइतबार दिउँसो बबरमहलस्थित नेपाल औषधि लिमिटेड पुग्दा धमाधम सिटामोल उत्पादन भइरहेको थियो। उत्पादन भएको सिटामोल प्याकिङ गर्ने चटारो पनि त्यत्तिकै देखिन्थ्यो।

कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढेका बेला बजारमा सिटामोल अभाव भएको थियो।

कच्चा पदार्थ खरिद नहुँदा करिब तीन हप्ता सिटामोल उत्पादन रोकेको औषधि लिमिटेडले कच्चा पदार्थ आएपछि पुनः सिटामोल उत्पादन गर्दै शनिबारबाट बजारमा पुर्याउन थालेको रहेछ। 

औषधि लिमिटेडका सूचना अधिकारी तथा खरिद प्रमुख टीकाराम अर्यालले ३० लाख ट्याब्लेट सिटामोल उत्पादन हुने कच्चा पदार्थ आइसकेकाले उत्पादन सुरु भई शनिबारबाटै पुनः सिटामोल बजारमा पुगेको जानकारी दिए।

दस दिन भित्रमा ३० लाख ट्याब्लेट सिटामोल उत्पादन गरेर बजार पुर्याइसक्ने लिमिटेडका सूचना अधिकारी अर्याल बताउँछन्। उनी औषधि लिमिटेडसँग प्रतिदिन तीन लाखभन्दा बढी ट्याब्लेट सिटामोल उत्पादन गर्ने क्षमता रहेको बताउँछन्। 

‘हामी एक दिनमा तीन लाख ट्याब्लेटभन्दा माथि उत्पादन गर्न सक्छौं,’ उनी भन्छन्, ‘दिनको तीन लाखले यो दस दिनको काम हो। ‘हिजो (शनिबार)बाट बजारमा सिटामोल जान थालिसक्यो।’ 

तर, कुनै प्राविधिक समस्या ननिम्तिए रात दिन खटेर एक हप्तामा ३० लाख ट्याब्लेट सिटामोल उत्पादन गर्न सकिने उनले जानकारी दिए।

दुई हप्तामा ६० लाख ट्याब्लेट उत्पादन हुने
थप ३० लाख ट्याब्लेट सिटामोल उत्पादन हुने कच्चा पदार्थ पनि खरिद भएर बाटोमा आइरहेको अर्याल बताउँछन्। उनले लिमिटेडमा भएको ३० लाख ट्याब्लेट उत्पादन हुने कच्चा पदार्थ नसकिँदै (एक हत्तामा) अर्को ३० लाख ट्याब्लेट उत्पादन हुने कच्चा पदार्थ पनि आइपुग्ने बताए। त्यसैले एक हप्तामा ३० लाख सिटामोल बजारमा दिएपछि फेरि अर्को एक हप्तामा ३० लाख ट्याब्लेट सिटामोल बजारमा दिन सकिने उनले जानकारी दिए। 

सूचना अधिकारी अर्यालले भने, ‘एक हप्तामा ३० लाख ट्याब्लेट सिटामोल बजारमा दिन्छौं। फेरि अर्को एक हप्तामा अर्को ३० लाख दिन्छौं।’

करिब दुई हप्तामा ६० लाख ट्याब्लेट उत्पादन गरेपछि थप ८० लाख ट्याब्लेट उत्पादनका लागि कच्चा पदार्थ खरिद गर्ने प्रक्रियामा रहेको उनले जानकारी दिए। अर्यालले भने, ‘तत्कालै चार हजार किलो खरिद गर्ने प्रक्रियामा छौं। चार हजार किलो भनेको ८० लाख ट्याब्लेट बन्छ।’ 

घाटाको व्यापार 
मूल्य बढेको समयमा कच्चा पदार्थ खरिद गरेर सिटामोल उत्पादन गर्दा घाटा हुने र लिमिटेडसँग केही सिटामोल स्टकमा भएकाले करिब तीन हप्ता उत्पादन रोकिएको उनले बताए। 

‘फाइदा नभएको बेलामा कच्चा पदार्थ ल्याएर थुपार्ने कुरा पनि आएन,’ उनले भने, ‘कच्चा पदार्थ नभएका कारण १५/२० दिन पारासिटामोल उत्पादन भएन।’ कच्चा पदार्थको मूल्य पाँच गुणासम्म बढेको अवस्था रहेको उनले बताए।

तर, यसरी माग धेरै हुन्छ भन्ने थाहा भएको भए ताकेता गरेर अलि चाँडै मगाउन पनि सकिने उनको तर्क छ। कच्चा पदार्थ खरिद भएपछि कच्चा पदार्थ आउन २०/२५ दिन लाग्ने भएकाले पनि करिब तीन हप्ता उत्पादन रोकिएको उनको तर्क छ। 

‘मूल्य घट्दो क्रममा भएकाले केही समयपछि उत्पादन गरौं भन्ने आधारमा मात्रै (उत्पादन स्थगित) गरेको हो,’ के कारणले सिटामोल उत्पादन रोकिएको हो? भन्ने जिज्ञासामा सूचना अधिकारी अर्यालले भने, ‘उत्पादन बन्द गरेको हैन। कच्चा पदार्थ हामीले खरिद गरेका थियौं आइसकेको थिएन। त्यति मात्रै हो।’

५० प्रतिशतभन्दा बढी घाटा
एक ट्याब्लेट सिटामोल उत्पादनका लागि करिब एक रुपैयाँ ३० पैसा लागत पर्ने सूचना अधिकारी अर्याल बताउँछन्। उनी भन्छन्, ‘एउटा सिटामोल ट्याब्लेट बनाउन एक रुपैयाँले भ्याउँदैन। एक रुपैयाँ ३० पैसा हाराहारी पर्न जान्छ।’ 

नेपालमा सिटामोल एक रुपैयाँभन्दा बढीमा बेच्न पाइँदैन। तर सिटामोल बेचेवापत बजारबाट लिमिटेडले ६० देखि ७० पैसा पाउने उनले जानकारी दिए। बाँकी बजारको मार्जिन हो। 
अर्यालले भने, ‘हामीले त ६५ पैसामा बेच्ने हो।’ उनको भनाइ अनुसार लिमिटेडले सिटामोल उत्पादनमा ५० प्रतिशतभन्दा बढी घाटा बेहोरिरहेको छ।

प्रतिकिलो दुई सय ५५ भारतीय रुपैयाँ रहेको पारासिटामोलको कच्चा पदार्थ कोरोना भाइरस संक्रमण सुरु भएयता प्रतिकिलो करिब एक हजार भारतीय रुपैयाँ पुगेको उनले जानकारी दिए। 

‘सामान्य अवस्थामा प्रतिकिलो भारु दुई सयदेखि तीन सय यसको मूल्य हो,’ उनले भने, ‘कोभिड आइसकेपछि घरी आठ सय र नौ सयको बीचमा किनेका छौं, घरी सात सयदेखि आठ सयको बीचमा किनेका छौं। हजारसम्म पनि किनियो।’

अहिले सिटामोल उत्पादन गर्ने कच्चा पदार्थ आठ सयभन्दा बढी भारतीय रुपैयाँमा खरिद गर्नुपरेको सूचना अधिकारी अर्यालले जानकारी दिए। सिटामोल प्याक गर्ने पत्ता लगायत खर्च जोड्दा घाटा बेहोर्नु परेको उनी बताउँछन्। 

महँगो भएको अवस्थामा कच्चा पदार्थ खरिद गरेर ल्याएर स्टकमा नराखिएको उनले जानकारी दिए। 

दुई वर्षमा एक करोड पनि बिकेन
एक दिनमा कति ट्याब्लेट सिटामोल उत्पादन गर्नुहुन्छ त? भन्ने जिज्ञासामा उनले भने, ‘अस्तिसम्म नर्मल नै थियो। घाटामा बेच्नु छ। सामान ल्याएर थुपार्ने कुरा पनि आएन। अब निड (आवश्यक) भएपछि हामीले खरिद गर्न लागेको हो।’

सामान्य अवस्थामा धेरै ट्याब्लेट सिटामोल नबिकेको र म्याद नाघ्ने (एक्सपायर) अवस्थामा समेत पुग्ने गरेको सूचना अधिकारी अर्यालले सुनाए। ‘यो भन्दा पहिला दुई वर्षमा पनि हामीले एक करोड ट्याब्लेट (सिटामोल) बेच्न सकेनौं,’ उनले भने, ‘कोभिड नआएको भए हाम्रो पारासिटामोल एक्सपायर हुन्थ्यो।’ 

यसअघि पारासिटामोल उत्पादनको लागि कच्चा पदार्थ खरिद गर्ने सवालमा पर्ख र हेरकै स्थितिमा रहेको उनले जानकारी दिए। कोभिड घट्दै जाँदा पारासिटामोलको कच्चा पदार्थको मूल्य पनि घट्दै गएको र कोभिड बढेको अवस्थामा बढेको उनी बताउँछन्। 

‘कोभिड घट्दै जाँदा कच्चा पदार्थको मूल्य पनि घट्दै गएको थियो,’ उनले भने, ‘अहिले फेरि मूल्य बढेको छ। आज एउटा पाटीले प्रतिकिलो आठ सय ५० भारु भनेर पठाएको छ।’

एक करोड बजेट माग
सरकारलाई सिटामोल उत्पादनको घाटा पूर्तिका लागि एक करोड रकम मागेको उनले जानकारी दिए। अर्यालले भने, ‘नेपाल सरकारलाई मूल्य लेखेरै मूल्य अनुदान पाउँ भनेर एक करोड प्लस पैसा मागेको अवस्था छ।’

लिमिटेडले सरकारसँग अनुदानका लागि ताकेता गरिरहेको पनि उनले जानकारी दिए। उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई रकम निकासाका लागि ताकेता भइरहेको उनले जानकारी दिए।

उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा अनुदान पत्र पुगिसकेको बताउँदै उनले अर्थ मन्त्रालय पनि यसका लागि सकारात्मक भएको जानकारी दिए। 

दुई करोड सिटामोल ट्याब्लेट उत्पादनको घाटा पूर्तिका लागि सो बजेट माग गरिएको सूचना अधिकारी अर्यालले जानकारी दिए।

९ माघ, २०७८, २१:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।