लुम्बिनी र मधेश प्रदेशका मुख्यमन्त्रीसहित १२ जिल्लाका प्रजिअलाई गृहमन्त्री खाँणको टेलिफोन

लुम्बिनी र मधेश प्रदेशका मुख्यमन्त्रीसहित १२ जिल्लाका प्रजिअलाई गृहमन्त्री खाँणको टेलिफोन

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी र मधेश प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरेका छन्। उनले त्यसक्रममा सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ सङ्क्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टिजेन्ट परीक्षणलगायतबारे जानकारी लिएका छन्। 

खाँणले आइतबार मुख्यमन्त्री कुलप्रसाद केसी र लालबाबु राउत तथा सीमा नाका जोडिएका र सीमासँग नजिकका जिल्लाहरू कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन्। 

उनले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई शीतलहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि जानकारी लिएका छन्। 

खाँणले सीमाबाट भित्रने नागरिकमा पोजेटिभ देखिएमा उनीहरूलाई आइसोलेशनमा राख्न र नजिकै जिल्लामा घर भए स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेशनमा बस्न चाहनेलाई घरसम्म पुर्याउने व्यवस्थाबारे पनि चासो राखेका थिए। 

यसक्रममा प्रजिअहरूले आ-आफ्नो जिल्ला भएको गतिविधिबारे जानकारी गराएका थिए।

९ माघ, २०७८, १२:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।