जसका लागि बनाइएको उसैले अस्वीकार गरेपछि झार-जंगल बन्दैछ नमुना वस्ती

जसका लागि बनाइएको उसैले अस्वीकार गरेपछि झार-जंगल बन्दैछ नमुना वस्ती

तराई मधेस समृद्धि कार्यक्रम र इटहरी उपमहानगरपालिकाको लगानीमा इटहरी–१६ मा निर्माण भएको सो वस्ती अहिलेसम्म प्रयोगमा भने आएको छैन ।

१ करोड २३ लाख रुपैयाँको लागतमा निर्माण भएको वस्तीमा अहिले झार-जंगल पलाउन थालेको छ। नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रमको ९० प्रतिशत र इटहरी उपमहानगरपालिकाको १० प्रतिशत लगानीमा वस्ती तयार गरिएको हो। 

सो वस्ती अहिले छेउछाउका बालबालिका खेल्ने र गाईको चरनमा परिणत भएको छ। सीमान्तकृत भनिएको मुसहर समुदायका लागि निर्माण गरिएको वस्ती सोही समुदायले नै अस्वीकार गरेपछि अलपत्र परेको हो।

दुई वर्षदेखि खाली रहेको वस्तीको रेखदेख स्थानीय कुमार भुजेलले गरिहेका छन्। रेखदेख गरेकै आधारमा उनले एउटा घर पाएका छन्। बाँकी १४ वटा घरमा बस्ने मुसहरको खोजीमा छ उपमहानगरपालिका। 

वस्ती निर्माण समितिका अध्यक्ष शिवनारायण चौधरी रोजगारीको समस्या देखाउँदै मुसहरहरु बस्न नमानेको बताउँछन्। राजमार्ग छेउमा बस्दा रोजगारी पाइन्छ भनेर उनीहरु भित्री वस्तीमा नआएको उनले सुनाए।

इटहरी उपमहानगरपालिका भने बहुवर्षे सडक निर्माणको क्रममा सडक ओगटेर बसेका स्थानीयलाई सार्ने तयारीमा छ।

मुसहर समुदायका अगुवा चमरु ऋषिदेव असुविधाको कारण देखाउँदै वस्तीमा नबसेको बताउँछन्। राति कोही विरामी भयो भने अस्पताल पुर्याउन समेत सक्ने अवस्था नभएपछि आफूहरु त्यहाँ बस्न नमानेको उनको भनाइ छ। 

‘काम गर्न बाहिर गएपछि फर्कंदा रात पर्छ। टाढा भएकाले आउन-जानको समस्या छ। राति घरमा गएर खाना पकाएर खान ढिला हुन्छ। बाढी डुबानको समस्या छ। त्यो भएर हामी त्यहाँ नगएका हौं, उनले भने, ‘वस्ती बनाउने बेलामा हामीलाई नसोध्ने अहिले जबरजस्ती बस भनेर हुन्छ?’ 

राजमार्ग छेउतिर रहेको ऐलानी जग्गामा वस्ती बनाउनुपर्ने उनको भनाइ छ। ‘त्यहाँ किन नबनाएको? हामीलाई किन नसोधेको? हामी सबैलाई जागिरको व्यवस्था हुनुपर्यो। बजार र अस्पताल चाहियो अनि मात्र हामी जान्छौं,’ चमरुले भने। 

बाउ-बाजे बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनले बुढेसकालमा बसाइ नसर्ने अडान लिए। ‘हामी गाईवस्तु जस्तो जतिबेला भन्यो त्यतिबेला ठाउँ सर्दैनौं। अहिले बसेकै ठाउँमा घर बनाइदिनुपर्छ,’ उनले भने।

चमरुको जस्तै तर्क गर्छिन् मल्की ऋषिदेव पनि। उमेरले ७० कटेकी उनी नाति-नातिना हेरेर दिन काट्छिन्। छोराहरु नभएपछि छोरीहरुकै भरमा बाँचेकी मल्कीलाई पुरानो वस्ती छोड्न मन छैन। छोरीहरु छिमेकी वस्तीमा विवाह गरेर गएका कारण आफूले रेखदेख पाएको उनी सुनाउँछिन्। 

‘मलाई सार्ने भए मेरा दुई घर छोरीहरु पनि सँगै लानुपर्छ,’ उनले भनिन्। सुरुमा आफूलाई नसोधी सरकारले जबरजस्ती हटाउन खोजेको उनको दुखेसो छ।

स्थानीय सागर फिडमा रोजगारी पाएका उनीहरु बजारमा ज्यामी काम गर्ने गर्छन्। राजमार्ग नजिकै बसेका मुसहर समुदायलाई स्थानीय उद्योगले रोजीरोटी दिएको छ। जसको लोभमा उनीहरु बसाइ सर्न मानेका छैनन्। 

उता उपमहानगरपालिकाले वडा नम्बर १६ का अध्यक्ष दीपनारायण चौधरीको संयोजकत्वमा तीन सदस्यीय टोली बनाएको छ। सोही टोलीको प्रतिवेदनको आधारमा वस्ती पुनस्र्थापना गरिने भएको हो।

घरबारविहीन गरिब परिवारको छनोट गरी वस्तीमा राख्ने व्यवस्था मिलाइने चौधरीले बताए। उनका अनुसार यो वर्षभित्रै वस्तीमा नयाँ परिवारले प्रवेश पाउने जानकारी दिए। 

मुसहरले वस्ती अस्वीकार गरेपछि बहुवर्षे सडक समेत अन्योलमा परेको छ। सडक ओगटेर बसेका मुसहर समुदायलाई हटाउने योजना असफल हुने भएपछि सडक विस्तारमा अन्योलता देखिएको हो।

९ माघ, २०७८, ११:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।