नेपाली सडकमा निर्वाध गुड्छन् ओभरलोड भारतीय गाडी, बन्दै गरेको आयोजनामा १० करोडको पुनर्निर्माण

नेपाली सडकमा निर्वाध गुड्छन् ओभरलोड भारतीय गाडी, बन्दै गरेको आयोजनामा १० करोडको पुनर्निर्माण

त्यस यता पटक–पटक ट्रक व्यवसायीले ओभरलोड भारतीय सवारी रोक्नका लागि माग गरिरहेका छन्। बेलाबखत आन्दोलन समेत हुन्छ। तर अहिले पनि भारतीय ओभरलोड सवारी रुपन्देहीको मुख्य भन्सार नाका बेलहियाबाट निर्वाध भित्रिरहेका छन्।

भारतीय सवारीले भन्सारमा भारवहन क्षमता मिलान गरेर मात्र गन्तव्यमा जानुपर्ने कानूनी व्यवस्था छ। तर त्यसको अवज्ञा गर्दै ओभरलोड गाडी नेपालका विभिन्न जिल्लामा पुगेको यातायात व्यवसायीहरू बताउँछन्।

पश्चिमाञ्चल ट्रक व्यवसायी संघ बुटवलका अध्यक्ष यम पाण्डेले भारतबाट आउने ओभरलोड मालवाहक सवारीका कारण नेपाली यातायात व्यवसायी मारमा परेको र यसका कारण नेपाली सडक तथा पुलहरू समेत भत्कने गरेको बताए। 

‘हामीले भारतीय गाडी रोक्न भनेका छैनौँ, ओभरलोड बोक्न पाइँदैन भनेका हौँ’, उनले भने।

बेलहिया नाकाबाट प्रवेश गरेका भारतीय ओभरलोड सवारी लुम्बिनी औद्योगिक कोरिडोर, भैरहवा–परासी, भैरहवा–बुटवल क्षेत्रमा मात्र नभई काठमाडौं, पोखरासम्म पुग्ने गरेको उनले बताए। भारतीय एउटा सवारीले नेपाली बाटोमा ८० देखि ९० टनसम्म बोक्ने गरेको उनको भनाइ छ।

नियमअनुसार नेपालमा चल्ने मालवाहक ६ चक्के गाडीले १० टन, १० चक्केले १७ टन, १२ चक्केले २१ टन, १४ चक्केले २५ र १८ चक्केले ३० टन र २४ चक्केले २७ टन बोक्न पाउँछन्। 

यही व्यवस्थाअनुसार नेपालको सडकमा समेत बढीमा ३० टन बोकेका सवारी गुड्न पाउने व्यवस्था गरिएको छ। तर, भारतीय एउटै सवारीले ९० टनसम्म सामान बोकेर आउने गरेको उनले बताए।

ट्राफिक प्रहरीले नाकामा ओभरलोड गाडीलाई अधिकतम एक हजार ५ सय रुपैयाँ जरिवाना काटेर छाड्ने गरेको छ। जरिवाना काटेकै भरमा नेपालभर निर्वाध चल्न दिइँदा सडक र पुलसहित नेपाली व्यवसायीहरू नै धरापमा पर्न थालेको पाण्डेले बताए।

मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका– २०७४ अनुसार भारतबाट ओभरलोड आउने गाडीले भन्सार विन्दुमै भार क्षमता मिलान गरी सम्बन्धित ठाउँमा जानुपर्ने व्यवस्था छ। तर, ओभरलोड भारतीय गाडीको भार क्षमता मिलान हुँदैन। 

‘हामीले यो माग बारम्बार प्रशासन, प्रहरीसामु राखेका छौँ। आन्दोलनको १/२ दिन कार्यान्वयन हुन्छ। पछि हुँदैन’, उनले भने।

ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई जरिवाना मात्र काटेर छाडिदिने गरेको छ। 

‘कतिपयको भारवहन क्षमता मिलान पनि हुन्छ। तर अधिकांशको मिलान गर्न नसक्ने हुन्छन्। पोल्टी गर्न मिल्दैन। त्यस्तो अवस्थामा जरिवाना काट्नुको विकल्प हुँदैन’, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले भने 

उनले सवारी ऐनअनुसार बढी ओभरलोड ल्याउने, ढालामाथिबाट सामान ल्याउने सवारीहरूलाई चिट काट्ने गरेको बताए। 

‘यसको नियमन भन्सारले चेकजाँचकै क्रममा गर्नुपर्ने हो। भन्सारबाट पास भएर आएकाहरूमा हेर्दा ओभरलोड देखिएपछि कारबाही हामीले गरेका हौँ’, उनले भने।

व्यवसायीले भने भन्सार विन्दुमै भारवहन क्षमता मिलाउनु पर्ने माग गर्दै आएका छन्। 

भन्सारका अधिकृत भन्छन्- नियमन गर्न सकिँदैन
भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले भने ऐन र नियमले ओभरलोड नियमन गर्न भन्सारलाई नभनेका कारण भन्सारले नियमन गर्न नसक्ने बताए। 

‘आर्थिक ऐन र भन्सार ऐन, निर्देशन कार्यविधि कतैबाट ओभरलोड हेर्ने जिम्मेवारी हामीलाई दिएको छैन। यदि स्पष्ट निर्देशन आएमा हामीले त्यो हेर्न सक्छौँ’, उनले भने।

यस्तै कतिपय क्रेनबाट लरीमा लोड गर्ने सामानहरू ओभरलोड भएमा भन्सारमा राख्न सक्ने क्षमता पनि नभएको उनले बताए। ‘प्रहरीले कानूनअनुसार ओभरलोड भए चिट काटेर पठाउँछ। तर हामीलाई अधिकार नभएका कारण कसैले सोध्यो भने जवाफ दिने ठाउँ छैन’, उनले भने।

भारतबाट आयात हुने फलाम, जिप्सम, फलामे एमएस ब्लेड, वायर, खरानी, उद्योगका चिम्नी बोकेका गाडी बढी मात्रामा ओभरलोड हुने गर्छन्। यस्तै, नेपालका विभिन्न ठाउँबाट यो सडक प्रयोग गरेर आउजाउ गर्ने दैनिक ५ सय बढी चुनढुंगा बोकेका टिपरले ओभरलोड बोक्ने गरेका छन्। 

यस्ता गाडीको ओभरलोड नियन्त्रणमा कसैको ध्यान गएको पाइँदैन। 

सडक र पुल जोखिममा
बेलहिया नाका हुँदै दैनिक ४ सयको हाराहारीमा मालवाहक गाडी नेपालतर्फ भित्रिन्छन्। तीमध्ये ६० प्रतिशतभन्दा बढी मालवाहक गाडी ओभरलोड हुन्छन्।

नियामक निकायले ओभरलोड गाडीलाई नियन्त्रण नगर्दा बेलहिया–बुटवल व्यापारिक मार्गअन्तर्गतको सडक भत्किँदै गएको छ। पुलहरू पनि जोखिममा परेका छन्। 

डिभिजन सडक कार्यालयका जयलाल मरासनीले ओभरलोडकै कारण व्यापारिक मार्गमा खाल्डाखुल्डी परेको बताए। कम्तिमा आठ वर्ष पुनः मर्मत गर्न नपर्ने गरी डिजाइन गरेर निर्माण भइरहेको भनिएको सडक नै निर्माण सम्पन्न नहुँदै पुनर्निर्माण गर्नु परेको उनले बताए।

ओभरलोडका कारण बेलहिया नाकादेखि अञ्चलपुरसम्मको बायाँतर्फको करिब ६ किलोमिटर सडकमा क्षति पुगेको छ। बुटवलतर्फ पनि उस्तै अस्वथा छ। अस्फाल्ट क्रंकिट प्रविधि प्रयोग गरी २०६९ सालबाट निर्माण सुरु भएको व्यापारिक मार्ग विस्तार अझै सम्पन्न भएको छैन। आयोजना नसकिँदै पुनर्निर्माणमा आयोजनाले १० करोड ३५ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। 

त्यस्तै उनले अत्याधिक भार र तीव्र सवारीको गतिका कारण धेरै पुल जीर्ण बनेको बताए। उनका अनुसार धेरै पुल १० देखि १५ टन क्षमताका छन्। तीव्र गति र भारले पुल भत्कने अवस्थामा रहेको उनले बताए।

९ माघ, २०७८, ०८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।