कोरोना सङ्क्रमितको उपचार गर्ने डाक्टर, जसको आँखैअघि एकै परिवारका तीन जनाको मृत्यु भयो

कोरोना सङ्क्रमितको उपचार गर्ने डाक्टर, जसको आँखैअघि एकै परिवारका तीन जनाको मृत्यु भयो

उनले दोस्रो लहरको बेला नै सङ्क्रमणका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको घटना कहिल्यै बिर्सन सकेनन्। 

३५ वर्षकी एक महिलाका सासू र ससूरालाई कोरोना भाइरस सङ्क्रमण भएको थियो। उनीहरू सिभिल अस्पतालमा उपचार गराइरहेका थिए।

उनीहरूको उपचारमा डा. विदेशकै टीम खटिरहेको थियो। यता ती महिला पनि सासू र ससूराको स्याहारमा निकै खटिएकी थिइन्। 

हुन त पत्रपत्रिकामा समेत ती बिरामी कोरोना सङ्क्रमित हुन सक्ने भन्दै समाचार नआएको होइन। तर तीन पटकसम्म कोरोना परीक्षण गर्दा पनि उनमा सङ्क्रमण भेटिएन।

तर, उनीहरूको स्वास्थ्य अवस्था सुध्रिएन। झन् बिग्रँदै गयो। अन्ततः उनीहरू दुवै जनाको मृत्यु भयो। ती महिलाले २/३ दिनको फरकमा सासू-ससूरा गुमाइन्। 

सासू–ससूरा गुमाएकी ती महिलाका श्रीमान् पनि सोही समयमा सङ्क्रमित भएका थिए। श्रीमान् पनि सिभिल अस्पतालमा नै थिए। 

डा. विदेश भन्छन्, ‘उहाँका सासू– ससूरा र श्रीमान् आईसीयूमा हुनुहुन्थ्यो। उहाँ स्याहारमा खटिनु भएको थियो।’

यता सासू-ससूरा गुमाए पनि श्रीमान् बाँचुन् भन्ने कामना गरिरहेकी हुन्थिन् उनी। तर न विदेशको टीमको चिकित्सकीय विधि काम लाग्यो न ती महिलाको कामना। सासू-ससूरा गुमाएको १०औं दिनमा उनले श्रीमान् पनि गुमाइन्। 

विदेशको टीमले जब ती महिलालाई श्रीमानको मृत्यु भएको सुनाए- ती महिला भावविह्वल भइन्। विदेश र उनको टीमलाई ग्लानि भयो। उनीहरूले ती महिलासँग क्षमा पनि मागे। 

ती महिलाको मन दह्रो रहेछ। उनले अस्पतालबाटै तीनै जनालाई विदाई गरिन्। 

ती महिलाले भोग्नु परेको दर्दनाक पीडा सम्झेर डा. विदेशको मन अहिले पनि चसक्क हुन्छ। छाती पोल्छ। अनि कामना गर्छन्– यस्तो विपत् कसैलाई नआओस्।

कोरोना महामारीको दोस्रो लहरको बेला अस्पताल पुग्ने धेरैले परिवारका एकभन्दा बढी सदस्य गुमाएको क्षणको उनी साक्षी हुन्।

पहिलो लहरको त्यो त्रास
कोरोना महामारी सुरु भएदेखि नै सिभिल अस्पतालमा कोभिड व्यवस्थापनमा खटिएका डा. विदेशलाई पहिलो लहरको त्रास अझै याद छ।

चिकित्सक र स्वास्थ्यकर्मी नै त्रसित भएको बेला एक जना कोरोना सङ्क्रमितको शंका गरिएका पुरुषलाई बचाएको क्षण उनी कहिल्यै भुल्दैनन्। 

चीनमा कोरोनाले उग्र रूप लिइसकेको थियो। त्यही बेला ४० वर्षका ती पुरुषलाई सिभिल अस्पतालमा भर्ना गरियो। उनमा भएका लक्षणले कोरोना नै हो भन्ने लगभग बताउँथ्यो। 

तिनको उपचार गर्न चिकित्सकहरू पनि नडराएका होइनन्। तर चिकित्सकीय धर्म हो- उपचार गर्नैपर्छ। डा. विदेशकै टीम डराउँदै र डर हटाउँदै ती पुरुषको उपचारमा खटियो।

उपचार गर्दै जाँदा थाहा भयो- तिनलाई निमोनिया भएको रहेछ। हुन त पत्रपत्रिकामा समेत ती बिरामी कोरोना सङ्क्रमित हुन सक्ने भन्दै समाचार नआएको होइन। तर तीन पटकसम्म कोरोना परीक्षण गर्दा पनि उनमा सङ्क्रमण भेटिएन। 

डा. विदेशसहितको टीमले चिकित्सकीय विधि र ज्ञानले भ्याएसम्म उनलाई बचाउन खोजे। निमोनिया भएका ती बिरामी बिस्तारै तङ्ग्रिदै गए। स्वास्थ्य अवस्थामा सुधार भयो। उनले पुनर्जीवन पाए। 

यता उनलाई डिस्चार्ज गर्दा डा. विदेशको मन गद्गद् भयो। यो प्रसङ्गले उनलाई निकै खुशी दिन्छ।

घण्टौं सङ्क्रमितको उपचारमा खटिदा...
सुरुदेखि नै कोरोना सङ्क्रमितको व्यवस्थापनमा खटिएका डा. विदेश कोभिड–१९ फोकल पर्सनका रूपमा काम गर्दै आएका छन्।

उकेराकर्मीसँग भेट्नुअघि पनि भर्खर कोभिड वार्डमा बिरामी हेरेर आएका रहेछन् उनी।

भेटको सुरुमै उनी गम्भीर भए। ‘म भर्खर पनि कोभिड वार्ड गएर आएको। वार्ड भरिसकेको छ। संयमित हुन आवश्यक छ', उनले भने।

डा. विदेश कतिपटक त कोभिड वार्डमा छिरिसकेपछि घण्टौँ उपचारमा खटिएका छन्। 

कोरोनाको पहिलो लहरमा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमितको उपचारमा खटाउनै कठिन भएको उनको अनुभूति छ।

डा. विदेशलाई पनि डर त थियो नै। तर, चिकित्सकीय धर्म सम्झेर धेरै पटक उनी कोरोनाका बिरामीको उपचार गर्न जान्थे। बिरामीको उपचार गर्थे। त्यो बेला अस्पतालका कतिपय कर्मचारीले जागिर समेत छोडे। 

त्यो बेला कोभिड आइसोलेशन, वार्ड, आईसीयूलगायतका संरचना रातारात खटेर बनाएको उनलाई हिजो जस्तै लाग्छ। पहिलो लहरमा त कयौँ पटक राति पनि उठेर अस्पताल पुग्नु परको उनको अनुभव छ।

कोभिड वार्डमा छिर्ने भनेपछि बिरामीहरूमा मरिने पो हो कि भन्ने डर अलि बढी नै हुने गरेको उनी सम्झन्छन्। 

पहिलो र दोस्रो लहरमा अस्पताल भर्ना भएका करिब आधा जसो बिरामीले आस मार्दै 'बाँच्छु र? डाक्टर साब' भन्दै सोधेको विदेशलाई याद छ। 

तीमध्ये एक बिरामीलाई त आत्मबल बढाउन घण्टौँ परामर्श गर्नु परेको उनले सुनाए। 

भयले गर्दा सानी छोरीको नजिक बस्न, छोरीसँग खेल्न तथा रमाउन असहज भयो। भान्सामा छिर्न पनि डर भयो।

'मरिँदैन भनेर बिरामीलाई बुझाउन समय लाग्थ्यो। एक जना बिरामीलाई करिब ४५ मिनेटसम्म मर्नुहुन्न, हामी बचाउँछौं भनेर सम्झाउनुपर्थ्यो', उनले भने।

दोस्रो लहरमा धेरै बिरामीको मृत्यु हुने डर
तर दोस्रो लहरमा भने बिरामीलाई लामो समय मनोपरामर्श दिनु नपरेको डा. विदेशको अनुभव छ। दोस्रो लहरमा धेरैले बाँच्छु होला भन्ने आत्मविश्वास देखाएको उनले सुनाए।

तर, दोस्रो लहरमा स्वास्थ्य अवस्था जटिल भएका बिरामी अस्पताल भर्ना हुने संख्या बढिरहेको थियो। अक्सिजनको अभाव भएपछि त बिरामीहरूले ज्यान गुमाउनुपर्ने हो कि भन्ने चिन्ताले पनि उनलाई सताइरहन्थ्यो। 

‘त्यो समयमा राउण्ड सकेर बाहिर निस्कँदा स्वास्थ्य अवस्था जटिल भएका बिरामीहरूको भोलि कस्तो अवस्था हुने हो भन्ने चिन्ता हुन्थ्यो’, उनले सुनाए।

दोस्रो लहरमा नेपालमा सङ्क्रमणले उग्र रूप लिएको थियो। सङ्क्रमितको व्यवस्थापन गर्न मुस्किल परेको थियो। पाँच-पाँच मिनेटमा बिरामीलाई गाह्रो भएको र घण्टौँसम्म कोभिड वार्डमा बसेर उपचार गर्नुपरेको उनी सम्झन्छन्। 

दोस्रो लहरमा वयस्क तथा युवा अवस्थाका पनि धेरै व्यक्ति सङ्क्रमित भएर अस्पताल पुगे।

तर, दोस्रो लहरअघि अधिकांश स्वास्थ्यकर्मीले खोप लगाएकाले सबैको मनोबल बढ्यो। तेस्रो लहरमा भने हाल डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मी धेरै सङ्क्रमित भएकाले उपचारमा खटाउन अलि कठिन भएको उनले अनुभव सुनाए। 

तर, तेस्रो लहरमा भने स्वास्थ्यकर्मीमा डर कम भएको उनले सुनाए। 

परिवारमा भय
डा. विदेशको परिवारमा बुवाआमा, श्रीमती र सात वर्षकी छोरी छन्। अस्पतालबाट कोरोना सङ्क्रमण पो बोकेर आएँ कि! भन्ने भय उनलाई पनि हुने नै भयो। 

यही भयले गर्दा सानी छोरीको नजिक बस्न, छोरीसँग खेल्न तथा रमाउन असहज भयो। भान्सामा छिर्न पनि डर भयो।

सुरुसुरुमा उनलाई घर छिर्नै डर हुन्थ्यो। कपडा पनि बाहिरै खोलेर डा. विदेश घर छिर्थे। अहिले पनि उनी नुहाई धुवाई गरेर मात्रै छिर्छन्। घरमा बस्दा पनि स्वास्थ्य मापदण्ड अपनाएर बस्छन्।

जन्म र अध्ययन
ललितपुरको सानेपामा २०३६ सालमा जन्मिएका विदेशले तीन कक्षासम्म जेम्स स्कुलमा पढे। त्यसपछि भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालय भर्ना भए। २०५२ मा त्यहीँबाट एसएलसी दिए। प्लस टू पनि त्यहीँ गरे।

एमबीबीएस अध्ययनका लागि उनी नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भए। सन् २००५ मा एमबीबीएस उत्तीर्ण भए। 

एमबीबीए अध्ययनका क्रममा एनाटोमी विषयको प्रयोगात्मकमा शव चिरफार गर्नुपर्ने हुन्छ। एनाटोमीमा शवको चिरफार गर्दा केही अनौठो लागे पनि डर चाहिँ लागेन उनलाई। बरू प्लस टूमा बायोलोजी अध्ययन गर्दा भने भ्यागुता चिर्न उनलाई घिन लागेको  रहेछ।

एमबीबीएसपछि विदेशले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मेडिकल अधिकृतका रूपमा एक वर्ष काम गरे।

उनलाई अध्ययनको भोक मरेकै थिएन। त्यसैले चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जमा भर्ना भएर स्नातकोत्ततर तहको एमडी इन्टरनल मेडिशिन विषयको अध्ययन गरे। २००९ मा अध्ययन सके।

त्यसपछि डा. विदेश नयाँ वानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा सन् २०१० मा जागिरे भए। 

त्यहाँ पाँच वर्ष काम गरेपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०१४ मा भर्ना भएर कृटिकल केयर तथा स्लीप मेडिसिन विषयमा डिएम तहको अध्ययन गरे। सन् २०१७ मा अध्ययन सके। 

सिभिल अस्पताले नै डिएम अध्ययन गर्न उनलाई त्यहाँ पठाएको रहेछ। डा. विदेश छातीरोग र कृटिकल केयर तथा स्लीप मेडिसिन विशेषज्ञ हुन्। २०१७ देखि सिभिल अस्पतालमा एक्लो पल्मोलोजिष्ट चिकित्सककको रूपमा कार्यरत उनी अस्पतालका स्थायी चिकित्सक हुन्।

अन्त्यमा,

उनले आफ्नो चिकित्सकीय पेशाका क्रममा कति बचाउन गाह्रो भएका बिरामीलाई बचाएका छन्। कतिलाई अथक प्रयास गर्दा समेत बचाउन सकेनन्। 

परिवारले माया मारिसकेर अब घर लान्छौँ भनेका बिरामीहरू बचाएर डिस्चार्ज गरेका घटना पनि प्रसस्तै भएको उनले सुनाए।

कोरोना सङ्क्रमित भएर घर परिवारले माया मारिसकेका कयौँ बिरामी बचाउन सफल भएको सम्झन्छन् उनी। त्यसो त बाँच्ने आशा गर्दागर्दै बचाउन नसकेका केस सम्झँदा उनको मन चसक्क हुन्छ। 

८ माघ, २०७८, १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।