अत्यावश्यक सेवाका सवारी साधनमा जोरबिजोर लागू नहुने 

अत्यावश्यक सेवाका सवारी साधनमा जोरबिजोर लागू नहुने 

काठमाडौं : कोरोना सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा आज शनिबार बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ।

काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासनले सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने प्रणाली लागू गरेका हुन्। 

प्रशासनले सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ ।

आदेश कार्यान्वयनका लागि बिहानैदेखि सुरक्षाकर्मीलाई ठाउँ ठाउँमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आदेशअनुसार अत्यावश्यक सेवामा प्रयोग हुने र तोकिएका सवारीलाई भने जोरबिजोर प्रणाली लागू नहुने प्रशासन कार्यालयको आदेशमा उल्लेख गरिएको छ।

औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने छैन। 

खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधन पनि निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ। 

परिचयपत्रका आधारमा बैङ्क, बिमा, वित्तीय संस्था, वायुसेवा कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ। 

यस्तै सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी र कूटनीतिक नियोगका सवारी साधन सञ्चालन गर्न पाइने छ।

८ माघ, २०७८, ०८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।