आइडलका कडा जज सुगम : कसैलाई भन्छन् बरालियो, कसैलाई सोध्छन् किन तर्सेको ?

आइडलका कडा जज सुगम : कसैलाई भन्छन् बरालियो, कसैलाई सोध्छन् किन तर्सेको ?

काठमाडौँ : यो रियालिटी शोका जजहरूमा प्राय एक समान समस्या देखिन्छ कुरा चपाएर बोल्ने। यो ठिक भो, यो चैँ भएन भन्दै नभन्ने। प्रयास राम्रो गर्नुभयो। प्रयास गर्दै जानुहोला पाराको सुझाव आउँछन् प्राय।

नेपाल आइडलका तीन जजमध्ये शम्भुजित बास्कोटाको पारा त्यही छ। शुवानी मोक्तान कहिलेकाहीँ क्रिटिकल झैँ देखिन्छन्। हसिलो देखिने जज सुगम पोखरेल भने अलि भिन्न छन्। उनी कुरा घुमाउँदैनन् लागेको ट्वाक्कै भनिदिन्छन्।

सहभागीलाई कहिले कसले सातो लग्यो भनेर झकझकाउँछन् त कहिले मुखैमा अंह भएन भन्छन्। राम्रो गाएमा मजाले प्रशंसा गर्न पनि कन्जुस्याइँ गर्दैनन्। बिहीबारको कार्यक्रममा उनको त्यही रूप देखिएको थियो। शुक्रवार पनि उनी ल्याङल्याङतिर लागेनन् ट्वाक्क जे हो त्यही मूल्याङ्कन गरे प्रतिस्पर्धीको।

पहिलो प्रस्तुति थियो आदेश पौडेलको। उनले 'सपना भुलाई सारा' बोलको गीत गाए। सुर राम्रो लागेको थियो उनको। शम्भुजितले कम्पोजिसनको मर्म राखेर गाएको प्रतिक्रिया दिए। सुगमले भने'आदेशको अर्को साइड देखियो फेरि। सुरुमा अलि बरालिएको थियो। राम्रो गायौ।' उनी कुर्सीबाट उठे पनि। शुवानीले भ्वाइस पावरफुल र क्लियर छ भन्दै प्रशंसा गरिन्।

पालो आयो विश्वास उप्रेती। नेपाल आइडलको सिजन ३ मै रक गायकको छवि बनाउन सफल उनले यूटर्न लिएर 'बादलुको घुम्टोले' गाइदिए। जज छक्क। उनले राम्रो प्रयास गरेका थिए। राम्रै कमेन्ट आयो।

रञ्जित नेपाले 'कुन मन्दिरमा जान्छौ यात्री' गाए। उनले आफ्नै फ्लेवरमा ढालेर गाएका थिए। सुगमले मन पराए। अन्य २ जजले पनि राम्रै भने।

लक्ष्मी पौडेलले सुक्मित गुरुङले गाएको 'मिर्मिरेमा तिमीलाई' बोलको गीत गाइन्। गीत सुन्दा नै के नमिले झैँ सुनिएको थियो। कारण शुवानीले खोलिदिइन्। उनी म्युजिकसँगै गाउन सफल भइनन्। म्युजिक अघि-अघि उनी पछिपछि भइन्। स्वर उनको गजब मीठो छ।

यस्तो हुनुको कारण आत्तिनु निकाले जज सुगमले। टप १० मा आउनु भनेको विजेता हुने नजिक पुग्नु भएको भन्दै उनले भने ' टप १० मा आएपछि सबै आत्तिए। नआत्तिइकन वेस्ट दिनु।'

नाम्गेल तामाङ 'प्रिय तिम्रो सम्झनामा' ठिकठिकै गाए। ठिकै प्रतिक्रिया पाए। पालो आयो गोल्डेन माइक विनर मदन गुरुङको।
उनले भारतीय गायक शानले गाएको 'आधा जिन्दगी' गाए। शुवानीले सबैभन्दा अनुशासित प्रतियोगी अनि मिहिनेती भनेर प्रशंसा गरिन्। सुगमले भने ' मदनको आज सास फुल्यो। एकै पटक गाउनुपर्ने आधा जिन्दगी आधा-आधा बनायो। बाँकी ठिकै छ। सासमा ध्यान दिनु।' 

७ माघ, २०७८, ००:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।