क्याम्पसहरूले बढी शुल्क लिए कारबाही हुन्छ: गृहमन्त्री

क्याम्पसहरूले बढी शुल्क लिए कारबाही हुन्छ: गृहमन्त्री

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले एमबीबीएस, बीडीएस र बीएनएस अध्ययन गर्ने विद्यार्थीहरूसँग क्याम्पसहरूले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिए/नलिएको बारे अनुसन्धान गर्ने बताएका छन्। शुक्रबार गृह मन्त्रालयमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, विद्यार्थी संगठनका प्रतिनिधि र चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूसँग भएको छलफलमा गृहमन्त्री खाँणले बढी शुल्क लिएको पाइएमा कानुनबमोजिम कारबाही गर्ने बताएका छन्। 

‘चिकित्सा शिक्षा अध्ययनमा देखिएका समस्या समाधान गर्ने दायित्व सरकारको हो। अहिले कलेज सञ्चालकहरूले बढी शुक्ल लिएको आरोप विद्यार्थीहरूले लगाइरहनु भएको छ। हामीले यस विषयमा अध्ययन गर्छौँ,’ गृहमन्त्री खाँणले भने, ‘अनुसन्धानमा दोषी पाइएमा ऐन, कानून र नियममा जस्तो व्यवस्था छ, त्यही अनुरूपको कारबाही सरकारले गर्छ।’

उनले कारबाही गर्दा कुनै आग्रह र पूर्वाग्रह नराखिने पनि बताए। उनले चिकित्सा शिक्षामा देखिएको समस्यामा सरकार गम्भीर रहेको र छिट्टै निकास निकाल्ने पनि बताए।

यता शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले शिक्षा मन्त्रालयसहितका सरकारी निकायसँग आफैँले गरेको सहमति उल्लंघन गरेको बताए। राज्यका निकायलाई चुनौति दिने कलेज सञ्चालकहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि उनले बताए। 

यस्तै गृहसचिव टेकनारायण पाण्डेले कलेज सञ्चालकले ठगेको प्रमाणसहित प्रक्रिया पुर्याएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएमा सरकारले कारबाही गर्न पछि नहट्ने बताए।

छलफलमा विद्यार्थी संगठनका नेताहरू र नोबेल र केएमसीमा अन्ययनरत विद्यार्थीहरूले कलेज सञ्चालकहरूले राज्यले निर्धारण गरेका ऐन, कानुन र नियमलाई ठाडै चुनौति दिएकाले कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए।

७ माघ, २०७८, १९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।