सामुदायिक विद्यालयमा शिक्षाको स्तर समान बनाउन बुटवल उपमहानगरको नयाँ अवधारणा

सामुदायिक विद्यालयमा शिक्षाको स्तर समान बनाउन बुटवल उपमहानगरको नयाँ अवधारणा

यसले उपमहानगरभित्रका सबै सामुदायिक विद्यालयहरूमा समान शैक्षिक स्तर स्थापना हुने उपमहानगरपालिकाले अपेक्षा गरेको छ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले नमुना भनिएका विद्यालय र अरू सामुदायिक विद्यालयहरूलाई समान गुणस्तर कायम गर्न यो अवधारणा कार्यान्वयनमा ल्याएको बताए।

बुटवलका कालिका मानवज्ञान, नवीन औद्योगिक, कान्ति माध्यमिक लगायतका विद्यालयहरू यहाँका निजी विद्यालयसँग प्रतिस्पर्धा गर्दै आएका छन्। अरू विद्यालयमा पनि शैक्षिक गुणस्तर वृद्धिका लागि सिंगो बुटवलः एक विद्यालय अवधारणा ल्याएको उनको भनाइ छ। 

‘यहाँका सामुदायिक विद्यालयमा शिक्षाको समान गुणस्तर कायम हुन्छ। विद्यार्थीले जुनसुकै स्कुलमा अध्ययन गरे पनि उसले गुणस्तर शिक्षा आर्जन गर्न सक्छ। पूर्वाधार, पोसाकलाई एकै बनाउने गरी पनि हामी लागेका छौँ’, उनले भने।

अवधारणा कार्यान्वयनमा गएपछि सबै विद्यालयहरूको भौतिक, आर्थिक, मानवीय, प्रशासनिक एवं अन्य प्रकारका साधन स्रोतहरूको उच्चतम प्रयोग भई अपेक्षित नतिजा समेत हासिल गर्न सकिने बताइएको छ।

उपमहानगरपालिकाले ८ वटा अब्बल र गुणस्तरीय मानिएका विद्यालयलाई ८ क्लस्टरमा विभाजन गरेको छ। ती विद्यालयको सिको अन्य विद्यालयलाई गर्न लगाइनेछ।

२०७४ सालमै नगर शिक्षा ऐन लागू गरेको उपमहानगरपालिकामा यो अवधारणा ०७८ मा कार्यान्वयनमा लगिएको हो। यो अवधारणा कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा शिक्षाका लागि ९ करोड बजेट विनियोजन गरेको शिक्षा शाखा प्रमुख मित्रमणि खनालले बताए।

बुटवलमा ३८ वटा सामुदायिक विद्यालय छन्। आधारभूत १२, माध्यमिक २२, विशेष १ र मदरसा ३ वटा रहेका छन्। तिनलाई ८ वटा क्लस्टरमा विभाजन गरी हरेक क्लस्टरअनुसार विषयगत शिक्षकको समिति बनाइने उनले बताए। हरेक समितिले एउटै शैक्षिक क्रियाकलाप र पठन योजना बनाउनेछन्। 

६ माघ, २०७८, १५:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।