बजारमा 'ग्यारेन्टीका साथ उपचार गर्ने' भन्दै माइकिङ गरेको नसुन्ने को होला? 'घुँडा दुख्ने, शरीर दुख्ने,पोल्ने समस्या हिमाली जडिबुटीको तेल लगाएर सञ्चो बनाउने नभए पैसा फिर्ता दिने' भन्दै माइकिङ भइरहेको जताततै सुनिन्छ।
उकेरा मन्थन
'ग्यारेन्टी उपचार'को झुटको खेतीमा फस्दै बिरामी, घट्दै आयुर्वेदको साख

पहिले-पहिले चोक र फुटपाथमा मात्र सुनिने यस्ता विज्ञापन आजभोलि टिभी र रेडियो जस्ता सञ्चारमाध्यमले पनि विनाहिच्किचाहट प्रशारण गर्ने गरेका छन्।
तर के तिनले भने जस्तै आयुर्वेदले ग्यारेन्टीका साथ उपचार गर्छ त?
आयुर्वेद पुरानो चिकित्सा प्रणाली होl आयुर्वेदको मुख्य उद्देश्य भनेको स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्ने र रोगीको उपचार गर्ने होl
आयुर्वेदमा व्यक्तिको प्रकृतिअनुसार नै उपचार हुन्छ। औषधि पनि व्यक्तिअनुसार छुट्टा छुट्टै हुन्छl कुनै सीमित औषधिबाहेक अरू औषधि आयुर्वेद चिकित्सकसँग सल्लाह गरेर मात्र सेवन गर्नुपर्दछ। यदि जथाभावी प्रयोग गरेमा यसले नकारात्मक असर गर्दछl
झुटो प्रचारमा फस्दै बिरामी
आयुर्वेद औषधिले 'साइड इफेक्ट' गर्दैन, सबै रोगको उपचार जडिबुटीबाट गरिन्छ, क्यान्सरदेखि एड्ससम्म निको हुन्छ भन्दै गरिने विज्ञापन र झुटो प्रचार जताततै देखिन्छ।
३-४ दिनअघिको कुरा हो, एकजना करिब ४५ वर्षका व्यक्ति- 'मेरो बालाई क्यान्सर छ, रेडियोमा आयुर्वेद औषधिले क्यान्सरको ग्यारेन्टी उपचार हुन्छ भन्ने सुनेको थिएँ, मलाई क्यान्सर निको गराउने औषधि दिनु न' भन्दै आए।
यो एउटा प्रतिनिधि उदाहरण मात्र हो, यस्ता प्रचार सुनेर ग्यारेन्टी उपचारको खोजीमा धेरै बिरामी भौतारिँदै हिँडेको देखिन्छ।
आयुर्वेद क्लिनिक तथा फार्मेसी सञ्चालन गर्ने र ठूलो होर्डिङ्ग बोर्डमा सबै रोगको ग्यारेन्टी उपचार भन्दै टाँस्ने गैरआयुर्वेदले नै आयुर्वेदको नाममा लुटतन्त्र मच्चाई रहेका छन्l
त्यसो त बाबा, माता, गुरु, देवी, आयुर्वेद अनुसन्धानकर्ता, आयुर्वेदविज्ञ जस्ता छुट्टा छुट्टै नाममा सबै चिकित्सक बनेका छन्। जडिबुटीको धुलो औषधि भनेर स्टेरोइड पिसेर दिने, पेनकिलर पिसेर दिने तथा दर्ता नभएको औषधि खुलेआम प्रयोग गरेको पनि जगजाहेरै छ।
यसरी झुटो ग्यारेन्टी दिँदा धेरै बिरामीले ग्यारेन्टी उपचार खोज्ने र उपचार नभएपछि आयुर्वेदप्रति विश्वास घट्ने स्वाभाविक नै हो।
जबसम्म सम्बन्धित निकाय यसरी नै मौन वा कम सक्रिय रहन्छ तबसम्म यो परिपाटी मौलाइरहन्छ। आयुर्वेदको साख घट्दै जान्छ।
त्यसो त अञ्चलदेखि जिल्ला आयुर्वेद प्रत्येक जिल्लामा छ। हातमा गनिने ५-७ जिल्लाबाहेकका जिल्ला आयुर्वेदमा निःशुल्क धुलो औषधि पाइन्छ भनेर दैनिक १०-१२ जना बिरामी गइरहन्छन्।
न त जिल्ला आयुर्वेदलाई सुधार गर्न केही कदम चालिएको छ, न जिल्लामा भएको ग्यारेन्टी उपचारको व्यथिति हटाउन कुनै अनुगमन वा नियमन गरिएको छ।
आयुर्वेद औषधिले साइड इफेक्ट कम गर्छ, प्रयोग गर्न सजिलो छ र दीर्घकालीन रोगमा यसको राम्रो प्रभाव पनि छ। तर यसको अर्थ यो होइन कि आयुर्वेद औषधिले सम्पूर्ण रोगको सम्पूर्ण प्रकारको समस्यालाई निर्मुल पार्दछl
आयुर्वेद औषधिमा प्रयोग हुने रस तथा भष्म उचित मात्रामा प्रयोग गरेमा औषधि हुन्छ। अधिक मात्रामा प्रयोग गरेमा विष समान हुन्छl
आयुर्वेद चिकित्सा र आयुर्वेद औषधि धेरै नै महँगो हुन्छ भन्ने धेरैको गुनासो छ। धेरै निजी आयुर्वेद फार्मेसी तथा क्लिनिकले सामान्य रोग लागेका बिरामीलाई पनि १०-१२ थरी औषधि बोकाएर पठाउने र चर्को शुल्क लिने गरेको देखिन्छ।
एउटा पाइल्सको बिरामीलाई कुनै जाँच वा परीक्षण नगरी बिरामीले भनेको आधारमा नेपालमा पाइल्स सम्बन्धी पाइने जति सबै औषधि दिएर पठाएको देखिन्छ।
क्षणिक आयआर्जनको लागि यो प्रकारको प्रवृत्तिले आयुर्वेदको बदनाम त हुन्छ नै, निकट भविष्यमा आयुर्वेदप्रति मानिसहरूको विश्वास पनि घट्दै जाने कुरा जगजाएर छ।
(हाल चीनमा 'ट्रेडिशनल चाइनिज मेडिसिन' विषयमा स्नातकोत्तर तह अध्ययन गरिरहेका लामिछाने आयुर्वेद चिकित्सक हुन्।)
२०७८ माघ ०४ गते ७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।