मन्त्रालय टुक्र्याउँदिन, बरू पद नै छोडिदिन्छु: मुख्यमन्त्री शाही

मन्त्रालय टुक्र्याउँदिन, बरू पद नै छोडिदिन्छु: मुख्यमन्त्री शाही

‘कर्णालीमा अन्य प्रदेशको जस्तो मन्त्रालय फुटाएर खर्च बढाउने पक्षमा म छैन। मैले मन्त्रालयको संख्या बढाएर सरकार विस्तार गर्नुभन्दा त मुख्यमन्त्री पद नै छोडिदिन्छु’, उनले भने,‘अहिले गठबन्धनमा यही कुरा मिलिरहेको छैन। यद्यपी हामी गठबन्धनमा छलफल गरेर यही संख्याभित्र मिलाउँछौँ।’

आफूले मन्त्रालय फुटाएर कर्णालीलाई अनावश्यक बोझ बढाउन नचाहेको भन्दै मन्त्रालय फुटाएर भागबण्डा मिलाउन आएको निर्देशनलाई समेत नटेर्ने बताए।

प्रदेशको मन्त्रिपरिषद्ले लामो समयदेखि पूर्णता नपाउँदा पनि सरकारका काम कारबाहीमा कुनै असर नपरेको र अझ प्रदेशको अनावश्यक खर्च समेत बचत भएको उनको दावी छ। ‘मन्त्री नभएर कुनै पनि मन्त्रालयको काम रोकिएको छैन, नपत्याए सबै मन्त्रालयका सचिवज्यूहरूलाई सोध्नुहोला,’ उनले भने,‘अहिलेसम्म कुनै फाइल रोखिएको पनि छैन।’

'तपाईंले मन्त्रिपरिषद् त गठन गर्न सक्नुभएन नै आफ्नो सचिवालय पनि किन विस्तार गर्नु सक्नुभएन?' भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘राजनीतिक नेतृत्त्व नै पहिलो आवश्यकता हो, दोस्रो त कर्मचारीतन्त्र छँदैछ। सचिवालयको कुरा छ, त्यो नहुँदा पनि मेरो काम चलेकै छ। प्रदेशको राजश्व पनि बचेकै छ त। पहिला मन्त्रिमण्डल होस्, त्यसपछि मात्र सचिवालयले पूर्णता पाउँछ।’

उनले जागिर खुवाउनका लागि मात्र नभई वास्तविक विज्ञ, योग्य र क्षमतावान् व्यक्तिहरूलाई सचिवालयमा राख्ने बताए। उनले बजेट कार्यान्वयनको सन्दर्भमा विगतको भन्दा तीव्र गतिमा वृद्धि भइरहेको भन्दै ४० बुँदामा प्रगति प्रतिवेदन समेत पेश गरेका छन्।

जसमा विभिन्न अस्पताललाई कोरोना न्यूनीकरण गर्न ८० लाख, प्रदेश अस्पतालको यूपीएस सिस्टम खरिदका लागि ३८ लाख, जनस्वास्थ्य प्रयोगशालाका लागि दुई करोड विनियोजन गरेको उल्लेख छ।

उनले कर्णालीमा ८ वटा अक्सिजन प्लान्ट स्थापना गरिएको बताउँदै जिल्लाहरूमा एम्बुलेन्स, शव वाहनका लागि पनि बजेट पठाइसकिएको जानकारी गराए।

३ माघ, २०७८, १९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।