जब कम्मरमा प्वाल देखेर बिरामीका आफन्तले मिर्गौला झिकेको आरोप लगाए

जब कम्मरमा प्वाल देखेर बिरामीका आफन्तले मिर्गौला झिकेको आरोप लगाए

२०७२ साल बैशाख २९ गते भूकम्प जाँदा हाडजोर्नी तथा नसारोग विशेषज्ञ प्रा. डा. विनोद शेरचन राष्ट्रिय ट्रमा सेन्टरको दोश्रो तल्लामा थिए। उनी ३५ वर्षकी एक महिलाको शल्यक्रिया गरिरहेका थिए। उनी बैशाख १२ गतेको भूकम्पमा घाइते भएकी थिइन्।

ती महिलाको मेरुदण्डको शल्यक्रिया आधा सकिएको थियो। डा. विनोदको टीमले उनको मेरुदण्डमा केही स्क्रुप र रड फिट गर्न मात्र बाँकी थियो। 

तर, एक्कासि हल्लायो। सबैको सातो गयो। शल्यक्रिया गर्न राखेको सामान र औजारहरू झर्यो। बेहोस बनाएर शल्यक्रिया गरिरहेका बिरामी लड्ने डर भयो। 

डा. विनोदलाई आफ्नो ज्यान जोगाउन पनि मुस्किल भयो। उनी उछिट्टिएर भित्तामा ठोकिए। तर, चिकित्सकको टोलीले आफ्नो धर्म निभाए। कोही पनि भागेनन्। बरू शल्यक्रिया गरिरहेको बिरामीलाई समाएर बसे डा. विनोद। 

केही बेरमा भूकम्पको कम्पन कम भयो। विनोदले घरमा फोन गरे। परिवार सुरक्षित भएको खबर पाए। त्यसपछि पुनः बिरामीको शल्यक्रियामै खटिए विनोद र उनको टीम।

ती महिलाको शल्यक्रिया सफल भयो। बिरामी ठीक भइन्। 

त्यस दिन (२९ गते) एउटा शल्यक्रिया गरेपछि सबै चिकित्सक ट्रमा सेन्टरको आकस्मिक कक्षतिर केन्द्रित भए। भूकम्पले घाइते बनाएकाहरूको शल्यक्रिया गरे।

त्यसो त बैशाख १२ गते भूकम्प जाँदा पनि विनोद बिरामीकै उपचारमा थिए। त्यसबेला उनले सबैभन्दा पहिला परिवारलाई सुरक्षित स्थानमा राखेर बिरामीको उपचारमा खटिन ट्रमा सेन्टर पुगेका थिए।

त्यसबेला ट्रमा सेन्टरमा जताततै कि घाइते कि मृतक भेटिन्थे। त्यस दिन पहिलो शल्यक्रिया सुरु गर्दा रातको १२ नै बज्यो। ११ वर्षीया बालिकाको घुँडाभन्दा तलको भाग पर्खालले थिचेर छिन्न मात्र बाँकी थियो। उनकै शल्यक्रियामा डा. विनोदको टीम जुट्यो।

ती बालिकालाई विनोदको टीमले जोगायो। त्यसपछिको करिब दुई हप्ता त विनोदको टीमले २४सै घण्टाजसो घाइतेको सेवामा बितायो। त्यसबेला न उनीहरू दिन ढलेको थाहा पाउँथे। न बिहान भएको।

खानाको ठेगान हुँदैन थियो। बिस्कुट, पाउरोटी र पानीको भरमा दिन बित्थ्यो।

यस्तो बेला विनोदलाई पनि परिवारसँगै बस्न मन त हुन्छ रे। तर चिकित्सकीय धर्मले उनलाई बिरामीकै सेवामा खटिन प्रेरित गरिरहन्छ। तर विनोदकी श्रीमती मनोचिकित्सक रहिछिन्। त्यसकारण पनि तनाव व्यवस्थापन गर्न सहज हुने उनी ठट्यौली पारामा बताउँछन्।

उनकी श्रीमती डा. प्रतीक्षा तुलाचन त्रिवि शिक्षण अस्पतालकी मनोचिकित्सक हुन्। उनीहरूका दुई छोरा छन्।

अप्रेशन थिएटरमा नै मृत्यु भएपछि...

गत वर्ष मङ्सिरको कुरा हो। ३५ वर्षका सरकारी चिकित्सक मोटरसाइकलबाट लडेछन्। देब्रे कुइनो भाँचिएर उनी हड्डी फुटेछ। तिनले डा. विनोदको बारेमा सुनेका रहेछन्। त्यसैले विनोदलाई नै शल्यक्रिया गरिदिन अनुरोध गरेछन्। 

ट्रमा सेन्टरमा शल्यक्रियाको तयारी थालियो। डा. विनोदको टीमले शल्यक्रिया गरिरहेको बेला तिनले भनेछन्- 'दाहिने छाती दुख्यो।' 

शल्यक्रिया आधा सकिसकेको थियो। उनले त्यसो भन्नु पनि अनि एक्कासि उनको मुटुको चाल कम हुँदै गयो। 

विनोदको टीम आत्तियो। उनलाई बचाउन अनेक उपाय लगाए। मुटुको धड्कन फर्काउन सीपीआर पनि गरियो। तुरुन्तै आईसीयू–भेन्टिलेटरमा राखियो। तर केही उपायले पनि उनको ज्यान जोगाउन सकेन। केही घण्टामै ती चिकित्सकले प्राण त्यागे। 

विनोदलाई अति पीडा भयो। जीवन-मृत्युलाई नजिकबाट चिनेका विनोदले त्यसदिन आँसु खसाए। 

तर, घर पुग्नासाथ ट्रमाबाट विनोदका साथीले फोन गरे– 'डाक्टर सा'ब बिरामीका आफन्तले अस्पतालमा हङ्गामा मच्चाए। टेलिभिजन पनि आएर भिडियो खिचेर गयो।' 

उकेरासँगको कुराकानीमा पनि उनी त्यो घटना सम्झिएर भावुक भए। भने, ‘डाक्टर सा'बको मृत्युको त्यो घटना सम्झँदा साह्रै पीडा हुन्छ।’ 

०००

विनोदले मृत्युको अर्को प्रसङ्ग पनि सुनाए। शल्यक्रिया सफल भएपछि एक जना वृद्धको अप्रेशन थिएटरमा नै मृत्यु भएको सम्झदा उनी झस्किन्छन्। 

६५ वर्षका ती वृद्ध टीबी रोगका कारण मेरुदण्डको हड्डी खिएको थियो। उनी प्यारालाईज्ड जस्तो भएका थिए। 

विनोदको टीमले उनको शल्यक्रिया थाल्यो। मक्किएको हड्डी पनि निकालियो। नयाँ हड्डी राखियो। च्यापिएका नसा पनि खुलायो डा. विनोदको टीमले।

शल्यक्रिया सफल भयो। त्यसपछि उपचारका लागि बेहोस बनाइएका ती वृद्धलाई उठाउन थालियो। छड्के राखिएको बिरामी उत्तानो पारेर उठाउन फर्काइयो। तर, एक्कासि तिनको मुटुको चाल कम हुँदै गयो। 

विनोदको टीमले मुटुको चाल फर्काउन सीपीआर गर्यो। तर, केही लागेन। 

उनको मृत्यु भयो। शल्यक्रिया सफल भइसकेपछि पनि मृत्यु भएको देख्दा विनोदको आँखामा आँसु अडिएन। 

बिरामीका आफन्तले मिर्गौला झिक्यो भनेर हंगामा गर्दा 

त्यसो त उपचार सफल हुँदाहुँदै पनि कहिलेकाहिँ बिरामी तथा बिरामीका आफन्तबाट अपजस पाउँदा विनोदलाई दिक्क लाग्छ। २०७४ मा यस्तै एउटा अपजस खेप्नुपर्यो उनले।

२२ वर्षका एक युवाको हातको पञ्जा र नाडी बीचको जोर्नीको भाग भाँचिएको थियो। भाँचिएको भागमा कम्मरको सानो हड्डी लगेर जोड्नुपर्ने थियो। 

उपचारका लागि ती युवा ट्रमा सेन्टर पुगेका थिए। उनलाई विनोदले कम्मरको हड्डी निकालेर भाँचिएको भागमा जोड्नुपर्ने जानकारी गराएका थिए। सोही अनुसार शल्यक्रिया सुरु भयो। 

कम्मरबाट हातमा हड्डी लगेर राखे विनोदले। शल्यक्रिया सफल भयो। त्यसपछि विनोद घर गए। 

तर, घर पुग्नासाथ ट्रमाबाट विनोदका साथीले फोन गरे– 'डाक्टर सा'ब बिरामीका आफन्तले अस्पतालमा हङ्गामा मच्चाए। टेलिभिजन पनि आएर भिडियो खिचेर गयो।' 

त्यसपछि उनी तुरुन्तै ट्रमा फर्किए। बिरामीको आफन्तसँग कुरा गरे। बुझ्दै जाँदा बिरामीका आफन्तलाई कम्मरमा प्वाल पारेको देखेर डाक्टरले मिर्गौला झिके कि! भन्ने भ्रम परेको रहेछ। 

विनोदले उनीहरूलाई सम्झाए। विश्वास नलागे अल्ट्रासाउण्ड गरेर हेर्न आग्रह गरे।  त्यसपछि बिरामीका आफन्त विश्वस्त भए।

तर, त्यो घटनाले बिरामी युवालाई भने दुखी बनायो। भ्रममा परेर व्यर्थै  विनोदलाई दोष लगाएको प्रति अस्पतालमा बसुञ्जेले उनले विनोदसँग माफ मागिरहे। 

जंगली जनावरको मासु उपहार

उपचारपछि ठीक भएका कतिपय बिरामी तथा बिरामीका आफन्त त उपहार नै बोकेर आउने गरेको डा. विनोदले सुनाए। केही वर्ष अघि धादिङका ९ वर्षका एक बालक खुट्टा भाँचिएपछि हजुरबुवासँग उपचारका लागि वीर अस्पताल आएका थिए। उपचारपछि ती बालकको खुट्टा निको भयो। उनी डिस्चार्ज भए। 

पछि फलोअपमा पुग्दा त ती बालकका हजुरबुवाले डा. विनोदलाई जंगली जनावरको मासु नै पो कोशेली ल्याइदिएछन्। जंगली जनावरको मासु भनेर विनोदले नपत्याउलान् भनेर मासुसँगै छाला समेत राखेर ल्याएछन्।

अध्ययन र जागिर

विनोदकी आमा शिक्षिका। बागलुङमा थिइन्। त्यसैले स्थायी घर मुस्ताङको थासाङ्ग भए पनि उनी २०३० मा बागलुङमा जन्मिए।

तर, विनोदको बाल्यकाल भने मुस्ताङमै बित्यो। माध्यामिक तहसम्मको अध्ययन मुस्ताङमै भयो। २०४७ मा उनले एसएलसी उत्तीर्ण गरे। जिल्ला टप भए।

एसएलसीपछि भने विनोद थप अध्ययनका लागि काठमाडौं हानिए। अस्कल क्याम्पसमा आइएस्सीमा भर्ना भए। तर, उनलाई काठमाडौंमा पढ्न मन लागेन। 

उनका मामाका छोरा भारतमा पढ्थे। त्यसैले ३/४ महिना अस्कलमा बिताएपछि उनी भारत पुगे।

भारतको बेंग्लोरमा उनी ‘बालविन कलेज’मा ‘प्लस टु’ पढ्न भर्ना भए। सन् १९९४ मा प्लस टु सके। विनोदको सानैदेखि डाक्टर बन्ने सपना थियो। नेपालमा डाक्टरी पढाउने क्याम्पस थोरै थिए। 

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनले एमबीबीएस अध्ययनका लागि छनोट परीक्षा दिए। तर, सफल भएनन्। 

त्यसपछि डा. विनोद एमबीबीएस अध्ययनका लागि सन् १९९५ मा बङ्गलादेश पुगे। बङ्गलादेशको ‘यूनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चट्गाउँ’बाट सन् २००० मा एमबीबीएस अध्ययन पूरा गरेर नेपाल फर्किए। 

नेपाल फर्किएर विभिन्न अस्पतालमा एक वर्ष इन्टर्नसिप गरे।

विनोदले करिब १४ महिना ‘नेपाल मेडिकल कलेज’मा करार जागिरेका रूपमा काम गरे।

त्यही बीचमा लोकसेवा परीक्षा दिए। परीक्षामा सफल भए। २०५९ मा लोक सेवामार्फत सातौं तहको मेडिकल अधिकृतको रूपमा सरकारी स्थायी जागिरे भए।

डाक्टर भएपछि उनले सबैभन्दा पहिले आफू हुर्केको गाउँ नै सम्झिए।

गाउँगाउँमा हेल्थ क्याम्प राख्दै स्वास्थ्य जाँच गर्दा थाहा भयो– अत्याधिक चिसोका कारण निमोनिया भएको रहेछ। विनोदको टोली पुग्नुअघि नै त्यहाँ १०/१२ जनाको मृत्यु भइसकेको रहेछ। 

सरकारी चिकित्सकका रूपमा जागिरे भएपछि करिब डेढ महिना स्वास्थ्य सेवा विभागमा हाजिर गरे उनले। त्यसपछि गृहजिल्ला मुस्ताङमा नै पोष्टिङ मागे।

२०५९ मा जोमसोमको जिल्ला अस्पतालमा उनको पोष्टिङ भयो।

हिमालमा छोडिएका बालबालिका र बुढाबुढीको उपचार

मुस्ताङमा काम गरेका क्षण डा. विनोदका लागि यादगर छन्। उनी चिकित्सकका रूपमा जिल्ला अस्पताल पुगेको केही महिना मात्रै भएको थियो। जाडो मौसम सुरु हुँदै थियो। त्यहाँ जाडोमा माथिल्लो भेगका मानिस तल्लो भेगमा झर्ने गर्थे। 

त्यो वर्षको जाडोमा पनि सधैँजसो प्रायः साना बालकालिका, सुत्केरी तथा पाको उमेरका व्यक्तिलाई घर कुर्न छोडेर अरू हिँडिसकेका थिए। जाडोमा ३/४ महिना हिँड्न सक्नेहरू व्यापार गर्न जाने चलन छ।

डा. विनोद मुस्ताङ पुगेको बेला स्वास्थ्य चौकी, हुलाक, विद्यालयहरू चिसोका कारण बन्द भइसकेका थिए। मानिसहरू जोमसोमभन्दा तल झरिसकेका थिए।

तर एउटा एनजीओको अफिस भने माथि नै बसेको थियो। एक दिन ‘वकीटकी’ मार्फत जिल्ला प्रशासन हुँदै अस्पतालमा एउटा सन्देश पुग्यो। त्यसरी आउने सन्देशलाई ‘आवा’ भनिन्थ्यो। 

आवामा भनिएको थियो– जिल्लाका उच्च भेगमा बसेका बुढाबुढी र बच्चाहरूको रोग लागेर मृत्यु भइरहेको छ।

यस्तो सन्देश पाएपछि एक जना हेल्थ असिस्टेण्ट, एक जना स्टाफ नर्स, दुई जना कार्यलय सहयोगीसहित डा. विनोद रोग फैलिएको क्षेत्रतिर लागे। औषधि तथा स्वास्थ्य सामग्री घोडामा पठाए। उनीहरू हिँड्दै गए।

गाउँगाउँमा हेल्थ क्याम्प राख्दै स्वास्थ्य जाँच गर्दा थाहा भयो– अत्याधिक चिसोका कारण निमोनिया भएको रहेछ। विनोदको टोली पुग्नुअघि नै त्यहाँ १०/१२ जनाको मृत्यु भइसकेको रहेछ। 

त्यसको १५ दिन विनोदको टोली स्वास्थ्य समस्या भएका व्यक्तिको उपचार गर्दै गाउँगाउँ हिँड्यो। चिसोमा आफ्नै ज्यानको बाजी राख्दै उपचार गर्दै हिँडेको क्षण उनको लागि यादगार छ।

एमएस सर्जरी

उनी मुस्ताङमा काम गरिरहेको बेला चिकित्साशास्त्र अध्ययन संस्थानमा स्नातकोत्तर तहको चिकित्साशास्त्र विषयको अध्ययनको लागि छनोट परीक्षा खुल्यो। उनले छनोट परीक्षा दिए। सफल भए।

२०६१ सालको बैशाखमा करिब अढाई वर्ष काम गरेपछि उनले मुस्ताङ छाडे।

त्यसपछि विनोदले एमएस अर्थोपेडिक सर्जरी विषय छनोट गरे। २०६२ मा भर्ना भएका उनले २०६६ मा अध्ययन पूरा गरे। उनले अर्थोपेडिक सर्जरी विषयको विशेषज्ञता हासिल गरे। 

१२ वर्षदेखि वीर र ट्रमा

एमएस अर्थोपेडिक सर्जरी विषयको अध्ययनपश्चात विनोदको २०६६ मा नै वीर अस्पतालमा पोष्टिङ भयो। त्यही बीचमा उनी नवौं तहमा बढुवा भए। जागिर खाएको दुई वर्षमा उनी आठौं तहमा बढुवा भएका थिए।

२०७२ मा उनको सरुवा वीर अस्पताल-राष्ट्रिय ट्रमा सेन्टरमा भयो। त्यस यता उनी निरन्तर ट्रमा सेन्टरमा नै काम गरिरहेका छन्। 

अर्थोपेडिक विभाग एउटै भएकाले चिकित्सकहरू वीर र ट्रमा दुवैतर्फ काम गर्छन्। विनोद गत वैशाखमा ११औं तहमा बढुवा भएका छन्।

उनी ट्रमा सेन्टरको अर्थोपेडिक (हाडजोर्नी) विभागको प्रमुखको भूमिकामा छन्।

स्पोर्ट इन्जुरीको अध्ययन र तालिम
विनोदले सन् २०१४ मा कोरियामा ‘आर्थोस्कोपी एण्ड स्पोर्ट्स इन्जुरी’ विषयमा ६ महिने फेलोसिप गरेका थिए। उनी यो विषयका विशेषज्ञ चिकित्सक हुन्। 

थाइल्याण्ड, जापानलगायतका मुलुक पुगेर यो विषयको तालिम लिएका छन्। 

ट्रमा सेन्टरमा उनी विशेषगरी लडेर घुँडाको मांसपेशी च्यातिने, नसा च्यातिएको तथा चुँडिएको, वासर (मेनिस्कस), कुमको जोर्नी फुत्किने, घुँडा तथा कुइना, गोलिगाँठोको हड्डीको चोट जस्ता खेलकुदसँग सम्बन्धित इन्जुरीको उपचार गर्छन्।

त्यसैगरी दुर्विन–अर्थोस्कोपको माध्यमबाट उनी शल्यक्रिया गर्छन्।

१ माघ, २०७८, १६:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।