उकेरा मन्थन

धर्मशास्त्रीय दृष्टिमा संवत्सर, अयन र माघे सङ्क्रान्ति


वैदिक सनातन धर्ममा कुनै पनि व्रत, उत्सव तथा पर्वहरूका लागि विशेष कालको निर्धारण धर्मशास्त्रीय नियम र विधान अनुसार गरिएको छ। कुनै पनि व्रत तथा उत्सवहरूको प्रारम्भ तथा अन्त्य गर्दा विशेष काल तथा समयमा गर्नुपर्ने हुन्छ। यसरी विशेष कालमा व्रतोत्सव गर्नुपर्ने भएको हुँदा प्रथमतः कालसम्बन्धी ज्ञान अत्यावश्यक देखिन्छ। 

सनातन धर्मशास्त्रीय निबन्ध ग्रन्थहरूमा विशेष गरेर आठ प्रकारका काललाई व्यवहारमा ल्याउने गरिएको पाइन्छ। जस अनुसार १. संवत्सर, २. अयन, ३. ऋतु, ४. महिना, ५. पक्ष, ६.तिथि, ७. वार र ८ नक्षत्र रहेका छन्। जसमध्ये सुरुका दुई संवत्सर र अयनका सम्बन्धमा यहाँ विशेष चर्चा गरौँ।

संवत्सर

सम्पूर्ण ऋतुहरूको एउटा चक्रलाई संवत्सर भनिन्छ। अर्थात् कुनै ऋतुबाट प्रारम्भ भएर पुनः त्यही ऋतु आउनका लागि जति समय लाग्दछ त्यसैको नाम नै संवत्सर हो। एउटा संवत्सरभित्र सम्पूर्ण ऋतुहरू पर्छन्। संवत्सरको माध्यमबाट नै मानिस लगायत सम्पूर्ण प्राणीहरूको आयुको गणना हुने गर्छ। जसमा सबै प्राणी रहन्छन् त्यो समय विभागको नाम नै संवत्सर हो। यसरी सम्पूर्ण ऋतुहरूको र सबै प्राणीहरूको काल विभाजनको आधारको नाम नै संवत्सर हो। संवत्सरको ज्ञान नभएको अवस्थामा मानिसले ऋतु विभागलाई जान्दैनथ्यो। ऋतु विभागलाई नजानेको अवस्थामा प्राणीको आयुको गणना पनि हुन सक्दैनथ्यो। यसरी सम्पूर्ण प्राणीको जीवनसँग संवत्सरको सम्बन्ध रहेको देखिन्छ। संवत्सर तथा ऋतु–विभागको सम्बन्ध सूर्यको गतिसँग रहेको छ। जसले गर्दा सूर्यलाई संवत्सर तथा कालका अधिदेवता मानिएको छ। किनभने सूर्यको अभावमा न त संवत्सर नै हुन्थ्यो न त कालको विभाजन नै। यसर्थ सूर्य नै काल विभाजनको कारण हो। 

धेरैजसो धर्मशास्त्रीय एवं ज्योतिष शास्त्रीय ग्रन्थहरूमा चैत्र शुक्ल प्रतिपदालाई नयाँ संवत्सरको आरम्भ भएको दिन भनेर उल्लेख गरिएको छ। त्यसमा पनि जुन दिन सूर्योदयको अवसरमा प्रतिपदा तिथि रहेको छ त्यही दिनलाई सम्वत्सरारम्भ मान्नुपर्ने कुराको उल्लेख पनि धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ। ब्रह्मा पुराणमा त्यही दिन सूर्योदय हुने बेलामा ब्रह्माले यो संसारको सृष्टि गरेको कुरा उल्लेख गरिएको छ–

चैत्रे मासी जगद् ब्रह्मा ससर्ज प्रथमेश्हनि।

शुक्लपक्षे समग्रं तु तदा सूर्योदये सति।। 

यदि दुवै दिन सूर्योदयको बेलामा प्रतिपदा रहेको छ भने या दुवै दिन सूर्योदयको बेलामा प्रतिपदा छैन भने पनि पहिलो दिनलाई नै सम्वत्सरारम्भ मान्नुपर्ने कुराको उल्लेख निणर्यसिन्धुकारले वृद्धवसिष्ठको वचन उल्लेख गरेका छन्–

वत्सरादौ वसन्तादौ बलिराज्ये तथैव च।

पूर्वविद्धैव कत्र्तव्या प्रतिपत् सर्वदा बुधैः।।

यदि चैत्र महिनामा अधिकमास (मलमास) परेको छ भने प्रथम चैत्र शुक्ल प्रतिपदालाई नै सम्वत्सरारम्भ मान्नुपर्दछ किनभने अधिकमासको गणना अघिल्लो वर्षमा गरिन्छ भन्ने कुराको उल्लेख पनि निर्णयसिन्धुकारले गरेका छन्।

सर्वप्रथम ब्रह्माले यो संसारको सृष्टि गर्ने क्रममा चैत्र शुक्ल प्रतिपदाको सूर्योदयको समयमा यो संसारको निर्माण गरेका थिए भन्ने सम्बन्धमा विभिन्न पुराण तथा धर्मशास्त्रीय निबन्ध ग्रन्थहरूमा वर्णन गरिएको पाइन्छ। पुराणहरूका अनुसार त्यसै दिनदेखि नै यो संसारमा कालगणनाको प्रारम्भ भएको हो।

अयन–अयनमा श्राद्ध गरेको अवस्थामा पितृहरू अनन्तकालसम्म तृप्त हुने कुराको उल्लेख पनि धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ। यसरी गरिने श्राद्धमा पिण्ड दान गर्न नपर्ने कुराको उल्लेख पनि धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ।

त्यसैले धर्मशास्त्रीय निबन्ध ग्रन्थहरूमा यो दिन महाशान्तिका साथ ब्रह्मा सहित वर्ष, महिना, ऋतु, पक्ष, दिन आदि कालका अवयवहरूको पूजा गर्नुपर्ने विधान पनि रहेको छ। यसरी ब्रह्माादिको पूजा गर्नाले सम्पूर्ण पापहरू नाश हुने र आयु, आरोग्य, धन, धान्य तथा सौभाग्यको पनि अभिवृद्धि हुने धार्मिक विश्वास छ। घरमा मङ्गल एवं पवित्रता हुनुको साथै यसलोक एवं परलोकमा पनि सुखदायक रहन्छ भन्ने धार्मिक विश्वास छ–

तत्र कार्या महाशान्ति: सर्वकल्पषनाशिनी।

सर्वोत्पातप्रशमनी कलिदुःखप्रणाशिनी।

आयुःप्रदा पुष्टिकरा धनसौभाग्यवर्धिनी।

माङ्गल्या च पवित्रा च लोकद्वयसुखावहा।

तस्यामादौ च सम्पूज्यो ब्रह्मा कमलसंभवः।। इत्यादि, व्रतार्क।

नवसम्वत्सरारम्भको दिन घरलाई ध्वजा–पताकाहरूले सजाउने, स्नान गर्ने, ब्राह्मणहरूका साथ मङ्गलगान, देवता, मान्यजन, नारीहरू एवं बालबालिकाहरूलाई नयाँ वस्त्र तथा अलङ्कार प्रदान गरेर ज्योतिषहरूबाट पञ्चाङ्ग श्रवण गर्नुपर्ने विधान पनि पाइन्छ। तैलाभ्यङ्ग अर्थात् शरीरमा तेल लगाउने कार्यलाई नवसम्वत्सरम्भमा अनिवार्य नै मानिएको छ जुन कुराको उल्लेख वसिष्ठको वचनलाई लिएर निर्णयसिन्धुमा गरिएको छ। त्यहाँ भनिएको छ– वर्षको प्रारम्भमा, वसन्तादिको प्रारम्भमा, दीपावलीको अवसरमा जसले तेल लगाउँदैन त्यो नरकको भागी बन्नुपर्छ– 

वत्सरादौ वसन्तादौ बलिराज्ये तथैव च ।

तैलाभ्यङ्गमकुर्वाणो नरकं प्रतिपद्यते ।। वसिष्ठ:, निर्णयसिन्धु 

रोग नाश तथा रोगको शान्तिका लागि मरिच, नुन, जिरा, ज्वानोका साथ नीमको फूलका साथ कोमल पातको चूर्ण बनाएर नववत्सरारम्भमा खानुपर्ने कुराको उल्लेख पनि कतिपय आयुर्वेदिक ग्रन्थहरू पाइन्छ।

पारिभद्रस्य पत्राणि कोमलानि विशेषतः।

सपुष्पाणि समादाय चूर्णं कृत्वा विधानतः।।

मरिचं लवणं हिङ्गु जीरकेण च संयुतम्।

अजमोदायुतं कृत्वा भक्षयेद्रोगशान्तये।। 

अयन

सूर्यको गतिलाई अयन भनिन्छ। संस्कृत व्याकरणका अनुसार इण् धातुमा भावार्थमा ल्युट् प्रत्यय लगाउँदा अयन शब्द बन्दछ। उत्तरायण र दक्षिणायन गरी अयन दुई प्रकारका हुन्छन्। कर्क(श्रावण) देखि धन(पौष) सम्मको समयलाई दक्षिणायन भनिन्छ भने मकर(माघ)देखि लिएर मिथुन(असार)सम्मको समयलाई उत्तरायण भनिन्छ।

अमरकोशमा अयनको अर्थ मार्ग भएको उल्लेख गरिएको छ। सूर्य सधैँ पूर्व दिशाको मध्य–विन्दुमा रहँदैन। मेष(वैशाख) सङ्क्रान्तिदेखि श्रावण सङ्क्रान्तिसम्म मध्य–विन्दुबाट उत्तरतर्फ सूर्य रहन्छन् भने श्रावणदेखि तुला(कार्तिक) सङ्क्रान्तिसम्म सूर्य पुनः फर्केर मध्यविन्दुमा आइपुग्दछन्। यस्तै कार्तिकदेखि माघसम्म मध्यविन्दुबाट दक्षिणतर्फ बढ्छन्।

यस्तै माघदेखि वैशाखसम्म त्यहाँबाट फर्केर पुनः मध्यविन्दुमा पुग्दछन्। यसरी हेर्दा छ महिनासम्म सूर्य उत्तरतर्फ र छ महिनासम्म दक्षिणतर्फ रहेका हुन्छन्। सूर्य उत्तरतर्फ रहेको अवस्थालाई उत्तरायण र दक्षिणतर्फ रहेको समयलाई दक्षिणायन भन्ने गरिन्छ। समग्र भारतवर्षलाई हेर्दा उत्तरायणमा दिन लामा र प्रकाशको अधिकता रहन्छ भने दक्षिणायनमा रात लामा भएका कारण अन्धकारको अधिकता हुने गर्छ। 

धर्मशास्त्रीय ग्रन्थहरूमा प्रकाशलाई देवत्व र अन्धकारलाई असुरत्व मानिएको छ। अतः उत्तरायणलाई देवताको दिन र दक्षिणायनलाई देवताको रात्रि मानिएको छ। यसैकारण देवता, बाग–बगैँचा, कूवा आदिको प्रतिष्ठा उत्तरायणमा गर्ने गरिन्छ। उत्तरायण दक्षिणायनभन्दा प्रकाशको प्रधानता रहेका कारण शुभ कार्यका लागि प्रशस्ततर मानिएको छ।

उत्तरायणको प्रारम्भ तथा माघे सङ्क्रान्ति

सङ्क्रान्ति भनेको सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्नु हो। वर्षभरिमा सूर्यले बाह्र वटा राशि पार गर्छन्। ती बाह्र वटा राशिमध्ये सूर्यले मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर सङ्क्रान्ति तथा माघे सङ्क्रान्ति भनिन्छ। यसैदिनदेखि सूर्य उत्तरायण लाग्छन् भन्ने शास्त्रीय मान्यता रहिआएको छ। यसरी एक राशिबाट अर्को राशिमा सूर्य जाँदा स्नान, दान, होम आदि गर्नाले अनन्त पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

रवे: सङ्क्रमण राशौ संक्रान्तिरित कथ्यते।

स्नानदानतपः श्राद्धहोमादिषु महाफला।।

सङ्क्रान्ति, ग्रहण, अमावास्या एवं पूर्णिमाको अवसरमा गङ्गास्नान गरेको अवस्थामा महापुण्य प्राप्त हुने तथा मानिसले ब्रह्म सदन(लोक) प्राप्त गर्ने कुराको उल्लेख पनि विभिन्न पुराणहरूमा गरिएको छ।

सङ्क्रान्त्यां पक्षयोरन्ते ग्रहणे चन्द्रसूर्ययो। 

गङ्गास्नातो नर कामाद् ब्रह्मणः सदनं व्रजेत्।।

कतिपय स्मृतिकारहरूले सङ्क्रान्ति तथा अयन परिवर्तनको समयमा पितृलाई उद्देश्य गरेर श्राद्ध गर्न निर्देश गरेका छन्। योगीश्वर याज्ञवल्क्यले पनि श्राद्ध प्रकरणको प्रारम्भमा श्राद्धकालको उल्लेख गर्दै अयनारम्भमा श्राद्ध गर्ने निर्देश गरेका छन्। यस्ता अयन–अयनमा श्राद्ध गरेको अवस्थामा पितृहरू अनन्तकालसम्म तृप्त हुने कुराको उल्लेख पनि धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ। यसरी गरिने श्राद्धमा पिण्ड दान गर्न नपर्ने कुराको उल्लेख पनि धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ। तर तीर्थादि स्थानमा गएको अवस्थामा भने पिण्ड दान गर्न सकिने कुराको उल्लेख पनि धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ।

पछिल्लो समयमा माघे सङ्क्रान्तिलाई विशेष सामाजिक तथा सांस्कृतिक पर्वको रूपमा मनाइने गरिन्छ। यो दिन समुद्र अर्थात् ठुला–ठुला नदीमा गएर स्नान गर्ने प्रचलन प्राचीनकालदेखि नै रहेको देखिन्छ। यो दिन विशेष गरेर भारतवर्षमा तिलको प्रयोग तथा तिलबाट बनेका परिकार खाने प्रचलन पनि रहेको छ। 

धर्मशास्त्रकार शातातपले तिलको प्रयोग छ प्रकारले गर्न सकिने कुराको उल्लेख गरेका छन्। उनका अनुसार जुन व्यक्तिले तिलको पिनाले स्नान गर्दछ, तिलको तेल शरीरमा लगाउँछ, सदा पवित्र रहेर तिलले सहित जल पितृहरूलाई प्रदान गर्छ अर्थात् तिलतर्पण गर्छ, तिलदान गर्छ, अग्निमा तिलको हवन गर्छ र तिल खान्छ त्यो व्यक्ति असफल या अभागी बन्न सक्दैन।

तिलोद्वर्ती तिलस्नायी शुचिर्नित्यं तिलोदकी ।

होता दाता च भोक्ता च षड्तिली नावसीदति।। शातातप। 

मेष, वृष, मिथुन आदि १२ वटा राशिहरू रहेका छन्। सूर्यले एक वर्षमा यी राशिहरूलाई परिक्रममा गर्छन्। सूर्य एक राशिबाट अर्को राशिमा जानुलाई सङ्क्रमण या सङ्क्रान्ति भन्ने गरिन्छ। यी बाह्र वटा राशिहरूमध्ये कर्कट राशिदेखि लिएर धन राशिसम्म सूर्य दक्षिणायन हुन्छन् भने जुन दिन सूर्य मकर राशिमा प्रवेश गर्दछन् त्यो दिनदेखि मिथुन राशिमा रहँदासम्म सूर्य उत्तरायणमा रहन्छन्।

सूर्य एक राशिदेखि अर्को राशिमा जाने दिनलाई धर्मशास्त्रीय ग्रन्थहरूमा विशेष पवित्र दिनको रूपमा लिइएकोले यसलाई सङ्क्रान्ति भन्ने गरिन्छ। सङ्क्रान्तिको दिनमा गरिएको स्नान, दान तथा श्राद्धादिको फल सुखदायक मानिएको छ। यो दिन तिल तथा तिलबाट बनेका पदार्थहरूको दान, वस्त्रदान, गोदानलाई अनन्त पुण्यदायक मानिएको छ। नेपालमा रहेका थारु समुदायले यो दिनलाई विशेष पर्वको रूपमा मनाउने गरेको देखिन्छ।

(डा. खनाल वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गठबन्धनको बठ्याईंले घटाएको महिला सहभागिता

नेपालको संविधान २०७२ अनुसार सबैभन्दा शक्तिशाली पद भनेको स्थानीय तहको प्रतिनिधि हो। हो नेपालको राष्ट्रपति वा प्रधानमन्त्रीभन्दा पनि शक्तिशाली स्थानीय तहको प्रमुख र उपप्रमुख हुन्।....

गाउँ-गाउँमा सहकारी, भरियो त भकारी !

बजार प्रतिनिधिलाई मात्र चिनेका कतिपय वचतकर्तालाई सहकारीको अध्यक्षको नाम समेत थाहा छैन। ऊ कुन जिल्लाको हो? कहाँ बस्छ ? केही थाहा छैन। आफूले आँखा चिम्लेर....

रिपोर्टर डायरी : 'ओइ फोटो खिच्छेस्' भन्दै जब हुलै कुट्न आयो

घरबाट हिँड्दा त्यस्तै २० मिनेटमै पुगिन्छ मतदान केन्द्र। यस अगाडि २ पटक मतदान गरिसकेको थिए त्यहीँ। हरेक पटक केन्द्रमा केही न केही विवाद भइनै रहन्थ्यो।....

बागी हुनु तर बदरभागी नहुनु

तीन खम्बे सरकार- पहिलो स्थानीय, दोस्रो संघ अनि तेस्रो केन्द्र अँगालेसँगै २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरुको उल्लेख्य सहभागिता रह्यो पनि। त्यो बेलामा पनि....

अन्तर्वार्ता सकिएपछि स्थापितले भने- 'कति ढ्याक्सी भएकी ? भुँडी किन भ्यात्त ?'

काम बाँड्दा मेरो जिम्मेवारीमा काठमाडौँ महानगरपालिका र उम्मेदवारको चुनावी अभियानबारे समाचार बनाउनुपर्ने आयो। काठमाडौँमा मुख्य दलका उम्मेदवार मात्रै हैन स्वतन्त्र पनि प्रतिस्पर्धामा देखिए। यसका लागि....