आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति 

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति 

पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेभसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली मार्फत आवश्यक सबै कागजात सहित फाराम भर्नुपर्नेछ। वैदेशिक रोजगार कार्यालयका अनुसार यसका लागि सुरुमा विभागको वेभसाइट डब्लुडब्लुडब्लु डट डिओएफइ डट जीओभी डट एनपीमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ। 

श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारण सहितको सूचना आवेदकको मोबाइल नम्बर र आवेदन गर्दाको  युजर एकाउन्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा भर्नुपर्ने वैदेशिक रोजगार कार्यालयले जनाएको छ। 

युजरनेम र पासवर्ड प्रयोग गरी अर्को पटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकोले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ। अनलाइनमा कागजातहरू जाँच गर्न समय लाग्ने भएकोले कम्तीमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ। उडान हुने मिति सम्म श्रम स्वीकृतिको म्याद ९० दिन भन्दा बढी हुनुपर्ने भएकोले सो बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ। 

पुनः श्रम स्वीकृतिको लागि म्यादी जीवन बिमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायक मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ। म्यादी जीवन बिमा उमेर अनुसार १८ वर्ष देखि ३५ वर्षसम्म ३ हजार ७ सय ८, ३६ वर्ष देखि ५० वर्षसम्म ४ हजार ९ सय ३१ र ५१ वर्ष  देखि ६४ वर्षसम्म ९ हजार ४ सय ६३ रुपैयाँ शुल्क तिर्नुपर्छ। 

वैदेशिक रोजगार कल्याणकारी कोषको लागि १ हजार ५ सय शुल्क तिर्नुपर्छ। पुनः श्रम स्वीकृतिको लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी र पुरानो भिसा भए सो को स्क्यान कपी आवश्यक पर्छ। 

त्यस्तै अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौता पत्रको स्क्यान कपी पनि आवश्यक पर्ने कार्यालयले जनाएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको व्यवस्थाले वैदेशिक रोजगार कार्यालयमा पुगेर घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने बताए। 

मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार मन्त्रालयका सचिव एकनारायण अर्यालले सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाइ सहज रूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाएको बताए।  

श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र  पारदर्शी रूपमा गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले बताए। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको कार्यालय प्रमुख अर्यालले बताए। 

१ माघ, २०७८, ०९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।