भारतले सडक बनाएको विरोधमा बोले गगन र विश्व, भने कालापानीबाट सैनिक फिर्ता गर

भारतले सडक बनाएको विरोधमा बोले गगन र विश्व, भने कालापानीबाट सैनिक फिर्ता गर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा सडक बनाइरहेको भनेर दिएको अभिव्यक्ति प्रति कांग्रेसले आपत्ति जनाएको हो। कांग्रेसले कालापानीबाट भारतीय सैनिकलाई फिर्ता गर्न पनि माग गरेको छ। 

कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति निकालेर नेपाल–भारत संयुक्त आयोगमा भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर, आपत्तिजनक र अविलम्ब रोकिनुपर्ने माग गरेका हुन्। 

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो र यसका सम्बन्धमा कांग्रेसले विगत देखिनै संस्थागत रूपले आफ्नो धारणा र अडान स्पष्ट रूपमा राख्दै आएको प्रस्ट पारेको छ। विज्ञप्तिमा नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने विषयमा कांग्रेस प्रस्ट रहेको र कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने माग गरिएको छ। 

‘नेपालको संसद्ले सर्वदलीय एकता साथ संविधान संशोधन मार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धि पछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने विषयमा नेपाली कांग्रेस प्रस्ट छ,’विज्ञप्तिमा लेखिएको छ,‘दुई राष्ट्र बीचको सीमा सम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ। १८१६ को सुगौली सन्धिको दस्ताबेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रस्ट छौँ।’ 

३० पुस, २०७८, १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।