विद्यार्थी सङ्गठनले  लिए मेडिकल कलेजका सञ्चालकलाई कालोमोसो दलेको जिम्मेवारी

विद्यार्थी सङ्गठनले  लिए मेडिकल कलेजका सञ्चालकलाई कालोमोसो दलेको जिम्मेवारी

काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई कालोमोसो दलेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका मास्के र पुनलाई रिहा गर्न सात विद्यार्थी सङ्गठनले माग गरेका हुन्। 

नेबिसंघका अध्यक्ष राजीव ढुङ्गाना, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष हरिबोल गजुरेल, प्रकाश शाही र अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवरले संयुक्त विज्ञप्ति निकालेर कालोमोसो दलिएको घटनाको जिम्मेवारी पनि दिएका छन्। 

काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज विराटनगर र मणिपाल मेडिकल कलेज पोखराले लिएको अतिरिक्त शुल्क, अनिवार्य होस्टेलको विरोध गर्दै विद्यार्थीहरू ४१ दिनदेखि आन्दोलनरत छन्। 

विद्यार्थी सङ्गठनले काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई मेडिकल माफियाको संज्ञा दिएका छन्। शर्माले विद्यार्थी र अविभावकहरुलाई हतोत्साहित गर्ने, निर्णयहरूमा नोट अफ डिसेन्ट लेख्ने र सङ्गठनलाई समेत दुर्व्यवहार गर्ने हर्कत गरेकाले कालोमोसो दलिएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। 

नेपालको मेडिकल शिक्षाको सम्पूर्ण जिम्मेवारी राज्यले दिएर सबै नागरिकको पहुँचमा मेडिकल शिक्षा पुर्याउन र आन्दोलनरत विद्यार्थीहरूको पठनपाठनको व्यवस्था अविलम्ब गर्न पनि विद्यार्थी सङ्गठनहरूले माग गरेका छन्।

३० पुस, २०७८, १९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।