फिल्म हेर्न नपाउने ठाउँमा बसेर फिल्म बनाउँदा...

फिल्म हेर्न नपाउने ठाउँमा बसेर फिल्म बनाउँदा...

तर ख्यान्पो शेल्नाङ्ग मुगुमले भने आफैंले आफ्नो बाल्यकाल पर्दामा उतारे- फिल्म 'सुपर मङ्क'मार्फत। उनी बौद्धमा रहेको सेचेन गुम्बाका लामा हुन्। 

यो फिल्म शेल्नाङ्गको चलचित्र हेर्न खोज्दाको संघर्षको कथा हो। कथाको सानो अंश यस्तो छ- 

९ वर्षका तासी, लामाको भेषमा एउटा अँध्यारो कोठामा छन्। एक हुल मानिस उसको वरपर छन्। अगाडि सानो पर्दामा फिल्म चलिरहेको छ। 

ऊ पपकर्न मुखमा हाल्छ। तर फिल्मको फाइट सिनमा दंग परेर चपाउन भुल्छ।

फिल्म सकिएपछि ऊ गुम्बा फर्कन्छ। फिल्मप्रति तासीको लगाव देखेर गुम्बाका गुरुहरूलाई तनाव हुन्छ। कारबाहीस्वरूप उसले सरसफाइ र भान्सा कोठाको काम हेर्नुपर्ने हुन्छ। 

तर फिल्म हेर्न पाएकाले ऊ कारबाही पनि खुशीखुशी स्वीकार्छ।

मुगु जिल्लाको मुगु गाविसमै जन्मिएका शेल्नाङ्गका परिवार हिउँदमा जुम्ला झर्ने गर्थ्यो। जुम्लाको बजारमा होम भिडियोबाट फिल्म देखाइन्थ्यो। 

उनी त्यो समयमा तीन रुपैयाँ तिरेर फिल्म हेर्थे। फिल्म भएपछि उनलाई केही नचाहिने।

एक पटक शेल्नाङ्गका बुवाले उनलाई गुम्बामा बस्ने हो भनेर सोधे। त्यतिबेला उनी नौ वर्षका थिए।

काठमाडौं जान पाउने र काठमाडौंमा फिल्म हेर्न पाइने सोचेर उनले बुवाको कुरामा सहमति जनाए। काठमाडौं आए।

तर उनले सोचेभन्दा फरक माहोल बन्यो यहाँ। यहाँ त गुम्बाबाट फिल्म हेर्न जानै पाइएन।

उनले भने, 'बच्चा बेलामा हरेक कुरामा जिज्ञासा हुन्छ। मेरो जीवनमा भने कपाल खौरिएका, रातो लुगा लगाएका एकै आवाजमा बोल्ने मानिसहरू मात्रै थिए। लामा गुम्बामा केटीको आवाज थिएन, सायद आवाजमा फरकपन देखिएको भए पनि म मोनोटोनस हुने थिइन होला।'

गुम्बामा शनिबार भने फिल्म देखाइन्थ्यो। उनी काठमाडौं पनि यसैको लागि त आएका थिए। 

त्यो एक दिन हेरेको फिल्मले उनी एक सातासम्मको तृष्णा मेटाउँथे। 'ध्यानमा आँखा चिम्लेर बस्दा पनि मेरो दिमागमा भने फिल्मका दृष्यहरू चलिरहेका हुन्थे। जसले गर्दा पट्यार लाग्दो समय काट्न सजिलो हुन्थ्यो', उनले भने।

आइतबार भने गुम्बामा आराम गरिन्थ्यो। शेल्नाङ्ग भागेर होम भिडियो हेर्न जान्थे। बेलुका गुम्बा आउँदा जहिल्यै गुरुको कारबाहीमा पनि पर्थे। 

'हलमा सबैले चुरोट खान्थे, गुम्बा आउनेबित्तिकै लुगा सुँघेर फिल्म हेर्न गएको पत्ता लगाइहाल्थे', उनले भने।  उनलाई पछिसम्म पनि फिल्म हेर्न मात्रै चासो थियो। र गुनासो पनि थियो। 

फिल्ममा अधिकांश कथा चोर, पुलिस र हिरो-हिरोइनको हुने भएकाले उनलाई आफूहरू फिल्मका पात्र होइन जस्तो लाग्थ्यो। उनलाई मानिसहरू 'कलरफुल' जीवन हेर्न चाहन्छन्, 'ब्ल्याक एण्ड ह्वाइट' होइन जस्तो लाग्थ्यो। 

बिस्तारै लामाका पनि कथा हुन्छन्, यी कथामा फिल्म बनाउनुपर्छ भन्ने सोचेर उनी फिल्म बनाउन तम्सिएका हुन्।

बाल्यकालको शेल्नाङ्ग देखेर माया लाग्छ

दुई वटा फिल्म बनाए शेल्नाङ्गले। दुवैमा आफ्नो बाल्यकालको कथा मिसाए।

पहिलो फिल्म झ्यालो (चरा वर्ष)मा उनले बुवा-छोराको सम्बन्ध देखाए। 

आमा बितेपछि सानै उमेरमा बुवाले गुम्बामा लगेर तासीलाई छाडिदिन्छन्। ऊ बुवासँग रिसाउँछ। 

गुरुले भनेको भन्दा विपरीत कार्य गर्छ। लामा भएर पनि परेवालाई गुलेलीले हानेर घाइते बनाउँछ। उपचार गर्न गुरुले सुझाउँदा उल्टै चौतारीमा फालेर जान्छ।

दोस्रो फिल्म सुपर मंकमा पनि उही तासीलाई देख्न सकिन्छ। कलाकार फरक भए पनि कथा शेल्नाङ्गकै छ। माओवादी द्वन्द्वको समयमा गुम्बा कस्तो थियो? केही प्रभाव पर्यो या परेन लगायतका विषय समेटिएको फिल्ममा पनि निर्देशकले आफ्नै बाल्यकालको कथा भनेका छन्।

आफूले बनाएका फिल्म उनी मुड चल्दा हेर्छन्। उनलाई बच्चा बेलाको शेल्नाङ्ग देखेर माया लाग्छ। आफूले गुमाएको स्वतन्त्रता, फिल्म हेर्न गरेको संघर्ष र बाल्यकालमै आमाबुवाको मायाबाट वञ्चित भएको देख्दा उनी भावुक हुन्छन्।

पाकिस्तानको फिल्म फेस्टिभलबाट निमन्त्रणा आउँदा

सुरुमा फिल्म बनाउने भन्दा उनलाई गुम्बाबाट सहयोग मिलेन। फिल्म बनाउनु, गीत गाउनु यी सबै गुम्बाका लागि अनुशासन बाहिरको कुरा थियो। 
तर बुद्धले भनेको 'नियत, कर्म र नतिजा' उनको मनमा सधैँ दरिलोसँग रहेको थियो। 

नियत राम्रो भए गुम्बाको विपरीत गए पनि फरक पर्दैन भन्ने उनलाई लाग्यो। उनी गुम्बाको अनुशासन तोडेर फिल्म बनाउन कम्मर कसे। बीचमा धेरै पटक निराश बने। तर कर्म गर्न छोडेनन्। 

उनले भने, 'फिल्म हेर्न नपाउने ठाउँमा बसेर फिल्म बनाउनु सजिलो पक्कै थिएन।'

समाजले बनाइदिएको बाटो नहिँड्ने भएकाले कलाकारहरूलाई समाजले पागल सोच्ने उनको धारणा छ। तर कलाकार बन्न पागल बन्नैपर्ने उनी बताउँछन्। 

शेल्नाङ्ग भन्छन्, 'सायद त्यसैको नतिजा होला, फिल्म महोत्सवमा लागेपछि सबैको सकारात्मक प्रतिक्रिया पाएँ।'

सुपर मंक फिल्मले किम्फ फिल्म फेस्टिभलमा अडियन्स अवार्ड जित्न सफल भयो। त्यस्तै निफमा सर्ट मुभीको अवार्ड जित्न सफल भयो। 

याला अन्तराष्ट्रिय अवार्ड जितेको फिल्म स्मार्ट मंकले पेरिसमा भएको वार अन स्कृन फिल्म फेस्टिभलमा बेस्ट सर्ट मुभीको अवार्ड पनि हात पर्यो। नेपालगञ्जमा भएको फिल्म फेस्टिभलमा बेष्ट सर्ट मुभि, नेपाल अमेरिका इन्टरनेसनल फिल्म फेस्टिभलमा बेष्ट जुरी मेन्सन लगायतका अवार्डहरु फिल्मले जितेको छ।

त्यस्तै उनको पहिलो फिल्म झ्यालोले किम्फमा बेष्ट जुरी मेन्सन र निफमा बेष्ट सर्ट मुभि अवार्ड जित्न सफल भयो। यी बाहेक अन्य अवार्ड पनि जितेका छन्, तर शेल्नाङ्ले कतिपय अवार्ड त भुलिसके। 

यी बाहेक छनोटमा परेका अवार्डहरुको संख्या हातमा गनेर साध्य नभएको उनले बताए।

महोत्सवमा गुरुहरूले उनको फिल्म हेरे। सबैले उनको कामको प्रशंसा गरे। सबैभन्दा खुशीको कुरा त उनले पाकिस्तानबाट फिल्म महोत्सवका लागि निमन्त्रणा पाए। 

पाकिस्तानले फिल्म महोत्सवमा जुरी बस्नका लागि उनलाई निमन्त्रणा दिएको थियो। उनको खुशीको त सीमै थिएन। तर विविध कारणले उनी पाकिस्तान भने जान पाएनन्।

अर्काको कथामा फिल्म बनाउँदा गम्भीर बन्नैपर्छ

कान्स फिल्म फेस्टिभलमा चिनियाँ निर्माताले नेपालका आनीहरूको विषयमा बनाएको फिल्मले पुरस्कार जित्यो। 

उनीहरूले फिल्म त बनाए तर त्यो फिल्म नेपालका आनीहरूको जस्तो थिएन। फिल्म बनाउने चक्करमा त्यहाँ तथ्यहरू बङ्ग्याइएका थिए, गैरआनीहरूको दृष्टिकोणबाट फिल्म बनेको थियो।

शेल्नाङ्ग भन्छन्, 'यो अर्कोको कथामा फिल्म बनाउँदा गम्भीर नबन्दाको परिणाम हो।' 

अहिले मौलिक कथा पस्कने चक्करमा धेरै निर्माताहरू हिमाल उक्लिरहेका छन्। त्यहाँका कथा मूलधारका फिल्ममा देखाउनु खुशीको कुरा पनि हो। तर गैरहिमालीको आँखाबाट हेर्दा तथ्य फरक पर्न सक्नेतर्फ उनी इङ्गित गर्छन्। 

'कुकुरको कथा भनिन्छ भने अनुसन्धान गरेर कुकुरले के सोच्छ, त्यो ल्याउन जरुरी छ। हामी भने अरू फिल्ममा कुकुर कसरी देखायो त्यसैलाई मध्यनजर गरेर मान्छेको दृष्टिकोणबाट फिल्म बनाइरहेका छौं', उनले भने।

३० पुस, २०७८, १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।