स्थानीय तह निर्वाचन : माघ पहिलो हप्ता मिति तोकिए वैशाखमा, नत्र कठिन   

स्थानीय तह निर्वाचन : माघ पहिलो हप्ता मिति तोकिए वैशाखमा, नत्र कठिन   

प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई भेटेर मिति प्रस्ताव गरेको आयोगले विज्ञप्ति निकालेर जानकारी दिएको हो। 

आयोगले कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरणको मिति २०७९ वैशाख १४ गते बुधबार र दोस्रो चरण २२ गते बिहीबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने प्रस्ताव गरेको जनाएको छ। 

आयोगले स्थानीय तहको निर्वाचनको मिति तय गर्न शुक्रबार दलहरूसँग गरेको छलफलमा चुनावको मिति प्रस्ताव गरेको जानकारी दिएको हो। 

आयोगले स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको ५ वर्षे पदावधि २०७९ साल जेठ ५ गते समाप्त हुने जानकारी दलहरूलाई गराएको छ। आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न १२० दिन आवश्यक पर्ने भन्दै २०७८ माघको पहिलो हप्ता भित्रै निर्वाचनको मिति तोक्नु पर्ने जानकारी गराएको छ। 

माघको पहिलो हप्ता मिति नतोकिए प्राविधिक, व्यवस्थापकीय एवं व्यवहारिक दृष्टिले निर्वाचन गर्न कठिन हुने भन्दै यसलाई गम्भीरतापूर्वक लिन ध्यानाकर्षण पनि गराएको छ। 

आयोगले संविधान तथा कानुनले जनप्रतिनिधिको रिक्तताको परिकल्पना नगरेको, स्थानीय तहको कार्यभार प्रदेश तथा सङ्घीय सरकारले सञ्चालन र व्यवस्थापन गर्ने संवैधानिक एवं कानुनी प्रावधान नभएको जानकारी दलहरूलाई गराएको छ। 

स्थानीय तहका पदाधिकारीको म्याद थपको कुनै प्रावधान नहुँदा वैकल्पिक पद्धतिबाट स्थानीय सरकार सञ्चालन हुन सक्ने नदेखिएको आयोगले उल्लेख गरेको छ।

आयोगले स्थानीय तहका पदाधिकारीको कार्यकाल समाप्त हुन अगावै स्थानीय तहको निर्वाचन गर्नुपर्ने आवश्यकतामा जोड दिएको आयोगले निकालेको विज्ञप्तिमा लेखिएको छ।

आयोगले छलफलमा १७ दललाई बोलाए पनि १५ दलका प्रतिनिधि मात्रै सहभागी भएका छन्। निर्वाचन आयोगमा दर्ता भएका १०५ दल मध्ये १७ दललाई मात्रै निम्तो गरेको आयोगले १५ दलका नेता सहभागी भएको जानकारी दिएको छ।

 

३० पुस, २०७८, १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।