एमाले र माधव नेपालको एकीकृत समाजवादी : संसद्मा बहिष्कार, निर्वाचन आयोगमा सँगसँगै  

एमाले र माधव नेपालको एकीकृत समाजवादी : संसद्मा बहिष्कार, निर्वाचन आयोगमा सँगसँगै  

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका नेता सहभागी बैठक, छलफल बहिष्कार गर्दै आएको नेकपा एमाले निर्वाचन आयोगले गरेको सर्वदलीय बैठकमा सहभागी भएको छ।

एमालेबाट उपमहासचिव विष्णु रिमाल र एकीकृत समाजवादीबाट नेता रामकुमार भट्टराई आयोगको छलफलमा सहभागी भए।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी भएको थिएन। तर, आयोगले बोलाएको छलफलमा भने एमाले सहभागी भयो र जेठ ५ गते अगाडी नै स्थानीय तहको चुनाव गर्नुपर्ने स्थानीय निर्वाचन कानुनको व्यवस्था सुनायो। 

चुनावका लागि आवश्यक पर्ने कानुन बनाउनु पर्ने बतायो एमालेले। उसले कानुन बनाउने थलो सङ्घीय संसद्का दुवै सदनको बैठकमा अवरोध भने जारी राखेको छ।

एमाले उपमहासचिव रिमाल लगायतका नेताले आवश्यक कानुन निर्माण गर्न भनिरहँदा छलफलमा सहभागी अरू दलका नेताले संसद् त एमालेले अवरोध गरिरहेको छ नि भनेर कुरा निकाले। 

संसद् अवरोध गर्ने र कानुन बनाउनु पर्ने एमालेको कुरामा घोचपेच समेत भएको छलफलमा सहभागी एक नेताले बता। 

एकीकृत समाजवादी सहभागी बैठकमा नजाने भनेको होइन भन्ने प्रश्नमा रिमालले निर्वाचन आयोगले बोलाएर आएको जवाफ दिए। ‘यो कुनै दलले बोलाएको बैठक होइन,’रिमालले भने,‘निर्वाचन आयोगले बोलाएर आएका हौँ।’ 

एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीका १४ जना सांसदलाई निलम्बन गर्नु पर्ने भन्दै एमालेले संसद्को दुवै सदनको बैठक अवरोध गर्दै आएको छ। दल दर्ता नै वैद्य नभएको भन्दै एमालेले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ। 

एमाले उपमहासचिव रिमालले आयोगले राखेको सर्वदलीय छलफलमा निर्वाचन सम्बन्धी कानुन बनाउनु पर्छ भनेका थिए। ‘एमालेले संसद् अवरोध गरेको छ, कसरी कानुन बन्छ’ भन्दै प्रश्न अरू दलका नेताले प्रश्न गरेका थिए। 

रिमाल लगायतका नेताहरूले निर्वाचन कानुनको कुरा गरेपछि संसद् अवरोध गरेर कानुन बन्छ भन्ने जवाफ दिएको आयोगको छलफलमा सहभागी एक नेताले बताए। आयोगले १७ दलका नेतालाई छलफलमा बोलाएको थियो। छलफलमा १५ जना नेताले बोलेका कांग्रेस नेता रमेश लेखकले बताए।

३० पुस, २०७८, १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।