स्थानीय तहको चुनाव : जेठ अगाडी नै गरौँ एमाले, सरकारले निर्णय गर्छ कांग्रेस

स्थानीय तहको चुनाव : जेठ अगाडी नै गरौँ एमाले, सरकारले निर्णय गर्छ कांग्रेस

काठमाडौँ : स्थानीय तहको चुनावको कार्यकाल छदै गर्ने कि कार्यकाल सकिएपछि गर्ने भन्नेमा सत्ता पक्ष र प्रतिपक्ष दलहरुबीच जुहारी चलेको छ। प्रतिपक्षी एमालेले जेठ ५ गते अगाडि नै चुनाव गर्नु पर्ने बताएको छ भने नेपाली कांग्रेस लगायतका सत्तारुढ दलका नेताले सरकारको विषय भनेका छन्। 

निर्वाचन आयोगले गरेको सर्वदलीय छलफलमा कांग्रेस नेता रमेश लेखकले निर्वाचनको मिति तोक्ने विषय सरकारको भएको बताए। एमाले नेता विष्णु रिमालले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०५४ सालमा स्थानीय तहको चुनाव नभए जस्तै अहिले गर्न नहुने बताए। 

छलफलमा नेकपा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी पार्टीका नेता पनि आयोगको छलफलमा सहभागी भए। 

पार्टीले कारबाही गरेका सांसदलाई निलम्बन नगरेसम्म संसद् बैठक चल्न नदिने भन्दै अवरोध गरिरहेको एमाले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा उपस्थित भएको थिएन।

तर, निर्वाचन आयोगले बोलाएको छलफलमा भने एमाले एकीकृत समाजवादी पार्टीका नेतासँगै सहभागी भएको छ।

छलफलमा सहभागी भएका एमाले उपमहासचिव विष्णु रिमालले निर्वाचन आयोगले बोलाएर छलफलमा आएको बताए। ‘निर्वाचन आयोगले बोलाएर आएका हौँ,’रिमालले भने,‘यो कुनै दलले बोलाएको बैठक होइन।’ 

उनले २०७९ साल जेठ ५ गते भित्र स्थानीय तहको चुनाव गर्नै पर्ने बताए। स्थानीय तहमा निर्वाचित पदाधिकारीको म्याद ६ महिना थप्न नमिल्ने भन्दै रिमालले स्थानीय तह निर्वाचन कानुन अनुसार म्याद सकिनु २ महिना अगाडी नै चुनाव हुनु पर्ने बताए।

कांग्रेस नेता रमेश लेखकले स्थानीय तहको निर्वाचनको मितिका विषयमा सरकारले निर्णय गर्नु पर्ने बताए। निर्वाचन आयोगले वैशाख १४ गते पहिलो चरणमा र २२ गते दोस्रो चरणमा चुनाव गर्ने मिति तोक्न सरकारलाई सिफारिस गरेको लेखकले बताए। 

‘निर्वाचनको मिति तोक्ने काम सरकारको हो,’लेखकले भने,‘हामी निर्वाचनबाट भाग्दैनौ।’ उनले निर्वाचन नै लोकतन्त्रको प्राण भएको सुनाए। 

राष्ट्रिय सभा सदस्यको १९ पदको निर्वाचन माघ १२ गते सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको जानकारी निर्वाचन आयोगले दिएको छ।  राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य ५३२ र स्थानीय तह सदस्य १४९३ गरी कुल २०२५ मतदाताले निर्वाचनमा भाग लिनेछन्। निर्वाचन प्रयोजनका लागि १२ वटा दल दर्ता भएकोमा ९ दलका तर्फबाट जम्मा ४३ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। 

आयोगले दलहरूलाई पुस २६ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको स्मरण गराएको छ। 

आयोगले माघ १२ गते बिहान ९ बजे देखि ३ बजेसम्म मतदान सम्पन्न गरी सोही दिन निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ। 

आयोगले कोरोना सङ्क्रमण हुन नदिन कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक र पर्यवेक्षकहरूका लागि स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागु हुने जनाएको छ।

पूर्ण खोप कार्ड भएको हुनुपर्ने, मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, दुई मिटरको सामाजिक दुरी कायम गर्ने, गराउने, मतदान केन्द्र एवम् मतगणना स्थलको निसङ्क्रमण गरिने आयोगले विज्ञप्ति निकालेर जानकारी दिएको छ। 

आयोगले अहिले स्थानीय तहको चुनाव केन्द्रित मतदाता नामावली सङ्कलन गरिरहेको पनि दलहरूलाई जानकारी गराएको छ। स्थानीय तहको निर्वाचनको मिति तोकिएपछि मतदाता नामावली सङ्कलन कार्य स्थगित गरी नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ। 

३० पुस, २०७८, १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।