नक्कली बनाउन नमिल्ने अन्त: शुल्क स्टिकर छाप्न अर्थमन्त्रीले दिए निर्देशन

नक्कली बनाउन नमिल्ने अन्त: शुल्क स्टिकर छाप्न अर्थमन्त्रीले दिए निर्देशन
तस्बिर : अर्थमन्त्रीको निजी सचिवालय

काभ्रेको पनौतीस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबार निरीक्षण गर्दै मन्त्री शर्माले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएका हुन्। 

‘हामीलाई करिब तीन अर्ब पिस स्टिकर चाहिँदो रहेछ। त्यो तीन अर्ब स्टिकर छाप्न यस्ता मेसिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न आग्रह गर्छु’ मन्त्री शर्माले भने, ‘कमसेकम अर्थ मन्त्रालयलाई आवश्यक पर्ने स्टिकर उपलब्ध गराउनुहोस्।’ 

सुरक्षण प्रिन्टिङ प्रेसमा नाफा मात्रै देखेको भन्दै मन्त्री शर्माले यसमा लगानी गर्न सरकार नहिचकिचाउने बताए। उनले नेपालमा कुनै पनि हालतमा चोरी नहुने तथा नक्कली स्टिकर बनाउन नमिल्ने स्तरको सुरक्षित स्टिकर छाप्नुपर्ने बताए। 

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षण मुद्रण केन्द्र राज्यले सञ्चालन गरेका संस्थामध्ये उदाहरणीय संस्था बन्नसक्ने उल्लेख गरे। 

हाल स्टिकर छाप्ने काम जनक शिक्षा सामग्री केन्द्रले गर्दै आएको छ। आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार दुई वर्षदेखि जनक शिक्षाले करिब २२ करोडमा स्टिकर छाप्दै आएको छ। यसअघि ‘ग्लोबल टेन्डर’ मार्फत स्टिकर छापिँदै आएको थियो।

२९ पुस, २०७८, २१:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।