इटहरीका मेयर द्वारिकलाल एमाले सुनसरीको अध्यक्षमा पराजित 

इटहरीका  मेयर द्वारिकलाल एमाले सुनसरीको अध्यक्षमा पराजित 

बिहीबार साँझ सम्पन्न मत परिणाममा उनले ८० मत पाए। कुल २ हजार १५० प्रतिनिधि मध्ये १ हजार ८०५ मत खसेको थियो। 

जिल्ला अध्यक्षमा विजयी रेवतीरमण भण्डारीले ९२० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खेमराज पोखरेलले ७७५ मत पाए। 

पदाधिकारीमा पनि भण्डारी प्यानल विजयी भएको छ। उपाध्यक्षमा निलम खनाल विजयी भए भने सचिवमा परशुराम यादव सर्वसम्मत भएका थिए। उपसचिवमा राम कोइराला र भण्डारीले नै समर्थन गरेका योग्यराज खड्का विजयी भएका छन्। 

भण्डारीलाई पराजित गराउने अभियानमा देखिएका मेयर चौधरी निर्णायक बन्न सकेनन्। यससँगै उनको राजनैतिक बार्गेनिङ कमजोर बनेको छ। ‘नाकको डाढी भाँच्ने’ अभिव्यक्ति देखि कर्मचारी कुट्ने लगायत प्रकरणमा उनी चर्चित थिए। भ्रष्टाचार विरोधी देखिएका उनले कुनै प्रगति देखाउन नसकेपछि कार्यकर्ता पनि असन्तुष्ट रहे। 

नेकपा एमालेबाट पुनः मेयरको उम्मेदवार बन्ने चौधरीलाई पराजयसँगै धक्का लागेको छ। भण्डारीको विजयीसँगै हालकी उपमेयर लक्ष्मी गौतम प्रभावशाली देखिएकी छिन्। गौतमले पनि मेयरमा आकाङ्क्षा राखेकाले उनको सम्भावना केही बढेको छ। 

पछिल्लो समय चौधरी एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग निकट छन्। नेपाललाई घरैमा बेलाएर खाना खुवाएका उनी एमाले नभए नेकपा एकीकृत समाजवादीबाटै भए पनि मेयरको उम्मेदवार बन्ने देखिएको छ।

२९ पुस, २०७८, २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।