उकेरा निगरानी

स्मार्ट लकडाउन, लद्दु सरकार

मतदाता नामावली दर्ता गराउनेको भीड : आयोग प्रवक्ता भन्छन्- निर्वाचन आयोग कोरोना हेर्ने अड्डा होइन


काठमाडौं : २७ गते मध्यरातबाट काठमाडौंमा स्मार्ट लकडाउन गरिएको छ। स्मार्ट लकडाउनका बेला सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम छ।

तर, नयाँ मतदाता नामावली दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा दैनिक सयौंको लाइन लाग्छ। औसत डेढ घण्टामा लाइन बसेका सेवाग्राहीको नयाँ नामावली दर्ता गराउन पालो आउँछ। एक दिनमा झन्डै पाँच सय जना सेवाग्राहीले सेवा लिन्छन्। 

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा ७७ वटै जिल्लाका मतदाताले नामावली भर्न पाउँछन्। जिल्ला प्रशासन काठमाडौंद्वारा जारी गरिएको स्मार्ट लकडाउनको कार्यविधिमा स्वास्थ्य मापदण्डको अनिवार्य पालन गर्न भनिएको। तर निर्वाचन कार्यालयमा सेनिटाइजरको समेत व्यवस्था गरिएको छैन। भौतिक दूरी कायम गर्न साघुँरो ठाउँले असम्भव जस्तै छ।  

कोभिड- १९ को डरमा सेवाग्राही 
रामेछापकी बबिता बस्नेत चार/पाँच दिनदेखि निर्वाचन कार्यालय पुगेर लाइन बस्दा पनि पालो नआएपछि त्यसै फर्किएकी थिइन्।

‘धेरै भीड भएर चार/पाँच दिनदेखि त्यसै फर्किएकी थिएँ। डेढ घन्टा लाइन बसेपछि आज बल्ल-बल्ल पालो आयो,’ उनले भनिन्।

कपनमा बस्ने कालिकोटका प्रवेशकुमार शाहीको डेढ घण्टा लाइन बसेपछि बल्ल पालो आएको छ। 'कोरोनाको डर छ। हामी दाजुभाइ चार जना बस्छौं। मेरो कारणले घरमा कोरोना भित्रिन्छ कि भन्ने डर छ,’ उनले भने। आफूले सुरक्षा सावधानी अपनाएका पनि लाइनमा रहेका अन्य व्यक्तिले सुरक्षा सावधानी नअपनाउँदा कोरोना सर्छ कि भन्ने डर लागेको उनले सुनाए।

२६ वर्ष पुगेका खोटाङका समुन राईले अहिलेसम्म मतदाता परिचयपत्र बनाएका छैनन्। उनी पनि मतदाता परिचयपत्र बनाउन लाइनमा छन्। ‘लाइन सरेको छैन, लामै समय लाग्छ होला। अब भोट हाल्नुपर्‍यो भनेर आइहालें। धेरै समय लाग्यो भने फर्किन्छु, भोट नहालेर के हुन्छ?,’ उनले भने। 

नवलपरासीका नारायण गिरी मतदाता परिपचयपत्र काठमाडौ सार्न कागजपत्र मिलाउँदै थिए। श्रीमती, छोरा र छोरीको नामावाली काठमाडौं सार्न निर्वाचन कार्यालय पुगेका उनलाई पनि कोरोनाको डर छ। ‘मास्क पनि सबैले लगाएका छैनन्। सेनिटाइजरसम्म छैन। कम्तीमा मास्क र सेनिटाइजरको व्यवस्था गरिदिएको भए हुन्थ्यो। भीड नभएको भए हुन्थ्यो,’ उनको गुनासो छ। एकतर्फी मात्र भएको लाइन दुईतर्फी भएको भए पनि सामाजिक दूरी कायम गर्न सम्भव र कम भीड हुने उनको सुझाव छ।

मंसिर १७ गतेबाट सुरु भएको मतदाता नामावली संकलन कार्यक्रम आम चुनावसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ। डिजिटल र थम्ब प्रिन्ट अनलाइनबाट सम्भव छैन। फोटो खिचाउन र डिजिटल थम्ब प्रिन्टको लागि मतदाता स्वयं उपस्थिति हुनुपर्ने हुन्छ।

फोटो खिचाउने ठाउँभन्दा पछाडि खुला ठाउँ रहे पनि भाडाको घर भएकाले आयोगले आफू अनुकुल प्रयोग गर्न पाएको छैन। साघुँरो ठाउँ, सेवाग्राहीको भीड, स्वास्थ्य सामग्री नभएको र स्वास्थ्य मापदण्ड पालना नगरेकोमा सुरक्षा दिइरहेका प्रहरी पनि दिक्क छन्।

फौजी सेवाको नियमले उनीहरुलाई बोल्न मिल्दैन तर उनीहरु  पनि जोखिममा थिए। ‘बल्ल मास्क दिएको छ, सेनिटाइजर त कहिले हो कहिले?,’ एक सुरक्षाकर्मी गुनासो गर्दै थिए। प्रहरी प्रशासनले बल्ल मास्क बाँड्न थालेको थियो। ‘हाम्रो काम कछुवा गतिमा हुन्छ। बल्ल सामान आउन थालेको छ। सबै समान आउँदा कोरोना गइसक्छक्क,’ ती सुरक्षाकर्मीले भने। 

सेवाग्राही मात्र होइन, कर्मचारी पनि कोरोना सरिहाल्छ कि भन्ने त्रासमा छन्। ‘दैनिक ५०० हाराहारीमा सेवाग्राही हुनुहुन्छ। जोखिम नै छ। तर फोटो खिच्ने ठाउँमा दुई मिटर नै नभए पनि भौतिक दूरी कायम गरेका छौं। बाहिर लाइन पूरै व्यवस्थित गर्न चाहिँ सकेका छैनौं,’ जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा निमित्त प्रमुख समिता बस्नेतले भनिन्।

भाडाको घरमा स्पेस नभएर गाह्रो परेको उनले सुनाइन्। 'कोरोनाको हल्लाले होला हिजो र आज कम सेवाग्राही हुनुहुन्छ। पाँच जना दर्तामा हुनुहुन्छ। दर्ताका लागि करारमा कर्मचारी राखेका छौं,' उनले भनिन्, 'एक जनाले सय जना बराबरलाई सेवा दिनुपर्छ। अस्तितिर राति ८ बजेसम्म लाइन थियो त्यो पनि सकाएका छौं। अफिसमा ७ जना छौं, दुई जना ठाउँसारीको लागि  जना खट्नुपर्ने छ।’

ठाउँसारीको लागि दैनिक सय जना सेवाग्राही पुग्ने गरेका छन्। सुरुका दिनमा ८ सय जनासम्म सेवाग्राही हुने गरेकोमा मंगलबार र बुधबार ५ सयको हाराहारीमा मात्र सेवाग्राही निर्वाचन कार्यालय काठमाडौं पुगेका थिए। 

नयाँ मतदाता नामावली संकलनको काम ७७ वटै जिल्ला निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट भइरहेको छ। कोरोनाले प्रभावित पारेमा रोकिने र निर्वाचन घोषणा नभएसम्म मतदाता नामावली दर्ताको काम जारी रहने निर्वाचन आयोगले जनाएको छ। 

सरकारी नियम उल्लंघन भएको र कोरोना संक्रमणको जोखिम भएकोबारे निर्वाचन आयोगलाई जिज्ञासा राख्दा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘कोरोनाका सम्बन्धमा हेरविचार गर्ने अड्डा निर्वाचन आयोग होइन। संक्रमणदर कस्तो छ, भीडभाड कस्तो छ, कस्तो राख्नुपर्छ भन्ने कुरा स्वास्थ्य मन्त्रालय र डिसिसिएमसिसी हो। उहाँहरुकै निर्देशनमा रहेर हामीले काम गर्ने हो। उहाँहरुले जोखिम भयो, काम नगरौं भने बन्द हुन्छ, नभए चलिरहन्छ।’

भीड हुने ठाँउमा सेनिटाइजर उपलब्ध समेत नभएको र सामान्य रुपमा स्वास्थ्य सुरक्षा प्रोटोकल समेत पालना किन नभएको भन्ने उकेराको प्रश्नमा प्रवक्ता पौडेलले भने, ‘हामीले यहाँबाट साथीहरुलाई भौतिक दूरी कायम गर्नूस्, प्रोटोकल फलो गर्नूस्, सेनिटाइजर राख्नूस् भनेका छौं। सप्तरी, सिरहाको जिल्ला प्रशासन कार्यालयतिर जानुभयो झन् हालत खराब छ। हामीले प्रयास गरिरहेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

भद्रगोल सरकारी सेवा :  हाकिम फेरिएपिच्छे कोठाको फर्निचर फेर्ने सरकारी कार्यालयले सेवाग्रहीलाई घाम-पानी छल्ने छानो किन हाल्दैन ?

सामान्य कामका लागि पनि सरकारी कार्यालयमा सेवाग्रहीले पाउने सास्ती देख्दा लाग्छ कार्यालयमा भीड नदेखी सरकारी कर्मचारीलाई काम गरेको स्वादै आउँदैन। अनि नीति निर्माताको ध्यान पनि....

राष्ट्रिय परिचय-पत्र बनाउन सेवाग्राहीलाई सास्ती : टोकनकै लागि रातभर लाइनमा

सेवा लिनका लागि लाइन बस्नु त छँदैछ, सेवा प्रवेश गर्ने टोकन लिनकै लागि माघको चिसोमा रातभर लाइनमा बस्न बाध्य छन् सेवाग्राही। काठमाडौं, थलीका आशीष सिम्खडा....

लाइन बस्नु नपरे त्यो के सरकारी सेवा ? : राहदानी विभागका निर्देशक भन्छन्- यी सब गफ हुन्

राहदानीका लागि लाइन बस्दा–बस्दा हैरान थिए उनी। भन्दै थिए, ‘जहाँ पनि जनतालाई लाइनमा राख्छ सरकार। रोजगारी नदिए पनि पासपोर्ट त समयमा दिए हुने नि। पासपोर्ट....

एउटा सरकारी कार्यालय जहाँ सेवाग्राहीले लाइन नबसी सेवा पाउँछन्

तर, परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग भने चुस्त र छरितो सेवा दिने सरकारी कार्यालयको रुपमा चिनिएको छ।  विभागले विदेशमा रहेका नेपालीका हकहितको सुरक्षा, उद्धार,....

आफैंले बनाएको नियम उल्लंघन गर्दै काठमाडौं प्रशासन

स्मार्ट लकडाउनका बेला सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने नियम छ। तर जिल्ला प्रशासन काठमाडौंले आफ्नै कार्यालयमा सयौं सेवाग्राहीलाई भेला हुन दिएर....