काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो हस्तक्षेपमा कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल)को प्रमुखमा सरुवा भएका डा. गुणराज लोहनीको सरुवा रोकिएपछि अहिले यो विषयले स्वास्थ्य मन्त्रालयमा तरङ्ग ल्याएको छ। सम्बन्धित मन्त्रीले गरेको निर्णय प्रधानमन्त्री देउवाले हस्तक्षेप गर्दै रोकेका हुन्।
उकेरा स्वास्थ्य
मन्त्रालय स्रोतका अनुसार लोहनीको सरुवा रोक्नमा प्रधानमन्त्रीसँगै माओवादी केन्द्रकी ऊर्जा मन्त्री पम्फा भुसाल समेत सक्रिय भएकी थिइन्। लोहनीको विरोधमा अस्पतालका केही कर्मचारी विरोधमा उत्रिएका थिए। आफ्नै पार्टीको सरकार हुँदा पनि कांग्रेस निकट चिकित्सक पेलिएको भन्दै चिकित्सकको आवरणमा राजनीतिमा सक्रिय समूहले हारगुहार गरेपछि लोहनीको सरुवा रोकिएको हो।
'लोहनीको सरुवामा प्रधानमन्त्री शेरबहादुर देउवाले नै हस्तक्षेप गरे, मन्त्री पम्फा भुसालले पनि हस्तक्षेप गरिन्। वीर अस्पताल बिगार्ने अभियानमा प्रधानमन्त्रीदेखि माओवादीसम्म लागे। काम गर्न नसक्ने स्थिति भयो', स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने।
अस्पतालमा निमित्त प्रमुख रहेका डा. भूपेन्द्र बस्नेतको सरुवा भएपछि नै प्रधानमन्त्री देउवा सक्रिय भएका हुन्। पहिला पनि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको सरुवा रद्द गराएर ११ औँ तहका चिकित्सक चाहिने पदमा १० औँ तहका बस्नेतलाई निमित्त दिइएको थियो। सरकारले अहिले अस्पताल प्रमुखमा १२ औँ तहका चिकित्सक हुने निर्णय गरेको छ। तर डा बस्नेत भने लोक सेवा आयोगले रद्द गरिसकेको विज्ञापनमा टेकेर बल्ल ११ औँ तहमा बढुवा हुन प्रयासरत छन्।
सम्बन्धित मन्त्रीले गरेको सरुवा नै प्रधानमन्त्रीको आदेशमा रद्द भएपछि मन्त्रालय र वीर बिचको सम्बन्धमै समस्या पर्ने समेत देखिन्छ। 'प्रधानमन्त्रीले फर्काएको मान्छे। अब हामीले भनेको कहाँ टेर्छन्।' मन्त्रालयका एक अधिकारीले भने।
यता डा. लोहनीले आफू सरकारी कर्मचारी भएकाले सरकारले खटाएको ठाउँमा जाने बताउँछन्। 'सरकारी कर्मचारी हुँ, सरकारले खटाएको ठाउँमा जान्छु। वफादार भएर काम गर्छु', उनले भने।
र यी पनि,
२०७८ पुष २९ गते १३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।