सानो मुसाको शृङ्खला नेपाली भाषामा प्रकाशित

सानो मुसाको शृङ्खला नेपाली भाषामा प्रकाशित

रिका जान्ती बाल-साहित्य विधामा फिनल्यान्डको प्रसिद्ध लेखक र चित्रकार हुन्। उनको पहिलो बाल पुस्तक सन् २००५ मा प्रकाशित भएको थियो। उनको सानो मुसाको चित्रकथा शृङ्खला १६ वटा विभिन्न भाषामा प्रकाशित भइसकेको छ। यस शृङ्खलाका चित्रकथाहरु शान्ता दाहालले नेपाली भाषामा अनुवाद गरेकी हुन्। 

चित्रकथा सानो मुसोमा सानो मुसोले आफ्नी आमासँग दिनभरि के के क्रियाकलापहरू गरेको छ भनेर सचित्र वर्णन गरिएको छ। सानो मुसाको जिद्दी र चुलबुले स्वभावलाई लेखकले सरलतवरबाट प्रस्तुत गरेका छन्। बालबालिकामा हुने उत्सुकता, जिज्ञासा र जिद्धिपनालाई लेखकले सचित्र र सरल ढङ्गबाट चित्रकथामा पस्केका छन्।

त्यसैगरी चित्रकथा सानो मुसाको सहयोगमा सानो मुसाले आफ्नो आमालाई घरको सरसफाइ साथै लुगा धुनदेखि लिएर शौचालय सफा गर्नसम्म सहयोग गरेको छ। प्रत्येक आमाले आफ्ना सन्तानलाई दैनिकी घरायसी कामकाज सिकाएर आत्मनिर्भर र सहयोगी हृदयको बन्न उत्प्रेरित गर्नुपर्छ भन्ने सन्देश यस चित्रकथाले दिएको छ। 

सानो मुसाको मामाघर चित्रकथामा आफ्नी आमासँग सानो मुसा बेरी टिप्न रेल चढेर मामाघर गएको रोचक यात्रा सचित्र प्रस्तुत गरिएको छ।

सानो मुसाको चित्रकथा शृङ्खलामा मुसालाई पात्रको रूपमा प्रस्तुत गरेर साना बालबालिकाहरूलाई दैनिकी क्रियाकलाप सम्बन्धित जानकारी ,रोचक यात्रा ,घरायसी कामकाजमा आमालाई सहयोग गर्नुपर्छ भन्ने जानकारी दिने प्रयास गरिएको छ।

२८ पुस, २०७८, १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।