पृथ्वी जयन्ती मनाउँदैमा गणतन्त्र जाँदैन

पृथ्वी जयन्ती मनाउँदैमा गणतन्त्र जाँदैन

काठमाडौँ- पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दाको एउटा किंवदन्ती रोचक र स्मरणयोग्य छ।

पृथ्वीनारायण शाह पहिलो पटक काठमाडौँ आक्रमण गर्दा असफल भए। एक वर्षपछि फेरि त्यसरी नै आक्रमण गरे। फेरि पनि हार व्यहोर्नुपर्यो। हार मात्र नभएर उनी मरणासन्न हुने गरी घाइते भएछन्।

मरणासन्न अवस्थामा उनलाई एक नेवार समुदायकी महिलाले खेतमा भेटिछन्। अर्धचेत अवस्थामा उनले पानी मागिरहेका रहेछन्। अन्जान ती महिलाले पानी दिइछन्। उनको मरणासन्न अवस्था देखेर ती महिलाले बिचरा बटुवालाई भोक पनि लाग्यो होला भन्ने ठानेर घरमा फर्किएर ढिँडो पकाएर दिइछन्। खाना न पिनाले इन्तु न चिन्तु पृथ्वीनारायण शाहले तातो ढिँडोमा हतारिँदै हात हालेछन्।

तातो ढिँडोले उनको हातै पोलेछ। उनको त्यो मूर्ख शैली देखेर ती महिलाले भनिछन्- यो मान्छे कस्तो मूर्ख रहेछ, काठमाडौँ आक्रमण गर्ने पृथ्वीनारायण शाह जस्तै।

शाहले राजधानीमा स्थानीय सुराकीको सहाराविना कीर्तिपुरमाथि आक्रमण गरेका थिए। त्यस पटक पनि समृद्ध तत्कालीन कीर्तिपुर राज्यसँग हार व्यहोर्नुपरेको थियो।

त्यही शैलीमा उनै पृथ्वीनारायण शाहले ती महिलाले दिएको ढिँडोको डल्लाको पनि बीचमा हात हालेपछि पोलेछ। उनले ती बटुवा शाहलाई सम्झाउँदै खान त जान्नु पो पर्छ भन्दै सुरुमा छेउछाउबाट चिमोट्दै गएपछि पछि पो बीचबाट गाँस हाल्न सजिलो हुन्छ भनेर अर्ति दिइछन्।

उनको त्यो अर्तिलाई मनन गर्दै पृथ्वीनारायण शाहले आफू त्यही मूर्ख भएको रहस्य गर्भमै राखेर तेस्रो पटकको लडाइँमा त्यही अर्तिलाई युद्धको मन्त्रका रूपमा अपनाएछन्। अन्ततः तेस्रो पटकमा पृथ्वीनारायण शाहले काठमाडौँमा विजय प्राप्त गरेछन्।

२ सय ५० वर्षअघि उनै मूर्ख पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुक अहिले लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भएको छ। साथै मुलुकमा २०७२ असोज ३ गते जारी संविधानले सङ्घीयतालाई आत्मसात् गरेको छ। मुलुक सङ्घीय गणतन्त्रात्मक मुलुकका रूपमा नयाँ संविधानले ग्यारेन्टी गरेको हो।

संविधानले नेपाल राज्यलाई ७ प्रदेशमा विभाजन गरेको छ। मुलुक चाहेर वा नचाहेरै सङ्घीयतामा गएको छ। त्यसै अनुसार प्रादेशिक संरचनामा  विभाजन छ। पञ्चायती शासन व्यवस्थाले १४ अञ्चल ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभक्त प्रशासनिक संरचना यति बेला नयाँ स्वरूपमा ७ प्रदेश, ७७ जिल्ला र ७ सय ५३ स्थानीय संरचनामा विभाजित छ।

गणतन्त्र स्वीकार गरेर संविधान जारी भएको मुलुकमा पक्कै पनि कार्यान्वयनका चुनौती छन्। संविधानले ७ प्रदेशको संरचना विभाजन गरेपछि मुलुक सङ्घीयताको अभ्यासमा छ।  सङ्घीयतामा जाने बित्तिकै रातारात सबै कुरा बदलिने पनि होइन रहेछ।

मुलुक जुनै संरचनामा गए पनि उसको भाषा, संस्कृति, इतिहास र मूल्य-मान्यतामा एकता कायम गर्न नसकिए मुलुकको अस्तित्व नै समाप्त भएर जाने सम्भावना रहन्छ।

मुलुकको अस्तित्व जोगाउन कसैले न कसैले योगदान गरेको हुन्छ। योगदानका आधारमा उसलाई सम्मान गर्नु राष्ट्रको पहिचान पनि हो। राष्ट्रिय अस्मिताको संरक्षण पनि हो। एकताको प्रतीक पनि हो।

नेपाल आफैँमा दुई विशाल भूखण्डको बीचमा अवस्थित छ। त्यो अवस्थिति आजको अवस्थाले निर्मित हैन। पुर्खाको दूरदर्शिता  र दृष्टिबोधले  छुट्टै मुलुकका रूपमा भएको हो।

नेपालको सन्दर्भमा त्यो दूरदर्शिता अपनाउने व्यक्ति हुन् पृथ्वीनारायण शाह। उनै शाहले वर्तमान भूगोललाई  छुट्टै राज्यका रूपमा भेष-भूषा, संस्कृति सहित पहिचानको छुट्टै भूगोल कायम गरेर पहिचान बनाएको देश हो नेपाल।

त्यति बेलाबाट नै नेपाल अस्तित्व जोगाउन सफल छ। शाहको  त्यो योगदानलाई बिर्सिएर नामेट गर्न खोज्नु इतिहासप्रतिको गद्दारी हो।

२०६३ सालबाट उनको जन्म दिन (राष्ट्रिय एकता दिवस) मनाउने परम्परालाई बन्द गरेर राज्यको संरचना वर्तमानमा भएको हो भन्ने मानक स्थापित गर्न खोज्नु इतिहासप्रतिको पूर्वाग्रह हुनेछ।

होला उनका वंशले शासन सञ्चालन गर्दा केही आवेग, प्रवेगमा शोषण र हैकम चलाए होलान्। त्यसको सजाय उनीहरूले पाइसकेका छन्। राज परम्पराको अन्त्य भइसकेको छ। अब पनि उही पुरानो भूतसँग तर्सिएर राष्ट्र निर्माताको योगदानलाई पूर्वाग्रहवश बिर्सिन खोज्नु आफैँमा लघुताभास मात्र हो। त्यो लघुताभासबाट वर्तमान सरकार माथि उठ्न सक्नुपर्छ।

कुनै राज्यको निर्माण कुनै ऐतिहासिक घटना वा कसैको योगदानबाट भएको हुन्छ। कुनै पनि देशको निर्माणमा त्यस्ता व्यक्ति वा घटनाको खोजी गर्दा त्यस मुलुकको इतिहास र पहिचान भेटिन्छ।

छिमेकी भारतमा दासताबाट मुक्त गराउन महात्मा गान्धीले गरेको योगदान होस् वा चीनमा जनवादी शासन व्यवस्था स्थापना गर्न माओत्से तुङले पुर्याएको योगदान छ। उनीहरूको जन्म दिन वा त्यस ऐतिहासिक क्षणलाई राष्ट्रिय पर्वका रूपमा मनाउने गरेको पाइन्छ।

त्यसैगरी पाकिस्तानमा जिन्नालाई  नेसन अफ फादरका रूपमा स्मरण गरिन्छ। बङ्गलादेशमा शेख मुजीवर रहमानलाई स्मरण गरिन्छ। मलेसियामा अब्दुल रहमान, अफगानिस्तानमा अहमद शाह दुरानी, उत्तर कोरियामा किम इल सुङ, युगोस्लाभियामा मार्सल टिटो, भेनेजुएलामा सिमोन वेलुभर सहित सयौँ देशमा राष्ट्र एकताका प्रतीकलाई  कुनै न कुनै रूपमा स्मरण गर्ने गरिन्छ।

अमेरिकाको सन्दर्भमा जुलाई ४ तारिखलाई रिपब्लिक डेका रूपमा मनाइन्छ। त्यस दिनले अमेरिकाको आधुनिक इतिहासको जगको पहिचान गराउँछ भने जर्ज वासिङ्टनलाई नेसन अफ फादरका रूपमा सम्मान गरिन्छ। तर हामी आफ्नो इतिहास, पहिचान र एकताका प्रतीकलाई पूर्वाग्रहवश बिर्सिरहेका त छैनौँ?

पृथ्वी जयन्ती मनाउँदैमा राजतन्त्र फर्किन्छ भन्नु शासकहरूलाई आफैँप्रति विश्वास नहुनु हो। कुनै पनि राज्यको एकीकरण हस्तक्षेप वा आक्रमणबाट भएको इतिहास छ। त्यो तत्कालीन परिवेशको बाध्यता पनि हो। त्यसो भन्दैमा समानताको सिद्धान्तबाट राज्यको निर्माण भएको सायदै कुनै देशको इतिहास होला।

एकीकरणका बखत कसैमाथि वा कुनै भूगोलवासी हुन गएको आक्रमण वा समाहितलाई शोषणको नाम दिएर वर्तमानमा राजनीति गर्न खोज्नु सङ्कीर्णता मात्र हो।

त्यसैले फराकिलो सोच राखेर पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउन सके उनको योगदान र एकताको इतिहासको स्मरण पनि हुनेछ। त्यसो त छिमेकी तिब्बत भन्ने देश यति बेला छुट्टै पहिचान सहितको भूगोलमा छैन। तर पनि त्यहाँका निर्वासित नागरिकले त्यहाँका धार्मिक गुरु दलाई लामाको जन्म दिनलाई एकताका प्रतीकका रूपमा निर्वासित जीवनमा समेत मनाइरहेका हुन्छन्।

हामी इतिहासमा कसैको गुलाम भएनौँ भनेर गर्व गर्छौँ। तर गुलामीबाट मुक्त हुनुपर्छ भनेर बाह्य हस्तक्षेप विरुद्ध एकजुट बनाएर एकताको सूत्रमा उन्ने उनै पृथ्वीनारायण शाहलाई सामन्तका नाइकेका रूपमा चित्रण गरिरहेका छौँ। यो दास मानसिकताको उपज हो।

भविष्यले एक दिन उक्त सत्य इतिहासलाई स्वीकार गर्ने छ। साथै पछ्याउने छ। तर वर्तमानमा लाञ्छनाको भयले ग्रसित हुनु राजनीतिक मनोविकार मात्र हो।

त्यसो त उक्त सत्यलाई नस्विकार्दैमा पक्कै उक्त इतिहास र उनको योगदान मर्दैन। पुस्तकालयका पुस्तकको पानामा र भर्चुअल दुनियाँमा गुगल पेजमा संरक्षित भइसकेको छ। उक्त तथ्यलाई मार्क्सवादका अनुयायी समेत रहेका पूर्वराजदूत नीलाम्बर आचार्यको भनाइले समेत पुष्टि गर्छ।

आचार्यले ट्विटरमा लेखेका छन्- पृथ्वीनारायण शाह, यो नामको सम्झना मात्रले पनि नेपालीमाझ आफन्तपन र राष्ट्रिय एकताको भावनालाई बल पुग्छ। श्रद्धा र आभार राष्ट्र निर्माताप्रति। पृथ्वी जयन्ती २७ पुसको उपलक्ष्यमा हार्दिक शुभकामना। पृथ्वी जयन्ती नमनाउँदैमा गणतन्त्र संस्थागत हुने पनि हैन। त्यसका लागि सभ्य चरित्र आवश्यक पर्दछ। सभ्य चरित्र प्रदर्शन गर्न पनि पृथ्वी जयन्ती पुस २७ लाई  राष्ट्रिय पर्वका रूपमा मनाएर आफ्नो विरासतलाई  स्मरण गर्दै मुलुकको सार्वभौम अस्तित्व जोगाउन सकौँ। पृथ्वी जयन्ती मनाउँदैमा राजतन्त्र फर्किन्छ भन्नु शासक मनको बाघबाट ग्रसित हुनु मात्र हो।

पृथ्वी जयन्ती विशेष

२७ पुस, २०७८, २१:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।