'पहिले अनुहार हेरेरै कैदी चिनिन्थे, अहिले त पब्लिक र कैदी छुट्याउनै गाह्रो !'

'पहिले अनुहार हेरेरै कैदी चिनिन्थे, अहिले त पब्लिक र कैदी छुट्याउनै गाह्रो !'
तस्बिर : कृष्पा श्रेष्ठ

फोटोमा छन्, भादगाँउले टोपी, निधारमा चन्दन र स्टकोट लगाएका हँसिला जेष्ठ नागरिक। 

ती व्यक्ति हुन्, जगन्नाथ देवलस्थित केन्द्रीय कारागार कार्यालयका कार्यालय सहयोगी गोविन्दप्रसाद कँडेल। र, त्यो फोटो उनै कँडेलले उत्कृष्ट निजामती कर्मचारी अवार्ड पाउँदाको हो।

०००
वि.सं. २००० को सुरुवातमा रोजीरोटीको सिलसिलामा नुवाकोटबाट बसाइ सरेर काठमाडौंको सामाखुसीमा आएको थियो गोविन्दको परिवार। २००६ सालमा सामाखुसीमै जन्मिए गोविन्द। 

उनी जन्मिएको एक वर्ष पनि नबित्दै देशमा २००७ सालको परिवर्तन आयो। तर त्यो परिर्वतनले उनको परिवारलाई खसै फरक पारेन।

दिन बित्दै गए। प्रजातन्त्र आएको १५ वर्षपछि गोविन्दका पिता संसारबाट विदा भए। त्यसपछि गोविन्दको परिवारमा उथुलपुथुल आयो।

‘पिता बित्नुभयो। आमा र दुई बहिनी गाउँ जाने भन्न थाले,’ गोविन्द पुराना कुरा स्मरण गर्छन्, ‘मलाई गाउँ गएर बस्न मन थिएन। गाउँमा पनि उही खन-जोत त गर्ने हो। बरु काठमाडौंमै बस्छु भनेर जिद्दी गरें।’

गोविन्दका आमा र बहिनीहरु गाउँ जाने पक्का भयो। काठमाडौंको सामाखुसीमा रहेको घर बेच्ने सल्लाह भयो परिवारमा। २०२२ सालमा २ हजार रुपैयाँमा घर बेचियो। 

त्यतिबेला २ हजार रुपैयाँ सानो रकम थिएन। त्यसलाई लगानी गर्ने सही ठाउँ पनि देखेन कँडेल परिवारले।

बैंकमा पैसा राख्नु पनि त्यति सुरक्षित मानिँदैनथ्यो। त्यतिबेलाका मानिस आफूसँग भएको पैसा भरपर्दा मान्छेलाई राख्न दिने वा  कसैलाई व्याजमा लगाउनमै आर्कषित हुन्थे। 

सोही सिलसिलामा गोविन्दको परिवारले विश्वासिला मान्छेको सहारा खोज्यो। विश्वासिला मान्छेमा परे गोविन्दका बाका अत्यन्त विश्वासिला साथी। 

श्रीमानका साथीको हातमा २ हजार थमाएर गोविन्दकी आमा नुवाकोट फर्किन्। दुई बहिनी आमाको पछि लागे। गोविन्द आफ्नै नयाँ छिमेकीकहाँ बस्न थाले।

‘परिवार नै गाउँ गएपछि ती छिमेकीले मलाई आफ्नो घरमा राखे,’ गोविन्द भन्छन्, ‘छोरा जसरी नै पाले।’

गोविन्दलाई आफ्नो घरमा राख्ने व्यक्ति थिए तत्कालीन अञ्चलाधीश कार्यालयका शाखा अधिकृत कृष्णप्रसाद अर्याल। उनै कृष्णप्रसादको घरमा गोविन्दको जुँगाका रेखी बाक्ला भए। 

विस्तारै हुर्कंदै गएका गोविन्दको रोजगारी थिएन। पिता जीवित हुँदा उनी दुई कक्षामा पढ्थे। पिता छुटे, पढाइ पनि छुट्यो। हातमा केही सिप पनि थिएन।

कृष्णप्रसाद अर्यालको आफू बसेको घरमा काम सघाउनु बाहेक उनीसँग आम्दानीको स्रोत थिएन। आम्दानीको बाटो खोज्न पनि कृष्णप्रसादमै नै निर्भर थिए।

कृष्णप्रसादले काम खोज्दिन पनि सकेका थिएनन्, पुस्तैनी सम्पत्तिको सदुपयोग गरे बन्द-व्यापार गर्ने अवस्था पनि थिएन। आँट पनि भएन गोविन्दलाई। 

०००
गोविन्दलाई घरमा बस्न दिने कृष्णप्रसाद खप्तड बाबालाई निकै आदार गर्थे। आफ्ना गुरुसँग एक पटक गोविन्दलाई पनि दर्शन गराउने मनसाय बनाए उनले।

सोही योजना मुताविक २०२४ सालमा कृष्णप्रसादले सानेपा जाने बाटोको छेउमा रहेको राजघरमा खप्तड बाबासँग गोविन्दलाई भेटाए।

खप्तड बाबाले गोविन्दको कथा सुने। खप्तड बाबाले तत्कालै कृष्णप्रसादलाई आदेश दिए- कुनै सरकारी अड्डामा जागिर लगाइदिनू।

कृष्णप्रसादले खप्तड बाबाको वचन काट्ने कुरै थिएन। उनले बाबाको आदेश सिरोपर गरे।

सोही साल गोविन्दको जागिर तय भयो। उनी मासिक १०० रुपैयाँ तलबमा अस्थायी कर्मचारीको रुपमा केन्द्रीय कारागारको कार्यालय सहयोगीमा भर्ती भए।

‘६ वर्ष अस्थायी भएपछि मात्र मलाई स्थायी गराए,’ गोविन्द भन्छन्, ‘म ५४ वर्षदेखि यहीँ छु। लाखौंको संख्यामा कैदीबन्दी देखेको छु।’

पुराना कर्मचारी, त्यसमाथि इमान्दार भएकै कारण आफू उत्कृष्ट निजामती कर्मचारी २०७८ बाट सम्मानित भएको गोविन्द सगर्व बताउँछन्।

उनी भन्छन्, ‘कसैको एक सुको खाइनँ। अपराधको सजाय सानै उमेरबाट देखियो। त्यसैले पनि होला, लप्पनछप्पन केही गरिनँ। पहिलेबाट नै मलाई सबैले सोझो मान्छे भन्थे। इमान्दार र सोझो भएरै जागिर खाएको ४५ वर्षपछि बल्ल जस्ताको घर बनाउन सकें।’

काठमाडौंको मुलपानीमा रहेको २ आना जग्गा गोविन्दले एक छाक खाएर जम्मा गरेको पैसाले किनेका हुन् रे। त्यही जग्गामा २०६७ सालमा उनले जस्ताले बारेर घर बनाएका रहेछन्।

‘सत्यमा रहेर पैसा कमाउन त एक छाक खानुपर्ने रहेछ,’ गोविन्दले उकेरासँग भने, ‘सत्यकै धन समेत नटिक्ने जमानामा असत्यको धन के टिक्ला र?’

अपराध गर्नेहरुलाई सुधार्ने ठाउँमा काम गर्ने गोविन्द आफैं भने तिनै आपराधिक मानसिकताका मान्छेको सिकार बने। र, आफैं अन्यायमा परे। उनको पुर्ख्यौली घर बेचेर राखेको दुई हजारको हिसाब ५५ वर्षपछि पनि उधारोमै रहेछ।

‘नामै त के भन्नु र! तर ती मान्छेले त्यतिबेलाको दुई हजार पचाइदिए,’ उनी भन्छन्, ‘कागजपत्र भएन उतिबेला। विश्वासको कुरा भयो। जति माग्दा पनि दिएनन्। त्यही दुई हजारको सावाँ-व्याज जोड्दै आउने हो भने त धनी हुन्थें म पनि।’

धनी नै हुने अभिलाशा भने छैन उनलाई। तर पिताको दुःखको कमाइ त्यसै छोड्नुपर्दा भने उनको चित्त दुखेको रहेछ।

७२ वर्षको उमेरमा पनि उनमा आँट भने युवाकै जस्तै छ। त्यसैले त, आफ्नो हात खुट्टा चल्दासम्म कारागारमै काम गर्ने सोचमा छन् उनी।

‘२०७६ सालमा रिटायर्ड भएर पनि करारमा केन्द्रीय कारागारमै छु,’ उनी सुनाउँन्, ‘हात-खुट्टा चलुन्जेल जेलमै रम्ने, त्यसपछि घरमा थन्किने।’

गोविन्दले भूकम्पपछि भने ढलान घर बनाएका छन्। अहिले उनी आफ्नो कान्छा छोरा-बुहारीसहित सोही घरमा छन्। जेठा छोरा भने छुट्टिएर बसेका छन्।

०००
२०२४ सालमा गोविन्दले जागिर खाँदा केन्द्रीय कारागारमा १५ सय जना कैदीबन्दी थिए। अहिले तीन हजार चार सयभन्दा बढी कैदीबन्दी भएको उनी सुनाउँछन्। जहाँ देशका नाम चलेका नेतादेखि साधारण नागरिकसम्म सामेल छन्। तर गोविन्दलाई कारागार भित्रका कैदीबन्दी नेता भए पनि, जनता भए पनि सजायको भागिदार हुनैपर्छ जस्तो लाग्छ। त्यसैले उनी खासै को आयो, को गयो उति चासो राख्दैनन्।

‘लाखौं कैदी देखें मैले। समाज, आफन्तलाई हानि हुने काम गर्नेले सजाय पाउनैपर्छ। उनीहरु ठूला-साना भन्ने लाग्दैन,’ गोविन्द भन्छन्, ‘कारागारभित्र अहिले सुविधै-सुविधा छ। पहिले-पहिले बिजोग हुन्थ्यो। अहिले त कैदीलाई कारागारमा पनि लक्जरी होटलमा बसे जस्तो छ।’

गोविन्द अगाडि थप्छन्, ‘पहिले-पहिले कैदीलाई खर्च तीन सुका दिन्थे। खान नपाएर जिङरिङ्ग हुन्थे। टाढाबाट हेर्दैमा यो कैदी हो भन्ने चिनिन्थ्यो।’

उनी सुनाउँदै गए हामी सुनिरह्यौं, ‘अहिले कैदीले खाना खर्च ६० रुपैयाँ पाउँछन्। अब त को कैदी, को पब्लिक छुट्याउनै गाह्रो छ जेलभित्र।’

पछिल्लो समय जेलभित्र सुविधाहरु बढेको छ। जाडोमा दाउराको व्यवस्था छ। तातो लुगा पनि छ। भात पकाउन मट्टितेलको व्यवस्था छ। खान्की पनि बढी छ पहिलेको तुलनामा। पढ्न चाहनेलाई विद्यालय छ। पुस्तकालय छ। देश-विदेशको समाचार हेर्न, पढ्न पनि समस्या छैन। सिक्न चाहनेलाई सिप सिकाउने व्यवस्था समेत छ। त्यसैले पछिल्लो समय कैदीलाई होटलमा बसेसरह भएको छ जस्तो लाग्छ गोविन्दलाई। 

कुराको बिट मार्दै गर्दा अझै केही भन्न खोज्दै थिए। तर गोविन्दलाई कतैबाट बोलावट आयो। कागजपत्र बोकेर भवनबाट निस्किए।

जाँदै गर्दा गोविन्द अप्ठ्यारो मान्दै थिए। सायद नबोल्नुपर्ने कुरा पो बोलें कि!


 

२६ पुस, २०७८, १३:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।