लैगिंक तथा यौनिक अल्पसंख्यक : पहिले घृणा, अहिले सम्मानित

लैगिंक तथा यौनिक अल्पसंख्यक : पहिले घृणा, अहिले सम्मानित

जन्मघर सल्यान भएकी उनी जन्मजात पुरुषजस्तो देखिने भए पनि व्यवहार भने महिलाको जस्तो थियो। घरका मान्छे पनि उनलाई छोरा नै भनेर बोलाउँथे। सात-आठ वर्षको उमेरमा उनी आफ्नी आमाको साडी र ब्लाउज लगाएर सिंगारपटार गरी नाँच्थिन्।

विद्यालयमा पनि उनी केटा साथीहरुभन्दा केटी साथीहरुसँग संगत गर्न मन पराउँथिन्। छात्राको सिटमा किन बसेको भनेर सर- म्यामहरु उनीसँग रिसाउँथे पनि। छात्र भनेपछि उनलाई मनमा धेरै डर लाग्थ्यो।

वरिपरिका छिमेकीले पनि ‘तँ त छक्का-हिजडा होस् भन्थे। तर अञ्जलीका अभिभावकले 'छोरा हो, रहर मानेर केटीजस्तो व्यवहार गर्छ भन्थे।’

‘म घरको कान्छो सन्तान। सानैदेखि महिलाले लगाउने कपडा मन पर्ने, उनीहरुसँगै बस्न मन लाग्ने। विद्यालयमा पनि म केटीहरुसँग मात्रै बस्थें। तर, सर-म्यामहरु केटीको सिटमा किन बसेको भनेर रिसाउनुहुन्थ्यो,’अञ्जलीले भनिन्, ‘सर-म्यामले त्यसो भनेपछि म केटाहरुसँग बस्नुपर्थ्यो। मन डराउँथ्यो। केटाहरुको चर्पीमा पिसाब समेत आउँदैन्थ्यो। पछि स्कुलको छुट्टी भएपछि घरमा गएर पिसाब गर्थें।’

२०६४ सालमा १९ वर्षको उमेरमा एसएलसी पास गरेर कमाउन गएकी अञ्जली त्यतिबेलासम्म केटा नै भनेर चिनिन्थिन्। सल्यान जिल्लाबाट उनले नागरिकता समेत पुरुषको भनेर लिएकी छन्।

गाउँले दाइसँग भारत गएकी अञ्जलीले दिल्लीको एउटा उत्पादन कम्पनीमा काम गरिन्। त्यहाँ उनले अर्जुन नाम दिएकी थिइन्।

काम गर्दै गर्दा उनको व्यवहारहरुप्रति त्यो कम्पनीमा काम गर्ने अरु मान्छेले पनि उनी तेस्रो लिंगी हुन् भन्ने थाहा पाए। उनलाई आफू तेस्रो लिंगी हुँ कि होइन भनेर कन्फ्युज भयो।

त्यहाँ मेला-महोत्सव लाग्दा तेस्रो लिंगीहरु चाँप बजाउँदै प्रत्येक कम्पनी र पसलहरुमा गई पैसा उठाउँथे। कम्पनीमा काम गर्नेहरुले तिमी पनि त्यस्तै मान्छे हौं भनेर उनलाई जिस्क्याउँथे।

त्यहाँ आएकालाई अञ्जली राम्रोसँग हेर्थिन्। आफ्नो बानी-व्यवहार पनि उनीहरुजस्तै लाग्न थालेपछि उनले आफूलाई तेस्रो लिंगी रहेछु भनेर प्रमाणित गरिन्।

पछि सबैले छक्का-हिंजडा भनेर गिज्याउन थालेपछि त्यहाँबाट नेपाल फर्केकी अञ्जली दाङमा आएर आफूजस्तै मान्छेहरुसँग संगत गर्दै गर्दा तेस्रो लिंगी भनेर खुलिन्।

त्यसपछि उनी निलहिरा समाज ‘ब्लुडायमण्ड सोसायटी’ नामक गैरसरकारी संस्थामा जोडिइन्।

सन् २०१२ मा उनलाई निलहिरा समाजले तेस्रो लिंगी तथा लैंगिक अल्पसंख्यकहरुको क्षेत्रमा काम गर्न भन्दै सामाजिक परिचालक बनाएर सुर्खेत पठायो। निलहिराले एचआइभी एड्स रोकथाम, लैगिंक अल्पसंख्यकको हक अधिकारका क्षेत्रमा काम गर्थ्यो।

सुर्खेतमा त्यति बेला लैगिंक अल्पसंख्यकहरु खुल्नु त परको कुरा देख्दा समेत घृणा गर्थे। त्यो अवस्थामा अञ्जलीले धेरै दुर्व्यवहार सहनुपर्यो। समुदायमा आफूहरु जस्ता धेरै नागरिकहरु भए पनि घर-परिवार र समाजको डरले खुल्नै चाहँदैनथे। बरु उल्टै बाटोमा देखेपछि ‘ऊ त्यो छक्का-हिजडा आई’ भनेर दुर्व्यवहार गर्थे।

अञ्जलीले आठ वर्षसम्म सामाजिक परिचालक भएर सुर्खेतमा काम गरिन्। थुप्रै लैगिंक अल्पसंख्यकहरुलाई प्रशिक्षण दिने, मनोवैज्ञानिक परामर्श र विभिन्न सार्वजनिक कार्यक्रममा समेत सहभागिता गराई हक-अधिकारका लागि सरोकारवालालाई दबाब दिन्थिन्। त्यसैका कारण पहिला हिंजडा-छक्का भन्नेहरु अहिले नमस्कार दिदी-बहिनी भनेर सम्मान गर्ने गरेको उनी सुनाउँछिन्।
 
‘सन् २०१२ मा म सुर्खेत सामाजिक परिचालक भएर आएपछि यहाँको अवस्था एकदमै दयनीय थियो। समाजमा भएका लैगिंक अल्पसंख्यकहरु बाहिर आउने वातावरण त थिएन नै। मलाई समेत बजार वा गाउँमा कतै देखेपछि ऊ त्यो छक्का-हिंजडा भनेर दुर्व्यवहार गर्थे,’ अञ्जलीले भनिन्, ‘आठ वर्षसम्म सुर्खेतमा यो समुदायको हक-अधिकारका लागि लड्दा-लड्दै गएपछि पहिला दुर्व्यवहार गर्नेहरु नै अहिले नमस्कार दिदी, बहिनी चिया खाएर जानूस् भनेर सम्मान गर्छन्।’

समाजमा काम गर्दै गर्दा वीरेन्द्रनगर-१ की ३० वर्षीय जेनिशा नेपाली पनि अञ्जलीसँग जोडिइन्। पहिला-पहिला पुरुषको पहिरन लगाएर फाट्टफुट्ट बजारमा देखिने जेनिशा अहिले महिलाको पहिरनमा अञ्जलीसँगै विभिन्न अभियानमा जान्छिन्।

अझै पनि जेनिशालाई घर-परिवारले र समाजले त स्वीकार गरेका छैनन्। तर पनि उनले यो समुदायको मुक्ति र अधिकारको लागि घर-परिवार र समाजसँगै संघर्ष गरेकी छन्।

अहिले अञ्जलीको पनि जागिर छुटिसकेको छ। अञ्जली र जेनिशा मिलेर समाजमा लुकेर रहेका लैगिंक अल्पसंख्यकलाई परामर्श गर्ने, जनचेतना जगाउने, खुलेर आउन सहज वातावरण बनाउने र विभिन्न फोरमहरुमा गएर उनीहरुका हक-अधिकारका सवालहरु उठाउने काम गरिरहेका छन्।

‘मलाई पहिल्यै थाहा थियो, म यस्तो मान्छे हुँ भनेर। पछि अञ्जलीजी आउनुभयो, मलाई अझ सहज भयो,’ जेनिशाले भनिन्, ‘अहिले पनि घर-परिवार र समाजले मलाई स्वीकार गरेका छैनन्। तर आफ्नो समुदायको हक-अधिकारका लागि पहिलो लडाईं घरपरिवार र समाजसँग गर्न जरुरी छ।’

लैगिंक अल्पसंख्यलाई सरकारले रोजगारीको अवसर दिनसके उनीहरु पनि समाजमा अन्य मानिसहरु जस्तै सहज रुपमा बस्न पाउने जेनिशाको भनाइ छ।

लैंगिक अल्पसंख्यकभित्र पनि एल, जी, बि, टी, आई, क्यु गरी ६ वटा ‘क्याटागोरी’ मा बाँडिएको अञ्जलीले बताइन्।

उनका अनुसार सुर्खेतमा सबैभन्दा बढी जी (समलिंगी) क्याटागोरीका मानिसहरु रहेका छन्। सामाज र घर-परिवारको डरले उनीहरु खुल्न नसकेको उनी बताउँछिन्।

अहिलेका लैगिंक अल्पसंख्यकलाई अन्यको नागरिकता दिइए पनि पुरानो पुरुष वा महिलाको लिएकाहरुलाई भने समस्या भएकोले सरकारले पनि इच्छा अनुसार अहिले नागरिकता संशोधन गर्नुपर्ने उनको भनाइ छ।

सरकारी तथा गैरसरकारी संघ संस्थाका चर्पी, रोजगारी, सार्वजनिक यातायात र कार्यक्रमका हाजिरीहरुमा समेत आफूहरुलाई विभेद हुने गरेको उनीहरुको गुनासो छ।

तस्बिरमा: जेनिसा र अञ्जली

२६ पुस, २०७८, ०८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।