उकेरा फिचर

पैसा छ- मिर्गौला छैन, मिर्गौला छ- पैसा छैन


सुर्खेतः जिल्लाको चौकुने गाउँपालिका–७ गुटुकी २८ वर्षीय चन्द्रादेवी विकका दुवै मिर्गौलाले काम गर्न छोडेको चार महिना भयो। चार महिनादेखि उनको शरीर सुन्निएको छ। राम्रोसँग खाना पनि खान मिल्दैन। 
 

चन्द्रादेवी र उनका श्रीमान् हिरा विक दुवै भारतमा चौकीदारीको काम गर्थे। चन्द्रा एक्कासी सिकिस्त भएपछि हिराले गाउँघरका आफन्तसँग ऋण मागेर एक लाख रुपैयाँ खर्च गरी उपचार गरे।

चौकीदारी गरेर महिनामा १५ हजार रुपैयाँ कमाउने हिराले भारतमा उपचार गर्न नसक्ने भएपछि श्रीमतीलाई छोराछोरीको मुख देखाउने भन्दै नेपाल ल्याए। चन्द्रलाई कर्णाली प्रदेश अस्पतालसम्म पुर्याए। डाक्टरहरूले दुवै मिर्गौला फेल भएकोले उपचारका लागि काठमाडौं जानुपर्ने भन्दै रेफर गरे। 

काठमाडौं जानका लागि उनीहरूसँग बस भाडा नै नभएपछि तीन दिन वीरेन्द्रनगरमा आफन्तको कोठामा बसे। चिनेजानेका मान्छेहरूसँग आर्थिक सहयोग मागे। सहयोगबाटै दश हजार जम्मा गरे। अनि काठमाडौं पुगे। 

तर त्यहाँ पनि उनलाई बस्न खान निकै समस्या भयो।

‘भारतमा काम गरेर बालबच्चा पालेको थिएँ। अहिले श्रीमती बिरामी भएपछि ऋण नै ऋणले थिचेको छ’, हिराले भने, ‘भारतमा उपचार गर्न नसक्ने भएपछि छोराछोरीको मुख देखाउने भनेर ल्याइयो, अहिले आफन्तहरूले उठाएको दश हजारले उपचार गर्न काठमाडौं पुर्‍याएको छु।’

उनका दुई छोरा एक छोरी छन्। आयआर्जनको स्रोत केही छैन। गाउँमा न जग्गा जमिन नै छ न गतिलो घर। भारतकै कमाइले जीविकोपार्जन गरेका विक दम्पतीलाई यतिबेला ठूलो संकट परेको छ। मिर्गौला पीडितलाई केही निशुल्क उपचार हुने भए पनि खान र बस्नकै समस्याले गाह्रो भएको हिराको गुनासो छ।

यता बराहताल गाउँपालिका–१० का युवराज गौतम पनि मिर्गौला पीडित हुन्। २४ वर्षीय उनी डेढ वर्षको छोरा, पत्नी र आमाबुवासहित वीरेन्द्रनगरमा भाडामा बस्दै आएका छन्।

उनलाई मिर्गौलाको बिरामी भएको पीडाभन्दा पनि कोठाभाडा जुटाउन र छाक टार्न नसक्दाको पीडाले बढी पिरोल्छ।

उपचारका क्रममा गाउँमा रहेको सानो घरसमेत बेचेर सपरिवार विस्थापित भएका गौतम हाल सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा नियमित डाएलाइसिस गराउँछन्।

‘म त बिरामी नै भइहालेँ। मेरै कारण आमा बुवाले सबै घर जग्गा बेचेर उपचार गर्नुभयो’, गौतमले भने, ‘गाउँमा भएको घरजग्गा सबै उपचार खर्चमै गयो। अहिले श्रीमती र आमा बुवाले मजदूरी गरेर केटाकेटी पाल्नु भएको छ।’

२९ जनाको पीडा उस्तै
अहिले सुर्खेतस्थित प्रदेश अस्पतालबाट डाएलाइसिस गराइरहेका मिर्गौलाका २९ जना बिरामी आर्थिक अभावकै कारण पीडामा छन्।

कोही मिर्गौला पीडितसँग पैसा भए पनि प्रत्यारोपणका लागि मिर्गौला दिने मान्छे छैनन्। कोहीसँग मिर्गौला दिने मान्छे भए पनि आर्थिक अभावकै कारण प्रत्यारोपण गर्न पाएका छैनन्।

अहिलेसम्म कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट एक सय १४ जनाले डाएलाइसिस सेवा लिएका छन्। प्रदेश अस्पतालले २०७४ मंसिरबाटै डाएलाइसिस सेवा दिन थालेको छ। विभिन्न कारणले दुवै मिर्गौला फेल भएका बिरामीहरूले सातामा दुई पटकसम्म निःशुल्क डाएलाइसिस गराइरहेको अस्पतालकी नर्सिङ निरीक्षक तथा डाएलाइसिस विभाग प्रमुख विन्दु कँडेलले जानकारी दिइन्।

उनका अनुसार हाल कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट २९ जना बिरामीले नियमित डाएलाइसिस गराइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सफलताको कथा: पैसा त बाख्राको खोरमा पो रहेछ !

१० वर्षकै उमेरमा भारत गएका उनले सुरुमा होटलमा भाँडा माझ्ने काम गरे। विस्तारै कुकको काम सिकेका रमेश विस्तारै कुक म्यान बने। बाल्यकाल र युवा अवस्थाको....

बुटवलमा 'ब्राण्डेड' बन्न खोजिरहेको खाजा घर: ग्राहकलाई ३० प्रकारको परौठा, सञ्चालकलाई वार्षिक १० लाख

परौठा हाउस 'खाजा घर' मात्र होइन। यो 'ब्राण्डेड खाजा घर' हो। ५३ वर्षीय अर्जुन बुटवलमा परौठालाई खाजाको ब्राण्ड बनाइरहेका छन्। खाजा भनेकै मम, चाउमिन र....

तीन पिँढीदेखि भुजा भुट्ने बेचनप्रसादको कथा

उनी कार्यालय समयबाहेक अरू समयमा भुजा भुट्छन्। र यो सिलसिला तीन पिँढी यता जारी छ। चना र भुजा भुट्ने उनको यो काममा श्रीमती कलावती, बुहारी सन्ध्या....

जोशी दम्पत्तिको च्याउ खेती: माग धान्नै मुस्किल, कमाइ १५ लाख

जोशीले ०६९ सालबाट चौकीडाँडामा व्यावसायिक रूपमा च्याउ खेती गरिरहेका छन्। दिउँसो चक र डस्टरमा रमाउने जोशी साँझ-बिहान भने च्याउ खेतीमा रमाउँछन्।  उनको फार्ममा बाह्रै महिना....

हरिबोधिनी एकादशी : पाप नाशक, पुण्यवर्धक र मुक्तिप्रदक

आषाढ शुक्ल पौर्णमासी, एकादशी, द्वादशी वा श्रावण सङ्क्रान्तिमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छन्। विशेष गरेर आषाढ शुक्ल एकादशीदेखि चातुर्मास्य व्रतको आरम्भ गरिन्छ भने....