'फोटो खिच्ने सर्वसाधारण र फोटो पत्रकारमा त्यति फरक छैन'

'फोटो खिच्ने सर्वसाधारण र फोटो पत्रकारमा त्यति फरक छैन'

०००
मेरो मामाघर इलाम। त्यहाँ जेठा मामासँग रिलवाला क्यामेरा थियो। यो ४०को दशकको कुरा हो। 

त्यतिबेला फाटो खिच्नु महत्त्वपूर्ण कुरा थियो। विशेष चाडपर्व, उत्सवमा मात्र फोटो खिचिन्थ्यो। फोटो खिच्नु भनेको त्यतिबेला आफ्नो स्तर के छ भनेर फ्रिज गर्नु जस्तै थियो। 

औंठी देखाउन छातीमा हात लगाउने, लुगा, जुत्ता देखाउन पूरा फोटो खिच्नुपर्ने समय थियो। हातमा घडीको फेसन त साधारण नै भइहाल्यो। त्यसमा पनि लाहुरेहरू आफूसँग भएका महँगा चिजहरू देखाउन खोज्थे। 

वास्तविकतामा जस्तो भए पनि फोटोमा राम्रो देखिउँ भन्ने त्यसबेलाका मान्छेहरूमा चाहना हुन्थ्यो। 

त्यसबेला गाँउगाँउमा मान्छेहरू फोटो खिच्न मामालाई कुरेर बस्थे। मामासँगै जान्थेँ म पनि फोटो खिचेको हेर्न। त्यतिबेला मामाले पाएको सम्मान र मायाले मलाई क्यामेरा भएको मान्छेले सम्मान पाउँछ भन्ने मनमा परिसकेको थियो। तर भविष्यमा क्यामेराबाटै गुजारा चलाउँछु भन्ने थिएन। 

२०५८ सालतिर दैलेखमा माओवादीले मारेका प्रहरी जवानको लासहरूको बीचमा एक लासमाथि भक्कानिएर रुँदै गरेकी महिलाको फोटोले ममा उहाँको प्रभावलाई झन् बढायो।

२०५४ सालतिर गाउँ (भोजपुर)मा म्युजिक भिडियो सुट गर्न एक टोली आयो। त्यो टोलीको क्यामेरा बोक्नेले हेर्दाहेर्दै प्रेम फुराई हाल्यो।

त्यतिबेला म टीनएजर थिएँ। कलिलो बुद्धि त हो। क्यामेरा चलाउन सकियो भने प्रेम गर्न सकिने रहेछ भन्ने पर्यो। प्रेम गर्नकै लागि क्यामेरा चलाउन सिक्नुपर्छ भन्ने पर्यो।

मेरो आमा हुलाकमा जागिरे। आमासँग म धरान गइरहन्थेँ। धरानमा एउटा साथी थियो। उसको घरमा ब्ल्याक एण्ड ह्वाइट टेलिभिजन थियो। त्यहाँ  फिल्म र म्युजिक भिडियोसँग मेरो परिचय बन्यो।

फिल्म र म्युजिक भिडियो खिच्ने पनि क्यामेरा, सजिलै प्रेमिका बनाउन सहयोग गर्ने पनि क्यामेरा। 

तर क्यामेरा किन्ने अवस्था थिएन। मनमा भने हुटहुटी थियो। अनि विकल्प सोच्न थालेँ। विकल्पमा पर्यो- आर्टिकल लेख्ने काम।

२०५६ सालतिर कक्षा ९ मा पढ्थेँ। त्यतिबेला मैले भोजपुरको भौगोलिक सुन्दरताका बारेमा धरानबाट प्रकाशित हुने 'अखबार' नामक पत्रिकामा आर्टिकल लेखेँ। सबैले तारिफ गरे। 

अहो, बन्नुपर्ने त पत्रकार रहेछ भन्ने भयो। अब फोटोसोटो ताल मिले खिचौँला अहिलेलाई पत्रकार बन्छु भन्ने भयो।

२०५७ तिर एसएलसी सकेर काठमाडौं आएँ। मनै त हो। के मान्थ्यो। परिवारका भए जति सबैसँग पैसा उठाएर १२ सयमा प्लाष्टिकको बडी भएको क्यामेरा किनेँ भृकुटीमण्डपको  हङकङ बजारबाट।

त्यतिबेला डिएसएलआर क्यामेरा भर्खर आउँदै थियो। आफूले किनेको क्यामेराबाट केही फोटो खिचेँ पनि। तर गतिलो आएन। बिस्तारै फोटोग्राफीबाट म पत्रकारितातिरै फर्कन खोजेँ। 

समयले पनि साथ दियो। चिनेजानेकै दाईहरूले पर्यटन प्रर्वद्धनको लागि म्यागेजिन निकाल्थे। १५–१५ दिनमा। उनीहरूकै लागि काम गरेँ।

सुरुसुरुमा त जेजे लेखे पनि मिलाएर छापी दिए। तर, बिस्तारै यो भएन, त्यो भएन, यो पुगेन, त्यो पुगेन भन्न थाले। एउटा समाचार लेख्न पनि धेरै कुराको अध्ययन गर्नुपर्छ। आफू त्यसो गर्न नसक्ने।  

पत्रकारिता मेरो लागि होइन रहेछ। लेखेरै त पत्रकार बन्न सक्दिनँ भन्ने भयो। 

२०५८ सालतिर चन्द्रशेखर कार्कीले फोटो पत्रकारिता पढाउन पिजे क्लब बनाउनु भयो। मन त पत्रकार बन्ने थियो। अलिअलि जानेको फोटो खिच्न हो। त्यसैले 'ल केटा, अब पत्रकार त बन्ने तर लेख्ने होइन,फोटो खिच्ने' भनेर लागि परेँ।

मलाई फोटो पत्रकार बनाउने गुरु चन्द्रशेखर कार्की नै मेरो प्रेरण र मनपर्ने फोटो पत्रकार हुनुभयो पछि। सुरुसुरुमा त उहाँको क्लास लिइयो, सकियो। 

तर काम गर्दै गएपछि उहाँका फोटोहरू बुझ्न थालेँ। हेर्न थालेँ। त्यसले मेरो फोटोग्राफीमा निखारता ल्याउँदै पनि गयो। 

२०५८ सालतिर दैलेखमा माओवादीले मारेका प्रहरी जवानको लासहरूको बीचमा एक लासमाथि भक्कानिएर रुँदै गरेकी महिलाको फोटोले ममा उहाँको प्रभावलाई झन् बढायो।

पत्रकारले खिच्ने फोटोमा त सन्देश हुन्छ, समाचार हुन्छ। त्यो, फोटो मात्र हुँदैन, शब्दमा भन्नै नसकिने कथा हुन्छ भन्ने कुरा मलाई क्लिक भयो। 

कार्कीको मार्गनिर्देशनमा नै म निरन्तर रहेँ। समकालीन र अग्रजको फोटोहरू खुबै हेर्थेँ। त्यसले ममा पत्रकारले खिच्ने फोटो अन्य फोटो जस्तो होइन भन्ने ज्ञान पनि बढायो।

००
अहिले जस्तो प्रविधि पहिले थिएन। म डिजिटल क्यामेराको युगमा फोटो पत्रकार बनेँ। त्यस कारण अग्रजले जस्तो समस्या हामीले भोग्नु परेन। तर मनमा भने खिचेको फोटो तुरुन्तै पठाउन सक्ने दिन कहिले आउला भन्ने लाग्थ्यो। 

एक पटक म दार्जिलिङ गएको थिएँ। त्यहाँ भानुको शालिक अघि बसेर रामायण पढ्दै थिए केही मान्छे। मलाई त्यो दृश्य रोचक लाग्यो। खिचेँ। त्यति बेला नेट आइसकेको भए पनि सहज पहुँचमा थिएन। 

धेरै संर्घषपछि एउटा साइबर क्याफे भेटेँ र निकै समय लगाएर फोटो पठाएँ। त्यो फोटो अन्नपूर्ण पोष्टमा छापियो। त्यसबेला लाग्थ्यो- क्यामेराबाट नै पठाउन मिल्नु नि!

अहिले त्यो प्रविधि पनि सहज छ। फोटोको काम धेरै जसो मोबाइलबाट नै हुन थाल्यो अचेल। हरेक मान्छेमा फोटो खिच्ने कलाको पनि विकास भएको छ। 

तर फोटो खिच्ने सर्वसाधारण र हाम्रा फोटो पत्रकारमा त्यति फरक भने छैन। 

जुनै समयमा हेर्दा पनि बोल्नसक्ने फोटो खिच्नु चुनौतिको विषय हो। र त्यस्ता फोटो खिच्न सिकाउने, मार्गनिर्देश गर्ने चन्द्रशेखर कार्की नै मलाई मनपर्ने फोटो पत्रकार हुन्।

साधारण मान्छेले पनि फोटोलाई सुन्दर र फेन्सी बनाउन खोज्छ। अहिलेका फोटो पत्रकारले पनि फोटोलाई सुन्दर र फेन्सी नै बनाउँदै छन्। यो भीडमा म आफैँ पनि छु। तर यो गलत हो।

००
फोटो पत्रकारले फोटोबाट समाचार भन्न सक्नुपर्छ। अनि पो फोटो पत्रकार। नत्र त त्यो फोटोग्राफर मात्र हो। यहाँ अधिकांश फोटोग्राफर मात्र छन्, फोटोपत्रकार छैनन्।

फोटोले समाचार भन्नसक्ने कलाको विकास गर्न हामीलाई हाम्रो पढ्न नचाहने बानीले रोकिरहेको छ। 

हामी फेन्सी फोटो खिच्छौं। तर हाम्रो काम खबर दिने हो। सुन्दरता अवलोकन गर्न मात्र हेर्ने होइन नि मान्छेले हाम्रा फोटो। त्यसका लागि त अरू नै विधाका फोटो छँदैछ नि, फोटो पत्रकारको फोटो नै किन चाहियो? 

००
रिलबाट डिजिटल। अब त डिजिटलबाट पनि मोजी, सीजी के के टर्म आइसक्यो। नयाँ पुस्तालाई फोटो खिच्न प्रविधिले सहज छ। तर चुनौति उत्तिकै छ।

यो महँगो पेशा हो। पहिला आफैँले लगानी गरेर मात्र यो पेशामा इन्ट्री पाइन्छ। सहज अवस्थामा मात्र फोटो खिच्ने छुट हामीलाई हुँदैन। विषम् अवस्थामा हाम्रो सुरक्षा पनि छैन। र पत्रकारिता अन्य पेशा जस्तो कमाउने पेशा पनि होइन। 

यी सब चुनौतिलाई हटाएर अघि बढ्नपर्ने छ- नयाँ पुस्ता।

००
राजनीतिक वा भनौँ कुनै पनि परिर्वतनलाई कैद गरेर, आफूले बाँचेको समय भोलिको पुस्तालाई हस्तान्तरण गर्ने काममा फोटो पत्रकारको अहम् भूमिका रहन्छ। 

त्यसमा सत्य-तथ्यसहितको फोटो हुनुपर्छ। स्पष्ट विचार बोक्ने तस्बिर खिच्नपर्छ। 

जुनै समयमा हेर्दा पनि बोल्नसक्ने फोटो खिच्नु चुनौतिको विषय हो। र त्यस्ता फोटो खिच्न सिकाउने, मार्गनिर्देश गर्ने चन्द्रशेखर कार्की नै मलाई मनपर्ने फोटो पत्रकार हुन्।

२४ पुस, २०७८, १५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।