आमा-बाबु भएर पनि बेसहारा बन्न बाध्य यी बालबालिका

आमा-बाबु भएर पनि बेसहारा बन्न बाध्य यी बालबालिका

सुर्खेत : हुम्लाकी १५ वर्षीया कलशा नेपाली सुर्खेत, लाटीकोइलीस्थित शिव माध्यमिक विद्यालय कक्षा १० पढ्छिन्। एक वर्षकै उमेरमा आमा–बाबुले कलशालाई हुम्लाबाट नेपालगञ्ज ल्याएर काकाको घरमा छोडिदिएका थिए।

कलशालाई नेपालगञ्ज छोड्नुको कारण उनी जन्मजात नै अपांग थिइन्। उनका बायाँ खुट्टा र बायाँ हात बाङ्गा छन्।

अपांग छोरीलाई पाल्न समस्या हुने र गाउँ समाजमा तिरस्कृत हुनुपर्ने डरले भाइको घरमा आएको मौकामा त्यहीँ छोडेर हिँडेका रहेछन्। 

कलशालाई अंकल–आन्टीले एक वर्ष पालनपोषण गरे। दुई वर्षकी भएपछि उनीहरुले पनि एप होस्टेल बालगृहमा लगेर छोडिदिए। दूधे बालिका कलशाले आमा-बुबाको काख र साथ पाइनन् नै लामो समयसम्म अंकल-आन्टीको आश्रय पनि पाउन सकिनन्। 

९ वर्षसम्म होस्टेलमा बसेर उनले त्यहाँका धाइआमाहरुको माया पाइन्। कक्षा आठसम्म त्यहीँ अध्ययन गरेकी उनी एक वर्षसम्म सल्यानको जामुने बजारमा बसिन्।

दुई वर्षअघि उनलाई साझा घर नेपाल नाम संस्थाले वीरेन्द्रनगरमा ल्याएको छ। कक्षा ९ र १० शिव माध्यामिकमै पढेकी छन्। आमा-बुबा छन् भन्ने मात्रै सुनेकी उनले अहिलेसम्म पनि भेट्न पाएकी छैनन्। बरु उनलाई भेट्न अंकल-आन्टी भने आइरहन्छन्। 

‘अंकल-आन्टी कहिलेकाहीँ भेट्न आउनुहुन्छ। मेरा लागि साझा घर नै आमा-बुबा। खान पाएका छौं, पढ्न पाएका छौं,’कलशाले भनिन्।

बुबा-आमा भन्ने नै थाहा नपाएकोले उनीहरुको सम्झना नै नआउने कलशा बताउँछिन्। अपांग भएकै कारण आमा-बुबाबाट अपहेलित हुन परेकोले आफूजस्तै अपांगता भएकाहरुको सेवा गर्न नर्स बन्ने सपना बोकेको कलशाले बताइन्।

‘म अपांग भएकै कारण मेरा बुबा-आमाले बेवारिसे बनाएर छोडे। मलाई आमा-बुबाको माया के हो थाहा नै छैन। उहाँहरु गाउँमा हुनुहुन्छ भन्ने सुनेको तर अहिलेसम्म एक कल फोन समेत भएको छैन,’ कलशाले भनिन्, ‘नर्स बनेर फलोरेन्स नाइटिङ्गेलको जस्तै गरिब असाहय र अपांगता भएकाहरुलाई  सेवा गर्ने मन छ।’

यस्तै पञ्चपुरी नगरपालिका-६ का तपेन्द्र विक र उनका भाइ दुर्गेश विक पनि साहरा घरमा आश्रय लिँदै आएका छन्। उनीहरुका पनि बुबा-आमा नभएका होइनन्। आमाले अर्को विहे गरेर गएपछि बुबा पनि भारततिरै बरालिए। मामाघरमा बस्दै आएका उनीहरु एक वर्ष अगाडि साझा घरमा आएका थिए। तपेन्द्र ५ र भाइ दुर्गेश कक्षा २ कक्षा पढ्छन्।

‘आमाले अर्को विहे गरेर जानुभयो। बुबा पनि भारततिरै हराउनुभयो। मामाघरमा बसेका थियौं,’ तपेन्द्रले भने, ‘यहाँ आएको एक वर्ष भयो। अहिले त बुबा-आमा कसैको माया लाग्दैन। हामीलाई अलपत्र पारेर जिउँदै टुहुरो बनाउने उहाँहरुको अगाडि समाजको ठूलो मान्छे बन्न मन छ।’

वीरेन्द्रनगरकी १३ वर्षीय पिंकी खड्का तीन वर्षकी हुँदा उनका बुबाको निधन भयो। दाइ र उनलाई छोडेर भारतमा काम गर्न जाने भन्दै पिंकीकी आमा बेपत्ता भएपछि उनकी छिमेकी ठूली आमाले लाइट हाउस फाउन्डेसन काठमाडौंमा सम्पर्क गरी पठाइदिन्। उनी आठ वर्षसम्म काठमाडौंमा बसिन्। संस्थाले सानो कक्षालाई पढाउन नसक्ने भनेपछि विगत पाँच महिनादेखि उनी साझा घरमा बसेर पढ्दै आएकी छन्। उनका दाइ काठमडौंमै पढिरहेका छन्। 

उनले अहिलेसम्म बुबा-आमाको नाम समेत थाहा पाएकी छैनन्। बुबा-आमाको माया पाउन नसके पनि डाक्टर बनेर जनताको सेवा गर्ने लक्ष्य भएको पिंकी बताउँछिन्।

पञ्चपुरी नगरपालिका १० का आयुश विक र दैलेख चामुण्डाबिन्द्रासैनी-६ का खम्म विककी आमाले बुबा बितेको केही समयपछि अर्को विहे गरेर गएपछि बाजे-बज्यैले पाल्दै आएका थिए। उनीहरुले पनि आफूहरु अशक्त भएको भन्दै साझा घरमा ल्याएर छोडिदिए। 

यस्तै कालिकोटका वीरेन्द्र नेपालीका पनि बुबा-आमा छन्। अर्काको बारीमा सानो झुप्रो लगाएर बसेका उनीहरु दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँछन्। पाल्नै नसक्ने अवस्था आएपछि  विद्यालय नै देख्न नपाएका १२ वर्षीय वीरेन्द्रले साझा घर आएपछि मात्रै विद्यालय र कापी-कलम देख्न पाए। अहिले उनका भाइ जनक र कल्पना पनि साझा घरमै बस्दै आएका छन्। 

यिनीहरु मात्रै होइन्, आमा-बुबा नै भएका र बुबा र आमामध्ये एक जना भएका ३५ जना बालबालिकाले साझा घरमा आश्रय लिँदै आएका छन्। यस्तै आमा-बुबा दुवै नभएका ३९ जना यहाँ रहेको साझा घर नेपालका अध्यक्ष भीमबहादुर विकले बताए।

संकटमा साझा घर
२०७५ चैत २० मा खोलिएको साझा घर नामक संस्था पछिल्लो समय सहयोगको अभावमा बन्द हुने अवस्थामा पुगेको छ। अहिलेसम्म सञ्चालकहरुको व्यक्तिगत खर्च, जन्मदिन, विवाह उत्सव, संघ-संस्थाहरुको वार्षिक उत्सवमा जुटेको खाद्यान्न र मुट्ठी दानले चलेको छ।

कहिलेकाहीं हुने यस्ता कार्यक्रमले मात्र ७४ जना बालबालिकालाई व्यवस्थापन गर्न समस्या परेका भन्दै सञ्चालकहरु विभिन्न व्यक्ति र संघ-संस्थाहरुसँग हारगुहार गरिरहेका छन्। जसमध्ये २७ जना बालिका र ४७ जना बालक छन्। उनीहरुको सेवामा ९ जना युवाहरु पनि साझा घरमा छन्।

यो वर्ष वीरेन्द्रनगर नगरपालिकाले एक लाख रुपैयाँ र कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयले एक लाख ९५ हजार रुपैयाँ दिए पनि व्यवस्थापनमा अपुग भएको साझा घर नेपालका सचिव तपेन्द्र विकले बताए।

‘वीरेन्द्रगर र निर्देशनालयले दिएको बजेटले त केही महिनाको घर भाडा मात्रै तिर्न पुग्छ,’ उनले भने, ‘यहाँ दैनिक २५ केजी चामल र पाँच केजी दाल पाक्छ। महिनामा घरको भाडा नै ७० हजार तिर्न पर्छ। बालबालिकालाई त विभिन्न सरकारी तथा गैरसरकारी विद्यालयहरुसँग समन्वय गरेर पढाइरहेका छौं। नत्र अरु चिज त अभावै अभावमा चलाएका छौं।’

केही दिनदेखि सहयोग गर्ने मान्छेहरु नआएपछि भोकै बस्नुपर्ने अवस्था आएको उनले सुनाए। बालबालिकालाई विद्यालय ड्रेस र कापी-कलम किन्न पनि समस्या भएको भन्दै घरभाडा तिर्न अझै ६ लाख बाँकी रहेको उनले बताए।

साझा घरमा जाजरकोट, कालिकोट, दैलेख, हुम्ला, मुगु, सुर्खेत, बर्दिया, कैलाली, काभ्रे र काठमाडौंका विपन्न, आमा-बुबा गुमाएका र संरक्षक नभएका बालबालिकाले आश्रय लिइरहेका छन्।

२३ पुस, २०७८, ०८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।