दरबार हाई स्कुल : व्यवस्था र अवस्था फेरियो, नियति फेरिएन

दरबार हाई स्कुल : व्यवस्था र अवस्था फेरियो, नियति फेरिएन
तस्बिर कृष्पा श्रेष्ठ

भूकम्प अघि ४० कोठे भवनमा दुई विद्यालय सञ्चालनमा थिए। झस्स हेर्दा एकै विद्यालय झैँ देखिए पनि सोही भवन भित्र भानु मावि र संस्कृत मावि  गरी दुई विद्यालय सञ्चालनमा छन् विगत ६ दशक देखि।

दुई विद्यालय एकै ठाउँमा हुँदा विद्यार्थी व्यवस्थापनमा समस्या छ। तर दुवै विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढेको छ। 

चीन सरकारको तर्फबाट संघाई कन्स्ट्रक्सने रानीपोखरी अगाडीको ९ रोपनी जग्गामा  ५२ कोठाको अत्याधुनिक भवन बनाइदियो ऐतिहासिक स्कुलका लागि। तर ऐतिहासिकता गुमाइसकेको विद्यालय, आफ्नो साख जोगाउन भानु मावि पछि कोष्ठ भित्र दरबार हाई स्कुल लेख्दै आफ्नो अस्तित्व दाबीमा छ।

कुनै बेला अङ्ग्रेजी पढाउनकै लागि स्थापना भएको उक्त स्कुल आज पनि अङ्ग्रेजी पढाउनमा नै कसरत गरिरहेको छ। र हिजोको दिनमा जस्तै अङ्ग्रेजीमा पढाई हुने विद्यालय हुँ भन्ने दौडमा छ।

परिवेशमान बज्राचार्य, अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, दरबार हाई स्कुल ।

‘अङ्ग्रेजी भाषा पढ्न खोलिएको स्कुल हो यो पहिले। हामी अङ्ग्रेजी भाषामा नै पढाउन खोज्दै छौँ अहिले,’विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल महर्जनले उकेरासँग  भने।

विद्यार्थीलाई स्कुलमा आकर्षण गर्न भए पनि अङ्ग्रेजी माध्यममा जानै पर्ने बाध्यता स्कुललाई रहेको उनी बताउँछन्।

कोरोना पछि स्कुलको भवनमा नयाँ नहोस् भन्ने आफ्नो चासो रहेको महर्जन दाबी गर्छन्। महर्जनको  दाबी केही हद सम्म सत्य देखिए पनि पूर्ण भने छैन।

स्थानीय सरकारको हातमा शिक्षा व्यवस्था गए पछि कामनपा वडा २७ का वडा सदस्य परिवेश मान ब्रजाचार्यको सक्रियता र  स्थानीय  गोपाल महर्जनको नेतृत्वमा भानु माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन भएको दुई वर्ष बित्यो। त्यस्तै सांसद प्रभा बज्राचार्यको अध्यक्षमा संस्कृत माविको पनि व्यवस्थापन समिति गठन भयो। 

शारदा पाैड्याल, प्रअ, दरबार हाई स्कुल ।

संस्कृत माविलाई नेपाल सरकार र संस्कृत विश्वविद्यालयको सहयोग रहेको छ। तर  भानु माविलाई भने १७ जना शिक्षकको दरबन्दी दिने बाहेक सरकारले अरू सहयोग नगरेको बताउँछिन् विद्यालयकी  प्रधानाध्यापक  शारदा पौड्याल। 

‘नेपाल भाषाको लागी २ जना काठमाडौँ महानगरले दिएको छ। बाँकी  कतैबाट केही सहयोग छैन, ’पौड्याल भन्छिन्‘भवन नयाँ बन्यो तर हामीलाई धेरै चुनौती छ सञ्चालन गर्न।’

विद्यालय सञ्चालनमा संस्कृत माविलाई पनि कम समस्या छैन। बिजुली पानी लगायतका  खर्च दुवै विद्यालयले अधीआधी बाढेका छन्।

‘दुई विद्यालय एकै ठाउँमा हुँदा हामीलाई समस्या भयो’ संस्कृत माविका प्रधानाध्यापक शिव अधिकारी भन्छन्‘स्कुललाई बिजुली खर्च भनेर महानगरले वर्षको तीस हजार दिन्छ। एक महिनामा नै सत्तरी हजारको विल आउँछ। हामीसँग आम्दानीको स्रोत नै छैन। समस्या भइरहेको छ।’

दुनियाँदारकै विद्यार्थी

राजा रजौटा र तीनका आसेपासेका सन्तानका लागि अङ्ग्रेजी सिकाउन स्थापना भएको स्कुलमा आज जनताका छोराछोरी पढ्छन्। तर समय ठ्याक्कै उल्टो छ।

हिजो वरिष्ठहरूका सन्तान पढ्ने विरासत बोकेको स्कुलमा आज निम्नवर्गका विद्यार्थीको वर्चस्व छ। ती निम्नवर्गीय विद्यार्थीलाई सङ्ख्यामा पछ्याउँदै आउँछन् बाल आश्रमका नानीबाबुहरू। हाल १०० भन्दा बढी बाल मन्दिरका बालबालिका छन् भानु माविमा।

६ सयको हाराहारीमा विद्यार्थीहरू रहेको भानु माविमा स्थानीय व्यवस्थापन समिति बने पछि भने स्थानीय विद्यार्थी बढेका छन्।

‘स्थानीय विद्यार्थीहरू केही आएका छन्।उनीहरू पहिला बोर्डिङ  स्कुलमा पढ्थे,’विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  गोपाल महर्जन भन्छन्‘तर, स्थानीय भए पनि बढी जसो विद्यार्थी निम्न वर्गकै छन्। मध्यमवर्गका केही विद्यार्थी छन्।’

७५ प्रतिशत विद्यार्थी निम्नवर्गकै छन्। २ प्रतिशतको हाराहारीमा स्थानीय विद्यार्थी थपिएका छन्। २३ प्रतिशत मध्यम वर्गीय विद्यार्थीको वर्चस्व छ भानु माविमा। 

पुनर्निर्माण पछि सुविधा सम्पन्न भवन बन्यो। त्यसले सुविधालाई विस्तार गर्यो। बालबालिकालाई खुला खेल्ने, झुम्ने र रम्ने वातावरण बनायो। त्यसकारण पनि निम्न र मध्यम वर्गका विद्यार्थीको चाप बढ्दै गएको महर्जनको तर्क छ।

‘सुविधा धेरै छ विद्यालयमा। विद्यार्थीलाई आरामले पढ्न पाउने वातावरण छ। सरसफाइ पनि छ। खेल्ने, सिप विकास गर्ने वातावरण स्कुलमा बनेको छ। त्यसले गर्दा आकर्षण चैँ भएको छ विद्यार्थीको,’महर्जन भन्छन्‘तर तीनको इन्ट्रेस जोगाइराख्न र अभिभावकको मन जित्न हामीले धेरै सुधार गर्न पर्ने छ।’

आफ्नै विद्यार्थी उत्पादनमा जोड

भानु माविले आफूलाई अब्बल स्कुलको दर्जामा दह्राउन प्राथमिक तहबाट  नै अङ्ग्रेजी प्रणालीमा पठनपाठन सुरु गरेको छ। सरकारी विद्यालयमा अङ्ग्रेजीमा शिक्षा त्यो पनि कम शुल्कमा। अभिभावक तान्ने मन्त्र यही हो भानु माविको।

यस भन्दा अघि निःशुल्क पठनपाठन गर्दा अभिभावकको विद्यार्थी प्रति चासो कम भएका कारण विद्यालयले हरेक विद्यार्थीलाई ५ सय रुपैयाँ मासिक शुल्क तोकेको छ।

शुल्क तिर्न थाले पछि अभिभावको उपस्थिति स्कुलमा बढ्न थालेको अनुभव सुनाउँछिन् भानु माविकी प्रधानाध्यापक शारदा पौड्याल।

‘पैसा तिरे पछि अभिभावक जिम्मेवार भएका छन्’शारदा भन्छिन्‘बाहिरका विद्यार्थीलाई आकर्षण गर्न सस्तोमा गुणस्तरीय शिक्षाको अवधारणमा हामी अघि बढी रहेका छौँ। र हामी आफै पनि विद्यार्थी उत्पादनमा लागि परेका छौँ।’

मासिक ४ हजार तीन सय रुपैयाँमा भानु माविले मन्टेस्वरी कक्षा सञ्चालन गरिरहेको छ। जसमा स्थानीय बालबालिकाको वर्चस्व रहेको बताउँछन् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महर्जन।

‘चिने जानेका साथीभाइकै छोराछोरी छन् मन्टेश्वरीमा’महर्जन भन्छन्‘स्थानीयका छोराछोरीलाई सानैबाट चित्त बुझ्दो गरी पढाउन सक्दा हाम्रो आफ्नै विद्यार्थी पनि उत्पादन भयो। र बाहिरी विद्यार्थीलाई पनि स्थानीय पनि पढ्छन् भनेर आकर्षित गर्न सकिन्छ।’

हाल भानु माविको मन्टेश्वरीमा १९ जना विद्यार्थी रहेका छन्।

प्रविधि छ तर जनशक्ति छैन

विद्यालयलाई चीनले चिटिक्कको त बनाइदियो हेर्दा तर ती विद्यालयमा प्रयोग भएका प्रविधि र सुविधालाई भरपुर प्रयोग गराउन सक्ने दक्ष जनशक्तिको भने कमी भएको बताउँछिन् भानु माविकी प्रधानाध्यापक पौड्याल।

‘हामी प्रविधि मैत्री भइसकेका छैनौँ। सिक्दै छौ,’ पौड्याल भन्छिन्‘शिक्षकहरू कम छन्। पुराना पुस्ताका शिक्षकलाई प्रवधीमैत्री बनाइहाल्न सहज छैन। नयाँ पुस्ताका जनशक्ति चाहिएको छ। थप्न आफ्नो स्रोत छैन।’

पहिला  भानु माविका १६ वटा सटर भाडामा थिए। त्यसले स्कुलको आर्थिक भार कम गर्थ्यो। तर भूकम्प पछि भवन भत्कियो। नयाँ बनेको भवनमा दुई वर्षसम्म कुनै व्यापारिक गतिविधि नगराउने सर्त भएको बताउँछन् व्यवस्थापन समितिका अध्यक्ष महर्जन।

महर्जनको व्यवस्थापन आउनु अघि ५४ जना विद्यार्थी थिए स्कुलमा। तर करारमा अनावश्यक कर्मचारीको वर्चस्व थियो। त्यतिबेला सटरबाट उठेको भाडा सङ्कलन हुन सकेन। जसकारण स्कुल नयाँ जनशक्ति थप्न सक्ने अवस्थामा नभएको दाबी गर्छिन् प्रधानाध्यापक पौड्याल।

‘जगेडा कोषको पैसा पुराना अनावश्यक कर्मचारीलाई नियमपूर्वक बिदाइ गर्नमा सकियो,’उनी भन्छिन्‘माली, सूचिकार, कुचीकार लगायत धेरै मान्छे थिए पहिला। सटरको आम्दानीले तीनलाई पाल्ने गरेका रहेछन्। कति कर्मचारीलाई त स्थायी बराबरकै सुविधा दिने सम्झौता गरेका रहेछन्। त्यसले जगेडा कोषमा भएको करिब डेढ करोड रुपैयाँ झारेर हाल ४४ लाखमा आइपुगेको छ। त्यो पैसा चलाउन मिल्दैन। भवन छेउछाउ कतै भाडामा दिन पनि मिल्ने अवस्था छैन। आम्दानी नहुँदा जनशक्ति थप्न निजी सङ्घसंस्थाको मुख ताक्दै छौँ। ’

चीन सरकारले स्कुललाई सुविधा सम्पन्न साइन्स ल्याब, लाइब्रेरी, पढाउने डिजिटल बोर्ड, कम्प्युटर ल्याब लगायतका बस्तु प्रदान गरेको छ। तर ती सामाग्रीको प्रयोग गर्न मात्र होइन तीनको संरक्षण गर्न पनि विद्यालय चुकेको देखिन्छ।

यसो भनिरहँदा स्कुलले रोवटिक्सको क्लास सञ्चालनमा ल्याएको छ। अतिरिक्त क्रियाकलापलाई पनि स्कुलले प्राथमिकतामा राखेको छ। जसले भोलिका दिनमा दक्ष जनशक्ति उत्पादन गराउन सक्ने प्रधानाध्यापक पौड्यालको दाबी छ।

‘चुनैतीहरुका वावजुत पनि हामीले रोवटीक्स क्लास ल्याएका छौँ। यसले हाम्रा विद्यार्थीलाई प्रविधिसँग नजिक बनाउने छ। रचनात्मक बनाउने छ,’पौड्याल भन्छिन् ‘नाचगान, सङ्गीत, खेलकुद लगायतका धेरै रचनात्मक काम हामी ल्याउँदै छौँ। त्यसले विद्यार्थीमा थप आकर्षण ल्याउने छ।पढाइमा त हामी सुधार गर्दै छौँ। गरी नै रहन्छौँ’

व्यवस्था र अवस्था फेरियो नियति उस्तै

विद्यालय व्यवस्थापन समिति फेरियो। विद्यालयको भौतिक संरचना पनि फेरियो तर शिक्षाको गुणस्तरमा भने धेरै फरक गर्न सक्ने अवस्था बनी नसकेको बताउँछन् भानु माविका व्यवस्थापन समितिका अध्यक्ष गोपाल महर्जन।

‘हाम्रो आफ्नो आम्दानीको स्रोत नहुँदा हामीले गर्न चाहेको जसरी कक्षा सञ्चालन गर्न सकिरहेका छैंनौं। विद्यार्थीलाई जीवन उपयोगी शिक्षामा जोड दिने हाम्रो उद्देश्य छ,’महर्जन भन्छन्‘ हामीसँग आम्दानीको स्रोत हुने हो भने हाम्रा विद्यार्थीलाई अझ सहज वातावरण बनाउन सक्छौँ।’

महर्जनका अनुसार अङ्ग्रेजी माध्यमबाट मात्र पढाउँदा पनि समस्या छ। नेपाली र अङ्ग्रेजी माध्यम गरी एकै कक्षालाई दुई सेक्सनमा बाढ्नु पर्ने अवस्था छ। विद्यार्थीको वर्गीय अन्तरका कारण पनि अनुशासनमा राख्न र उनीहरूबिच समानता ल्याउन स्कुललाई चुनौती छ। त्यसले शैक्षिक गुणस्तरमा तुरुन्तै नतिजा देखाउन सक्दैन।

‘शिक्षा गुणस्तर पहिले भन्दा राम्रो छ। तर हामीलाई सहज भने छैन,’महर्जन भन्छन्‘धेरै निम्नवर्गका विद्यार्थी छन्। तीनहरू र अन्यबिच वर्गीय समानता ल्याउनु नै चुनौती छ। त्यसले सिकाइमा असर पार्छ नै। सिकाइमा असर परे पछि शिक्षामा पनि असर त पार्छ नै।’

धेरै क्षेत्रबाट आउने विद्यार्थीको आफ्नो हुर्काइ र संस्कारको प्रभाव स्कुललाई चुनौती भएको स्वीकार गर्छिन् विद्यालयकी प्रधानाध्यापक पौड्याल।

‘देशका धेरै क्षेत्रबाट विद्यार्थी आइरहेका छन्। सबैको आफ्ना आफ्ना विशेषता छ त्यसलाई सम्हाल्न सहज छैन’उनी भन्छिन्‘तीनलाई प्रविधि मैत्री बनाउन र हामी पनि प्रविधि मैत्री बन्न चुनौती छ। तीनमा समानताको भाव ल्याउन खेलकुद र अतिरिक्त क्रियाकलाप रोवटीक्स, कम्प्युटर ल्याब सञ्चालनमा  छन्। अब चाडै नृत्य, नाटक, सङ्गीत, खेलकुद लगायतका रचनात्मक काममा प्रोत्साहन दिने सोचमा छौँ। ताकी पढाई त छदै छ सीपमूलक जनशक्ति पनि उत्पादन होस्।’

सोचाइ अनुसार काम गर्न भने आर्थिक अवस्थाले रोक्ने उनको तर्क छ। पौड्यालका अनुसार गुणस्तरीय शिक्षा दिन गुणस्तरीय जनशक्ति चाहिन्छ। र गुणस्तरीय जनशक्ति सस्तोमा सजिलै पाइँदैन।

‘आज हामीसँग भवनकै कारण विद्यार्थी बढेका छन्। भोलि शिक्षाको गुणस्तरका कारण घट्ने दिन आउन नदिने नै हाम्रो लक्ष्य हो।’ पौड्यालले उकेरासँग भनिन्।

भवनले आकर्षण ल्यायो तर मेन्टेनेन्समा समस्या 

चिटिक्कको भवनले अभिभावक र विद्यार्थीमा आकर्षण  बढाए पनि ती संरचनालाई जोगाइ राख्नु विद्यालयलाई अर्को चुनौतीको विषय हो।

‘भवन त बलियो होला। तर भवन भित्रका सामान गतिला छैनन्’ प्रधानाध्यापक पौड्याल भन्छिन्‘ कमसल छन् सबै सामाग्रीहरू। नङले उप्काउन मिल्ने झ्याल ढोका छ। बच्चाहरू खेल्दा पल्टियो भने फुक्लने बेन्च छन्।’

चीनले हस्तान्तरण गरेको धेरै जसो समान बिग्रन सुरु गरिसकेका छन्। तीनको मर्मत गर्न विद्यालयसँग आम्दानी छैन।  राज्य तहबाट नयाँ भवनलाई मेन्टेनेन्स खर्च ल्याऊ भन्ने अवस्था पनि नभएको बताउँछिन् प्रधानाध्यापक पौड्याल।

‘हेर्दा राम्रो छ बाहिरबाट। त्यही भवनले मान्छे तानिरहेको छ। कोरोना भन्दा केही महिना अघि मात्र हामीले लिएका हौँ भवन। अहिले नै भित्ताहरू  मैला हुन थालिसके। त्यही पनि बिस्तारै बिग्रँदै जान थालिसक्यो फर्निचर र भौतिक शिक्षण सामाग्री। तीनलाई जोगाई राख्नै पनि ठुलो चुनौती छ,’उनी भन्छिन्‘शैक्षिक गुणस्तर बढाउन भए जति स्रोत प्रयोग गरिहाल्न पनि सम्भव भइरहेको छैन। तर त्यसो नगरी पनि भएको छैन। नत्र त भवन नयाँ भएर मात्र स्कुल नयाँ कसरी हुन्छ र?’पौड्याल सोचमा छिन्।

दुई विद्यालय एकै ठाउँमा,ठाउँकै अभाव 

भानु मावि  र संस्कृत मावि गरेर १ हजारको सङ्ख्यामा विद्यार्थीहरू रहेका छन्। दुई विद्यालय एकै भवनमा कुनै बार बन्देज बिना हुदा धेरै समस्या आउने बताउँछन् संस्कृत माविका प्रधानाध्यापक शिव अधिकारी।

‘फोहोर दुवै तीरका बच्चाले गर्छन्। कसले सफा गर्ने? बार बन्देज छैन। तोडफोड गर्देलान् कसले जिम्मा लिने?’अधिकारी भन्छन्‘ट्वाइलेट हेर्दा राम्रो देखिन्छ तर कमसल छ। फर्निचर त्यस्तै कमसल छ। यसो बलले छोयो भने बिग्रन्छ। यस्तो संरचना छ। अनि दुई तीरका विद्यार्थीले एकलाई अर्कोले नर्टेदा कस्तो हाल होला?’

विद्यार्थीबिच झैँ झगडा हुने सम्भावना पनि हुने अधिकारी बताउँछन्। विभिन्न पृष्ठभूमिका विद्यार्थीलाई अनुशासनको दायरामा ल्याउनु नै अर्को चुनौती छ।

अधिकारीकै जस्तो समस्या आफ्नो तीर पनि भएको बताउँछिन् भानु माविकी प्रधानाध्यापक शारदा पौड्याल।

‘कता तीरका बच्चाले कुन बेला कता गएर के समस्या बनाउँछन् भन्ने पिर भइरहन्छ,’उनी भन्छिन्‘दुई विद्यालय एकै ठाउँमा हुनै हुँदैन। त्यसले दुवै तीर सिकाइमा समस्या ल्याउँछ। उल्भनहरु बढाउँछ।’

एक अर्काको विद्यार्थीका कारण दुवै विद्यालयलाई समस्या मात्र छैन। थप नयाँ विद्यार्थी भर्ना गर्न र कक्षाहरू विस्तार गर्न पनि समस्या भइरहेको छ।

‘अब हामी ११, १२ पढाउन थाल्छौँ। हामीलाई भइरहेको विद्यार्थीलाई सुविधाजनक रूपमा पठनपाठन गराउन समस्या भइरहेको छ ठाउँ नपुगेर’ भानु मावि कि प्रधानाध्यापक पौड्याल भन्छिन्‘चौथो तला सबै संस्कृतले लिएको छ। तीन वटा तलामा हरेकमा उसको दुई दुई कोठा छ।’

विद्यार्थी विस्तार गर्न ठाउँ नपुगेको गुनासो भानु माविको मात्र छैन। संस्कृत मावि पनि आफूलाई ठाउँ सानो भएका कारण विद्यार्थी भर्ना लिन नसकिरहेको दाबी गर्छ। 

‘ठाउँ नै छैन। मान्छे धेरै छन् पढ्न आउने’संस्कृत माविका प्रधानाध्यापक  शिव अधिकारी भन्छन्‘ पढ्छु भन्नेलाई सीमित सिटमा मात्र पढाउँछौँ। सिट छैन भन्नु परेको छ। ठाउँले त निकै असहज बनाइ रहेको छ।’

व्यवस्थापक भन्छन् ‘संस्कृत मावि मर्ज  हुनुको विकल्प छैन’

दुवै विद्यालयको समस्यालाई नियाली रहेका जनप्रतिनिधि तथा दुवै विद्यालय व्यवस्थापन समितिका सदस्य परवेश मान बज्राचार्य एकै स्थानमा दुई स्कुल हुन नै नहुने तर्क गर्छन्।

उनका अनुसार संस्कृत मावि भानु माविको भवनमा बसेको हो। त्यसैले कि संस्कृत मावि भानु माविमा गाभिनु पर्छ कि अन्तै ठाउँ खोज्नु पर्छ।

‘कि संस्कृत मावि भानुमा मर्ज  हुन पर्यो। होइन भने संस्कृत माविले आफ्नो छुट्टै ठाउँ खोज्न पर्यो,’बज्राचार्य भन्छन्‘दुवै स्कुलमा एक अर्कालाई समस्या भएको देखिरहेको छु।  कि बार बन्देज लाउन पर्यो। त्यसो गर्ने भए हिजो बनाउँदै गर्थ्यो होला। अब त्यो पनि उपाय ठिक नहोला।’

२१ पुस, २०७८, ११:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।