क्या दशा ! बाबुको दाहसंस्कार गर्न शवसँगै हिँडेका पशुपति सात छिमेकीसँगै आफैँ शव बने

क्या दशा ! बाबुको दाहसंस्कार गर्न शवसँगै हिँडेका पशुपति सात छिमेकीसँगै आफैँ शव बने
विकको घर र दुर्घटनास्थल । तस्बिर : विकाश पराजुली

बुटवल : बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानिगञ्ज समावेशी टोलका वीर बहादुर विकको शनिवार साँझ मृत्यु भयो। विक गत वैशाखदेखि बिरामी थिए। उनलाई प्रेसरले हानेर प्यारालाइसिस भएको थियो।

शनिवार साँझ मृत्यु भएपछि परिवारको सल्लाहमै आइतबार बिहान शव लैजाने निर्णय भयो। केही छिमेकीले मगरघाट बुटवलमै दाहसंस्कार गर्ने भने पनि परिवारका सदस्यले अन्तिम संस्कार रिडीमा होस् भन्ने चाहे। अनि शव रिडीमै लैजाने निर्णय भयो।

बिहान सवा ६ बजे लु २ ख ७२७९ नम्बरको बसमा शव राखेर मलामीहरू रिडी लागे। रिडी नपुग्दै पाल्पाको रिब्दिकोट गाउँपालिकामा लगुवामा बस दुर्घटनामा पर्यो। दुर्घटनामा वीर बहादुरका छोरासहित ८ जना मलामीको मृत्यु भयो।

दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। बसमा कुल ३५ जना मलामी हिँडेका थिए। दुर्घटनामा परेर बाँचेका रानिगञ्जका थम्मन पचभैया ओरालोमा ड्राइभरले ध्यान नदिँदा दुर्घटना भएको बताए। बुटवलबाट बस हिँडेपछि उकालो लाग्नासाथ ड्राइभरले बसलाई सहज रूपमा नचलाएको उनले बताए।

 ‘लगुवाको ओरालो लाग्नसाथ ड्राइभर आत्तियो। चिसो भएकाले पनि उसले गाडी कन्ट्रोल गर्न सकेन। घटनास्थलमा गाडी निकै दौडियो। ड्राइभरले पछाडिको भाग कुनामा ठोकेर सिधा भयो। अनि गाडी तल झरेको हो,’ उनले भने।

उनले आफू अगाडिको सिट समातेर बसेका कारण गाडीसँगै २ सय मिटर तल पुगे पनि केही नभएको उनले बताए।

‘ड्राइभरले पहाडमा गाडी चलाएको रहेनछ। ओरालोमा आत्तियो। अनि घटना घट्यो’ ३१ वर्षीय पचभैयाले भने। उनले गाडी तीव्र गतिका कारण दुर्घटना भने नभएको बताए। अहिले चालक फरार छ।

शोकमा छ रानीगञ्ज

उकेराकर्मी वीर बहादुर विकको घर रानीगञ्ज पुग्दा त्यहाँ सन्नाटा छाएको थियो। छरछिमेक ‘रे’ भन्दै विभिन्न अड्कलबाजी गरिरहेका थिए भने कतिपयले मलामी गएकाहरूसँग सम्पर्क गर्न खोजिरहेका थिए। वीर बहादुरको घरमा छोरीहरू र छिमेकी चुपचाप थिए।

‘यो गाउँ शोकमा छ। के यस्तो आई लाग्यो। यति नजिकै लगेको भए पनि यस्तो घटना हुँदैनथ्यो होला,’ छिमेकी सिर्जना शर्माले भनिन्।

पाल्पा प्रहरी कार्यालयका अनुसार दुर्घटनामा अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का २५ वर्षीय शङ्कर विक, सोही ठाउँकै ३६ वर्षीय मोहन कुँवर र २८ वर्षीय भोजेन्द्र बिक, बुटवल उपमहानगरपालिका–१९ का ३२ वर्षीय विजय थापा क्षेत्री, बुटवल–१७ का ३० वर्षीय पशुपति रसाइली र सोही ठाउँकै खुम बहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

पशुपति रसाइली वीर बहादुरका छोरा हुन। वीरबहादुरका ६ भाइ छोरामध्ये ५ जना दाहसंस्कारको लागि गएका थिए। शव लिएर गएका ३० वर्षीय छोरा पशुपति रसाइलीको मृत्यु भएको हो।

१८ पुस, २०७८, २०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।