माओवादी लडाकुका व्यथा : पार्टीले युद्धको मर्म त्याग्यो, हामीले पार्टी नै त्याग्यौं

माओवादी लडाकुका व्यथा : पार्टीले युद्धको मर्म त्याग्यो, हामीले पार्टी नै त्याग्यौं

इटहरी : भोजपुर, अरुण गाउँपालिका (साबिकको याकु गाविस) का राजन बराइली २०५७ सालदेखि माओवादी युद्धमा होमिए। सामाजिक विभेद सहेर लामो समय बस्न हुन्न भन्ने सोचेका उनले माओवादी युद्धलाई विकल्पको रुपमा देखे र १० वर्षे सशस्त्र युद्धको अग्रमोर्चामा खटिए।  

युद्धको क्रममा बाहुन र दलितबीच सामूहिक भोज चल्यो। त्यसको प्रत्यक्ष अनुभव गरिरहेका थिए बराइली। दलित पनि राज्यको उपल्लो तहमा पुग्छन् भन्ने विश्वासमा थिए उनी। जातीय मुक्तिको लागि जनयुद्ध अपरिहार्य भएको उनको बुझाइ थियो। त्यही बुझाइले उनलाई युद्धको अग्रमोर्चामा धकेल्यो।

२०६० साल माघमा भिडन्तको लागि तयारी भइरहेको थियो। कसलाई अगाडि बढाउने भन्नेमा कमाण्डारले निर्णय गर्दै थिए। भोजपुरको रिपिटर टावर आक्रमण गर्ने योजना बनिरहेको थियो। त्यही बेला बराइलीले आफू अगाडि बढ्ने निर्णय सुनाए। कमाण्डरले उनैलाई अग्रमोर्चाको जिम्मा दिए।

टावर आक्रमण भयो। दुवैतर्फ गोली हानाहान सुरु भयो। बारुदको धुवाँले झनै आक्रामक हुँदै गए उनी। दुवै खुट्टामा गोली लाग्दा समेत बन्दुक छाडेनन्। फलस्वरुप आक्रमण सफल भयो। उनी सफल योद्धाको रुपमा परिचित भए। कमाण्डरले धन्यवाद दिए। 

बन्दीपुर आक्रमणमा पनि उनको नाम अगाडि आयो। कुशल योद्धाको रुपमा परिचित भइसकेका उनी युद्धमा सामेल भए। युद्ध सोचेभन्दा लामो समय चल्यो। थकित हुँदै गएका राजनको ढाडमा गोली लाग्यो। घाइते भए पनि मैदान छाडेनन्। भिडिरहे। 

पछि उपचारको क्रममा उनको जिउमा निकै गहिरोसँग गोली भासिएको भेटियो। खासै समस्या नभएकाले गोली निकाल्न जरुरी ठानेनन् उनले। तत्काल निकाल्न खर्च र समय पनि नमिलेको उनले सुनाए। जिउमै गोली बोकेर काममा लागे। केही वर्षपछि गोली अड्किएको ठाउँ पोल्न र दुख्न थाल्यो। 

उपचारको लागि काठमाडौं नै जानुपर्ने भयो। मुलुकमा गणतन्त्र आइसकेको थियो। उपचार गराएर काठमाडौंमै रोजगारी गर्ने योजनामा थिए राजन। तर उनले सोचेजस्तो भएन। 

उनका अनुसार २०६९ साउन १ गते धादिङको कृष्णभीरमा बस दुर्घटना भयो। बसमा सवार ३६ जनाको मृत्यु भयो। ६ जना बेपत्ता भए। संयोगबस उनीसहित ५ सकुशल रहे। युद्धदेखि दुर्घटनासम्ममा उनी मृत्युको मुखबाट बाँचे।

राजन वीर अस्पतालमा भर्ना भए। दुर्घटनाको भन्दा युद्धको चोटले उनलाई पिरोलिरहेको थियो। अपरेसनको समय फिक्स भयो। नभन्दै अपरेसन सफल पनि भयो। ८ वर्षपछि जिउको गोली निकालेकोमा खुसी थिए राजन। तर उनको खुसी एक रातभन्दा बढी टिक्न सकेन। 

गोली त निस्कियो, तर गोली निकालेको भोलिपल्टदेखि उनको आधा शरीर चल्न छाड्यो। पुनः उनी डाक्टरकहाँ गए। डाक्टरले स्पाइनल कर्ड इन्जुरी भएको बताए। उनी छाँगाबाट खसेजस्ता भए। यसको एकमात्र उपचार ह्विल चेयर नै थियो।

जनयुद्धमा लागेको पार्टीको महाधिवेशन जारी छ। सरकारमा सहभागी दल पनि हो माओवादी केन्द्र। तर पार्टीले युद्धको मर्म छाडेपछि राजनले पनि पार्टी छाडिदिए। पार्टी धनीको हातमा परेको भन्दै उनले माओवादीले धोखा दिएको बताएका छन्। माओवादी पार्टी सानो हुँदै गए पनि उनको व्यथा भने ठूलो हुँदै गएको छ।  

युद्धमा होमिएका धेरै राजनहरु राहतको पर्खाइमै छन्। पार्टी सरकारमा भए पनि आफूहरु अल्पमतमा परेको उनको बुझाइ छ। ‘जसको लागि युद्धको अग्रमोर्चामा लडियो, तिनीहरु अहिले मन्त्री भएका छन्,’ राजन भन्छन्, ‘तर तिनीहरुकै लागि लडेको हो भन्दा पनि अहिले आत्मग्लानी हुन्छ।’

हिजो गणतन्त्रको लागि लडेको र अहिले ‘गणतन्त्र आएको छ’ भनेर चित्त बुझाउनु बाहेक केही नभएको उनी सुनाउँछन्। आम्दानीको लागी केही उद्यम पनि गर्न नसक्ने अवस्थामा पुगेको राजनले बताए। सिप सिक्नको लागि जिउ कन्ट्रोल नभएर समस्या हुने गरेको उनको भनाइ छ। 

‘हिजो मृत्युको दस्तावेजमा हस्ताक्षर गरेर हिँडेका मान्छे हौं। युद्धमा जाँदा सबैभन्दा अगाडि परिएन भने चित्त दुखाउने मै हुँ। किनकी, सबैलाई पहिलो सहिद हुने रहर हुन्थ्यो,’ राजन भन्छन्, ‘अहिले पनि दुनियाँ परिवर्तन भएको छैन। अहिले पनि महिला हिंसा छ। बलात्कार बढेको छ। जातीय विभेद जारी छ। पूँजीवादी र ठूला नेताको मात्र जीवनस्तर परिवर्तन भएजस्तो लाग्छ।’

राजनले युद्धकै क्रममा सञ्चिता श्रेष्ठसँग अन्तरजातीय जनवादी विवाह गरेका थिए। उनीहरुको युद्धकै क्रममा छोरा जन्मिए। सञ्चिता श्रीमानकै हेरचाहमा व्यस्त छिन्। हेरचाहका लागि जतिखेरै श्रीमानकै साथमा हुन्छिन् उनी। माओवादीले कार्यकर्ता र जनताको पक्षमा काम गर्न नसकेको भन्दै उनले पनि पार्टी परित्याग गरेकी छिन्।

१८ पुस, २०७८, १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।