'दहेज' कुर्दै राहतमा ठगिएकी आमा

'दहेज' कुर्दै राहतमा ठगिएकी आमा

इटहरी: कोशीटप्पु वन्यजन्तु आरक्षबाट २ किलोमिटरको दूरीमा छ मोहम्मद बसिर मन्सुरीको घर। उनी आरक्षका वन्यजन्तुबाट पीडित कृषक हुन्। 

तर वन्यजन्तुप्रति उनको प्रेम कहिल्यै कमी भएन। जंगलमा खान नपाएर गाउँमा आएका वन्यजन्तुको पनि बचाउमै लागे उनी। 

हात्ती र अर्नाको आक्रमणले लामो समयदेखि पीडा पाएका उनका छिमेकी दुखी छन्। मन्सुरी भने वन्यजन्तुलाई चलाउन नहुने तर्क गर्छन्। 

तर मन्सुरी नै हात्तीको निशानामा परे। मृत्युको मुखमै पुगेर बचे। यद्यपि, उनको वन्यजन्तुप्रतिको प्रेममा कतै पनि कमी भएको छैन। 

यसरी परेका थिए आक्रमणमा
मकुना हात्ती आयो भनेर गाउँभरि हल्ला फैलियो। गाउँलेहरू हात्ती खेदाउन सडकभरि लाम भएर बसे। 

मन्सुरी भने हात्तीलाई चलाउन नहुने भन्दै घाम तापेरै बसे। गाउँलेको अवरोधले हात्ती गाउँबाट बाहिर निस्कन पाएन। 

स्थानीयले अन्यत्रै खेदाउन खोजेपछि हात्तीले सुड टाङ मुनी हाल्यो। हात्ती रिसायो। अरूले यो बुझ्दै बुझेनन्। खेदाउन छाडेनन्। 

मन्सुरी हात्ती हेर्न घरबाहिर निस्किए। टाढै थियो हात्ती। हेर्दाहेर्दै हात्ती पछाडि फर्कियो। उनी घरतिर भाग्न खोजे। कोशी कटानले थुपारेको बालुवामा भासिए। हात्तीले उनलाई भेट्यो। 

हात्तीले मन्सुरीलाई ५ फिट पर पुर्यायो। धन्न गाउँलेले उनको उद्धार गरे।  बचाए। सकुशल हात्ती हेर्ने गएका उनी चल्नै नसक्ने भए। त्यसपछि हात्ती आफ्नो बाटो लाग्यो। उनलाई अस्पताल लगियो। 

मन्सुरीको ढाडको हड्डी भाँचियो। खुट्टा चलाउनै नमिल्ने गरी थला परे उनी। एक महिनाको अस्पताल बसाइँपछि घर त फर्किए तर उनी दैनिकीमा फर्किन सकेनन्। 

अरू दुई महिना ओछ्यानमै आराम गरेपछि हिँडडुलमा निस्कन थाले। अहिले पनि खुट्टा झमझम गर्ने गरेको बताउँछन् उनी। त्यसको थप उपचार गर्दा खुट्टा नै नचल्न सक्ने डाक्टरले सुझाव दिएको पनि सुनाए। 

घाइते भएका मन्सुरी र उनको ढाडको एक्स-रे

वन्यजन्तुबाट गम्भीर घाइते भएकाको लागि आरक्ष प्रशासनले २ लाख क्षतिपूर्ति दिने व्यवस्था गरेको छ। तर उनको उपचारमा ५ लाख बढी खर्च भयो। 

विभिन्न प्रकृया पुर्याएपछि मात्र रकम त पाए तर त्यसले उपचार खर्च पुगेन। सरकारलाई धेरै घाटा लगाउने मनसाय नभएको सुनाउँदै उनले बाचेकोमै धन्य भएको बताए। 

'हात्तीको आक्रमणबाट बच्नु मेरो दोस्रो जुनी हो। अल्लाहले मेरो लागि सहयोग गर्नुभयो। अहिलेसम्म बाँच्न पाएकोमै म यो प्रकृतिलाई धन्यवाद दिन चाहन्छु', उनले भने। 

पूजाको दुर्दशा
डेढ वर्षअघि पूजा सरदारले पनि यही दुर्दशा व्यहोरेकी थिइन्। आर्थिकरूपमा अत्यन्तै विपन्न परिवारकी पूजाको उपचार निकै सकसपूर्ण रह्यो। 

खान लाउनै गाह्रो पर्ने परिवारमा हात्तीले अर्को दशा थपिदिएको थियो। कोरोनाको पहिलो भेरियन्ट आएकै बेला उनी आक्रमणमा परिन्। 
लकडाउनको समयमा विद्यालय बन्द भएपछि गोरु चराउन कोशी किनारमा गएकी थिईन् पूजा। 

भदौको पारिलो घाम छल्न रुखको छहारीमा साथीहरूसँगै थिइन् पूजा। सबै आआफ्नै धुनमा थिए। त्यही बीचमा हात्ती आएको चाल पाएर साथीहरू भागे। पूजा पनि अगाडि थिइन्। 

हात्तीले अरू कसैलाई केही गरेन। निकै टाढा भएकी उनीमाथि आक्रमण गर्यो। 

पूजाका अनुसार धेरै पटक हात्तीले लात्ती हान्यो। तर लागेन। कुल्चिन खोज्यो। तर भिरालो जमीन भएकाले आफू पल्टिँदै भागेको उनले सुनाइन्। 

'धेरै रिसाएर अगाडिको लात्तीले हानेर पर पुर्यायो। साथीहरू सबै भागिसकेका थिए। मलाई मात्र हात्तीले लखेट्यो', उनले भनिन्। कोरोनाको समय भएकाले अस्पतालले पनि भर्ना गर्न आनाकानी गर्यो । ढाड भाँचिएको भनेपछि बल्ल उपचार पाएको उनले बताइन्। 

घरमा भएको सम्पत्ति एकहल गोरु बेचेर पूजाको उपचार गरेको आमा सुनरीदेवी सरदार बताउँछिन्। दुई लाख पाइने कानून हुँदाहुँदै आरक्षले एक लाख १२ हजार मात्र दिएको उनको दुखेसो छ। आरक्षले उनको घाउमा नुन दलेको छ। 

पूजा अहिले ९ कक्षामा पढ्छिन्। आर्थिक अभावले थलिएको परिवारलाई उनको उपचार गर्न ठूलो संकट छ। 

छोरी बढेसँगै विवाह र 'दहेज'को समस्याले झनै पिरोलिएकी छिन् सुनरीदेवी। अरू ४ छोरीको विवाहमै ऋण लिएर कङ्गाल भएकी सुनरीदेवीको आशाको केन्द्रमा छन् दुई छोरा। उनीहरूले दहेज ल्याए केही राहत मिल्ने उनको बुझाइ छ।

स्थानीयमा त्रास

सरदार र मन्सुरी परिवारमा मात्र होइन हात्ती र अर्नाको आक्रमणले आरक्ष आसपासका थुप्रै स्थानीयमा पीडा भएको छ। 

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा कुनै पनि प्रगति नभएपछि वन्यजन्तुको आक्रमण बढ्दै गएको हो। आरक्ष प्रशासनका अनुसार आर्थिक वर्ष ०७०÷०७१ देखि ०७७÷०७८ सम्ममा हात्तीको आक्रमणले ३३ जना घाइते भए भने १५ जनाको मृत्यु भयो। 

सोही समयमा अर्नाको आक्रमणमा परी ४३ घाइते भए भने ३ जनाको मृत्यु भयो। 

उता आरक्ष कार्यलयका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले भने क्षति कम गर्ने कामलाई अगाडि बढाएको बताए। तथ्याङ्कमा बढ्दै गएको देखिए पनि उनले प्रभावकारी कार्यान्वयनमा जोडदिने बताएका हुन्। 

राज्यले तोके बमोजिम नै क्षतिपूर्ति दिएको स्मरण गराउँदै खतिवडाले थप खर्चको लागि अस्पतालमा समन्वय गर्ने, राज्यका निकायमा जानकारी गराउने काम गरिएको प्रष्ट पारे। 

१८ पुस, २०७८, १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।