लुम्बिनीका लोभी सांसद: अर्बौंका मालिक, तर छोड्दैनन् १५ हजार घरभाडा

लुम्बिनीका लोभी सांसद: अर्बौंका मालिक, तर छोड्दैनन् १५ हजार घरभाडा

बुटवलः लुम्बिनी प्रदेश सभाका सांसद वीरेन्द्रकुमार कानोडिया चिनी उद्योगी हुन्। कानोडियाको सर्लाहीमा महालक्ष्मी सुगर मिल छ। कपिलबस्तु क्षेत्र नं. ३ (ख)का सांसद उनी कांग्रेसका संसदिय दलका नेता पनि हुन्। 

बलियो आर्थिक हैसियतका कानोडियाले सामान्य उपचारको बिल भर्पाईसँगै प्रदेश सभाबाट घरभाँडा बापतको रकम मासिक १५ हजार पनि बुझ्दै आएका छन्।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ५ (५) अनुसूची १ को क्र.सं. ३ बमोजिम आवास सुविधा वापत प्रति महिना १५ हजार दिने व्यवस्था छ। यही ऐनअनुसार कानोडियाले मासिक घरभाडा बापत १५ हजार बुझेका हुन्।

प्रदेश सभाका करोडपति नेतादेखि उद्योगी–व्यापारीसम्मले यस्तो सुविधा त्याग्ने हिम्मत देखाएका छैनन्। उनीहरूलाई ‘लाज’ पनि लागेको छैन।

दाङका समानुपातिक सांसद अर्जुनकुमार श्रेष्ठ कपडा व्यापारी हुन्। घोराहीमा उनको कपडा पसल छ। मासिक लाखौँ कमाउँछन्। तर श्रेष्ठले पनि प्रदेश सभाबाट घरभाँडाका नाममा मासिक १५ हजार बुझ्दै आएका छन्।

०७७-०७८ मा ६९ सांसदले लिए घरभाँडा
कानोडिया र श्रेष्ठ त प्रतिनिधि मात्र हुन्। आर्थिक वर्ष ०७७÷०७८ मा लुम्बिनी प्रदेश सभाका ६९ सांसदले घरभाँडा बापतको रकम बुझेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले बताए।

यीमध्ये दृगनारायण पाण्डे, अमरबहादुर डाँगी क्षेत्री र दिनेश पन्थीले पदमा बहाल रहँदासम्मको भुक्तानी लगेका छन्। उनीहरू तीनै जनाले प्रदेश सभा सदस्यबाट राजीनामा दिइसकेका छन्। 

पाण्डे राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित भएका हुन् भने डाँगी मुख्यमन्त्री कुलप्रसाद केसीका राजनीतिक सल्लाहकार हुन्।

त्यस्तै विजयबहादुर यादव, कमला पाण्डले मन्त्री पदमा बहाल नहुँदा सम्मको भुक्तानी लिएका छन्। सांसद आरती पौडेलले मन्त्री पदबाट हटेपछि भुक्तानी लिएकी छिन्। चेतनारायण आचार्यले मन्त्री पदमा बहाल नहुँदासम्मको रकम लगेको उनले बताए। 

यस्तै धर्मलाल श्रीवास्तव, हरि रिजाल र सुमन शर्मा रायमाझीले मन्त्री पदमा बहाल नहुँदासम्मको भुक्तानी लगेका छन्। अहिलेका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्री पदमा रहँदासम्म भुक्तानी लिएका छैनन्। सांसद सुदर्शन बरालले मन्त्री पदमा हुञ्जेल भुक्तानी लिएका थिएनन्।

यी बाहेक ५७ जनाले मात्र मासिक १५ हजारका दरले आर्थिक वर्ष ०७७÷०७८ मा ८ लाख ५५ हजार रुपैयाँ घरभाँडा बापतको रकम बुझेको प्रदेश सभा सचिवालयले जनाएको छ। 

घरभाँडा बापत रकम लिने अन्य सांसदहरूमा सुरेन्द्रबहादुर हमाल, दामाकुमारी शर्मा, डिल्ली चौधरी, आशा स्वर्णकार, कमलराज श्रेष्ठ, पार्वती पुन, सहसराम यादव, निर्मला क्षेत्री, अजेय शाही, ईन्द्रप्रसाद खरेल, ईन्द्रजीत थारु, ईन्द्रप्रसाद खरेल, कविराम थारु, कुलप्रसाद पोख्रेल, कृष्णध्वज खड्का, कृष्णा केसी, खड्गबहादुर खत्री, गीता थापा, चिन्तावती कुर्मी, जाल्पा भुसाल, तारा जि.सी, तिलकराम शर्मा, तुलाराम घर्ती मगर, तेजबहादुर वली, थानकुमारी थापा हुन्।

त्यस्तै दिपेन्द्रकुमार अधिकारी, दिपेन्द्र पुन मगर, दिपेश थारु, दीपा वि.क., धमकली चौधरी, नारायणप्रसाद आचार्य, पुरनमान बज्राचार्य, पुर्मती ढेगा, फौजिया नसिम, बावुराम गौतम, वीरबहादुर राना, भगवतीदेवी भण्डारी, भुवनेश्वर चौधरी, माला गोतामे सुनार, याकुव अन्सारी, युवराज खनाल, रमा घर्ती, रामजीप्रसाद घिमिरे, रीना नेपाल वि.क, रुन्धावती शर्मा, रेवतीरमण शर्मा, लौटी थारु, विमलाकुमारी खत्री, विमला शर्मा पन्थी, शंकर गिरी, बैजनाथ कलवार, शान्तीदेवी स्वर्णकार, सरास्वती गौतम, सुनिता ठठेर र सुष्मा यादवले घरभाँडा बापत मासिक १५ हजार बुझेका छन्।

घर भएकाहरूले बुझ्छन मर्मतका नाममा रकम
प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ५ को संशोधित उपदफा ५ बमोजिम प्रदेश सभा अवस्थित जिल्लामा घर हुने पदाधिकारी तथा सदस्यहरूलाई आवास सुविधाको सट्टा घर मर्मत खर्चको रूपमा मासिक ७ हजार पाँच सय रुपैयाँ भुक्तानी प्रदेश सभाले दिँदै आएको छ। 

घरभाँडा लिन नमिल्ने रूपन्देहीका सांसदहरूले वर्षेनी मासिक ७ हजार पाँच सय बुझ्दै आएका छन्। यो रकम लिने सांसदहरू रूपन्देहीका प्रतिष्ठित घरानाका हुन्। उनीहरू ऐनले दिएको सुविधा त्याग नगरी लाजै नमानी रकम बुझ्दै आएका छन्।

प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीका अनुसार आर्थिक वर्ष ०७७÷०७८ मा घर मर्मतका नाममा मासिक ७ हजार ५ सय रकम लिने १४ सांसद छन्। 

जसमध्ये सन्तोषकुमार पाण्डेले मन्त्री पदमा बहाल नहुँदासम्मको भुक्तानी लगेका छन्। पाण्डेलाई जनता समाजवादी पार्टीले कारबाही गरी उनी पदमुक्त भइसकेका छन्।

दधिराम न्यौपानेले पदमा बहाल रहँदासम्मको भुक्तानी लगेका छन्। न्यौपाने एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गर्दै पदमुक्त गरेको थियो। 

सांसद भोजप्रसाद श्रेष्ठले मन्त्री पदमा बहाल नहुँदासम्म र लीला गिरीले मन्त्री पदबाट हटेपछिको भुक्तानी लगेको उनले बताए।

घर मर्मत सम्भारको रकम कपिलवस्तुबाट निर्वाचित नेकपा सांसद् विष्णु पन्थीले पनि बुझ्दै आएका छन्। कपिलवस्तु क्षेत्र नम्बर १ को (क)बाट निर्वाचित पन्थीको बुटवल– २ मा दुईतल्ले घर छ। उनले प्रदेश सभाबाट घर मर्मतका नाममा मासिक ७ हजार पाँच सय बुझ्दै आएका छन्। 

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले पनि  प्रदेश सभाबाट घर मर्मत खर्च बुझ्दै आएका छन्। उनको घर रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ८ मा छ। 

त्यसबाहेक सांसदहरू अष्टभुजा पाठक, कमलादेवी वि.क., कृष्णप्रसाद न्यौपाने, तुलसीप्रसाद चौधरी, पुष्पा थरुनी, भोजप्रसाद श्रेष्ठ, रमा अर्याल, लीला गिरी, वसीरुद्दिन खानले पनि घर मर्मत खर्च बुझ्ने गरेका छन्।

राजनीतिमा नैतिकता हुन्छ, नेताले देखाउनुपर्छ
सुशासनविद् खेमराज रेग्मी राजनीतिमा नैतिकता हुने र त्यो नैतिकता नेताले देखाउनुपर्ने बताउँछन्। कानूनले दिएको अधिकार नल्याउनु भन्न नमिल्ने भए पनि नैतिकता र लज्जा नेतामा हुनुपर्ने उनको भनाइ छ।

‘कानून बनाउने, कार्यान्वयन गर्ने उहाँहरूले नै हो। तर कानूनले दिएको भन्दै हुनेखानेले नैतिकता बिर्सन हुँदैन। राजनीतिमा नैतिकता, लोकलज्जा हुन्छ। यो ख्याल गरिएन भने जनताले दण्डित गर्छन, नागरिक समाजले दण्डित गर्छ’, उनले भने।

१८ पुस, २०७८, ०८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।