'९९ प्रतिशत गीतकार अभावमा छन्, १० पुस्तापछि पनि उनीहरूको अवस्था फेरिँदैन'

'९९ प्रतिशत गीतकार अभावमा छन्, १० पुस्तापछि पनि उनीहरूको अवस्था फेरिँदैन'

सक्रिय संगीत उत्पादक तथा वितरक हुन्- सुवास रेग्मी। गीत-संगीतकर्मीको पक्षमा आवाज उठाउँदै आएको बताउने रेग्मी खरो वक्ताका रूपमा पनि परिचित छन्। 

कुनै समय रोयल्टी संकलन समाजमा नेतृत्त्व समेत गरिसकेका रेग्मीसँग उकेराकर्मी ईश्वरकुमार मैनालीले मलाई मन पर्छ स्तम्भका लागि रेग्मीलाई मन पर्ने गीतकार र नेपाली गीतकारको अवस्थाको बारेमा गरेको कुराकानीको सम्पादित अंश: 

नेपालमा धेरै राम्रा स्रष्टाहरू जन्मिए। तर, तिनले नेपाली माटोलाई आफ्नो सृजनाबाट दिएको योगदानको भने कदर हुनसकेन। चाहे राष्ट्रकविको सन्दर्ममा होस् वा युगकविको। या, अन्य कनिष्ठदेखि वरिष्ठ कवि, गीतकार, लेखकका सन्दर्ममा होस्।

नेपाली कला साहित्यमा ती मुर्धन्य स्रष्टाको योगदानको कदर हुन नदिने तत्व, ती सर्जकका सृजनालाई प्रस्तुत गर्ने प्रस्तोता नै हुन् भन्ने मैले निष्कर्ष निकालेको छु।

सर्जकका हकहितका लागि देशमा प्रतिलिपि अधिकारको कानून छ। तर प्रतिलिपि अधिकारको कानूनले हाम्रा प्रस्तोताहरूलाई छुनै सक्दैन। प्रस्तोताहरूले प्रतिलिपि अधिकारको धज्जी उडाइरहेका छन्। 

यसै कारण सर्जक सधैँ अभावमै बसिरहनु पर्ने अवस्था छ। उनीहरूको सृजनालाई प्रस्तुत गर्ने प्रस्तोता चाहिँ चिल्ला गाडीमा त्यही सर्जकलाई धुँवा खुवाउँदै हिँड्ने अवस्था छ।
०००
कुनै पनि सृजनाले त्यत्तिकै आकार लिँदैन। एउटा सृजना बजारसम्म पुग्दा धेरै चरण पार गरेको हुन्छ। जसमा लगानीकर्ताको पैसा जान्छ। सर्जकहरूको सृजना र समय। 

दिनेश अधिकारीको 'यो सम्झिने मन छ' बोलको गीत त यो समाजले नारायण गोपालको गीत भन्छ नि! तर यो गीत अधिकारीको पो हो त।

तर बजारले भने 'फलानो गायक, गायिकाको गीत' भन्छ। यस्तो गैरन्यायिक क्षेत्रमा रहेर पनि नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय बजारमा लानुपर्छ भनेर लागिपर्ने केही व्यक्तिहरू हुनुहुन्छ। तीमध्ये गिनिज वर्ल्ड रेकर्डमा धेरै पटक नाम राख्न सफल डा. डी आर उपाध्याय मलाई मन पर्ने गीतकार हुन्।

एक सच्चा गीत-संगीत प्रेमीका लागि गीतकार, संगीतकार, प्रड्युसर कसैको पनि हक सुरक्षित हुन नसकेको नेपाली म्युजिक इण्डस्ट्रीमा आफ्नै लगानीले विश्वका १२ भाषामा एकै पटक ६ एल्बमका ३६ गीत सार्वजनिक गर्ने गीतकारभन्दा राम्रो अरू को हुन सक्छ?

नेपाली गीत-संगीतसँग जोडिएर ८० भन्दा बढी विश्व रेकर्ड राख्नु, सानो कुरा होइन नि! नेपाली गीत विश्व रेकर्डमा बस्नु त हाम्रो कालखण्डकै राम्रो सुरुआत हो। 

यसले भोलिका दिनलाई सुनौलो बनाउन सक्छ।
०००
मान्छेलाई कोही मनपर्नुका पछाडि धेरै कारण हुन सक्लान्। मलाई उपाध्यायको नेपाली गीत-संगीतप्रतिको प्रेम र उहाँको समर्पण मनपर्छ। उहाँका गीतहरू पनि राम्रा छन्। शब्द शिल्पी गजब छ। 

वर्ल्ड रेकर्डमा नेपाली गीतलाई सूचीकृत गराएपछि उहाँका गीत गाएर फेसबुकमा विश्व कीर्तिमानको सर्टिफिकेट टाँस्ने लोभले धेरै गायक गायिका उहाँका पछि छन्।

खास स्रष्टाहरूले प्रस्तोताहरूलाई घिसार्नु पर्ने बाटो चाहिँ यस्तै थियो। स्रष्ठाहरूले गर्नुपर्ने नेतृत्त्व पनि यस्तै हो। सामाजिक रूपान्तरण, आचरण परिवर्तनका लागि डा उपाध्यायले खनेको बाटो सहि छ। यसले हाम्रा प्रस्तोताको दादागिरीलाई लगाम लगाउन सक्छ।
०००
कुनै पनि मान्छे क्रियाशील र क्रियटिभ बन्न खोज्नुको कारण हो- मान सम्मान। योसँगै जोडिएर आउँछ- पैसा। 

तर नेपाली कला, साहित्य र मनोरञ्जनको क्षेत्र यस्तो छ- जहाँ न सम्मान छ, न कसैले कसैको अस्तित्व स्वीकार्छ। न प्रेमानुभूति छ, न धार्मिक नै छन्। न आचारणशील छन्।

स्वार्थै स्वार्थले जेलिएको समग्र संगीत क्षेत्रको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय स्तरमा हाम्रो सृजना लाने मान्छेलाई छायामा पार्नु हुँदैन। उपाध्याय जस्ता अरू पनि सर्जक हुनुहुन्छ होला। सबैलाई सम्मान र उचित स्थान दिन हामी चुक्नु हुँदैन।
०००
हाम्रो समाजमा रचनाभन्दा पनि व्यक्तिले फरक पार्ने प्रचलन छ। जुन सरासर गलत हो। दिनेश अधिकारीको 'यो सम्झिने मन छ' बोलको गीत त यो समाजले नारायण गोपालको गीत भन्छ नि! तर यो गीत अधिकारीको पो हो त। अधिकारीको गीत नारायण गोपालले गाएका हुन्। 

रचनाले फरक पार्ने समाजको निर्माणमा पनि कला साहित्य मनोरञ्जनमा लाग्नेले सोच्ने बेला आएको छ।
०००
गीतकारको कुरा गरिरहँदा हामीसँग टाइपटाइपका गीतकार छन्। कोही अरूका सृजनालाई पैसा तिरेर आफ्नो नामको बनाउँछन्। र म फलानो गीतको रचनाकार भन्दै छाती फुलाउँदै हिँड्छन्। 

गीतले गायकलाई डोहोर्याउनु पर्नेमा गायकले गीतलाई डोहोर्याएपछि गीतकार त मर्कामा पर्ने नै भए नि। यस्तै हाल रहे १० पुस्तासम्म पनि हाम्रा गीतकारको अवस्था फेरिँदैन। 

कोही पुस्तकका लागि गीत लेख्छन्। तर, तिनको पुस्तक न कसैले छाप्दिन्छ, न कसैले तिनका गीतमा संगीत र स्वर हाल्छन्। त्यस्ता गीतकार चाहिँ संगठनमा बसेर नेता बनेका छन्।

कोही गीतकार यस्ता पनि छन्, जो आफ्नै सृजना प्रस्तुत गर्ने प्रस्तोताले आफूलाई धज्जी उडाउँदा पनि ताली पिटेर बस्छन्। 

यस्ता गीतकारहरूको बीचमा कोही यस्ता गीतकार पनि छन्, जसले आफ्नै लगानीमा गीत बनाउँछन्। रेकर्डहरू राख्छन्। संगीत क्षेत्र चलायमान बनाउँछन्।

यसो भनिरहँदा हामीसँग राम्रा गीतकार छैनन् भन्ने होइन। छन् तर धेरै छैनन्। तीमध्ये केही गीत लेखेकै भरमा बाँचेका पनि  छन्। ९९ प्रतिशत गीतकारहरू अभावमा नै छन्। 

दुईटा गीत चले हाम्रा गीतकारमा अहङकारको सीमा रहँदैन। उनीहरूले आफ्नो रचनाको महत्त्व नै बुझ्न सकेका छैनन्।

पशुपतिको वृद्धाश्रममा बस्ने आमाहरू जस्तै हुन् हाम्रा गीतकार। आफ्नो छोरो देश-विदेश घुम्छ। रमाउँछ। कमाउँछ। तर आफू दुःखको जीवन बिताउँछन्। 

हाम्रा गीतकारको सृजनाले प्रस्तोता देश-विदेश घुम्छ। तर उनीहरूको उही दुखिया चाल। अरूले केही देला र खाँउला भन्नुपर्ने अवस्था। 

गीतकार त गीतको आमा हो। आमाले हो जन्म दिएको। गीतकारले हो गीत लेखेको। आमाको दुध चुस्नु पर्नेमा बाउको घुँडा चुसेर हुन्छ र? हुदैन नि! 

तर हाम्रा गीतकारले आफैंलाई चिन्न चाहेनन्। चाहनेहरूलाई टिक्न दिइएन पनि होला।

गीतले गायकलाई डोहोर्याउनु पर्नेमा गायकले गीतलाई डोहोर्याएपछि गीतकार त मर्कामा पर्ने नै भए नि। यस्तै हाल रहे १० पुस्तासम्म पनि हाम्रा गीतकारको अवस्था फेरिँदैन। 

सर्जकका दुःख त यस्तै हुन्। लगानीकर्ताको दुःख पनि कम छैन। हाम्रौ लगानीमा चर्चित बनेका उनीहरू हामीलाई नै 'मुर्गा' भन्छन्। जबसम्म लगानीकर्तालाई मुर्गाका रूपमा हेरिन्छ, तबसम्म हाम्रो संगीत क्षेत्रले प्रगति गर्न सक्दैन।

तिनै गीतकार, संगीतकारका शब्द र धुनले प्रस्तोताहरू उठेका हुन्। अनि तिनै प्रस्तोताले तिनै सर्जकको रचनाको हक सुरक्षित नगरी उल्टै चिरहरण गर्ने? अनि कसरी उँभो लाग्न सक्छ हाम्रो गीत-संगीत? कहिलेसम्म आफू थाङ्ने बनेर प्रस्तोतालाई चम्काइ रहने सर्जकहरूले? आफू नाङ्गिएर कहिलेसम्म टल्काइ रहने लागनीकर्ताहरूले?
००
राज्यले पनि प्रस्तोतालाई मात्र चिन्छ। उनीहरूकै कुरा बढी सुन्छ। गीतकार, संगीतकार, लगानीकर्तालाई राज्यले पनि अवहेलना गरेको छ। 

जबसम्म पोलिसी निर्माण गर्नेहरूले गीतकार, संगीतकार र लगानीकर्ताको हक सुरक्षित गराउने र कानूनतः प्रस्तोतालाई हिँडाउन सक्दैन, तबसम्म अमेरिका अष्ट्रेलिया भएका छोरा छोरीका आमाहरू पशुपति वृद्धाश्रममा भए सरह नै हो हाम्रा सर्जकलाई। 

१७ पुस, २०७८, १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।