डा. गुणराजको अनुभूति : पाँचथरमा डिएसपीले ‘गोली ठोक्छु’ भने, गाेरखामा अस्पतालबाटै माओवादी भागेपछि सिडियोले झपारे

डा. गुणराजको अनुभूति : पाँचथरमा डिएसपीले ‘गोली ठोक्छु’ भने, गाेरखामा अस्पतालबाटै माओवादी भागेपछि सिडियोले झपारे

२०६२/०६३ को राजाविरोधी जनआन्दोलनको समयमा डिएसपीले तपाईंलाई गोली हान्छु भनेको प्रसङ्ग सम्झँदा अझै डा. गुणराज लोहनीको आङ जिरिङ्ग हुन्छ।

डा. गुणराज पाँचथर जिल्ला अस्पतालमा काम गरिरहेका थिए। उनलाई अझै सम्झना छ। प्रसङ्ग ०६३ वैशाख पहिलो साताको हो। राजा विरोधी जनआन्दोलन चलिरहेको बेला पाँचथरमा कार्यालय प्रमुखहरूको बैठक बोलाइएको थियो। अस्पताल प्रमुखको हैसियतले डा. गुणराज पनि बैठकमा सहभाभी भए।

बैठक चलिरहेको बेला डिएसपीले डा. गुणराजलाई ‘तपाईंलाई गोली ठोक्छन्’ भनेछन्। डिएएपीले तपाईँलाई गोली ठोक्छन् भन्नुको अर्थ ‘तैंले राजाविरोधी काम गरिस् अब गोली ठोकिन्छ’ भनेको बुझ्न डा. गुणराजलाई कठिन भएन।

तपाइँलाई गोली ठोक्छन् भनेपछि डा. गुणराजले डिएसपीलाई जवाफ फर्काउँदै भनेछन्, ‘मलाई त गोली ठोक्छन् होला। तर, मलाई भन्दा पहिले तपाईंलाई गोली ठोक्छन्।’ त्यसपछि यो कस्तो डाक्टर रहेछ भनेर सबै छक्क परेछन्।

बैठक सकिएपछि डा. गुणराज मनमा केही डर, संसय बोकेर अस्पताल फर्किए।

डिएसपीले उनलाई गोली ठोक्छन् भन्नुको कारण थियो, २०६२/०६३ आन्दोलन सुरु भएपछि अस्पतालका कर्मचारीसँग डा. गुणराजले एउटा बैठक राखेका थिए। त्यो बैठकबाट उनले सरकारविरोधी आन्दोलन सुरु गर्ने निर्णय गरेका थिए। कसरी विरोध गर्ने त भन्ने प्रश्न उब्जियो। 

त्यसपछि डा. गुणराजले उपचारका लागि अस्पताल आएका बिरामीलाई टिकट काट्न नलगाई निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने निर्णय गरे। प्रशासनिक (अफिसियल) काम भने नगर्ने निर्णय गरे। त्यो बेला डा. गुणराजले एक जना रेजिडेन्ट डाक्टर पनि पाँचथर लगेका थिए। अस्पतालमा डाक्टरको नाममा उनी र तिनै रेजिडेन्ट गरी दुई जना मात्रै डाक्टर थिए।

अस्पतालको बैठकपछि डा. गुणराजले ती रेजिडेन्ट डाक्टरलाई बजारमा हुने आम सभामा गएर राजावरोधी भाषण गर्न लगाए। यता टिकट नकाटी अस्पताल तथा चौरमा बसेर उनी बिरामीको उपचार गर्न थाले। ती रेजिडेन्ट डाक्टरले भाषण गरेको तत्कालीन राजा पक्षधरका नेता लगायतले सुनेछन्।

सिडियोको प्रश्न सुनेपछि डा. गुणराजले जवाफ फर्काएछन्, ‘यहाँबाट गाडीमा हालेर लगिएको थियो। उपचार गरेँ। दौडेर हिँड्न सक्ने भइन्। भागिन्। भगाएको मैले हो।’

डाक्टरले गरेको त्यो भाषण जिल्ला सदरमुकामभर फैलियो। सिडिओ, प्रहरी प्रमुख लगायतले डा. गुणराजले नै भाषण गरेका हुन् भन्ठानेछन्। त्यसैले जिल्लाका कार्यालय प्रमुखहरूको बैठकमा डिएसपीले उनलाई ‘तपाईंलाई गोली ठोक्छन्’ भनेका रहेछन्। सिडिओले बैठकमा डा. गुणराजलाई किन आमसभामा राजाविरोधी भाषण गरेको भनेर सोधेछन्।

त्यसपछि सिडिओलाई डा. गुणराजले हाँस्दै जवाफ फकाएछन्, ‘तपाइँहरू कसले भाषण गरेको त थाहा पाउनुहुन्न, अनि राजाको र राज्यको कसरी बफादार हुनुहुन्छ।’

त्यसपछि तत्कालीन सिडिओले डा. गुणराजलाई जागिरबाटै बर्खास्तीका लागि प्रक्रिया अघि बढाएर स्वास्थ्य मन्त्रालयमा पत्र पठाएछन्। तर, उनी जागिरबाट बर्खास्त हुने विषय स्वीकृत हुन नपाउँदै राजा ज्ञानेन्द्र शाहले २०६३ वैशाख ११ गते शाही घोषणा गरे।

२०६२/०६३ को आन्दोलन सकियो। त्यसैले उनको जागिर बचेछ। २०६२/०६३ को आन्दोलन सकिएर नयाँ सरकार बनेपछि पाँचथरका सिडियो र डिएसपी निलम्बित भएछन्। त्यसपछि फोन गरेर सिडियो र डिएसपीले तपाइँले गर्दा हामी निलम्बित हुनुपर्याे भन्दै आफूसँग गुनासो पोखेको उनले सुनाए।

उनीहरूको गुनासो सुनेपछि डा. गुणराजले जवाफ फर्काएछन्, ‘तपाइँहरूले गर्दा मेरो ज्यान जान्थ्यो होला। जागिर त जान्थ्यो–जान्थ्यो। निलम्बन मात्रै भएछ। खुसी मान्नुहोस्।’

उपचार गर्दागर्दै माओवादी कार्यकर्ता भागेपछि स्पष्टीकरण
गोरखा जिल्ला अस्पतालमा काम गर्दाको प्रसङ्ग पनि डा. गुणराज कहिल्यै भूल्दैनन्। उनी भर्खर स्थायी सरकारी चिकित्सकका रूपमा जागिरे भएर २०५२ मा गोरखा जिल्ला अस्पताल पुगेका थिए। जतिबेला माओवादीले सशस्त्र विद्रोह सुरु गरिसकेको थियो। 

डा. गुणराज जिल्ला अस्पतालमा काम गरिरहेका थिए। एक जना करिब २० वर्षकी तत्कालिन माओवादी विद्रोही महिला कार्यकर्तालाई प्रहरीले थुनेर हिरासतमा राखेको रहेछ। केही समयपछि अस्वस्थ भएर महिलाको शरीर सुन्निँदै गएछ।

त्यसपछि डिएसपीले डा. गुणराजलाई फोन गरेर प्रहरी कार्यालयमा ती महिलाको उपचार गर्न आइदिन अनुरोध गरे। तर, डा. गुणराजले प्रहरी कार्यालयमा नआउने भन्दै अस्पतालमा नै बिरामी ल्याउन अनुरोध गरे।

‘डिएसपीले मलाई उपचार गर्न यहाँ आइदेउ भने,’ डा. गुणराजले त्यो बेलाको प्रसङ्ग सुनाए, ‘मैले उपचार गर्न अस्पतालमा पठाइदिनु भनेँ।’

त्यसपछि प्रहरीले महिलालाई उपचारका लागि गोरखा जिल्ला अस्पतालमा नै पठाइदिए। स्वास्थ्य परीक्षण गर्दा ति महिलाको मुटुमा समस्या भएको थाहा भयो। उपचार गर्दै जाँदा उनको स्वास्थ्यमा सुधार हुँदै गयो।

७/८ दिनमा उनी हिँडडुल गर्नसक्ने भइसकेकी थिइन्। अस्पतालमा कम्पाउण्ड थिएन। बारबेर थिएन। एक दिन त अस्पतालबाट नै प्रहरीको आँखा छलेर ती मा‌ओवादी कार्यकर्ता भागिछन्।

सुरुमा बन्ध्याकरण गर्न स्वास्थ्य चौकीभित्र छिरेको व्यक्ति आधा घण्टासम्म बाहिर ननिस्केपछि लाइन लागेका पुरुषहरू बन्ध्याकरण गर्दा मरिने रहेछ भन्ने डरले भागिसकेछन्।

ति महिला अस्पतालबाट भागेपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले डा. गुणराजलाई बोलाएछन्। उनी सिडियो कार्यालयमा गए। सिडियोले डा. गुणराजलाई सोधेछन्, ‘तपाईंले ती महिलालाई भगाउनु भएको हो?’

सिडियोको प्रश्नपछि डा. गुणराजले व्यङ्ग्यात्मक शैलीमा ‘अँ’ भन्ने जवाफ फर्काएछन्। सिडियोले फेरि सोधेछन्, ‘कसरी भगाउनु भयो?’

सिडियोको प्रश्न सुनेपछि डा. गुणराजले जवाफ फर्काएछन्, ‘यहाँबाट गाडीमा हालेर लगिएको थियो। उपचार गरेँ। दौडेर हिँड्न सक्ने भइन्। भागिन्। भगाएको मैले हो।’

सिडिओले जङ्गिदै उनलाई भने, ‘हत्तेरी तपाईंले कस्तो कुरा गर्नुभएको, हाम्रो जागिर गयो।’

त्यसपछि डा. गुणराजले भनेछन्, ‘तपाईँको जागिर गयो की के भयो थाहा छैन। तर, मैले भगाएको चाहिँ हैन। भागेको चाहिँ हो।’

उनले सिडियोलाई ‘अस्पतालमा बाउन्ड्री छैन, तपाईंको प्रहरी पनि त बसेका थिए’ भन्ने जवाफ दिएछन्। ती महिला भागेको एक हप्तामा गोरखा जिल्ला अस्पतालमा ग्रिल तथा तारबार लगाइएको उनले सुनाए।

त्यो बेला प्रहरी प्रशासनबाट केही जोखिम महसुस भए पनि आफूले डाक्टरी बाहेकको काम नगरेकाले धेरै डर भने नलागेको उनले सुनाए। 

त्यो बेला उनलाई माओवादीको तर्फबाट पनि त्यतिकै डर महसुस भएको थियो। तर, भूमिगत हुनुअघि नै गोरखामा माओवादी भएका धेरै नेता कार्यकर्तासँग चिनजान भएकाले माओवादीबाट त्यति धेरै डर भने नलागेको उनले सुनाए। 

‘मरिन्छ भनेर सबै पुरुष भ्यासेक्टोमी नगरी भागे’
धेरै वर्षअघि गुल्मीको एक गाउँमा पुरुष बन्ध्याकरण (भ्यासेक्टोमी)स्वास्थ्य शिविरको प्रसङ्ग निकै रोचक लाग्छ डा. गुणराजलाई। एक दिन शिविर लगेर स्वास्थ्य चौकीमा बन्ध्याकरण सुरु गरेका थिए। बन्ध्याकरणका लागि करिब २० जना पुरुषहरू स्वास्थ्य चौकी बाहिर लाइन बसेका थिए।

डा. गुणराजले लाइन बसेका करिब ३५ वर्षका पुरुषको स्वास्थ्य चौकी भित्र बन्ध्याकरण सुरु गरे। ती पुरुषको बन्ध्याकरण गर्ने भागमा बेटाडिन लगाएर उनले सफा गरे। तर, बडेटाडिन लगाउनासाथ पुरुष थरर काम्न थाले। त्यसपछि ती पुरुषको स्वास्थ्य सामान्य अवस्थामा फर्काउन करिब आधा घण्टा लाग्यो।

कृषि क्याम्पसमा पहिलो इन्जिनियरिङ क्याम्पसमा दोस्रो र चिकित्सा अध्ययनका लागि तेस्रो लिस्टमा परेँ। चिकित्साको नतिजा आउन ढिला हुने भएपछि सिधै सहायक डीनकहाँ गएँ।

सामान्य अवस्थामा फर्किएपछि ती पुरुषलाई सोध्दा दिसा, पिसाब गर्न ट्वाइलेटमा नगई जंगलमा मात्रै जाने गरेको सुनाएछन्। किनकी ति पुरुष ट्वाइलेटको गन्धले बेहोस हुन्थे रे। त्यसैले बेटाडिन (औषधि) को गन्धले ती पुरुष कामेर बेहोस भएका रहेछन्।

त्यसपछि डा. गुणराजले तपाईंको बन्ध्याकरण पछि गरौंला, अरुको गरौं भनेर ती पुरुषलाई पठाए। ती पुरुषलाई पठाएपछि अर्को व्यक्तिलाई बोलाए। तर, कोही आएन। यसो बाहिर निस्केर हेर्दा त कोही देखेनन् उनले।

पछि बुझ्दा पो थाहा भयो, ‘सुरुमा बन्ध्याकरण गर्न स्वास्थ्य चौकी भित्र छिरेको व्यक्ति आधा घण्टासम्म बाहिर ननिस्केपछि लाइन लागेका पुरुषहरू त साथी मर्यो, बन्ध्याकरण गर्दा मरिने रहेछ’ भन्ने डरले भागिसकेछन्। त्यसपछि त्यहाँ बन्ध्याकरण शिविर नै नगरी अन्य ठाउँमा गएर गरेको उनले सुनाए।

‘दुई दिनअघि नै नतिजा थाहा पाएँ’
तनहुँको भानु नगरापालिका–१०, कालिमाटीमा २०१९ मा जन्मिएका गुणराजको बाल्यकाल गाउँमा नै बित्यो।

कृषक परिवारमा जन्मिएका उनले एसएलसीसम्म कृषि काम गर्दै पढे। उनको गाउँ तनहु भए पनि लमजुङको सिमानामा पर्छ। त्यसैले घर नजिकैको लमजुङको विरभक्ति माध्यामिक विद्यालयबाट उनले २०३५ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे।

एसएलसीपछि गुणराजले लमजुङको कृषि क्याम्पस, ललितपुरको इन्जिनियरिङ क्याम्पस र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पस गरी तीन ठाउँमा प्रमाणपत्र तहको अध्ययनका लागि उनले आवेदन दिए।

कृषि क्याम्पसमा उनी अध्ययनका लागि पहिलो लिस्टमा छनोट भए तर भर्ना भएनन्। त्यसपछि इन्जिनियरिङ क्याम्पसमा पनि उनी दोस्रो लिष्टमा छनोट भए। उनलाई चिकित्सा विषय अध्ययन गर्ने रहर थियो। तर, महाराजगञ्जमा भने अध्ययनको लागि छनोटको तेस्रो लिस्टको नतिजा आउन ढिला भयो। 

त्यसपछि उनलाई इन्जिनियरिङ क्याम्पसमा भर्ना नगरौं भने भर्ना अवधि पनि सकिने अनि महाराजगञ्ज क्याम्पसमा छनोट नभए के गर्ने भन्ने तनाव भयो। 

शुक्रबारको दिन थियो। त्यो दिन भर्ना नभए इन्जिनियरिङ पढ्न नपाइने अवस्था थियो। महाराजगञ्ज क्याम्पसको अध्ययनका लागि छनोटको नतिजा भने आइतबार मात्रै आउने थियो।

डा.गुणराजले सुनाए, ‘शुक्रबार पुल्चोकमा भर्ना भएँ भने भएँ नत्र आइतबार उता नाम निस्केन भने यता पनि छुट्ने उता पनि छुट्ने थियो।’

आफ्दै दाजुले भने, ‘तैंले कत्तिको जानेको छस्, गाउँतिर आइस भने उपचार गर्दा मान्छे मर्लान् अनि पिटाइ खालास् नि!’

सानैदेखि आँटिला स्वभावका गुणराजले महाराजगञ्ज चिकित्सा क्याम्पसका तत्कालिन सहायक डिनको कार्यकक्षमा दिउँसोको करिब एक बजे पसे।

सहायक डिनलाई भेटेर उनले भने, ‘मेरो पुल्चोकमा नाम निस्किएको छ। मेडिसिन पढ्न मन छ। नाम निस्किन्छ निस्किँदैन थाहा छैन। के गर्ने होला?’ त्यसपछि एक घण्टा पर्खि भनेछन् सहायक डिनले।

गुणराजले ती सहायक डिनलाई फेरि भनेछन्, ‘महाराजगञ्जबाट पुल्चोक जान एक घण्टामा नभ्याइएला की!’

त्यसपछि सहायक डिनले ‘तँलाई गाडीमा लगेर भर्ना गरेर ल्याइदिन्छु’ भन्ने जवाफ दिएछन्। एक घण्टासम्म गुणराज सहायक डिनकै कार्यकक्ष नजिक बसिरहे। एक घण्टापछि सहायक डिनले भनेछन्, ‘आइतबार आइज। पुल्चोक जानु पर्दैन।’

सहायक डिनले छनोट हुने संकेत दिएपछि उनी फर्के। आइतबार गुणराज महाराजगञ्ज क्याम्पसमा गए। अध्ययनका लागि छनोट भएको सूचीमा नाम देखे।

त्यसपछि महाराजगञ्ज चिकित्सा क्याम्पसमा २०३६ मा भर्ना भएर हेल्थ असिस्टेन्ट (एचए) अध्ययन सुरु गरे। २०३९ मा उनले एचए अध्ययन पूरा गरे।

साढे दुई वर्षे कोर्ष भए पनि २०३६ को आन्दोलनका कारण अध्ययन लम्बिएर चार वर्ष लागेको उनले सुनाए। अध्ययन सकिँदा उनी टप टेनभित्रै परे। सहायक डिनसँग त्यो बेला गरेको कुराकनी सम्झँदा अहिले भने उनलाई अनौठो लाग्छ।

रसियामा पढ्नेलाई नेपालमा खिसीट्यूरी
त्यो बेला सरकारी छात्रवृत्ति कोटामा विदेश गएर एमबीबीएस अध्ययन गर्नका लागि एक वर्ष काम गर्नुपथ्र्यो। त्यसैले एचए अध्ययनपछि गुणराज लमजुङको घलेगाउँको स्वास्थ्य चौकीमा पुगेर इन्चार्जको रूपमा काम गरे। 

त्यसपछि गुणराज सरकारी छात्रवृत्ति कोटामा तत्कालिन सोभियत संघ (रसिया) मा पुगेर एमबीबीएस अध्ययन गर्न थाले। एमबीबीएस अध्ययन पूरा गरेर उनी २०४९ मा नेपाल फर्के। त्यही वर्ष उनले विवाह गरे। 

त्यो बेला रसिया अध्ययन गरेर फर्केका डाक्टरलाई नेपालमा त्यति पत्याउँदैनथे रे। रसिया पढेका चिकित्सकलाई रमाइलो मात्रै गरेर फर्कने चिकित्सकका रूपमा बुझिन्थ्यो रे।

त्यसैले घरबाट उनका दाजुले भनेछन्, ‘तैंले कत्तिको जानेको छस्, गाउँतिर आइस भने उपचार गर्दा मान्छे मर्लान् अनि पिटाइ खालास् नि!’

त्यसैले काठमाडौंमा बसेर काम गर्न उनका दाजुले सल्लाह दिएछन्।

मन्त्रीकाे भाषणपछि जागिर चैट
तर, एमबीबीएस अध्ययन गरेर नेपाल फर्किएपछि सरकारी अस्थायी जागिरेका रूपमा डा. गुणराज गुल्मी जिल्ला अस्पतालमा गएर काम गर्न थाले। त्यो बेला गुल्मीमा डाक्टर नै थिएनन्। उनी एक जना मात्रै डाक्टर भए। त्यसैले अस्पताल प्रमुखको जिम्मेवारी डा. गुणराजले नै सम्हालेका थिए।

२०४९ सालको प्रसङ्गग हो। डा. गुणराजले गुल्मी जिल्ला अस्पतालमा जागिर सुरु गरेको एक वर्ष भएको थियो। त्यो बेला एक जना मन्त्री गुल्मी पुगेछन्। ती मन्त्री पहिले गुणराजले पढ्ने विद्यालयका प्रधानाध्यापक भएका थिए। त्यसैले भाषणपछि भेट्ने उदेश्यले डा. गुणराज मन्त्री आउने सभास्थल पुगे।

तर, ती मन्त्रीले गुल्मीको सभामा भाषण गर्दै भनेछन्, ‘गुल्मी अस्पतालमा एउटा डाक्टर रहेछ। त्यसले कम्युनिष्टको सुई लगाउँदोरहेछ।’

गुल्मी अस्पतालमा डा. गुणराज बाहेक कोहि चिकित्सक थिएनन्। त्यसैले आफूलाई नै मन्त्रीले कम्युनिष्टको सुई लगाउने डाक्टर भनेका हुन् भन्ने कुरा उनले प्रष्ट बुझिहाले।

त्यो भाषण सुनेपछि डा. गुणराजले सोचे, ‘कसैले कम्युनिष्ट डाक्टर हो भनेर मन्त्रीलाई रिपोर्टिङ गरिसकेछन्। अब मन्त्री भेट्दिन।’ त्यसपछि उनी मन्त्री नभेटी अस्पताल फर्के। धेरै पटक मन्त्री बनेका ती नेतालाई अहिलेसम्म भेट्ने मौका पनि नमिलेको र नभेटेको डा. गुणराजले सुनाए।
उनले सुनाए, ‘उहाँ अझै राजनीतिमा नै हुनुहुन्छ। टिचरको नजरले भेटौं की जस्तो लाग्छ। तर, उहाँले बोलेको त्यो वाक्य कहिल्यै भुल्दिनँ।’

आर्थिक अवस्था कमजोर भएका, हेर्दा मैला तथा झुत्रे कपडा लगाएका, सफा सुग्गर नदेखिने बिरामीसँग बसेर राम्रोसँग कुरा गर्ने, स्वास्थ्य परीक्षण तथा उपचार गर्ने डाक्टरलाई कम्युनिष्ट डाक्टर हो की भन्ने नजरले हेरिन्थ्यो

मन्त्रीको त्यो भाषणको केही दिनमा नै डा. गुणराजले काम गरिरहेको गुल्मी अस्पतालमा अर्को डाक्टर पठाइएछ। अर्को डाक्टर पठाएपछि उनको अस्थायी जागिर गयो।

‘राजनीति गर्याे भनेर मेरो अस्थायी जागिर त्यतिखेर सरकारले  खाइदियो’, उनले सुनाए।

गुल्मीबाट जागिर गएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरामा पुगेर क्षेत्रीय निर्देशकलाई डा. गुणराजले भेटेछन्।  डा. गुणराजले निर्देशनालयका ती निर्देशकलाई भनेछन्, ‘तपाईंलाई डाक्टर लखेटिएको मन पर्छ की बिदाई भएको?’

त्यसपछि ती निर्देशकले बिदाई भएको मनपर्ने जवाफ दिएछन्। त्यसैले ति क्षेत्रीय निर्देशनालय निर्देशकको पहलमा गुल्मी अस्पतालबाट डा. गुणराज पाल्पा जिल्ला अस्पतालमा अस्थायी सरुवा भए। उनको जागिर बचेछ। पाल्पा जिल्ला अस्पतालमा केही महिना काम गरे। त्यसपछि सरकारी करार जागिर छाडेर डा. गुणराज पाल्पा मिशन अस्पतालमा काम गर्न थाले।

प्रसङ्ग २०५१ को हो। त्यो बेला एमालेको सरकार बनेको थियो। उनले मिशन अस्पतालमा काम थालेको करिब डेढ वर्ष भएको थियो। मध्यरातमा उनलाई ल्याण्डलाइनमा फोन गरेर एक जना गुल्मीका नेताले भनेछन्, ‘डाक्टर साब तपाईंको चिठ्ठि आएको छ लिन आउनुहोस्।’

डा. गुणराजले अर्धनिन्द्रामा नै ‘के को चिठि हो’ भनेर सोधेछन्। त्यसपछि ति व्यक्तिले पुनः करार नियुक्ति पाएकाले चिठी लिन आउन अनुरोध गरेछन्। त्यसको भोलिपल्ट विहान चिठि लिएर पुनः गुल्मी जिल्ला अस्पतालमा गएर उनले एक वर्ष अस्थायी जागिरेका रूपमा काम गरे।

त्यो बेला कम्युष्टिको सुई लगाउने डाक्टर भनेर आफूलाई मन्त्रीले भन्नुको अर्थ पछि मात्रै डा. गुणराजले थाहा पाए। रसियामा एमबीबीएसपछि दीक्षित हुँदा कोटमा देशको लोगो हसिया हथौडा थियो। त्यही हसिया हथौडा भएको कोट नेपालमा पनि लगाएर हिँडेछन् उनले। जुन कुरा उनले ख्यालै गरेका थिएनन्।

डा. गुणराजले त्यो बेलाको प्रसंग सम्झिएर हाँस्दै सुनाए, ‘पछि सिस्टरले पो यो कोटमा हसिया हथौडाको लोगो छ। त्यसैले यो कोट नलगाउनुस् है भनेपछि पो मेरो जागिर जानुको कारण थाहा पाएँ।’

त्यो लोगो अहिले पनि रहेको उनले सुनाए। त्यो बेला आर्थिक अवस्था कमजोर भएका, हेर्दा मैला तथा झुत्रे कपडा लगाएका, सफा सुग्गर नदेखिने बिरामीसँग बसेर राम्रोसँग कुरा गर्ने, स्वास्थ्य परीक्षण तथा उपचार गर्ने डाक्टरलाई कम्युनिष्ट डाक्टर हो की भन्ने नजरले हेरिन्थ्यो रे।

द्वन्द्वकालमा पहिलो पोस्टिङ गोरखा
गुल्मीपछि डा. गुणराज २०५२ मा लोकसेवा मार्फत स्थायी सरकारी चिकित्सकका रूपमा जागिरे भए। उनी पहिलो पोष्टिङ भएर गोरखा जिल्ला अस्पताल पुगे। जुन बेला तत्कालीन माओवादीले सशस्त्र विद्रोह सुरु गरिसकेको थियो। उनी गोरखामा २०५५ सम्म तीन वर्ष बसेर काम गरे।

गोरखापछि तत्कालीन सरकारले डा. गुणराजलाई जाजरकोट जिल्ला अस्पताल सरुवा गरिदिएछ। तर, उनले त्यही बेला एमडीजीपी अध्ययन गर्ने मौका पाए।

त्रिभूवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (महाराजगञ्ज चिकित्सा क्याम्पस) मा भर्ना भएर स्नातकोत्तर तहको एमडीजीपी (जनरल प्राक्टिस) विषयको अध्ययन गर्न थाले।

२०५७ मा तीन वर्षे एमडीजीपी अध्ययन पूरा भयो। त्यसपछि राजबिराजको तत्कालीन सगरमाथा अञ्चल अस्पतालमा पोष्टिङ भएर करिब तीन महिना उनले काम गरे।

त्यसपछि डा.गुणराज २०५८ मा सरुवा भएर जिल्ला अस्पताल खोटाङ्ग पुगे। खोटाङ्गमा उनी २०६१ सम्म तीन वर्ष काम गरे।

सरुवा नै सरुवाका चाङ, नेतृत्वदायी भूमिका
२०६१ मा डा. गुणराज सरुवा भएर पाँचथर जिल्ला अस्पताल पुगे। त्यहाँ २०६३ सम्म तीन वर्ष काम गरे।

२०६४ मा जिल्ला अस्पताल मकवानपुर सरुवा भएर उनले करिब पाँच महिना काम गरे। त्यसपछि सरुवा भएर बर्दिया जिल्ला अस्पताल पुगेको करिब चार महिनापछि फेरि दोलखाको जिल्ला अस्पताल जिरी सरुवा भए उनी।

जिरीमा करिब आठ महिना काम गरेपछि २०६६ मा उनलाई पुनः जिल्ला अस्पताल गोरखा सरुवा गरियो। दोस्रो पटक गोरखामा सरुवा भएको करिब तीन वर्षमा २०६९ मा उनी ११औं तहमा बढुवा भए। 

त्यसपछि डा. गुणराज स्वास्थ्य सेवा विभागको उपमहानिर्देशक (डेपुटी डिजी) भएर करिब एक वर्ष काम गरे। त्यसपछि उनको स्वास्थ्य मन्त्रालयमा सरुवा भयो। मन्त्रालयको चिकित्सा सेवा महाशाखामा रहेर करिब तीन वर्ष काम गरेको अनुभव पनि छ उनीसँग।

मन्त्रालयपछि स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर डा. गुणराजले दुई वर्ष काम गरे।

‘स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको त्यतिखेरै हो,’ उनले भने।

त्यसपछि स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा रहेर करिब १५ महिना उनले काम गरे। त्यो बेला तत्कालीन उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उनलाई सरुवा गरेर मोरङको विराटनगरस्थित कोशी अस्पताल पठाए। त्यहाँ उनले करिब ६ महिना काम गरे।

कोशी अस्पतालपछि २०७७ माघबाट डा. गुणराज स्वास्थ्य मन्त्रालयमा सरुवा भई नीति योजना महाशाखा प्रमुखको रूपमा काम गर्न थाले। उनी सरुवा भएर मन्त्रालयमा आउँदा कोरोना भाइरस संक्रमण सुरु भइरहेको थियो।

कोभिड व्यवस्थापनमा उनले सक्रिय भूमिका निभाए। त्यसअघि मन्त्रालयमा नै भएको समयमा भूकम्पछिको उपचार लगायतको स्वास्थ्य व्यवस्थापनमा समेत उनले सक्रिय भूमिका खेले।

२०७८ मंसिरमा डा. गुणराज १२औं तहमा बढुवा भए। त्यसपछि नीति योजना र गुणस्तर मापन तथा नियमन महाशाखा दुवैको समन्वयगरी प्रमुखको जिम्मेवारीमा उनले काम गरे।

यहि कात्तिक २ गते ६० वर्षे अनिवार्य अवकाश उमेर हदका कारण डा. गुणराजले सरकारी जागिरबाट अवकाश पाए।

आफन्त न भनसुन
सरुवा हुनासाथ आफू खटाएको ठाउँमा तुरुन्तै गएर काम गरेको डा. गुणराजले सुनाए। सरुवा भएको बढिमा एक दिनमा आफूले रमणा लिएर खटाएको ठाउँमा पुगेको उनको अनुभव छ।

त्यसो त सरुवाका लागि आफूले कहिल्यै पनि भनसुन नगरेको डा. गुणराजले सुनाए। त्यतिमात्रै हैन भनसुनका लागि आफ्नो कोही पनि आफन्तसमेत नभएको उनी बताउँछन्।

डा. गुणराजले सुनाए, ‘भनसुनका लागि मेरा आफन्त छैनन्। जति गरेको हो आफैंले गरेको हो।’

धेरै ठाउँमा सरुवा भएर काम गर्दा उनले हण्डर नखाएका हैनन्। तर, विभिन्न ठाउँको अनुभव लिने अवसर पाएको भन्दै उनले आफू सरुवा हुनुलाई सकारात्मक रूपमा लिएका छन्।

‘मनोवैज्ञानिक रूपमा परिवारमा टर्चर भयो होला, तर धेरै ठाउँको कामको अनुभव लिने मौका पाएँ,’ डा. गुणराजले भने।

डा. गुणराजका दुई जना छोरा छन्। उनकी श्रीमती गृहिणी हुन्। 

त्यसो त आफूलाई कामको सिलसिलामा अनैतिक आर्थिक लाभको प्रस्ताव समेत आएको डा. गुणराजले सुनाए। त्यस्ता आर्थिक प्रस्ताव ल्याउने कतिपयलाई आफूले झपारेको उनले सुनाए।

कतिपयले भने आर्थिक लाभ नलिएका कारण धम्कीसमेत दिएको उनी सम्झन्छन्। तर, त्यसरी अनैतिक आर्थिक लाभ लिन आत्मले नमानेको उनले सुनाए।

१९ कात्तिक, २०७९, १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।