तारकेश्वर घटना श्रीमान्-श्रीमतीको मनमुटाबले हत्यापछि आत्महत्या भएको देखाउने तीन आधार, पुष्टि हुन बाँकी तीन पाटो

तारकेश्वर घटना श्रीमान्-श्रीमतीको मनमुटाबले हत्यापछि आत्महत्या भएको देखाउने तीन आधार, पुष्टि हुन बाँकी तीन पाटो

काठमाडौँ :  सोमबार बिहान काठमाडौँको तारकेश्वको एक तले घर बनाएर बसेका पाण्डे परिवारका चारै जनाको शव फेला पर्यो। बिहानै विद्यालय जानुपर्ने १३ वर्षकी बालिका नआएपछि घरमा बोलाउन गएका छिमेकीले शङ्का लागेर प्रहरीलाई बोलाएका थिए। प्रहरी घरभित्र जाँदा ४१ वर्षका दिनेश पाण्डे, ३९ वर्षकी सुनिता पाण्डे, १३ वर्षकी छोरी अनि ८ वर्षका छोराको शव फेला पर्यो।

मृतक सबैको शरीरमा धारिलो हतियारले पटक-पटक प्रहार भएको थियो। पेट, टाउको सबैतिर काटिएको थियो। घटनास्थलको अवस्था बीभत्स थियो। प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाउँदै जाँदा मेसेन्जरका केही स्क्रिनसटहरु समेत राखिएको १० पन्ने सुसाइड नोट फेला पर्यो।

सुसाइड नोट दिनेश पाण्डेको थियो। सुसाइड नोटमा उनले श्रीमतीको अर्कैसँग सम्बन्ध भएको शङ्का भएको, वैदेशिक रोजगारीमा ११ वर्ष बसेर कमाएको सम्पत्ति श्रीमती र उनको माइती मिलेर हडप्ने प्रयास गरेको, श्रीमतीले माइतीसँग मिलेर पटक-पटक प्रहरी कार्यालयमा लगेर थुनाएको जस्ता विवरण उल्लेख थियो।

बच्चा बच्चीको पनि शरीरका विभिन्न भागमा छुरी प्रहार गरिएको छ। श्रीमतीको हत्याको कारण त देखियो। तर ती कलिला नाबालिगको हत्या चैँ  किन ?

प्रहरी स्रोतका अनुसार उनले सुसाइड नोटमा त्यसको कारण खुलाउँदै लेखेका छन्' बच्चा बच्चीको औधी माया लाग्छ। मैले बच्चा बच्चीलाई मायाले गर्दा सँगै लिएर जान यो कठोर कदम चाल्नु परेको हो।'

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीका अनुसार प्रहरीले चारै जनाको शव सङ्कलन गरेर पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा पूर्याएको छ। हत्या हो या आत्महत्या या घटना घट्नुको थप अन्य केही कारण पोस्टमार्टमले खुलाउन सक्छ।

तर केही आधारमा आधारमा प्रहरी श्रीमान्-श्रीमतीविचको मनमुटाब समाधान हुन नसक्दा दिनेशले श्रीमती र दुई सन्तानको हत्या गरेर पछि आफैँले आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा पुगेको देखिन्छ।

'घटना यही हो भनेर अहिले नै निष्कर्ष निकाल्न सकिने आधार छैन। पोस्टमार्टम रिपोर्ट र अनुसन्धान प्रक्रिया अगाडि बढेपछि मात्र यही कारण घटना भएको हो भन्न सकिन्छ,' एसपी मैनालीले भने' तर प्रारम्भमा जे जति देखिएको छ त्यसले हत्यापछि आत्महत्या गरेको हुनसक्ने सम्भावना बढी छ।

वैदेशिक रोजगारीले सम्बन्धमा ल्याएको खटपटले निम्त्यायो अर्को बीभत्स घटना, श्रीमती र २ सन्तानको हत्या गरेर दिनेशले आत्महत्या गरेको शंका

यो घटना परिवारको चारै जनाको अन्य कसैले हत्या गरेको नभई परिवारभित्रकै सदस्यले हत्यापछि आत्महत्या गरेको हुनसक्ने सम्भावना बलियो हुनुको कारण के-के हुन् ? उकेराले घटनास्थलमा पुगेका र यसको अनुसन्धान र अनुसन्धानको संयोजनमा संलग्न केही प्रहरी अधिकारीहरूसँग कुरा गर्दा उनीहरूले तीन कारण देखाए।

१- घर भित्रैबाट बन्द हुनु

दिनेशको छोरी सधैँ बिहान विद्यालय जान घरबाट निस्किन्थिन्। विद्यालयको बस आइसक्दा पनि उनी सोमबार नआएपछि नै यो घटना खुलेको हो। उनका साथीको परिवार बोलाउन घरमा पुग्दा कोही नबोलेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।

लगत्तै प्रहरी वृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो। साढे ९ बजेतिर प्रहरी टोली घरमा पुग्दा घरको गेटभित्रबाट बन्द थियो। घरको झ्याल अनि ढोकाहरू सबै भित्रबाटै चुकुल लगाइएको थियो भने ढोका समेत भित्रैबाट लक गरिएको थियो।

प्रहरी टोलीले ढोका फोडेर घरभित्र प्रवेश गरेको थियो। घरभित्रको  दृश्य बीभत्स थियो नै। मुचुल्का टोलीसँगै फरेन्सिक टोली समेत घटनास्थलमा पुगेका थिए।

प्रहरीले घरको सबै अवस्थाको अवलोकन गर्दा भित्रबाट चुकुल लगाएको र बाहिरबाट अन्य व्यक्ति घरभित्र प्रवेश गर्ने अन्य बाटो नदेखेपछि जे घटना भयो त्यो घरभित्रकै चार जनामध्येबाट भएको प्रारम्भिक निष्कर्षमा प्रहरी टोली पुगेको देखिन्छ।

'घरको भित्रबाटै चुकुल लाग्नु अनि घरभित्र प्रवेश गरेर निस्कन सक्ने सबै माध्यमहरू बन्द हुनुले घटनामा घरभित्रका चारमध्ये एक सदस्य संलग्न रहेको देखिन्छ,' घटनास्थलको अवलोकनमा संलग्न एक प्रहरी अधिकृतले उकेरालाई भने।

२- छरछिमेक र आफन्तले दिएको विवरण

दिनेश ११ वर्ष कुवेत बसेर चार वर्ष अगाडि नेपाल फर्किएका थिए। उनी नेपाल फर्किएर गोरखामा नबसी माहेश्वरता घर बनाएर बसेका थिए। आफू इलेक्ट्रिसियन थिए भने श्रीमतीले फेन्सीको पसल राखेकी थिइन्।

श्रीमतीको अर्कैसँग सम्बन्ध रहेकोमा उनलाई शङ्का थियो।  छिमेकीहरूले दिएको जानकारी अनुसार घरमा झगडा परिरहन्थ्यो। घर झगडाको विषय लिएर उनीहरू तीन पटक त बालाजु वृत्तमै पुगेका थिए। श्रीमतीले कुटपिटमा ज्यान मार्ने कसुरमा जाहेरी नै दिने प्रयास गरेको उनको सुसाइड नोटमा देखिन्छ।

'११ वर्षसम्म कुवेतको तातो घाममा दुःख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजे। श्रीमती र श्रीमतीका दाजुहरूले मलाई पटक-पटक थुनाएर सम्पत्ति लैजान खोजे' १० पन्ने सुसाइड नोटमा उनले लेखिएको छ' मैले कमाएको सबै पैसा श्रीमतीलाई पठाएको थिए। तर श्रीमतीले पैसाजती सबै माइतीलाई दिइन्। फर्केर घर आउँदा ममाथि राम्रो व्यवहार भएन। केही कुरा गर्दा विवाद गर्थिन्। ममाथि कुटपिट गर्थिन्। प्रतिकार गर्दा घरेलु हिंसा  र ज्यान मार्ने उद्योग गरेको भन्दै प्रहरीमा उजुरी दिएर थुनाइन्।'

श्रीमतीको अन्य कुनै पुरुषसँग सम्बन्ध रहेकोमा उनलाई शङ्का थियो। घर झगडाको एक कारण यो पनि देखिन्छ। सुसाइड नोटमा उनले श्रीमती र अन्य व्यक्तिबिच भएको कुराकानीको स्क्रिन सट समेत राखेका छन्। यसले पनि घर विवादको कारण शङ्का हो भन्ने देखाउँछ।

सुसाइड नोटमा समेत यो खुलाइएको छ। त्यसमा लेखिएको छ' मलाई श्रीमतीले मोबाइल छुन र हेर्न पनि दिन्नथीन्। जति बेला पनि आफैँ राख्ने गर्थिन्। ट्वाइलेट जाँदा पनि फोन सँगै लिएर जाने, ट्वाइलेटमै बसेर कुरा गर्ने।'

३- सुसाइड नोट

प्रहरीले घटनास्थलमा सुसाइड नोट फेला पारेकाले यो घटना हत्यापछि आत्महत्या भएको शङ्का बलियो बनाएको छ। सुसाइड नोटमा विवाह अगाडिदेखि विवाहपछि अनि कुवेतदेखि नेपालसम्मका सबै विवरण उल्लेख गरिएकाले यो उनै दिनेशले लेखेको देखिन्छ।

त्यसमा हत्याको कारण पनि खुलाइएको छ। त्यसमा लेखिएको छ' मलाई वास्ता नगर्ने। मोबाइल हेर्नै नदिने गरेकाले मलाई शङ्का लागेको थियो। म श्रीमान् भए पनि मेरो  केयर गर्दिनथी। छि-छि, दूर-दूर गर्ने, हेप्ने गर्थी। मलाई पीडा भयो।'

सुसाइडमा श्रीमतीको हत्याको कारण खुल्छ। हत्यापछि पक्राउ परिने भयले उनले आत्महत्या गरेको हुनसक्ने पनि देखिन्छ। प्रहरीका अनुसार उनले पहिला झुन्डिएर आत्महत्या गर्ने प्रयास गरेको र त्यो असफल भएपछि धारिलो हतियारले आफैँलाई हानेको हुनसक्ने सम्भावना बलियो देखिन्छ।

तारकेश्वरको बीभत्स घटनाको सुसाइड नोट : छोराछोरीको मायाले छाडेर जान सकिन, सँगै लैजान कठोर कदम चालेँ

तर ८ वर्षको छोरा अनि १३ वर्षकी छोरीको हत्याको कारण चैँ ?

सुसाइड नोटमा लेखिएको छ' मेरा बच्चा बच्चीको औधी माया लाग्छ। मैले बच्चा बच्चीलाई मायाले गर्दा सँगै लिएर जान यो कठोर कदम चाल्नु परेको हो। श्रीमती र उनको माइतीका कारण यो कदम उठाउन बाध्य भएँ।'

खुल्न बाँकी तीन पाटो 

प्रहरी जुन प्रारम्भिक निष्कर्षमा पुगेको हो त्यसको आधार भनेको घटनास्थलको प्रकृति, उनीहरूले पाएको सुसाइड नोट र केही परिस्थितिजन्य प्रमाणका आधारमा हो। तर घटनाको कारण यही नै हो भन्नका लागि अझैँ अनुसन्धानबाट पुष्टि हुनुपर्ने पक्षहरू छन् नै।

पहिलो : सुसाइड नोट कसको ?

घटनास्थलमा सुसाइड नोट बरामद भए पनि त्यो दिनेशले नै लेखेको हो भन्ने प्रमाणित भइसकेको छैन। उल्लेख गरिएका विवरणहरूले उनले नै लेखेको हुनसक्ने सम्भावना मात्र बढाएको हो।

दिनेशले लेखेको अन्य प्रमाणका आधारमा उनको लेखन शैली पहिल्याएर सुसाइड नोटका अक्षरको परीक्षणपछि मात्रै सो उनले लेखेको हो या हैन भन्ने प्रमाणित हुनसक्छ। यसका लागि प्रहरीले सो सुसाइड नोट लिप विज्ञमार्फत परीक्षण गराउने छ।

दोस्रो : मृत्युको कारण

घटनास्थलको फेला परेको शवका आधारमा धारिलो हतियारले अन्धाधुन्ध प्रहार गरेका कारण मृत्यु भएको देखिन्छ। तर यो अनुमान मात्रै हो। मृत्युको कारण खुलाउने, हत्या हो या आत्महत्या खुलाउन सक्ने पोस्टमार्टमले हो। पोस्टमार्टम रिपोर्टबाट हत्या या आत्महत्याको पुष्टि हुनसक्छ। तीन जनाको हकमा पोस्टमार्टमले देखाए पनि दिनेशको हकमा अन्यले धारिलो हतियारले हानेको हो कि उनी आफैँले भन्ने पहिल्याउन  घटनामा प्रयोग भएको धारिलो हतियारमा हुनसक्ने फिङगर प्रिन्टले पुष्टिका लागि सघाउन सक्छ।

तेस्रो : परिवारका सदस्य र आफन्तको बयान

सुसाइड नोटमा जे जति लेखिएको छ अनि छरछिमेक र मृतकको माइतीपक्षकाले जे दाबी गरेका छन् त्यो सत्य हो या हैन भन्नका लागि प्रहरीले आफन्त र जानकार छिमेकी, साथी लगायतकाहरुसँग लिने बयानले समेत पुष्टि गर्न सघाउन सक्छ।

'चारै जनाको शव पोस्टमार्टमका लागि पठाएर अहिले हामी विस्तृत अनुसन्धानमा खटिएका छौँ,' एसपी मैनालीले भने' घटनाको कारक र कारणमा पुग्न प्रहरीले गहन र विस्तृत अनुसन्धान गरेर चाँडै निष्कर्ष निकाल्नेछ।'

१६ साउन, २०७९, २१:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।