सत्ता-साझेदार दलमा समाजवादी केन्द्रको अभ्यास : कांग्रेसलाई हाइसञ्चो, एमाले सशंकित 

सत्ता-साझेदार दलमा समाजवादी केन्द्रको अभ्यास : कांग्रेसलाई हाइसञ्चो, एमाले सशंकित 

काठमाडौं : सत्ता साझेदार दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावका लागि समाजवादी केन्द्र नामको मोर्चा बनाउने तयारी गरेका छन्।

कम्युनिष्ट घटकबीचको यस्तो मोर्चाबन्दीले प्रमुख प्रतिपक्षी एमाले सशंकित भएको छ भने कांग्रेसलाई हाइसञ्चो भएको छ। खुद्रामा भन्दा होलसेलमा डिल गर्न पाइने भएकाले कांग्रेस खुसी देखिन्छ भने चुनावमा वाम गठबन्धनको कसरतमा रहेको एमाले सशंकित देखिन्छ।

समाजवादी मोर्चामा सिंगो वाम दलबीच मोर्चाबन्दी नहुने र भइहालेमा माओवादी र एकीकृत समाजवादीबीचको मोर्चा कांग्रेसबाहेक अन्य दलसँग तालेमल नगर्नेमा कांग्रेस पार्टी ढुक्क देखिएको छ। 

समाजवादी केन्द्रको बहस भएसँगै सत्ता साझेदार दलहरुबीच वार्तालाप पनि कम हुँदै गएको छ। बिहीबार प्रधामन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको चुनावको मितिबारे परामर्श गर्न माओवादी अध्यक्ष प्रचण्डलाई फोन भने गरे।

‘उहाँहरुले गठबन्धन गरेर के बिग्रियो र, यो त गठबन्धन भित्रैको हो नि,’ कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भने, ‘उहाँहरु मिलेर गरे पनि अलग्गै गरे पनि फरक पर्दैन।’ 

माओवादी, एकीकृत समाजवादी, जसपा, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भएको माओवादी नेता वर्षमान पुनले बताए पनि जसपा अध्यक्ष उपेन्द्र यादवले भने यो कुरालाई अस्वीकार गरेका छन्। एकै चुनाव चिह्नमा चुनाव लड्न एकीकृत समाजवादी तयार भए पनि यादव तयार देखिएका छैनन्। 

समाजवादी केन्द्रको तयारीमा रहेका दलहरु भने आफ्नो आकार बढाउने र स्थान सुरक्षित गर्ने ध्याउन्नमा छन्। ‘कलम चिह्न र चुनाव जित्ने वातावरण यी दुई वटा कुरा हाम्रो प्राथमिकतामा छ,' एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले उकेरासँग भने, ‘अजेण्डामा एक रुपमा हुनुपर्यो। यतिबेला सबैले एकले अर्कालाई तौलिराखेका छन्।’

सत्ता गठबन्धनको मोडालिटीमा शक्ति राष्ट्रको प्रभाव मूल्याकंन गर्न बाँकी रहेकाले नेताहरु मोडालिटीबारे प्रष्ट हुन सकेका छैनन्। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल आएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानछाओ नेपाल भ्रमण सकेर फर्किए।

‘अमेरिकी राष्ट्रपति वाइडेनका भाइ आएका छन्। हिजो चीनका सी जिनपिङका भाइ आए। तलतिरका भाइहरु आएका आयै गर्छन्। कहाँ, कसले, के खेल्न सक्छन्। त्यसपछि मात्र स्पष्ट नक्सा आउँछ। अहिले यत्तिक्कै बोलेर केही हुनेवाला छैन,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने। 

कांग्रेसभित्र पनि अन्तर्राष्ट्रिय शक्ति केन्द्रले नै कम्युनिष्ट एकता गराएकाले अनौठो मान्नु नपर्ने बुझाइ देखियो। ‘नेपालमै पहिलो पटक दुई तिहाइ मतबाट सरकार गठन भएको पहिलो उदाहरण थियो। त्यो सरकार फेलियर भएर कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि अन्तर्राष्ट्रिय रुपमा नेपालमा कम्युनिष्टलाई एकीकृत पार्टीको रुपमा जीवित बनेको देख्न चाहन्छन्,’ कांग्रेस नेता रामहरी खतिवडाले उकेरासँग भने, ‘त्यो सम्भावना ओली हुन्जेल माधव नेपाल र प्रचण्डलाई छेउ पर्न नदिएपछि बाँकी भएका कम्युनिष्टहरु एक ठाउँमा ल्याउनु कुनै अनौठो होइन।’ 

एमालेको कम्युनिष्ट शक्ति हुँ भन्ने दावी र घमण्ड तोडिन पनि समाजवादी केन्द्र आवश्यक रहेको बुझाइ कांग्रेसभित्र छ। यस्तो अवस्थामा एमाले अझै कमजोर हुने भएकाले समेत कांग्रेस उत्साहित देखिन्छ।

‘यो मोर्चा बनेमा कम्युनिष्टभित्र पनि एमालेको दादागिरी अन्त्य हुन्छ। कांग्रेस आत्तिनुपर्ने कारण पनि छैन र आत्तिएका पनि छैनौं,’ खतिवडाले भने, ‘चुनावसम्म कांग्रेससँग मिल्ने मोर्चा समाजवादी मोर्चा हुन्छ। एमालेसँग कमल थापा, मधेशवादी दल, साना दलहरु एक समूहमा जान्छन्। उहाँहरु एक भएर आए राम्रो हुन्छ।’  

समाजवादी केन्द्र एमालेसँग नमिल्नेमा कांग्रेस ढुक्क छ। ‘भन्नलाई मात्र हो, कांग्रेससँगको तालमेल छोडेर उहाँहरु बाहिर जानुहुन्न र गएमा पनि उहाँहरुको हितमा छैन,’ कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले भने, ‘आज प्रचण्डले भने कांग्रेससँग हाम्रो सहकार्य हुन्छ।’ 

बिहीबार स्थायी कमिटी बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सहकार्यको च्याप्टर क्लोज भएको बताए।

‘अब आगामी चुनावसम्म एमालेसँग गठबन्धनको च्याप्टर क्लोज भयो,’ प्रचण्डले भने, ‘तत्कालका लागि त्यो सम्भावना छैन। हामी कांग्रेससँगकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ।’

१३ साउन, २०७९, १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।