हिजोका कुरामा खानेपानीका पूर्वमहानिर्देशक साह : पानीको अभावले खाना कम खाने चलन

हिजोका कुरामा खानेपानीका पूर्वमहानिर्देशक साह : पानीको अभावले खाना कम खाने चलन

विसं. २०१४ सालमा धनुषाको झोझिकटैयामा जन्मिएका रामदीप साह खानेपानी विभागका पूर्वकर्मचारी हुन्। गाउँकै राप्रा प्राथमिक विद्यालयमा पाँच कक्षासम्म अध्ययन गरेका उनले एसएलसी भने छिमेकी गाउँ बबनगामास्थित कन्टिरझा माध्यमिक विद्यालयबाट गरे।

२०३१ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएका उनले विज्ञान विषय अन्तर्गत भौतिकशास्त्र विषय लिएर सरस्वती हाई स्कुल जनकपुरबाट सर्टिफिकेट तह (तत्कालीन समयको प्लस टु शिक्षा) पूरा गरेका हुन्। प्लस टुपछि भारतको आइआइटी कानपुरबाट सिभिल इन्जिनियरिङ अध्यनन गरेर नेपाल फर्किएका साह रोजगारको सिलसिलामा काठमाडौं छिरेका हुन्।

सिभिल इन्जिनियरिङको सर्टिफिकेट हातमा लिएर काठमाडौं प्रवेश गरेका उनले लोकसेवा आयोगको परीक्षामार्फत खानेपानी विभागमा विभागीय इन्जिनियरको भूमिकाबाट आफ्नो करिअर सुरु गरे। 

विभागीय इन्जिनियर हुँदै विभागको महानिर्देशक र सहरी (खानेपानी) मन्त्रालयको सहसचिवको पदसम्म झन्डै ३० वर्ष खानेपानीसँग जोडिए उनी।

जनकपुर, सिरहा, चितवन, रोल्पा, धनकुटा, पाँचथर, भोजपुर लगायत नेपालका विभिन्न जिल्लाका ग्रामीण गाउँमा खानेपानी समस्याको हल गरेका साहले नेपालको गुरुयोजना मानिएको गुहेश्वरी फोहोर पानी प्रशोधन प्लान्टको निर्माण सम्पन्न गराए।

सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल सोफेनका पूर्वअध्यक्ष समेत रहेका साह यतिबेला स्मार्ट वास सोलुसन नामक संस्थामार्फत खानेपानीको जल्दोबल्दो समस्याको दिगो समाधान खोज्नमा व्यस्त छन्।

लामो समयसम्म एउटै विभागमा रही खानेपानी समस्या समाधानमा महत्वपूर्ण भूमिका निभाएका साह आफ्नो व्यक्तिगत र पेसागत अनुभव यसरी सम्झिन्छन्: 

भोज-भत्तेरमा डेजर्टको रुपमा प्रयोग हुने आँपको त्यो अमोट
घरको काम सघाइदेला भन्ने आशाले बुबा-आमाले मलाई एसएलसीसम्म गाउँकै विद्यालयमा पढाउनुभयो। दाइ अध्ययनको सिलसिलामा घरबाट जनकपुर जानुभएको थियो। फुपु र दिदी-बहिनीको बिहे भइसकेको थियो। त्यसैले विद्यालयको छुट्टि भएपछि धान काट्ने, गहुँ काट्ने, आँपको हेरचाह गर्ने, वस्तुभाव हेर्ने लगायत घरका काममा म बुबा-आमालाई सघाइउँथें।

हाम्रो आँपको ठूलो बगैंचा थियो। प्रशस्त आँप फल्थ्यो। बगैंचाको हेरचाह गर्ने जिम्मा प्राय: मेरो हुन्थ्यो। आँप बिक्री गर्ने चलन थिएन। जति आँप फल्थ्यो, टिपेर दुई फुपु र चार दिदी-बहिनीको घरमा टिपेर पुर्याइदिनुपर्थ्यो। 

आफन्तजन, छिमेकी, खेतपातीमा सघाइदिने र बारीको काम गर्ने हर्वा (हलिया)हरु सबैलाई अनिवार्य आँप बाँड्ने चलन थियो। आँप बाँड्नका लागि भरिया नै राखिएको हुन्थ्यो। भरिया आफ्ना दुवै काँधमा आँप राखेर बाँड्न निस्कन्थे।

बाँडेर पनि बढी भएको पाकेको आँपको अमोट बनाउने गरिन्थ्यो। पाकेको आपको रस निचोरेर तह-तह बनाएर घाममा सुकाइन्थ्यो। जसलाई अमोट भनिन्थ्यो। आँप नफल्ने मौसममा त्यो अमोटले अचेल प्रचलनमा रहेको खानापछि डेजर्ट वा दही/दूधको काम गर्थ्यो।

भोज-भत्तेरको समयमा दही-दूध संकट पर्यो भने खानापछि अमोटलाई पानीमा घोलेर खाने चलन थियो। त्यही अमोटले आँपको जुसको रुपमा पनि काम गर्थ्यो। 

काँचो आँपबाट भने अचार बनाउने र खानासँग खाने गरिन्थ्यो। अचेल त आपको अमोट र अचार बनाउने चलन नै हटिसक्यो। आँप पनि भारतबाट निर्यात गर्नुपर्छ। 

दूतावासबाट ढिला पुगेको इन्जिनियरिङ अफरको चिठी
जनकपुरको सरस्वती हाई स्कुलबाट विज्ञान विषयमा नियमित पास हुने ५० विद्यार्थीमध्ये म लगायत चार जना थियौं। हाम्रो पालामा प्लस टुलाई ‘सर्टिफिकेट तह’ भनिन्थ्यो। प्लस टुमा मैले विज्ञान विषय अन्तर्गत भौतिकशास्त्र अध्ययन गरेकोले सिभिल इन्जिनियरिङ विषय पढ्ने सोच बनाएको थिएँ। तर मसँग विषयसँग सम्बन्धित ज्ञान भने थिएन।

वि.सं. २०३२ सालतिर जनकपुरबाट काठमाडौं आउने विद्यार्थीको संख्या न्यून हुन्थ्यो। तैपनि, काठमाडौमा विभिन्न अवसरहरु पाइन्छन् भन्ने मैले सुनेको थिएँ। 

नेपालमा इन्जिनियरिङ शिक्षा पढाइ हुँदैनथ्यो। ओभरसियर र डिप्लोमा तहको पढाइ मात्र हुन्थ्यो। 

काठमाडौं आएपछि मैले सार्क मुलुकका विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गर्ने कोलम्बो प्लानबारे थाहा पाएँ। कालेम्बो प्लानले मेडिकल, इन्जिनियरिङ, कृषि लगायत विभिन्न विधामा विदेशमा अध्ययनका लागि एसएलसीमा राम्रो अंक ल्याउने विद्यार्थीको लागि सीमित सिटको छात्रवृत्ति अवसर उपलब्ध गराइदिएको हुन्थ्यो। नेपालभरका विद्यार्थीले आवेदन दिएका हुन्थे। कडा प्रतिस्पर्धा हुन्थ्यो।

एसएलसीमा मैले प्रथम श्रेणीमा उत्तीर्ण गरेको भए पनि प्रतिशत कम थियो। सोही कारण कोलम्बो प्लानमा आवेदन दिए पनि छनोटमा पर्ने सम्भावना कम थियो। सोही कारण समय बर्वाद नहोस् भनेर त्रिचन्द्र कलेजमा बिएससीमा तथ्यांकशास्त्र मेजर विषय लिएर भर्ना भएँ। तर इन्जिनियरिङ पढ्ने चाहना भने मरेको थिएन। 

इन्जिनियरिङ अध्ययनका लागि या त कोलम्बो प्लानमा छनोट हुनुपर्थ्यो नभए आफ्नै लगानीमा भारत या अन्य मुलुक जानुपर्थ्यो। 

त्रिचन्द्रमा पढ्दा बागबजारको डेरामा सँगै बस्ने तीन जना साथीमध्ये एक जनाको कोलम्बो प्लानमा नाम छनोट भएको थियो भने अर्को साथीको मेडिकलमा छनोट भएर अध्ययनका लागि गइसकेको थियो।

सोही बीचमा मैले काठमाडौंमा रहेको भारतीय दूतावासमार्फत भारतमा इन्जिनियरिङ अध्ययनको लागि फारम भरेको थिएँ। फारम भर्दा मैले दिइएकामध्ये तीन वटा विकल्पमा चिह्न लगाएको थिएँ, पहिलोमा मुजप्फरपुर इन्जिनियरिङ कलेज, दोस्रोमा इलाहावाद इन्जिनियरिङ कलेज र तेस्रोमा इन्डियन इन्स्टिच्युट फ टेक्नोलोजी आइआइटी कानपुर।

फारम भर्दा अहिलेजस्तो न इन्टरनेटको सुविधा थियो न त अरु कसैमार्फत कुन कलेज कस्तो छ र कुन विषय अध्ययन गर्दा अवसर राम्रो पाइन्छ भन्नेबारे थाहा हुन्थ्यो। त्यसैले फारम भर्ने बेलासम्म यी तीन वटै कलेजबारे मलाई सामान्य ज्ञान पनि थिएन। जबकी, आइआइटी त्यो बेलादेखि नै विश्वव्यापी रुपमा प्रख्यात थियो।

यता कलेजमा साउन-भदौमा एक महिना लामो छुट्टी चलिरहेको थियो। छुट्टीको समयमा म गाउँ गएको थिएँ। मैले आवेदन दिएकामध्ये आइआइटी कानपुरमा मेरो नाम छनोट भएको भन्दै युनिभर्सिटीले पत्र पठाएको रहेछ। त्यो पत्र युनिभर्सिटीमा पढाइ सुरु भएको एक महिनापछि मात्र मेरो हातमा पुग्यो। 

युनिभर्सिटीले कानपुरबाट पठाएको पत्र भारतीय दूतावासमा आइपुगेको रहेछ। उता युनिभर्सिटीमा मेरो पढाइ जुलाई दोस्रो सातादेखि सुरु भइसकेछ। दूतावासले पठाएको त्यो चिठी घुम्दै-घुम्दै लामो समयपछि (अगष्ट पहिलो साता) मेरो हातमा पुग्यो।

चिठी हात परेपछि दुई दिनमा बोरिया-विस्तर बाँधेर मुजफ्फरपुरबाट एक्लै पढाइको लागि कानपुर गएँ। १५ अगष्टमा कान पुगेको थिएँ। त्यस दिन भारतले आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको थियो। सोही कारण युनिभर्सिटी पनि बन्द थियो।

युनिभर्सिटीमा पुगेपछि मभन्दा अघिल्लो ब्याचका नेपाली विद्यार्थीले मेरो भर्ना, त्यहाँको बसाइमा सहयोग गरे। अचेल चार वर्षे भए पनि त्यतिबेला पाँच वर्षे इन्जिनियरिङ कोर्स हुन्थ्यो। खान, बस्न र कलेज शुल्क तिर्न त्यो बेला मासिक ५ सय भारतीय रुपैयाले पुग्थ्यो। यसरी मैले सन् १९७७ मा आइआइटी कानपुरमा सिभिल इन्जिनियरिङमा भर्ना भएर १९८२ मा पढाइ पूरा गरेको थिएँ।

हेलाको क्षेत्र खानेपानी  
इन्जिनियरिङ विषय अध्ययनपछि तुरुन्तै नेपाल फर्किएँ। नेपाल फर्केपछि जागिरबारे सोच्न थालें। सहजै जागिर पाउने अवस्था थिएन। त्यो बेला सडक र सिंचाई क्षेत्र जागिरको लागि राम्रो मानिन्थ्यो। जोसँग पहुँच छ उसैले सडक र सिँचाई क्षेत्रमा सहजै जागिर पाउँथ्यो।

म तराई मुलको मान्छे, मसँग न कुनै सोर्स थियो न पहुँच। जागिर पायो भने पनि त्यही खानेपानी वा त्यस बाहेक जुन क्षेत्र भेट्यो त्यसैमा काम गर्ने मनसाय बनाउनुपर्थ्यो। सडक र सिंचाईको जस्तो खानेपानी क्षेत्र राम्रो मानिंदैनथ्यो। खानेपानी क्षेत्र हेलाको क्षेत्रजस्तै थियो।

खानेपानी क्षेत्र नयाँ भएकोले पनि त्यसमा काम गर्न कसैले पनि रुचाउँदैनथे। खानेपानी क्षेत्रमा कामको प्रकृति के-कस्तो हुन्छ भन्नेबारे कोही पनि जानकार हुँदैनथे। सरकारको प्राथमिकतामा सडक निर्माण र सिँचाई कार्य भएकोले लगानी पनि त्यहि क्षेत्रमा बढी हुन्थ्यो र जागिरको भविष्यबारे मानिसले सहजै अडकल लगाउन सक्थे।

यता सँगै पास गरेका अन्य एक/दुई जना साथीले पनि भर्खर जागिर सुरु गरेका थिए। उनीहरुले ‘अरु क्षेत्रमा काम पाउन गाह्रो छ, खानेपानीमा भइहाल्छ, तिमी छिट्टै काठमाडौ आइहाल’ भनेका थिए। यसरी जागिरको खोजीमा म काठमाडौं आएको थिएँ।

जागिरकै खोजीमा एक दिन खानेपानी विभागमा पुगेको थिएँ। विभागमा कार्यरत एक जना कर्मचारीले ‘आवेदन दिएर भोलिदेखि नै काममा आउनूस्’ भन्नुभएको थियो। विभागले तत्काल मलाई अस्थायी नियुक्तिमा राखेको थियो।

काम गर्न थालेको केही दिनमै विभागले मलाई आफ्नो गृह जिल्ला जनकपुरमा खानेपानी समिति (हालको खानेपानी संस्थान)को कामको लागि खटाइदिएको थियो। 

जनकपुरमा डेढ वर्ष काम गर्ने क्रममा मैले खानेपानी क्षेत्रमा काम गर्ने ज्ञान सिक्दै गएँ भने यस क्षेत्रमा काम गर्न रुचि पनि बढ्दै गयो। सोही समयमा लोकसेवाले सडक, सिंचाई र खानेपानीको लागि १७ जना इन्जिनियर माग गर्यो। त्यसमा मैले पनि आवेदन दिएँ।

त्यतिबेला लोकसेवाले लिखित परीक्षा लिँदैनथ्यो। सर्टिफिकेटको आधारमा मौखिक परीक्षा मात्र हुन्थ्यो। सो परीक्षामा मैले दोस्रो नम्बरमा नाम निकालें। यसरी खानेपानी क्षेत्रमा मेरो करिअर सुरु भएको थियो। 

पानीको अभावले खाना कम खाने चलन
मैले विभागमा काम सुरु गर्दा खानेपानीको समस्या कायम थियो। त्यतिबेला गाउँघरतिर ‘जसले पानी खुवायो, उसले पुण्य प्राप्त गर्छ’ भन्ने भनाइ चर्चित थियो। इनारको पानी खुवाएपछि धर्म प्राप्ति हुन्छ भन्ने मान्यता थियो। यहि भनाइलाई मैले प्रेरणाको रुपमा लिएको थिएँ।

खानेपानी क्षेत्रमा प्रवेश गरेपछि मनमा लाग्न थाल्यो, ‘हाम्रो काम नै देशभरका जनतालाई पानी खुवाउने हो, खानेपानीको समस्या सुल्झाउन नयाँ-नयाँ परियोजना ल्याउने हो र धर्म कमाउने हो।’ 

गाउँका मान्छे सरसफाइ भनेपछि निकै पछाडि थिए। हाम्रोतिर पनि शौच जानुपर्यो भने साँझतिर निस्क्यो, पोखरीका डिलतिर दिसा गर्दै गफगाफ गर्ने र फर्किने चलन थियो। शौचालय र पानी अभावका कारण दिसा गर्न नपरोस भनेर खाना पनि कम खान्थे। 

तराईमा इनार या चापाकल (ट्युबेल) हुन्थ्यो। चापाकल धनी व्यक्तिहरुको घरमा मात्र हुन्थ्यो। सर्वसाधारणको पहुँचमा हुँदैनथ्यो। चौबाटोहरुमा सार्वजनिक जमिन वा कुनै व्यक्तिले धर्म कमाउन इनार खनिदिएका हुन्थे। आफूसँग ट्युबेल नहुनेहरु साझा इनारमा गएर पानी थाप्ने गर्थे। गर्मीयाममा पानी थाप्नेको लाइन हुन्थ्यो। 

यति मात्र नभई खानेपानीसँगै सरसफाइको समस्या थियो। सरसफाइ अभावकै कारण ससुरा गएको शौचालयमा बुहारी नजाने पनि हुन्थ्यो। अहिले भने त्यस्तो समस्या छैन।

ऊबेला देशका विभिन्न गाउँका मान्छे सरसफाइ भनेपछि निकै पछाडि थिए। हाम्रोतिर पनि शौच जानुपर्यो भने साँझतिर निस्क्यो, पोखरीका डिलतिर दिसा गर्दै गफगाफ गर्ने र फर्किने चलन थियो। शौचालय र पानी अभावका कारण दिसा गर्न नपरोस भनेर खाना पनि कम खान्थे। 

२०४१ सालतिरको कुरा हो। म विभागीय इन्जिनियर भइसकेपछि तराईमा खानेपानीको समस्या कम होस् भन्ने अवधारणासहित मैले योजना बनाएँ। 

स्थानीयको मागबमोजिम आफूले काम गरेको क्षेत्रमा पानीको अभाव कम गर्न आफैंले डिजाइन तयार गरें र योजना बनाएँ। त्यो योजना सरकारसमक्ष पुग्यो र प्राथमिकताअनुसार पानीको संकट कम गर्न सिरहा, सुनसरी र धनुषा गरी तराईका विभिन्न जिल्लामा ट्युबेलन कार्यक्रम लागू गर्यौं।

खानेपानीको समस्या समाधानका लागि हरेकको घरमा ट्युबेल दिन सक्ने अवस्था थिएन। यसरी सुरुमा सरकारी तवरबाटै सिरहाको उत्तरी भेगको गाउँमा हामीले थुप्रै इनार बनायौं। त्यस क्षेत्रको जनसंख्यालाई धान्न सक्ने गरी टोल-टोलमा इनार र ट्युबेल जडान गरिदियौं।

सिरहा, धनुषा, सुनसरीमा इन्जिनियर हुँदै विभागीय इन्जिनियरको भूमिका निभाएर मेरो नेतृत्वमा पहिलो १० वर्ष सर्वसाधारणलाई खानेपानीको समस्या केही हदसम्म पार लगाइएको थियो।  

रोल्पाको त्यो यात्रा, पहिलो पटक घोडा चढ्दा
तराई भेगमा झन्डै १० वर्ष काम गरेपछि सन् १९९० मा सरकारले मलाई विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको छात्रवृत्तिमार्फत नेदरल्याण्डमा स्नात्तकोत्तर अध्ययन गर्न पठाएको थियो। सो छात्रवृत्तिमार्फत ११ महिने स्यानिटरी इन्जिनियरिङ कोर्स अध्ययन फर्केपछि पुन: खानेपानी विभागले मलाई डिभिजनल इन्जिनियरको भूमिकामा दुई वर्षको लागि खानेपानी डिभिजनल कार्यालय रोल्पामा सरुवा गरिदियो।

हत्तपत्त विभागको उच्च तहको व्यक्ति कामको लागि विकट जिल्लातिर जान मान्दैनथे। ओभरसियर वा त्योभन्दा जुनियर व्यक्तिले मात्र दुर्गम क्षेत्रको काम सम्हाल्ने गर्थे। नेदरल्याण्डमा अध्ययन गरेर फर्केपछि मलाई पनि रोल्पा जाने इच्छा थिएन। तर सरुवा नै त्यहाँ भएपछि मसँगै अन्य विकल्प थिएन। साथै मलाई चुनौती सामना गर्न डर नलाग्ने भएकोले त्यहाँ जान तयार भएको थिएँ। 

रोल्पा जाँदा काठमाडौंबाट म एक्लै थिएँ। दाङसम्म गाडीमा गएको थिए। त्यहाँबाट रोल्पासम्म गाडी चल्दैनथ्यो। ऊबेला गाडी नपुगेका विकट क्षेत्रका विभिन्न कार्यालयले सवारी साधनको रुपमा घोडा राखेका हुन्थे। 

पहाडी क्षेत्रमा सूचना सन्देश पठाउन सञ्चारको रुपमा आकाशवाणी प्रयोग हुन्थ्यो। तराईको मान्छे हिँडेर पहाड जान सक्ने अवस्था थिएन।

दाङ पुगेपछि मैले कार्यक्षेत्रसम्म पुग्न आकाशवाणीमार्फत सन्देश पठाएर कार्यालयबाट घोडा मगाएको थिएँ। त्यसअघि घोडा देखेको भए पनि चढेको भने थिइनँ। रोल्पा जाँदा जीवनमा पहिलो पटक घोडा चढेको थिएँ।

रोल्पा जाँदा काठमाडौंबाट म एक्लै थिएँ। दाङसम्म गाडीमा गएको थिए। त्यहाँबाट रोल्पासम्म गाडी चल्दैनथ्यो। ऊबेला गाडी नपुगेका विकट क्षेत्रका विभिन्न कार्यालयले सवारी साधनको रुपमा घोडा राखेका हुन्थे। 

घोडा चढेपछि डर लाग्थ्यो। उकालोमा जाँदा पछाडि खस्ने हो कि भन्ने डरले पिरोल्थ्यो। ओराली झर्दा लडिन्छ कि भनेर मुटु काप्थ्यो। घोडा चढेर रोल्पा नपुगिन्जेल अधिकांश समय आँखा चिम्लेर यात्रा गर्थें। त्यहाँका स्थानीय, माओवादी र अफिसका स्टाफ सबै सहयोगी भावनाका थिए।

म रोल्पामा हुँदा सरकार र माओवदीबीच द्वन्द्व चर्किरहेको थियो। हामीले रोल्पा छोड्ने बेलामा गिरिजाप्रसाद कोइरालाले माओवादी विरुद्ध सेना परिचालन गरिसकेका थिए। माहोल निकै त्रसित थियो। 

माओवादीले सरकारी कर्मचारी र सरकारको पक्षमा काम गर्ने व्यक्तिलाई खोजी-खोजी नियन्त्रणमा लिने भए पनि हामीलाई भने केही गरेका थिएनन्। जिल्लामा हाम्रो पहिचान राम्रो भएकोले खानेपानीको कर्मचारी भनेपछि थुनेको भए पनि छोडिदिन्थे। विकासको खानेपानीको काममा साथ दिनुपर्छ भन्ने उनीहरुको मान्यता थियो। त्यसैले हामी ढुक्कसँग आफ्नो काम गर्थ्यौं।  

वास्तवमा रोल्पाको काम चुनौतीपुर्ण थियो। खानेपानी निर्माणको क्रममा चाहिने सामग्री अफिसले खरिद गरेको हुन्थ्यो। सिमेन्ट र पाइपहरु मानिस र खच्चडबाट निर्माणस्थलसम्म पुर्याउनुपर्थ्यो। भीरपाखा, खानेपानीको चरम अभाव भएकोले फिल्डमा गएर सोहीअनुसार डिजाइन बनाउँथे।

राप्ति नजिकै एउटा खोङ्णी नामक गाउँ थियो। त्यो गाउँमा खानेपानीको निकै अभाव थियो। त्यो गाउँमा पानी पुर्याउन आफैंले डिजाइन गरें र आठ महिनाभित्रमै काम सम्पन्न गर्न सफल भयौं। छोटो समयमा आफैंले डिजाइन गरेर आफ्नै हातबाट परियोजना सम्पन्न गरी मन्त्रीको हातबाट खानेपानीको उद्घाटन गर्न हामी सफल भएका थियौं।

यसरी रोल्पाको घोडागाउँ, जौलीपोखरी, मुवागाउँ लगायत विभिन्न गाउँमा करिब १५ वटा सानातिना खानेपानी परियोजना हामीले सम्पन्न गर्यौं। 

हाम्रो परियोजना गाउँमा पुग्नुअघि रोल्पाका बासिन्दाले कुवाबाट पानी ल्याउँथे। घरदेखि टाढाटाढा कुवा खनिएका हुन्थे। सुख्खायाममा कुवाको पानी सुक्ने गर्थ्यो। पानी सुकेको मौसममा डाँडाबाट पानी लिन नदीसम्म पुग्थे। दुईदेखि पाँच घण्टा उकालीओराली गरेर खानेपानीको जोहो टार्थे। त्यो बेला सबैतिर पानीको हाहाकार थियो। मेरो कार्यकालमा सबैभन्दा पानीको विकराल स्थिति कतै थियो भने रोल्पामा थियो। 

रोल्पाको परियोजना सम्पन्न भइसकेपछि म डिभिजनल इन्जिनियरको रुपमा चितवन आएँ। चितवनमा तीन वर्ष कार्यकाल बिताएँ। सो अवधिमा चितवनको क्यान्सर अस्पताल भवनमा जमिनमुनिको पानी प्रयोग हुन्थ्यो। मैले अस्पताल भवनमा सुरुदेखि नै डिजाइन गरेर ओभरहेड ट्यांक बनाए र पूरै अस्पतालको धारामा पानी आउने गरी काम सम्पन्न गराएको थिएँ।

खानेपानीको अहिलेको चुनौती 
पछिल्लो समय खानेपानीको क्षेत्रमा नयाँखाले समस्या उब्जेका छन्। ऊबेला धारामा ल्याइएका पानीका थुप्रै मुहानहरु सुकिसके। पहिलेका ट्युबेलहरु घट्दै गएका छन्। जमिनको पानीको दोहन बढेको छ। पहिले तराईमा ट्युबेल खन्दा ४० देखि ५० फिटमा पानी निस्किन्थ्यो। पछि गएर त्यही ट्युबेल डेढ सय फिटमा गाड्नुपर्थ्यो। अहिले ४ सय फिट गहिराइसम्म खन्दा पनि सुख्खा मौसममा पानी आउँदैन। 

प्रदूषणको कारण खोलाखोल्सीको पानी दूषित भइरहेको छ। जसका कारण पानीको स्रोत सुक्दै गएको अवस्था छ। जलवायु परिवर्तनका कारण बेमौसमी वर्षा (अतिवृष्टि र खण्डवृष्टि)ले पनि पानीको मुहान सुक्दै गएका छन्,  पानीको स्रोतमा असर परिरहेको छ। जसका कारण साना आयोजनाहरु कम प्रभावकारी बन्दै गएका छन्।

अबको अवधारणामा ठूल्ठूला जलासय बनाएर, पानी जम्मा गरेर, बहुआयामामिक योजनाको अवधारणा बनाउनुपर्ने बाध्यता आइसकेको छ। 

बाग्मती ढल : चुनौतीपूर्ण परियोजना 
१९९९ मा अधिकारसम्पन्न बाग्मती ढल निर्माण आयोजना सरकारको प्राथमिकतामा थियो। सो आयोजनाले ठेक्का पाइसकेको थियो तर काम भने सुरु गरेको थिएन। चितवनबाट काठमाडौं फर्केपछि मैले त्यस आयोजनाको काम सम्हाल्ने जिम्मा पाएको थिएँ। 

प्रदूषणको कारण खोलाखोल्सीको पानी दूषित भइरहेको छ। जसका कारण पानीको स्रोत सुक्दै गएको अवस्था छ। जलवायु परिवर्तनका कारण बेमौसमी वर्षा (अतिवृष्टि र खण्डवृष्टि)ले पनि पानीको मुहान सुक्दै गएका छन्,  पानीको स्रोतमा असर परिरहेको छ। जसका कारण साना आयोजनाहरु कम प्रभावकारी बन्दै गएका छन्।

हालको गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रमा म आउँदा केवल अफिस खोलेर राखिएको थियो। जग्गा मात्र खाली गराइएको थियो। टनेल र प्लान्टको काम गर्न नसकेर ठेकेदारले बीचमै काम छोडेर भागेको थियो। त्यसपछि सबै काम ठप्प बनेको थियो।

आयोजनाको काम पुन: सुचारु गर्ने भनेपछि एउटा समिति बनेको थियो। समितिको अध्यक्षमा विदुर पौडेल हुनुहुन्थ्यो। विज्ञहरु, स्थानीय प्रतिनिधि, नापी विभाग, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय लगायत विभिन्न कार्यालयका सदस्यहरुलाई समितिमा राखिएको हुन्थ्यो। आयोजनासम्बन्धी सबै निर्णयहरु बोर्डले मात्र गर्न पाउँथ्यो।

मैले त्यस परियोजनाको आयोजना प्रमुख तथा सदस्य सचिव भएर काम सुरु गरेको थिएँ। अरु निर्णय बोर्डले गरे पनि कार्यान्वयनको जिम्मा भने मेरो काँधमा थियो। यसरी विभिन्न चरणमा काम अघि बढाएका थियौं।

मेरो टिममा पाँच जना थियौ। मैले विभिन्न चरणमा बैठक गराउँदै केही दिनभित्र टनेल बनाउन प्रस्ताव राखेको थिएँ। सो प्रस्ताव मन्त्रालयबाट स्वीकृत भएको थियो।

त्यसपश्चात एक वर्षभित्रै टनेलको काम सिध्याउने गरी चिनियाँ कम्पनीलाई टनेल निर्माणको जिम्मा दिएको थिएँ। त्यो काम समयमै सम्पन्न गर्न २४सै घण्टा निर्माण कार्य अघि बढाएको थिएँ। कामको निरीक्षणको लागि म स्वयं कहिले राति दुई बजे, कहिले १२ बजे निर्माण स्थलमा खटिन्थें। कहिलेकाहीँ रातको समयमा टनेलभित्रको अवस्थाबारे बुझ्न आफैं जान्थे।

त्यो टनेल गुहेश्वरीको डाँडाबाट निस्केर तल तिलगंगासम्म निस्कने बनायौं। यसरी लक्ष्यअगावै टनेल निर्माणको काम सम्पन्न भएको थियो। 

सो आयोजनाको टनेल र प्लान्ट निर्माण मेरो जीवनको सबैभन्दा चुनौतीपूर्ण परियोजना थियो। टनेल बनाइएको क्षेत्रको भूवनोट बलौटे माटो सहितको छ। त्यस्तोमा टनेल खन्नु आफ्नै लागि खाडल खन्नु सरहको काम थियो। कतिखेर भत्किन्छ थाहा हुँदैनथ्यो। आफ्नो ज्यानको बाजी लगाएर त्यो काम सम्पन्न गर्यौं।

योसँगै प्रशोधन केन्द्रको निर्माण गरी परीक्षण गरेर दुई वर्षभित्रमै सञ्चालन गरायौं। सन् २००० मा सुरु भएको निर्माण योजना २००२ बाट त सञ्चालनमै आएको थियो। यो काम सम्पन्न भएपछि आत्मसन्तुष्टि मिल्यो, जुन मेरो कार्यकालभरको ठूलो, सफल र चुनौतीपूर्ण परियोजना थियो।

सो परियोजनाको डिजाइन पहिले नै बनिसकेको भए पनि निर्माणको क्रममा केही डिजाइन भने संशोधन गरी कार्यान्वयनमा ल्याएका थियौं। हामीसँग दक्ष व्यक्ति नभए पनि क्यानडामा इन्जिनियरको रुपमा कार्यरत नेपाली टनेल विज्ञ नरेश कोइरालालाई क्यानडाबाट झिकाएर सुपरभिजनको जिम्मा दिएका थियौं।

त्यस्तै ट्रिटमेन्ट प्लान्टको लागि नेपालमा विज्ञहरु नभएकोले भारत र स्वीट्जरल्याण्डका विज्ञहरुलाई दुई/तीन महिनामा एक पटक बोलाएर काम गर्थ्यौं। आफूसँग दक्ष जनशक्ती नभए पनि हामीले काम नरोकी सम्पन्न गर्यौं।

सोही कारण पनि हुनसक्छ, सो आयोजना अधिकांश राजनीतिक दलका नेताहरुको चासोको परियोजना थियो। माधवकुमार नेपाल, केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत थुप्रै व्यक्तिको चासोको परियोजना थियो।

सो परियोजना सम्पन्न भइसकेपछि विभिन्न दलका नेता, विभिन्न क्षेत्रका व्यक्तिहरु अवलोकन भ्रमण गर्न पुग्ने गरेका थिए। 

१२ साउन, २०७९, १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।