हिजोका कुरामा जलवायु अभियन्ता पिके शेर्पा : पदयात्रामा फोहोर टिप्दा गाली गर्ने यी नेपाली, टिप्स दिने ती विदेशी

हिजोका कुरामा जलवायु अभियन्ता पिके शेर्पा : पदयात्रामा फोहोर टिप्दा गाली गर्ने यी नेपाली, टिप्स दिने ती विदेशी

२०३२ सालमा ताप्लेजुङको मैयाखोला, खुम्साथेनमा जन्मिएका हिमाल आरोही पिके अर्थात् पूर्णकुमार शेर्पा जलवायु अभियन्ता हुन्।

‘हिउँ रहे पानी, पानी रहे जीवन’, ‘प्रकृति जोगाऔं, जलवायु परिवर्तन र पृथ्वीको तापमान न्यूनीकरण गरौं’ भन्ने नारासहित प्रकृति संरक्षणको लागि सात प्रदेश, सात महादेश, सात समुद्र जनचेतना महाअभियानमा खटिएका छन् उनी।

विगत तीन दशकदेखि प्रकृति र हिउँ संरक्षणको अभियानमा लागेका पिकेलाई १८ वर्षीय छोरा सोनम शेर्पाले पनि साथ दिएका छन्।

बाबु-छोराले चलाएको सो अभियानको मुख्य सन्देश हो, वर्तमान पुस्ताले भावी पुस्ताको लागि गर्नुपर्ने पृथ्वीको चिन्ता। यी बाबु-छोराले एकै पटक सगरमाथा आरोहणको कीर्तिमानसमेत राखिसकेका छन्।

प्रकृति संरक्षणको यो अभियान अन्तर्गत पिके र उनका छोराले ठाउँ-ठाउँमा गएर समूह खडा गर्ने मात्र नभई प्रकृति संरक्षणको लागि नीति-निर्माताहरुको ढोका ढक्ढकाएर दबाब समेत दिइरहेका छन्। देशका विभिन्न ठाउँमा वृक्षरोपण, फोहोर-मैला व्यवस्थापनको काम गरिहेका छन्। 

आफ्नो जीवनको सुरुवातमा पर्यटकको पोर्टरको रुपमा काम गरेका पिकेले हिमाल र पदयात्राको क्रममा बाटोमा फालिएका फोहोर संकलन गरे। थुप्रै मुलुकका सयौं पर्यटकलाई नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा घुमाए।

प्रकृति संरक्षणमा सक्रियता देखाउँदै आएका पिके सो कार्य गरेवापत सरकारी एवं गैरसरकारी निकायबाट थुप्रै पटक सम्मानित भइसकेका छन्। प्रकृति संरक्षणको लागि जनचेतनामुलक अभियानमा लागेका बाबु-छोराको कार्यले पछिल्लो पटक मिडियासामु समय चर्चा पाउँदै आएको छ।

लामो समयदेखि हिमाल आरोहण र पदयात्राको क्रममा आफूले नजिकबाट देखे/भोगेका अनुभवलाई पिकेले उकेरासँग साटेका छन्।

सानोमा बुबासँग डर, प्रकृतिसँग प्रेम
म ताप्लेजुङको एक सामान्य परिवारमा जन्में/हुर्कें। गाउँमा पढ्नुपर्छ, शिक्षित बन्नुपर्छ भन्ने चेतना थिएन। कमजोर आर्थिक अवस्था र एक घण्टाको दूरीमा विद्यालय भएकाले महिनामा कहिलेकाहीँ स्कुल जान्थें।

हामी १० जना दाजु-बहिनी। मेरा दुई जना बुबाबाट जन्मिएका सबैलाई आमाले आफूसँगै राखेर हुर्काउनुभएको थियो। हाम्रो लालन-पालन आमाको काँधमा थियो। मेरो बुबा बितेपछि आमाले देवर (मेरो काका)सँग बिहे गर्नुभएको हो।

मेरो आफ्नो बुबा त्यतिबेला (पञ्चायत)को प्रहरीमा हुनुहुन्थ्यो। बुबाको जागिर पाँचथर, ताप्लेजुङको मुख्य केन्द्रतिर भएकोले उहाँ वर्ष दिनमा एक पटक मात्र घर आउनुहुन्थ्यो। बुबा-आमाबीच कुराकानी, भेटघाट हुँदैनथ्यो। सोही कारण मैले पनि बुबासँग धेरै समय बिताउन पाएको थिइनँ।

सो समयमा प्रहरीसँग मानिसहरु निकै डराउँथे। ‘तेरो बुबा त प्रहरी हो, तँलाई डर लाग्दैन?’ गाउँलेहरुले यसरी भनेपछि मलाई पनि बुबासँग विनाकारण डर लाग्थ्यो। 

एक पल्ट म १५ वर्षको हुँदा बुबाले मलाई आफ्नो क्वार्टरतिर घुमाउन लग्नुभएको थियो। बुबाले मलाई छोरा भनेर चिनाउनु हुन्थ्यो। मलाई भने अन्य प्रहरीसँग झनै डर लाग्थ्यो। यसरी बुबासँग म कहिल्यै पनि नजिक हुन सकिनँ।

बुबा गाउँभरिको पहिलो र एक्लो प्रहरी भए पनि सिंगो गाउँ नै उहाँसँग तर्सिन्थ्यो। डरकै कारण हामीलाई पनि बुबा प्रहरी भएकोमा कुनै गर्व लाग्दैनथ्यो। 

राम्रो लुगा लगाउन पाइँदैनथ्यो। हावापानीको कारण खेतीपाती कम र उब्जनी पनि कम हुन्थ्यो। आफ्नो बारीमा उब्जेको अन्नले जम्मा तीन महिनामात्र खान पुग्थ्यो। बाँकी ९ महिनाको लागि निकै दु:ख गर्नुपर्थ्यो।

दुर्गम भएकोले खाद्य सामग्री गाउँमा पुग्दैनथ्यो। पुगेको सामग्री पनि किन्न सकिँदैनथ्यो। त्यसैले पेटभर खान पाइँदैनथ्यो। कहिलेकाहीँ आमाले भन्ने गर्नुहुन्थ्यो, ‘के खानेकुरा आकाशबाट आउँछ?’ सोही कारण हामीले पनि भारी बोकेर जीविकोपार्जन गर्नुपर्थ्यो।

गाउँमा अचेल गाडि पुगे पनि त्यतिबेला एक हप्ताजसो हिँडेर नुनतेल, चामल बोकेर ल्याउनुपर्थ्यो। भारी बोकेर थोरै भए पनि पैसा कमाउँथ्यौं। पढ्न जाँदा पनि भारी बोकेर, आफैंले बनाएको घुम, डोको, नाम्लो, मान्द्रो बनाएर बेच्थ्यौं र त्यसबाट आएको पैसाले स्कुलको शुल्क तिर्ने गर्थ्यौं। 

मेरो घरबाट सेताम्य कञ्चनजंघा हिमाल देखिन्थ्यो। बाल्यकालमा बाह्रै महिना सेताम्य देखिन्थ्यो तर त्यो हिउँको महत्व हामीलाई थाहा हुँदैनथ्यो।

जतिजति समय बित्दै गयो, त्यो हिमाल पग्लिएर काला पहाडमा परिणत हुँदै गएको देखें र मलाई चिन्तित बनायो। अहिलेको प्रकृति संरक्षण अभियानको प्रेरणादायी स्रोत नै मेरो ऊबेलाको प्राकृतिक परिवेश थियो। न त बुबा न त आमा, प्रकृतिबाटै म यो अभियानप्रति प्रेरित भएको थिएँ।

मलाई सानो छँदा लाग्ने गर्थ्यो, ‘हामीलाई सानो चोटपटक लाग्दा त यस्तो दुख्छ भने यो माटो, बिरुवा, जीवहरुलाई कति दुख्दो होला?’ म मनमनै प्रश्न गर्थें। कोदालोले खन्दा माटोलाई र रुखलाई काट्दा किन दुख्दैन होला भन्दै त्यो पीडालाई आफ्नो शरीरसँग तुलना गर्थें। सो समयमा मलाई आफूलाई महसुस भएको कुरा व्यक्त समेत गर्न सक्दैनथें।

जब म हुर्किंदै गएँ, प्रकृतिबारे थप बुझ्दै गएँ, अध्ययन गर्न थालें। त्यसपछि मलाई धर्तीसँगको सम्बन्धबारे ज्ञान र प्रकृतिप्रतिको प्रेम बढ्दै गयो। प्रकृतिमैत्री क्रियाकलाप गर्न थालें र प्रकृति संरक्षण गर्नुपर्छ भन्ने चेत झाँगिदै गयो। 

बहुदलले मकै लुट्छ भन्दै खाल्डोमा पुरेको त्यो क्षण...
२०४१/०४२ सालतिरको कुरा हो। त्यतिबेला जन्मदर्ता, कागजपत्रको चलन खासै थिएन। गाउँघरतिर नेपालमा पञ्चायत नै छ भन्ने गर्थे। हामी गाउँमा भएकाहरुलाई लाग्ने गर्थ्यो, हाम्रो सामुन्ने देखिने डाँडापारि नै पञ्चायत छ होला। सानोमा डाँडापारि अरु के छ थाहा हुँदैनथ्यो। 

२०४९ तिर नेपालमा बहुदल आएको हल्ला सुनिएको थियो। त्यो यस्तो समय थियो कि, हाम्रा गाउँका मानिसहरु बहुदल-निर्दल भन्ने शब्द सुन्नेवित्तिकै डराएर भाग्ने गर्थे।

गाउँमा मकै अलिक राम्रो फल्ने गर्थ्यो। मकै काठको ठांग्रोमा राखिएको हुन्थ्यो। बहुदल आएको हल्ला सुनेपछि हामी गाउँभरिका मानिसले खाल्डो खनेर मकै पुरेका थियौं। हामीलाई गाउँलले भनेका थिए, ‘बहुदल-निर्दल आयो भने हामीले फलाएको सबै अन्न खाइदिन्छ।’

यही डरको कारण हामीले बहुदल आएपछि मकै खाल्डो खनेर लुकाएका थियौं। किनकी, सानै भएकाले मलाई पनि बहुदल-निर्दल भनेको व्यवस्था होला भन्ने नभई, कुनै व्यक्तिको नाम होला भन्ने लाग्थ्यो। त्यो व्यक्तिले हाम्रो गाउँलाई लुटेर लान्छ भन्ने लाग्थ्यो। 

जापानिजका भारी बोक्ने त्यो बालापन
ऊबेला गाउँ हुँदै कन्चनजंगा घुम्न विदेशी पर्यटकहरु आउने गर्थे। घुम्न आउने सबै देशका पर्यटकलाई हामीले जापानिज पर्यटक भन्थ्यौं। पर्यटकको भारी बोकेपछि उनीहरुले राम्रो जुत्ता र बासनादार लुगा दिन्छन् भन्ने सुनेको थिएँ।

सँगै हुकिएका मेरा दाइ र दिदीले कहिलेकाहीँ पर्यटकको भारी बोक्नुहुदो रहेछ। एक दिन मलाई पनि ‘जाने हो भारी बोक्न?’ भन्दै सोध्नुभयो। र, मैले १३ वर्षको उमेरदेखि पर्यटकको भारी बोक्न सुरु गरें।

म मात्र नभई गाउँका अन्य बालबालिकाले पनि भारी बोक्थे। भारी बोकेवापत २० रुपैयाँ पाइन्थ्यो र त्यसबाट कहिलेकाहीँ नुनतेल किनेर लैजान्थें त कहिलेकाहीँ आमालाई दिन्थें। 

गाउँमा ८ कक्षाको जिल्लास्तरीय परीक्षा दिएपछि म दाइ-दिदीलाई सघाउन मोरङ झरें। करिब दुई वर्षसम्म उहाँहरुको खेतबारीमा काम गरें। त्यसपछि म आफ्नो माइला मामाको छोरासँग काठमाडौं आइपुगें।

मामा पर्यटनमा नभिजेको व्यक्ति हुनुहुँदो रहेछ। त्यसैले यहाँ आएपछि पनि मेरो संघर्ष रोकिएन। मामाको छोराहरुसँगै मैले पनि भारी बोक्न सुरु गरें। पारिवारिक र आर्थिक समस्याका कारण भारी बोकेर कमाएको रकम गाउँमा पठाइदिन्थें।

कहिले भारी बोक्ने, कहिले इँटा बोक्ने त कहिले गलैंचा कारखानामा काम गरें। यसरी मैले जीवन जिउन संघर्ष गरेको थिएँ। त्यसपछि मैले पदयात्रामा निस्कने पर्यटकहरुको भारी बोक्न थालेको थिएँ। 

पदयात्राको फोहोर टिप्दा नेपालीले गाली गर्थे, विदेशी पर्यटकले टिप्स दिन्थे 
१९८९ तिरको कुरा हो। म काठमाडौंको एउटा ट्रेकिङ कम्पनीमा काम गर्थें। ट्रेकिङ (पदयात्रा)मा निस्कने पर्यटकहरुको भारी बोक्ने काम थियो।

त्यो बेला करिब १५ जनाको एउटा बेलायती पर्यटकको समूह घुम्न आएको थियो। १५ दिन लामो जोमसोम-मुस्ताङ ट्रेकिङ थियो। त्यतिबेला जोमसोमसम्म मोटरबाटो पुगेको थिएन। पर्यटकहरु हिँडेर जान्थे र हवाईजहाजबाट फर्किन्थे। तर हामी भारी बोक्नेहरु भने हिँडेरै तलमाथि गर्थ्यौं। 

त्यतिबेला ट्रेकिङ गर्दा हाम्रो दैनिक पारिश्रमिक ८० रुपैयाँ थियो। ८० रुपैयाँबाट केही रकम बचत गर्नुपर्ने हुन्थ्यो भने बाँकी रकमले खान-बस्न पुर्याउनुपर्ने हुन्थ्यो।

काठमाडौंबाट पोखरासम्म कम्पनीले लगेको थियो। खान र बस्न भने त्यही ८० रुपियाँबाटै तिर्नुपर्ने हुन्थ्यो। खानको लागि चिउरा र दालमोठ मिसाएर पानीसँग खाने गर्थें। त्यो खानेकुराले अघाइन्थ्यो। साँझ परेपछि खाना खान पर्थ्यो।

होटेल पुगेपछि ५० रुपैयाँ खानाको तिर्नुपर्थ्यो। सुत्न ठाउँ हुँदैनथ्यो। १० रुपैयाँको अरु खर्च हुन्थ्यो भने २० रुपैयाँ बचत हुन्थ्यो। १५ दिनमा जम्मा ५ सयजति बचत हुन्थ्यो। बचाएको सो रकम घरमा आमालाई पठाइदिन्थें। 

पदयात्राको क्रममा दैनिक ज्यालाभन्दा बढी पर्यटकले अन्तिममा खुसी भएर दिएको टिप्सबाट राम्रो कमाइ हुन्थ्यो। टिप्स भने बाटोमा हिँड्दा फोहोर उठाएको कारण पाउँथें। मैले लगाएको कपडाको गोजीमा पर्यटकहरुले सुटुक्क टिप्स राखिदिएका हुन्थे।

यसरी अरुहरुको तुलनामा मेरो कमाइ केही बढी हुन्थ्यो। किनकी, म त्यो बेला जान-अन्जानमै वातावरणमैत्री काममा संलग्न हुन थालिसकेको थिएँ।

पदयात्राको क्रममा पिठ्युमा २५/३० केजीको भारी हुन्थ्यो। बाटोमा भेटिने प्लाष्टिक, लुगा, बोतलजस्ता फोहोर पनि टिपेर आफूसँगै बोक्ने गर्थें। मैले भारी र फोहोरसँगै उठाएको देखेर पर्यटक दंग पर्थे। उनीहरु मैले गरिरहेको कामप्रति खुसी हुन्थे। 

अरुले बाटोमा फ्याँकिएको फोहोर उठाउँदैनथे। फोहोर बोक्ने, फोहोर टिप्ने मानिसलाई नराम्रो दृष्टिले हेर्ने चलन थियो। हामीसँगै गएका गाइड र अन्य साथीहरुले गाली गर्दै ‘किन फोहोर बोकेको? तँलाई भारी नपुगेको? यसलाई भारी पुगेनछ’ भन्दै आफूसँग भएको केही सामान मेरो भारीमाथि थपिदिन्थे। उनीहरुको भन्दा मेरो भारी बढी नै हुन्थ्यो। मलाई होच्याउँथे।

तर, पनि म बाटोमा भेटिने फोहोर टिप्न छोड्दिनथें। म त गाउँमा ५० केजीमाथिको भारी बोकेर आएको मान्छे, पर्यटकको भारी त्योभन्दा हलुकै हुन्थ्यो। सोही कारण गाइडहरुले अलिकति भारी थप्दा, गाली गर्दा मलाई फरक पर्दैनथ्यो।

नेपाली गाइड र आफूसँग हिँड्ने अरु साथीहरुलाई फोहोर टिप्नेबारे बताउन नसके पनि पर्यटकहरुले भने बुझ्थे। पर्यटकहरुले मैले गर्ने क्रियाकलाप मन पराउँथे। मसँग हिँड्ने पर्यटकहरु मलाई माया गर्थे। पर्यटक मसँग नजिक भएको देख्दा साथीहरु मलाई जिस्क्याउँदै ‘यसले फेरि टुरिस्ट पट्यायो’ भन्ने गर्थे। 

यस्ताखाले समस्याका बाबजुद मैले कहिल्यै पनि बाटोको फोहोर टिप्न छोड्दिनथें। बाटोमा भेटेको फोहोर टिपेर डस्टबिन भेटियो भने त्यहीँ हालिदिन्थें। डस्टबिन नभेटेमा बास बस्ने ठाउँमा लगेर फोहोर व्यवस्थापन गर्न आग्रह गर्थे। फोहोरले के-कस्तो हानि गर्छ भन्नेबारे डेमो पनि देखाउँथें।

यति मात्र नभई आफू पुगेको हिमालमा थुप्रिएको फोहोर बोरामा प्याक गरेर तल झार्ने गर्थें।

२०१० तिरको कुरा हो। सगरमाथामा आरोहण गर्ने व्यक्तिले माथि पुर्याएको फोहोर थुप्रिएर आधार शिविरमा फोहोरको सानो सगरमाथा बनेको थियो। त्यो बेलामा सगरमाथामा यत्रतत्र फालिएका अक्सिजनका सिलिन्डर, प्लाष्टिक, चाउचाउ बिस्कुटका खोल, लास आदि जम्मा गरेर काठमाडौं पुर्याउने काम गरें। हिमालबाट संकलन गरेको झन्डै ४५ टन फोहोर अझै पनि मैले कपनस्थित मेरो घरमा राखेको छु। डिस्पोजल गर्न मिल्ने फोहोर डिस्पोजल गरेको छु। 

झन्डै तीन दशक मैले हिमाल र प्रकृति सफा राख्न थुप्रै जनचेतनामुलक कार्यक्रम गरें। नेपाली सेनासँग सहकार्यको माग गरें। मागअनुसार सेनाले अचेल हरेक वर्ष विभिन्न हिमालमा थुप्रिएको फोहोर संकलनमा सघाउँदै आएको छ। 

पछिल्लो समय फोहोर-मैला व्यवस्थापन, प्रकृति संरक्षण जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी स्वअध्ययन, अनुभवबाट प्राप्त ज्ञानको आधारमा मैले प्रकृति संरक्षण अभियान सञ्चालन गरेको छु। प्रकृति संरक्षणका लागि बाजेदेखि नातिसम्म पुस्तान्तरण गर्दै लानुपर्छ भनेर छोरालाई पनि यस अभियानमा सामेल गराएको छु। 

अभियानमार्फत नीति-निर्मातालाई भेटेरै दबाब दिनुपर्छ भन्ने लागेर बाबुछोरा नै सन्देशमुलक अभियानमा लागेका छौं। यो अभियान हाम्रा बाबुछोराको मात्र नभई संसारका हरेक पुस्ताले गम्भीर रुपमा लिनुपर्छ भन्ने हाम्रो सन्देश हो। प्रकृति संरक्षणको लागि हाम्रो अभियानबाट पुरानो र नयाँ पुस्ताले प्रेरणा लिउन् भन्ने कामना छ।

५ साउन, २०७९, १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।