आफैँले बनाएको घरबाट निकालिएका बाबुराम 'माना' बोक्दै आएर 'पाथी' लिएर जान लागेका हुन् ?

आफैँले बनाएको घरबाट निकालिएका बाबुराम 'माना' बोक्दै आएर 'पाथी' लिएर जान लागेका हुन् ?

२०७२ साल असोज ९ गते कम्युनिष्ट धार त्यागेर माओवादीलाई भत्किन लागेको घरको संज्ञा दिएका थिए बाबुराम भट्टराईले। तिनै बाबुराम अहिले आफ्नै पौरखले बनाएको नयाँ घरबाट पनि निकालिएका छन्। 

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले बाबुरामसहित उनी पक्षका अन्य आठ नेतालाई कारबाही गरेको छ। यादव पक्षले केन्द्रीय समितिको बैठक राखेर भट्टराईसहित कार्यकारिणी सदस्यहरू महिन्द्र राय यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर शाह र दानबहादुर चौधरीलाई निष्काशन गरेको थियो।

जसपाअघि भट्टराईको करियर 'नयाँ शक्ति' पार्टीतिर चलिरहेको थियो। २०७३ जेठ ३० मा दशरथ रंगाशालामा भव्य कार्यक्रम आयोजना गरेर उनले नयाँ शक्तिको घोषणा गर्दै ‘अबको निकास आर्थिक विकास’, ‘समृद्धि हाम्रै पालामा सम्भव छ’ भन्ने नारा लगाएका थिए। उता, नारा नारामै सीमित छ। यता, भट्टराई अझै पनि बाटो पहिल्याउनै कसरत गरिरहेका छन्।

भट्टराईले २०७६ वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी नेपाल निर्माण गरे। पार्टी गठनको एक वर्षमै २०७७ वैशाख १० गते सबै मधेश केन्द्रित दल एक ठाउँमा हुनेगरी जनता समाजवादी पार्टी(जसपा) नेपाल निर्माण भयो।

यसको पृष्ठभूमि अर्कै छ। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर मधेश केन्द्रित दल फुटाउन खोजेपछि समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) रातारात एक भएका थिए।

अहिले यो दलबाट पूर्व राजपा फेरि छुट्टिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन भएको छ। 

भट्टराई भने जसपाबाट पनि निकालिएपछि अब नयाँ दल निर्माणको प्रयासमा छन्। दलको नाम टुङ्गो छैन। जसपालाई पुनर्गठन गर्ने भन्दै संगठन बलियो बनाउने र तटस्थ बसेका नेताहरूलाई आफ्नै पक्षमा पार्ने कसरत भट्टराईले गरिहेका छन्।

‘अब पार्टी फुटिसक्यो भन्दा हुन्छ, उता उपेन्द्रजीको बहुमत पुग्यो जस्तो छ। हामी अल्पमत पक्षधर भयौँ अर्को पार्टी गठन गर्नुको विकल्प हामीसँग हुँदैन,’ जसपाका कार्यकारिणी सदस्य डम्बर खतिवडाले उकेरासँग भने, ‘सांसद, नेता को कता छन् भन्ने आँकडा दिन गाह्रो छ। धेरैजसो मान्छेहरू न्युट्रल बसेका छन्। हाम्रो बैठकमा हस्ताक्षर भएको १२८ केन्द्रीय सदस्य हुन्। उता पनि त्यति संख्या भएजस्तो लाग्दैन।’ 

तटस्थ बसेकाहरू कता लाग्ने टुंगो नभएको उनले बताए। ‘कतिपय दुवैतिर बैठकमा गए भन्ने पनि छ, एक दिन यता अर्को दिन उता भन्ने पनि छ,’ उनले थपे।

कानूनी प्रक्रियाबाट सङ्ख्या नपुग्ने भन्ने निश्कर्षमा भट्टराई पक्ष छ। नेताहरूलाई जुन समूह छान्न मन लाग्छ सो समूह रोज्न दिने सहमति यादव र भट्टराईबीच भइसकेको छ। 

तत्कालीन नयाँ शक्ति पार्टीमा भट्टराई एक्ला संघीय सांसद थिए। प्रदेशतर्फ गण्डकीमा दुई र बागमतीमा एक सांसद थिए। बागमतीका सांसद प्रेम तामाङ अहिले पार्टीमा छैनन्। जसपाका संघीय सांसद महिन्द्रराय यादव भट्टराईसँग छन्। तत्कालीन राजपाका राजकिशोर यादव, अमृता अग्रहरि लगायतलाई आफ्नो पक्षमा पार्न दुवै पक्ष लबिङमा छन्। 

'संघीय निर्वाचन घोषणा हुनै लागेको छ। मनोनयनपछि एक महिना प्रचारको लागि जानुपर्ला। ४ महिनाको सांसदको जागिरकै सवाल पनि छ। अब ४ महिने सांसदको के हिसाब गरिरहनु?’, खतिवडाले भने, ‘हामी पार्टी नयाँ बनाउने भन्ने सोचमा छौं, विभाग संगठन संरचनाबारे सोचिसकेको अवस्था होइन।’ 

यता नयाँ शक्तिबाट थोरै संख्यामा गएर भट्टराई पक्ष जसपाबाट बाहिरिँदै गर्दा ठूला संख्या भएर बाहिरिएको देखिन्छ। माना बोकेर आएका बाबुराम पाथी लिएर फर्कन लागेको देखिएको छ।

तर, खतिवडा भने भट्टराईसँग जसपामा गएका नयाँ शक्तिका कार्यकर्ता पनि वीरगञ्जमा यादव पक्षकोमा गएकाले सापो नापो बराबर भएको बताउँछन्।

बहुमत रहँदा पनि पार्टी नफुटाएकाले अहिले पार्टी फुटाउने योजना नरहेको भट्टराई पक्षका नेताहरू बताउँछन्। ‘पार्टी फुटाउन लागेको भए हामीसँग पहिल्यै १४ सांसद र बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर थियो। चाहेको भए हामीले त्यही निर्वाचन आयोगमा पेश गरेर पार्टी फुटाउन सक्थ्यौं नि,’ जसपाका कार्यकारिणी सदस्य फणिन्द्र देवकोटाले उकेराँग भने, ‘बाबुरामले माओवादीदेखि अहिलेसम्म नैतिकता देखाउनुभयो। उपेन्द्रजीले पार्टीलाई राष्ट्रिय पार्टी बनाउन चाहनुभएन।’

भट्टराईले सानो संख्यामा प्रवेश गरेर बाहिरिँदै गर्दा ठूलो संख्या लिएर बाहिरिएको देखिए पनि त्यो वास्तविकता नभएको देवकोटाले बताए।

‘जसपा निर्माण गर्दा उपेन्द्रजीलाई मधेशमा आफ्नो पार्टी बचाएर राख्न धौ-धौ थियो। हामीभित्र पनि केही मान्छे दायाँ बायाँ गर्न लाग्दा एकता गरेका थियौं,’ उनले भने, ‘उहाँसँग पनि केही थान सांसद न थिए। हामीले वैचारिक रूपमा एकता गरेका हौं। जसपा बनाइदिएको बाबुरामजीले होइन? अहिले धेरै लिएर जानुभयो थोरै लिएर जानुभयो भन्ने होइन।’

यादव पक्षले गरेको कारबाही नै अवैध रहेको पनि कार्यकारिणी सदस्यको दावी देखियो। 

'सामान्य विधिसम्म नपुर्याइ, अराजनीतिक, अनैतिक र अवैधानिक रूपमा गरिएको कारबाहीप्रति खेद प्रकट गर्दछौं भर्त्सना गछौं कारबाही स्वीकार गदैनौं, मान्दैनौं’, कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठले भने, ‘उपेन्द्रजीले नोकरशाही प्रवृति पुष्टि गर्नुभयो। यसले उपेन्द्रजी एक्लै पार्टी चलाउन चाहनुहुन्छ र अरूलाई पार्टीमा ठाउँ दिनुहुन्न भन्ने देखियो।’ 

समाजवादी केन्द्र बनाउने कुरा रहे पनि लोसपासँग पार्टी एकीकरणको कुरा भने नरहेको उनले प्रष्ट पारे।

३१ असार, २०७९, २३:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।