हिजोका कुरामा पूर्वमन्त्री गणेश शाह : अनि ती केटीले नेवारीमै भनिन्, 'मनु मखु मर्स्या ख :'

हिजोका कुरामा पूर्वमन्त्री गणेश शाह : अनि ती केटीले नेवारीमै भनिन्, 'मनु मखु मर्स्या ख :'

नेपालको वामपन्थी आन्दोलनमा विगत पाँच दशकदेखि सक्रिय नाम हो, गणेश शाह। सन् १९४९ डिसेम्बरमा धनुषाको जनकपुरमा जन्मेका शाहको बाल्यकाल जनकपुरमै बित्यो।

एसएलसी सकेपछि काठमाडौं आएका शाहले रुसको मस्कोस्थित पिपुल्स फ्रेन्डसिप युनिभर्सिटीबाट मेकानिकल इन्जिनियरिङ शिक्षा अध्ययन गरेका हुन्। त्यसयता प्राविधिक, राजनितिज्ञ र पूर्वमन्त्रीको रुपमा आफ्नो बलियो पहिचान बनाएका छन् उनले। शाह २०६४ को संविधान सभा निर्वाचनपछि वातावरण र विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए। 

पारिवारिक र ग्रामीण पृष्ठभूमिमा क्रान्तिकारी प्रभाव पार्ने अन्य तत्व नभए पनि उनी बाल्यकालदेखि नै विद्रोही स्वभावका थिए। उनले राजनीतिज्ञको रुपमा नेपाल कम्युनिष्ट पार्टीको उपमहासचिव, महासचिव तथा अध्यक्षको भूमिका निभाएका छन्। शाह हाल नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य रहेका छन्। 

प्राविधिकको रुपमा समेत राम्रो छवि बनाएका शाह ढल तथा खानेपानी व्यवस्थापन विभागका कर्मचारीको रुपमा काम गरेका छन्। पछिल्लो समय जलवायु परिवर्तन र पानी संरक्षकको रुपमा आफ्नो पहिचान बनाएका शाह पार्टीभित्र रहेर मधेस प्रदेश र विज्ञान प्रविधि कार्यक्रममा सक्रिय छन्।

धनुषाको गाउँ हुँदै काठमाडौं, काठमाडौं हुँदै मस्कोसम्मको यात्रा र त्यसपछिको आफ्नो राजनीतिक, पेसागत, जेल तथा व्यक्तिगत जीवनबारे शाहले उकेरासँग आफ्नो संस्मरण साटेका छन्। 

गाउँदेखि सहरको यात्रा
म धुनषाको लोहानस्थित एक मध्यमवर्गीय परिवारमा जन्मिए, गाउँमै हुर्किएँ। मेरो बुबा-आमाको पेसा खेती-किसानी भए पनि आफ्ना सन्तानलाई शिक्षित बनाउनुपर्छ भन्ने भावना उहाँहरुमा थियो। लोहानको विद्यालयमा प्राथमिक तहसम्मको अध्ययनपछि म जनकपुरमा रहेको सरस्वती हाई स्कुलमा भर्ना भएँ। र, २०२१ सालमा सरस्वती हाई स्कुलबाटै एसएलसीसम्मको अध्ययन पूरा गरें।

तीन दाजुभाइ र एक बहिनीमध्ये म माइलो छोरा। मेरो दाइ उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आउनुभएको थियो। म पनि एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण भएपछि काठमाडौंमै अध्ययन गर्ने सोचें। त्यतिबेला अध्ययनका लागि मधेसबाट काठमाडौं आउने चलन खासै थिएन।

जनकपुरबाट काठमाडौं आउन दुई वट मात्र गाडी चल्थे। झापाको बिर्तामोड, भारतको सीतामडी, जयनगर, जयपुर, रक्सौल हुँदै काठमाडौ प्रवेश गर्नुपर्थ्यो। काठमाडौं आउनुअघि मलाई आमाले ‘नेपाल जाइछे, जाके पानीमे नुहालिया और पशुपतिनाथकी दर्शन करके लड्डु चढाओ’ भन्दै पशुपतिमा लड्डु चढाउन नबिर्सिनु भन्नुभएको थियो। मैले काठमाडौं आएपछि पशुपतिमा लड्डु चढाएको अझै याद छ।

२०२१ सालमा तत्कालीन समयको पब्लिक साइन्स क्याम्पस (हालको अस्कल)बाट आइएससी पूरा गरें। आइएससी पास गरेपछि लोकसेवा परीक्षामार्फत छनोट भएर जेटिएको रुपमा करिब १० महिना खुमलटारस्थित तत्कालीन कृषि फारम भन्नेमा काम गरेको थिएँ। त्यसपछि सन् १९६८ मा मेकानिकल इन्जिनियरिङ अध्ययनका लागि मस्को गएँ। 

यी मान्छे, ती मर्सिया 
जिन्दगीमा पहिलो पटक तराई छोडेर पहाड त्यो पनि उपत्यकाजस्तो पृथ्वीको भिन्न संरचना भएको ठाउँमा पुग्दा मेरा लागि काठमाडौं आफैंमा नौलो थियो। त्यसमा नेवारी बाहुल्यता भएको काठमाडौं उपत्यका, यहाँका मान्छेको चालढाल लगायतले मलाई बेग्लै लाग्न थालेको थियो।
पहिले काठमाडौं प्रवेश गर्दा उपत्यका बाहिरका मान्छेले एउटा टिनको बाकस र गुण्टा बोकेर आएका हुन्थे। नेवारको घर-दैलोमा सिक्री झुन्ड्याइएको हुन्थ्यो। 

काठमाडौं पुगेपछि म बसन्तपुरस्थित झोंछेमा नेवारको घरमा डेरा लिएर बसेका मेरा दाइ पूर्वराष्ट्रपति रामवरण यादवकहाँ गएको थिएँ। झोँछेमा दाइसँगै बसेर अस्कल पढ्न जान्थें। त्योबेला यहाँका मानिसले हामीलाई हेर्ने नजर फरक हुन्थ्यो। 

एक दिन म दाइकहाँ जाँदा ढोका बाहिरबाट ढकढक गरें। झ्यालबाट एउटा भर्खरकी केटीले हेर्दै भनिन्, ‘के हो?’ भित्रबाट पनि को हो भनेको आयो सुनियो। अनि ती केटीले नेवारीमै भनिन्, ‘मन मखु मर्सिया ख।' मान्छे होइन, मर्सिया हो। त्यसको मतलब रहेछ, मर्सिया भनेको मधेसतिरको, मान्छे भनेको उपत्यका भित्रको। मान्छे भनेपछि यतैको हुनुपर्ने। बाहिरको अझ मधेसतिरको भयो भने मर्सिया (मधेसी)। अनि दाइले हाँस्दै भित्र बोलाउनुभएको थियो।’

२०३६ सालको जनमत संग्रहपछि मात्र मर्सियालाई मधेसिया भन्न थालेका हुन्। त्यतिबेला जति पनि मधेसी मुलका मानिस काठमाडौं आउँथे, पानीको कारण अधिकांशको पेट खराब हुन्थ्यो।

२०२४ सालमा जनकपुरबाट अध्ययनको लागि यहाँ आउने मधेसियाको संख्या जम्मा चार जना मात्र थियो। त्यसमा एउटा म पनि थिएँ। यहाँ आएपछि मैले साथीहरुसँग सुन्धारा र बाइस धारामा नुहाएको थिएँ। 

हाम्रो पालामा त्यत्रो पानी देख्दा तराई मुलका साथीहरुले बापरे वाफ भन्थे। रहर लाग्दो हुन्थ्यो। त्यतिखेरको वाटर सप्लाईको कुरा गर्ने हो भने खानेपानीले ९० प्रतिशत मधेसियाहरुको पेट खराब हुन्थ्यो। लामो समय काठमाडौंमै बिताएकोले म अचेल आफूले आफूलाई गैरआवासीय मधेसी भन्न रुचाउँछु। 

राजा महेन्द्रमाथि बम खसाल्दा...
२०१७ साल अघिदेखि जनकपुरको सरस्वती हाई स्कुल छेउमा ब्रह्मपुरी भन्ने गाउँ बसेको थियो। त्यो गाउँ पहाडियाहरुको थियो। पहाडिया र मधेसीयाका छोराछोरी सरस्वती हाई स्कुलमै पढ्न आउँथे।

२०१९/०२० सालतिरको कुरा हो, म कक्षा ९ को विद्यार्थी थिएँ। त्यतिबेला पहाडिया र मधेसियाबीच विभेदको वातावरण बन्थ्यो। हामी मधेसियाहरु ख्याउटे, लजालु स्वभावका थियौं। उता त्यो गाउँमा बस्ने पहाडिया स्कुले केटाहरुले हामी मधेसीयालाई हप्काउने, दप्काउने, अपमानजनक व्यवहार गर्थे। सो समयमा म स्कुलकै होस्टलमा बस्थें। स्कुल पढ्दापढ्दै मैले विभेद विरुद्ध विद्रोह सुरु गरेको थिएँ। सोही कारण पहाडिया र मधेसिया विद्यार्थीबीच ठूलो झै-झगडा पनि भएको थियो। त्यसपछि त्यहाँबाट शिक्षक-विद्यार्थी निकालिएको थियो भने केही दिनसम्म म पनि भूमिगत बस्नुपरेको थियो। 

त्यतिबेला हाम्रो जनकपुर शिक्षा र राजनीतिको केन्द्रविन्दुजस्तै थियो। देशमा पञ्चायत सुरु भइसकेको थियो। पञ्चायतको विरुद्ध विशेषगरी युवा-विद्यार्थीले भित्रभित्रै विद्रोहको आवाज उठाउन थालिसकेका थिए। 

हाम्रो छिमेकी गाउँमा लोमश ऋषिको नामबाट राखिएको लोमश पुस्तकालय थियो। अरबिन्द ठाकुर, दुर्गानन्द झाहरुसँग हामी स्कुले विद्यार्थीहरु विद्यालयको छुट्टी भएपछि पुस्तकालयमा पढ्न जान्थ्यौं। पुस्तकालयमा हामीले राणा शासन विरुद्धका राजनीतिसम्बन्धी, क्रान्तिकारी पुस्तकहरु पढ्ने गर्थ्यौं। लोमश एउटा यस्तो ऐतिहासिक पुस्तकालय हो, खुंखार क्रान्तिकारी जसले दुर्गानन्द झा, अरविन्द ठाकुर, यता आध्यात्मिक गुरु ओसो तपोवनका स्वामी आनन्द अरुण, थुप्रै इन्जिनियर आदि जन्माएको छ। 

२०१७ सालतिर राजा महेन्द्रको जनकपुर भ्रमण र जानकी मन्दिर दर्शनको कार्यक्रम थियो। राजाको भ्रमणको लागि महिना दिनदेखि तम्तयारी चलिरहेको थियो। माइकिङ सुरु भएको थियो। सुरक्षा व्यवस्था कडा पारिएको थियो। राजाको भ्रमणको समयमा म ८ कक्षामा पढ्थें। 

पञ्चायती र निरंकुश शासन लादेकोले राजा महेन्द्रमाथि मानिसहरु उग्र बन्दै गएका थिए। मेरो गाउँकै १६ वर्षे ठिटो अरबिन्द ठाकुर र उनका साथीहरुले भारतको उम गाउँमा बसेर बम पड्काउनेबारे योजना बनेछ। 

भारतमा अंग्रेज विरुद्ध लडेका भगत सिंहको कथाबाट पनि त्यतिबेलाको पुस्ता प्रभावित बनेको थियो जसको कारण पञ्चायती निरंकुशता विरुद्ध लड्नुपर्छ भन्ने चेतना आएको थियो।

म भन्दा माथिल्लो कक्षाका सिनियरहरुले राजाको भ्रमणबारे चाल पाएपछि दुर्गानन्द झा र अरबिन्द झाजीहरुले बम खसाल्ने योजना बनाउनुभएको रहेछ। म विद्रोही स्वभावको भए पनि सानै भएकोले त्यो समूहमा म सामेल थिइनँ। तर राजामाथि बम खसाल्नुपर्छ अनिमात्र यो सत्ता हल्लिन्छ भन्ने ठानेर जानकी मन्दिरको दर्शन गरेर फर्किने बेलामा राजा महेन्द्रको गाडीमा दुर्गानन्द झाले बम प्रहार गर्नुभयो। महेन्द्रको बुलेट प्रुफ गाडी भएकोले बम हाने पनि केही भएन।

बम प्रहारपछि दुर्गान्द भागेर भारत पुगेका थिए। पछि सरकारले ‘तिम्लाई पुरस्कृत गर्नुछ, तुरुन्तै आइहाल’ भन्दै फकाइफुल्याई बोलाएर बम खसाल्ने झालाई पछि फाँसी दियो। योजनामा सामेल रहेका अरबिन्द ठाकुरलाई सिआइडीहरुले एयरपोर्टबाटै समातेका थिए। 

भिसा लिएर मात्र काठमाडौं प्रवेश 
अहिले त पूर्वी तराईलाई मधेस प्रदेश भनिन्छ। तर त्यतिबेला हामी मधेसियाहरुप्रति हेर्ने नजर नै फरक थियो। राणा शासनकालमा जनकपुरतिरका मान्छेहरु भिसा लिएर काठमाडौं आउनुपरेको कुरा हामीलाई बुबाले सुनाउनुहुन्थ्यो। उहाँहरुले काठमाडौँ आउन मकवानपुरको भीमफेदीबाट भिसाको लागि स्वीकृति लिनुपर्थ्यो। 

बुबाले आफूले सुनेको कुरा यसरी भन्नुहुन्थ्यो, ‘त्यतिखेर काठमाडौंमा टुँडिखेलबाट सेनाले राति ९ बजे तोप पड्काउँथ्यो। तोप राति पड्किसकेपछि मरण-हरणबाहेक सर्वसाधारण घरबाहिर निस्कन पाइँदैनथ्यो। मरण-हरणको अवस्थामा पनि लालटिन बालेर जानुपर्ने हुन्थ्यो।’

म २०२१ सालमा काठमाडौं प्रवेश गर्दा अहिले गाडीको नम्बर टिपाएजस्तै थानकोटमा आफ्नो नाम र ठेगाना टिपाउनुपर्थ्यो। त्यतिखेर थानकोट हुँदै काठमाडौं आउनेमा अधिकांश वीरगञ्जतिरका हुन्थे। अचेल मलाई लाग्छ, काठमाडौं पहिले नदेखिने मन्द किसिमको निषेधाज्ञा पनि हो रहेछ। सर्वसाधारणको लागि सहजै खुला हुने ठाउँ होइन रहेछ।

२०१८ सालमा राजा महेन्द्रलाई बम हानिसकेपछि हामी मधेसियाहरुप्रति काठमाडौंले हेर्ने नजरिया झनै बदलियो। मधेसियाहरुले काठमाडौंलाई हेर्ने नजरिया पनि बदलियो। काठमाडौंले हामी मधेसियालाई पञ्चायती व्यवस्थाका कट्टर विरोधी हुन् भन्ने सोच्थे। त्यसैले तराई मुलका जो-कोहीलाई देखे पनि उनीहरुप्रति नकारात्मक अथवा बक्र दृष्टिकोण थियो।

हामीप्रति काठमाडौंको नजर आतंकवादीको रुपमा भएकोले घरबाट काठमाडौं पठाउँदा हामीलाई काठमाडौं धेरै सुरक्षित छैन, सावधान भएर बस्नु भनेर सिकाइएको हुन्थ्यो। बुबा-आमाले घरबाट काठमाडौं जान लाग्यो भने राजा र देवसँग टाढै बस्नु, देव र राजा रिसायो भने ठिक हुँदैन भन्नेजस्ता अर्ती-उपदेश दिएर पठाउँथे। कसैसँग झै-झगडा, वादविवाद नगर्नु भन्थे। काठमाडौं भनेको राजा हो, राजा भनेको शासक हो, त्यसैले शासकको अघि दायाँ-बायाँ नगर्नु भन्थे।

पहिलेदेखि नै काठमाडौंले मधेसियालाई धेरै स्नेह गर्दैन, पराया ठान्छ भन्ने तराईवासीको धारणा थियो। टोपी र दौरा-सुरुवाल लगाउनेहरुसँग डराउनुपर्ने खालको मानसिकता हुन्थ्यो। टोपी र दौरा-सुरुवाल लगाउनेको जयजयकार गरेमा सहज हुन्छ होला भन्ने धारणा थियो हाम्रा बुबाहरुको। 

तर, मेरो पालमा भने काठमाडौंमा असुरक्षित महसुस गरेर बस्नुहुँदैन। आफ्नो काम गर्ने, बस्ने भन्ने भयो। 

त्यो बेला तराईमा भारतीय रुपैयाँ मात्र पाइन्थ्यो। मलाई खर्च पठाउनुपरे १ सय भारु पठाउनुहुन्थ्यो र मैले १४५ रुपैयाँ झिक्थें।

बुबाको पालामा नेपाल-भारत र मधेस-काठमाडौंको सम्बन्ध कस्तो थियो भने, जनकपुर बस्ने मान्छेको बिहेबारी, किनमेलजस्तो आर्थिक र पारिवारिक सम्बन्ध भारतसँग जोडिएको हुन्थ्यो। तर नागरिकता, लालपुर्जाजस्तो प्रशासनिक सम्बन्ध काठमाडौंसँग जोडिएको हुन्थ्यो। त्यसैले सरकारसँगको सम्बन्ध प्रशासनिक बाहेक अरु हुँदैनथ्यो।

मस्कोमा सोभियतको विद्यार्थी नेता
जेटिएमा काम गर्ने क्रममा सोभियत युनियनको छात्रवृत्ति कार्यक्रमको लागि मेकानिकल इन्जिनियरिङमा पनि अप्लाई गरें। त्यो बेला सोभियत संघले नेपाल जस्ता मुलुकहरुलाई उच्च शिक्षा अध्ययनको लागि धेरै छात्रवृत्ति दिन्थ्यो।

छात्रवृत्ति छनोट भएर म सन् १९६८ मा उच्च शिक्षा अध्ययनका लागि मस्को गएँ। मस्को मेरो जीवनको रोचक टर्निङ प्वाइन्ट पनि हो। 

गाउँबाट काठमाडौं हुँदै मस्को पुगेको मान्छे। मस्कोको पिपुल्स फ्रेन्डसिप युनिभर्सिटीमा मेकानिकल इन्जिनियरिङमा भर्ना भएँ। सुरु-सुरुमा पढ्नमा मात्र तल्लिन रहन्थें। विस्तारै त्यहाँको माहोलमा घुलमिल हुँदै गएपछि सोभियत युनियन अन्तर्गत युनिभर्सिटीकै विद्यार्थी युनियनमा आवद्ध भएँ।

विद्यार्थी राजनीतिमा भएको सक्रियतासँगै युनिभर्सिटीमा हुँदा हामीले कहिले कविता गोष्ठी, कहिले साहित्यिक गोष्ठी, कहिले सांस्कृतिक कार्यक्रम, पिकनिक, सहर घुम्नेजस्ता थुप्रै कार्यक्रम गर्थ्यौं। मस्कोमा विद्यार्थीको नेता भइसकेपछि थुप्रै सोभियत रिपब्लिक पनि घुम्ने मौका पाएँ।

विद्यार्थी नेताको रुपमा पहिचान बनिसकेको हुँदा नेपालको राससजस्तै सोभियतको समाचार संस्था तास भन्ने थियो। त्यसमा अन्तर्वार्ता पनि दिएको थिएँ। तासले नेपालको राजनीति, प्रकृति यावत् विषयमा अन्तर्वार्ता लिएको थियो।

सोभियत युनियनका रिपब्लिकहरु युरोपेली र एसियाली भागमा पनि छन्। हामी भने बढीजसो एसियाली भागतिर घुम्न निस्कन्थ्यौं। हरेक रिपब्लिक घुम्दा त्यहाँको आ-आफ्नै मौलिक अनुभूति हुन्थ्यो। एसियाको केन्द्रमा परेको स्थान र अर्को भारतका पूर्वप्रधानमन्त्री लालबहादुर शास्त्री बितेको ठाउँ भएकोले नेपालीहरुमाझ तासकन्द प्रतिष्ठित थियो। 

सोभियतका अन्य नेताहरुसँग अलिअलि परिचित थिएँ म। सोभियतको रिपब्लिकका सिनियर नेताहरु आउँथे र गफगाफ हुन्थ्यो। उनीहरुले मलाई सोध्थे, 'तिम्रो देश कस्तो छ?' मैले नेपालका दुई वटा चित्र बताउँथे- एउटा हामीकहाँ राजा र रानी छ। अर्को प्राकृतिक रुपमा हामी धनी छौं। हामी राजनीतिक रुपमा पछि छौं।

राजनीतिक कुरा खासै रोचक नहुने हुँदा प्राकृतिक सुन्दरताबारे व्याख्या गर्थें। कहिलेकाहीँ धामिर्क कुरा पनि गर्थ्यौं। उनीहरु खाली आफ्नो व्यवस्थाको बारेमा चर्चा गर्थे र रुस र नेपालबीचको सम्बन्ध आगामी दिनमा थप प्रगाढ होस् भन्ने कामना गर्थे। 

‘मस्कोबाट फर्कदा जीवनका तीन वटा लाइसेन्स’
विद्यार्थीको नेता भएर सोभियत युनियन घुम्ने, सानोतिनो भाषण र भेटवार्ता मेरा लागि सामान्य थियो। सबैमाझ परिचित जस्तै बनेको थिएँ।

त्यही बेला काठमाडौं, डिल्लीबजारकी ब्राह्मण परिवारकी नेपाली विद्यार्थी कल्याणी शर्मा शाहसँग भेट भयो। कल्याणी नाँच्न र गाउनमा सक्रिय थिइन्। विभिन्न सांस्कृतिक कार्यक्रम हुँदा हामी नजिकियौं। हामीबीच प्रेम सम्बन्ध सुरु भयो। र, हामीले युनिभर्सिटीमै बिहे गर्ने निर्णय गर्यौंम।

कल्याणी युनिभर्सिटीको गर्ल्स होस्टेलमा बस्नुहुन्थ्यो भने म बोइज होस्टलमा। बिहे युनिभर्सिटीकै परिसरमा भएको थियो। बिहेमा हामीले आ-आफ्ना साथीहरुलाई निम्तो दिएका थियौं। म विद्यार्थी नेता भएकोले मस्कोमा भएका सबै राजदूतावासका परिवार र अन्य धेरै जनालाई निम्ता गरेको थिएँ। रुसस्थित  परराष्ट्र मन्त्रालयमा कार्यरत तत्कालीन महामहिम जगदीशशमशेर राणा, राजेश हमालका बुबा चुडाबहादुर हमाल पनि आउनुभएको थियो। हमाल परराष्ट्रको पहिलो सेक्रेट्री पनि हुनुहुन्थ्यो। बिहे समारोहमा नेपाली र अन्य मुलुकका साथीहरु पनि आएका थिए। 

उता बेहुली तयार भइसकेकी थिइन्, यता मेरो गाडी तयार भइसकेको थियो। तर बिहेमा गाडी नसजाएकोले तुरुन्तै साथीहरुले नयाँ गाडी सजाएर ल्याएका थिए। दुलहीकहाँ पुगेपछि ल अब बर-वधुलाई बरमाला लगाएर उहाँहरुको वैवाहिक जीवनको कामना गर्ने भन्नुभयो सबैले। दुलहीकहाँ गएपछि सिन्दूर र माला लगाइदिए। बिहे सक्कियो। मेरो बिहे गर्न जम्मा तीनदेखि पाँच मिनेट समय लाग्यो होला। बिहे पनि क्रान्तिकारी जस्तै भएको थियो।

बिहेपछि भोज गर्यौंर। युनिभर्सिटी अगाडि फोटो खिच्ने कार्यक्रम भयो। बिहेमा तासका पत्रकारले फोटो खिचेका थिए। त्यो फोटो मलाई उपहारस्वरुप दिएका थिए।

बिहे भएको एक वर्ष भित्रमा हाम्रो जेठो छोराको जन्म भयो। अध्ययन गर्न गएका व्यक्तिहरुले मस्को गएर एउटा सर्टिफिकेट ल्याउँछन्, मैले तीन वटा सर्टिफिकेट लिएर आएँ। जसमा एउटा सर्टिफिकेट पढाइको, अर्को राजदूतावासले बनाइदिएको बिहेको र तेस्रो छोराको जन्मदर्ताको सर्टिफिकेट। जीवनको सबैभन्दा यादगार क्षण मस्कोको विद्यार्थी जीवन रह्यो मेरा लागि।  

श्रीमान्-श्रीमती दुवै जेलमा 
मस्कोमा बिहे गरेर हामी नेपाल फर्कियौं। काठमाडौंमा आफ्नो घर थिएन, ससुराली घर मात्र थियो। हाम्रो बिहेबारे घर-परिवारमा चिठीमार्फत खबर पुर्यारइसकेका थियौं।

काठमाडौं पुगेपछि  हामीलाई लिन एयरपोर्टमा मेरा सासु-ससुरा, सालो र दाइ लिन आउनुभएको थियो। त्यो रात म, कल्याणी, ससुरा लाजिम्पाटमा रहेको दाइको डेरामा गयौं। ससुराले बिहेको खुसियालीमा भोड्का खुवाउन भन्नुभयो। अनि हामीले सँगै भोड्का पिएका थियौं। 

नेपाल फर्केपछि हाम्रो अर्को जीवन सुरु भयो, बालबच्चा, श्रीमती र पेसागत जीवनसँगै राजनीति।

रुसबाट फर्केपछि २०३२ सालमा खानेपानी तथा ढल निकासमा काम सुरु गरें। जागिरे छँदै मैले राजनीति पनि सुरु गरें त्यतिबेला नेपाल कम्युनिष्ट पार्टीमा केशरजंग रायमाझीहरु हुनुहुन्थ्यो। म भने विष्णुबहादुर मानन्धरहरुसँग बढी निकट थिए।

जागिरको क्रममा म नेकपाको समितिमा पनि थिएँ। 'माध्यम' नामक पार्टीको मुखपत्रको सम्पादकीय र व्यवस्थापकीय जिम्मेवारी पनि लिएको थिएँ। नेताहरुसँग उठबस थियो। यस्तै चल्दै थियो।

वि.सं. २०४२ सालमा कांग्रेसले सत्याग्रह घोषणा गर्यो । त्यतिबेला नेकपा रायमाझी र मानन्धर गरी दुईतिर विभाजित भएको थियो। हाम्रो मानन्धर समूहले कांग्रेसको सत्याग्रहलाई समर्थन गरेको थियो।

हाम्रा नेताहरु मानन्धर, निलाम्बर आचार्य, हेमन्त बिसी लगायत देशभर करिब डेढसय सय नेताहरु गिरफ्तार भएका थिए। सोही साल असार ६ गते रामराजाप्रसाद सिंहले दरबारमार्गमा रहेको होटल अन्नपूर्णमा बम पड्काएका थिए। सोही रात हामी श्रीमान्-श्रीमती कल्याणीको माइतीघर डिल्लीबजारबाट समातियौं। त्यसपछि म र श्रीमती ६ दिनसम्म महेन्द्र पुलिस क्लबमा बस्यौं। त्यसपछि श्रीमती सेन्ट्रल जेल जानुभो, म हनुमानढोका हिरासतमा गएँ।

श्रीमती नेकपा मानन्धरको हालको नेपाल महिला संघको संस्थापक अध्यक्ष भएकोले र हामी रुसमा अध्ययन गरेर फर्किएकोले हामीलाई पञ्चायत विरोधी भन्दै समातिएको थियो।

नेपालमा २०४६ सालको आन्दोलन सुरु भएपछि पार्टीको निर्णयअनुसार म दिल्लीमा दुई महिना बसें। त्यतिखेर म आफ्नो पार्टीको नेतृत्व गरेर, कांग्रेसको नेतृत्व गरेर चक्र बास्तोला, पत्रकार किशोर नेपाल पत्रकार र हरि शर्मा दिल्ली गयौं। दिल्लीमा राजीव गान्धी, चन्द्रशेखर लगायत थुप्रै नेताहरु भेट्यौं।

२०४६ सालको आन्दोलनबारे भारतीय नेताहरुलाई जानकारी गराउन गएका थियौं हामीले। त्यतिबेला बेला म भारतिय कम्युनिष्ट पार्टीको हेडक्वार्टर अजय भवनमा बसें। चक्र बास्तोलाहरु चन्द्रशेखरको घरमा बस्नुभयो। उहाँहरुमार्फत नै हामीले भारतीय नेताहरुलाई भेटेर नेपालको आन्दोलनबारे जानकारी दियौं।

आन्दोलनसँग जोडिएर भारतस्थित नेपाली दूतावासअघि जुलुस गर्ने, भाषण गर्ने गर्यौंे। यसरी २०४६ सालको आन्दोलनमा म नेपालभन्दा बढी भारतबाट सक्रिय थिएँ। 

सो आन्दोलनपछि हाम्रो पार्टीको नाम नेकपा प्रजातन्त्रवादी राखियो। २०४८ सालको चुनावमा हारेका पार्टीहरु फेरि एकजुट भएर संयुक्त मोर्चा बनाए। त्यसको दुई वर्षपछि म संयुक्त मोर्चाको उपमहासचिव बनें। २०५२ मा म नेकपा संयुक्तको उपमहासचिव भएँ।

नेल्सल मण्डेलासँगको त्यो भेट
ट्रेड युनियनमा सक्रिय भएँ। २०४४ सालमा नेपाल ट्रेड युनियन फिडरेसन गठन भएपछि २०४८ सालपछि म विशेष गरी ट्रेड युनियन आन्दोलनमा बढी संलग्न भएँ। 

कृषि मजदूर, नाइ संघ, ड्राइभर युनियन जस्ता अनौपचारिक क्षत्रेका मजदूरहरुको संगठन बनाउन थालियो। यी संगठनहरुले आन्दोलन सुरु गरेका थिए। 

२०४७ सालमा बनेको प्रजातान्त्रिक सरकारको ट्रेड युनियनको नेता बनेको थिएँ म। सोही अवसरमा मैले आइएलओको केन्द्रीय कार्यालय जेनेभामा गएर भाषण गर्ने मौका पाएको थिएँ। 

आइएलओको हेडक्वार्टर जेनेभामा तत्कालीन मन्त्री निलाम्बर आचार्य, उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोद चौधरी, रवि शर्मा र म गरी चार जनाको डेलिगेसन थियो।

जेनेभा पुगेर भाषण गर्ने कार्यक्रम थियो। विश्वका ठूल्ठुला व्यक्तित्वहरुको अगाडि भाषण गर्नुपर्ने थियो। जहाँ विश्व चर्चित नेता नेल्सन मण्डेला पनि थिए। भाषणको लागि १० मिनेटको समय छुट्याइएको थियो।  

आफ्नो भाषण नबिग्रियोस् भनेर मैले तीन पटक भाषण लेखेको थिएँ। तीनभन्दा बढी पटक भाषण पढेको थिएँ। अनि मात्र आइएलओको हलमा सबै जनाको अगाडि अंग्रेजीमा भाषणा गँरे। 
भाषण र कार्यक्रमपश्चात् नेता नेल्सन मण्डेला र लेक वालेससँग भेट्ने मौका जुरेको थियो, त्यो पनि फोटोसेसनको समयमा। फोटो खिचाउनका लागि एक मिनेटको समय छुट्याइएको थियो। मण्डेलालाई भेट्नेहरुको लाइन थियो। 

मण्डेलासँग निलाम्बरजीले हामी नेपालबाट भन्दै, छोटो कुरा गर्नुभयो, बधाई दिनुभयो। म रुसको विद्यार्थी युनियनमा छँदा थुप्रै पटक दक्षिण अफ्रिकाको रंगभेद विरुद्धको आन्दोलनमा संलग्न भएको थिएँ। त्यो बेलादेखि मण्डेलासँग गफ गर्न नपाए पनि सामुन्ने देख्ने रहर थियो। जुन पूरा भयो। 

अहिलेजस्तो मोबाइलको जमाना थिएन। पछि अरुहरुले क्यामेरामा मण्डेलासँग खिचेका तस्बिरहरु हामीलाई दिएका थिए। मण्डेलालाई एकझल्को सामुन्नेबाट भेट्न पाउँदा निकै खुसी लागेको थियो।

३० असार, २०७९, १८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।