जोडियो सैनामैना-सेमलार

जोडियो सैनामैना-सेमलार

बुटवल : एक दशकअघि सेमलारका कृष्ण क्षेत्रीलाई सैनामैना आउन बुटवल घुम्नुपर्ने बाध्यता थियो। बर्खायाममा उर्लिंदो दानव नदीले सैनामैना र सेमलारको दूरी टाढा बनाउँथ्यो। नदी पार गर्नु परे घुम्नुको विकल्प थिएन।

दानव नदीमा पौडिदै रमाउने गरेका कृष्ण अहिले नदीको ‘गति’ फेरिएको देख्दा अचम्ममा छन्। पछिल्लो समय नदीजन्य पदार्थको उत्खननले दानव भासिएको छ।

हिउँदमा सुख्खा जस्तै हुने दानव अहिले पनि बर्खामा उर्लिन्छ। एक दशकअघिको जस्तो ‘बैंस’ दानवमा छैन। तर पनि बर्खायाममा पार गर्न अहिले पनि मुस्किल पर्छ।

बर्खायाममा सैनामैना नगरपालिका–१ सँग सिधा जोडिन नसकिएको साविक सेमलार गाविस, हाल बुटवल उपमहानगरपालिका– १५ गत सोमबारदेखि भने विधिवत जोडिएको छ। 

सेमलार र सैनामैना जोड्ने दानव पुल (कर्साघाट)मा निर्माणधीन पुलको समुद्घाटन भएसँगै अब सेमलारका स्थानीय अब सैनामैना जान तामनगर पुग्नुपर्ने छैन। कृष्ण क्षेत्री जस्तै अब त्यहाँका हजारौं स्थानीयलाई यो पुलले सैनामैनासँगको दूरी मात्र हैन सामिप्यता पनि बढाएको छ।

‘म स्कुल पढ्दा हिउँदमा साइकल चलाएर आए पनि बर्खायाममा यो ठूलो हुन्थ्यो। पुल बनेपछि सैनामैना र बुटवल सेमलार जोडिएका छन्। अब यी दुई पालिकामा एकीकृत विकास गर्न सजिलो हुनेछ,’ विगत सम्झँदै सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्माले भने। 

दानव नदीमा निर्माण भएको १२७ मिटर लामो पुलको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेका छन्। ११ मिटर चौडा रहेको उक्त पुल ३ वटा स्यालबमा पाइल फाउण्डेसन प्रविधिमा निर्माण गरिएको हो।

संघीय सरकारको लगानीमा २०७४ असार २९ गते कार्य सम्झौता भएको यो आयोजनाको कोरोना महामारीले असर गर्दा २०७८ पुस ३० गते पुन म्याद थप गरिएको थियो।

कुल १६ करोड ६० लाख ४७३ लागत अनुमान गरिएको योजनाका लागि अर्घाखाँची–बावुल जेभीसँग १३ करोड ९० लाख ३६ हजार ८०९ रुपैयाँमा ठेक्का सम्झौता भई काम सम्पन्न गरेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासनीले बताए।

२३ असार, २०७९, ०७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।