विश्वकै उत्कृष्ट सहर बन्छ भनेको त ल्यान्डफिल्ड साइट बन्यो काठमाडौँका चोक-गल्ली, गन्ध हटाउन किटनाशक केमिकल छर्कँदै महानगर

विश्वकै उत्कृष्ट सहर बन्छ भनेको त ल्यान्डफिल्ड साइट बन्यो काठमाडौँका चोक-गल्ली, गन्ध हटाउन किटनाशक केमिकल छर्कँदै महानगर
वशन्तपुर दरवार क्षेत्रमा थुप्रिएको फोहोर। तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : जति प्रयास गरे पनि सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासी काठमाडौँको फोहोर ल्याउन सहमत नभएपछि अहिले काठमाडौँ सहरै ल्यान्डफिल्ड साइड समान बनेको छ। काठमाडौँका यस्तो कुनै चोक छैन जहाँ फोहोर दुर्गन्ध नआओस्। काठमाडौँवासीले अहिले वञ्चरेडाँडा र सिसडोलवासीझैँ अनुभव गरिरहेका छन्। फोहोरको दुर्गन्धका बिचमा बस्न अभ्यस्त हुँदैछन्।

मेयरमा निर्वाचित भएपछि वालेन्द्र शाह २ पटक ल्यान्डफिल्ड साइडमा पुगेर अवरोध खुलाउने प्रयास गरे पनि सफल भएका छैनन्। पहिलो पटक मेयरको शपथ नखाँदै सिसडोल गएका उनले फोहोरको स्थायी समाधान नगरी खादा माला नलगाउने अनि अन्तर्वार्ता नदिने घोषणा गरेर आएका थिए।

महानगरको पहिलो कार्यपालिका बैठकमा आफ्नै नेतृत्वमा फोहोर व्यवस्थापन सम्बन्धी कार्यदल बनाउने निर्णय गराउँदै उनले' काठमाडौँको फोहोरका कारण सिसडोलवासीको मृत्यु भइरहेको' भन्दै यो उत्सव मनाउने समय हैन भनेका थिए।

त्यसपछि उपमेयर सुनिता डङ्गोललाई समेत साथमा लिएर उनी पुन सिसडोल गए। फोहोरको थुप्रोमा नगनाउने केमिकल छर्कन्छु भने। तर उनीहरू आफ्ना पुराना मागहरू पुरा नगरेसम्म फोहोर खसाल्न नदिने अडानमै रहेपछि उनले सिसडोलमा छर्कने भनेको केमिकल काठमाडौँको सडक किनारामा बनेको डम्पिङ साइडहरूमा छर्कन थालेका छन्।

महानगरपालिकाले अस्थायी रूपमा फोहोर राख्ने टेकुमा पनि फोहोरले भरिएपछि अहिले काठमाडौँ महानगरका सडकका फोहोर सडकमै थुप्रिएका छन्। दैनिक वर्षा भइरहेकाले फोहोर दुङदुङ गन्हाइरहेको छ। तत्काल फोहोर व्यवस्थापन नगर्ने हो भने काठमाडौँमा महामारी फैलिने जोखिम छ। तर महानगरले नगनाओस् भनेर सोमबारबाट केमिकल छर्कन थालेको छ।

महानगरको वातावरण व्यवस्थापन विभागका अधिकारी दुर्गन्धको अस्थायी समाधानको लागि डिस्इन्फेक्टेन्ट(किटनाशक औषधी) र दुर्गन्ध हटाउने अन्य केमिकल छर्किन थालिएको बताएका छन्।

महानगरपालिकाभित्रको फोहोर नउठिन्जेल हरेक दिन बिहान कीटनाशक औषधी र अन्य केमिकल छर्किइने काठमाडौँ महानगर प्रहरी डिएसपी पूर्ण चन्द्र भट्टले बताए।

गन्ध हटाउन किटनाशक विषादी छर्कदै महानगर। तस्बिर : अबिज् क्याप्चर

'आज बिहानदेखि फोहोर थुप्रिएको सबै ठाउँतिर औषधी छर्किएर डिस्इन्फेक्सन गराएर फकिएका छौ’ उनले भने, ‘काठमाडौँभित्र जहाँतहाँ फोहोर थुप्रिएको छ, त्यहाँ छर्किरहेका छौ। आजलाई औषधी छर्किने काम सकियो। अब भोलि बिहान दुई तीन घण्टा फेरी औषधी छर्किने काम  सुरु हुन्छ। बाटोमा फोहोर नउठिन्जेल हामीले कीटनाशक औषधी र केमिकल छर्किन्छौ।’

महानगरपालिकाले वसन्तपुर, न्युरोड, सुन्धारा, नयाँ बानेश्वरलगायत क्षेत्रमा कीटनाशक औषधी छरेको थियो। डिएसपी भट्टकाअनुसार महानगरपालिकाले फोहोरको अस्थायी समाधान स्वरूप क्लोरिन र नुआन नामक केमिकल प्रयोग गरेको हो।

मेयर वालेन्द्रले सकेनन् भन्दै आफैं फोहोर उठाउन निस्किए १६ नम्बरका वडाध्यक्ष

मेयर शाह अहिले पनि स्थानीयलाई मनाएर बञ्चरेडाँडामा फोहोर लैजान सक्ने वातावरण बनाउन प्रयासरत देखिएका छन्। बञ्चरेडाँडाको ८० प्रतिशत निर्माण काम सकिएको छ। त्यहाँ सेल वान, सेल टु बनाइएको छ। सेल वान फोहर हाल्न तयार भैसके पनि स्थानीयले माग पार नभएको भन्दै फोहोर बोकेको गाडी जान दिएका छैनन्। 

२३ जेठ, २०७९, २१:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।